कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राउटे बस्ती पुग्दा...

हरिहरसिंह राठौर

बोटेचौर, दमार, सुर्खेत — छिन्चु, जाजरकोट सडक खण्डको बोटेचौर, दमार छेउमा बगेको उर्लंदो भेरी नदी किनार । सुर्खेत गुर्भाकोट नगरपालिका–९ दमारमा सडक छेउ जग्गामा बसेका ४६ घरधुरी राउटे समुदायका टहरा । पुराना काला कपडाले छोपेका टहरा वर्षात्‌ले भिजेपछि सबै राउटे परिवार बाहिर बसेर गिलो भात र सागको झोल खाँदै ।

राउटे बस्ती पुग्दा...

नजिकै सशस्त्र र नेपाल प्रहरीका ६ जनाको पहरा । प्रहरीको मुख्य काम क्यामेरा लिएर राउटे बस्तीमा पस्नेहरुको निगरानी । राउटेहरुलाई बजार निस्कँन दिने तर बाह्य समुदायका मान्छेलाई राउटे बस्तीमा पस्नै नदिने स्थानीय प्रशासनको निर्णय ।

सुर्खेतका प्रमुख जिल्ला अधिकार छवि रिजालले भने, ‘राउटे किशोरीहरुको यौनदुर्व्यवहार घटनापछि यो समुदायविरुद्ध नानाथरी मनगढन्ते समाचार, काल्पनिक कानुनका कुरा विभिन्न अनलाइन र युट्युबहरुमा आउन थालेपछि नियन्त्रण गर्न प्रहरी खटाइएको हो ।’ तर उनले राउटेका सत्यतथ्य समस्या लेख्न भने सञ्चारकर्मीहरुलाई कुनै रोकटोक नभएको बताए ।

घटनालगत्तै बस्ती सिल गरी सुरक्षा सतर्कता बढाएर प्रशासनले अन्य मानिसको जथाभावी प्रवेश रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरेको हो । राउटे बस्तीमा हाल नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक तथा सशस्त्र प्रहरीले हवल्दारको कमाण्डमा सुरक्षा निगरानी बढाएको छ ।

यही जेठ २१ गते राति १९ र २३ वर्षीया राउटे युवतीमाथि स्थानीय तीन युवाले बोटेचौर बजारको एक होटलमा यौनहिंसाजन्य क्रियाकलाप गरेको भिडियो सार्वजनिक गरेपछि उक्त घटना सार्वजनिक चासोको विषयमात्रै बनेन सामाजिक सञ्जाल, अनलाइन र युट्युबमा कस्ता खाले सामग्री पस्कने ? भन्ने विषयमा वादविवाद समेत भयो । सामाजिक सञ्जालमा भाइरल उक्त भिडियोको आधारमा प्रहरीले गुर्भाकोट–९ बोटेचौरका ३५ वर्षीय चौमन घर्ती, २४ वर्षीय भूपेन्द्र बुढामगर र होटल सञ्चालक मिलन भनिने मनबहादुर पुनलाई पक्राउ गर्‍यो ।

जिल्ला प्रहरी कार्यालयले राउटे युवतीमाथि भएको सामूहिक यौन हिंसाको घटनामा जबर्जस्ती करणी र साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले अनुसन्धान अधिकारीले घटनासँग सम्बन्धित प्रमाण सङ्कलनका साथै पीडित, पीडक पक्षको बयान लिने काम भइरहेको बताए ।

घटनाको ८ दिनपछि राउटे युवतीको मात्रै गत शुक्रबार प्रदेश अस्पतालमा स्वास्थ्य परीक्षण र डिएनए परीक्षण गरिने निष्कर्षमा पुग्यो स्थानीय प्रहरी । पीडित युवतीलाई थाहै नदिई उनीहरुको स्वास्थ्य परीक्षण गरिएको बताइएको छ । पीडित युवतीको सुरक्षाका कारण उक्त समुदाय र मुखियालाई यो घटनाबारे जानकारी दिइएको छैन । गत शुक्रबार नै बयान र स्वास्थ्य परीक्षणपश्चात् ती युवतीहरुलाई बस्तीमै फर्काइएको छ । घटनाका आरोपीहरुलाई आवश्यक अनुसन्धानका लागि थुनामा राख्न जिल्ला अदालतले १० दिनको म्याद थप गरेको छ । यसअघि अदालतले दिएको पाँच दिनको म्याद शुक्रबारै सकिएको थियो ।

प्रहरी नायब उपरीक्षक घर्तीले राउटे बस्तीको निगरानीका लागि अझै केही समय प्रहरी त्यहाँ बस्ने बताए । ‘यस्ता घटनामा विशेषगरी युट्युबरले सन्सनी मच्चाइरहेको पाइन्छ । यस घटनामा पनि सुरु–सुरुमा युट्युबजस्ता सामाजिक सञ्जालमा पीडितलाई पीडा दिने खालका विषयवस्तु सार्वजनिक भएको पाइयो’, उनले भने, ‘बस्तीमा त्रास फैलाउने, पीडितलाई थप पीडा दिने, अनुसन्धानलाई प्रभावित पार्न सक्ने भएकाले प्रहरीको निगरानी बढाएका हौं ।’

प्रहरी प्रशासनले समुदायबाट पीडित युवतीमाथि थप हिंसा हुनसक्ने आँकलन गर्दै बस्तीमा अन्य मानिसको प्रवेश रोक्नुका साथै उक्त घटनालाई गोप्य राख्ने रणनीति अपनाएको छ । मुखिया महिनबहादुरका एक्ला तन्नेरी छोरा शिवबहादुरको हृदयघातबाट जेठ पहिलो साता निधन भएपछि परम्पराअनुसार कल्याण छोडेर दमार आएका हुन् ।

लोपोन्मुख फिरन्ते समुदाय हो राउटे । हाल उनीहरुको संख्या १ सय ४३ मात्रै छ । २०६५ सालमा तत्कालीन जिविस दैलेखले सामाजिक सुरक्षा भत्ता दिन भनी राउटेहरुको गणना गर्दा यो संख्या १ सय ६३ थियो ।

यसैबीच सुर्खेत जिल्ला अदालतले शुक्रबार राउटे युवतीमाथि भएको यौन हिंसाका भिडियो युट्युबबाट हटाउन आदेश दिइसकेको छ । न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले युट्युबलगायतका सामाजिक सञ्जालहरुबाट भिडियो नहटाइए साइट बन्द गर्नसमेत आदेश दिएको छ । करणीजन्य अपराधका सामग्री गोप्य हुनुपर्नेमा केही युट्युबमा पीडितको पहिचान खुलाएर भिडियो सार्वजनिक भएपछि परेको मुद्दामा अदालतले यस्तो आदेश दिएको हो ।

‘युट्युबलगायतका सामाजिक सञ्जालमा राखिएका सामग्री हटाउन नेपाल सरकारमार्फत विज्ञप्ति नै जारी गर्नुपर्ने अवस्था देखिएको छ । गृह मन्त्रालयमार्फत सूचना जारी गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रस्तुत आदेशको प्रतिलिपिसहित कारबाहीका लागि लेखी पठाउनू’, आदेशमा भनिएको छ ।

सामग्री बनाएर अपलोड गर्नेलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमार्फत प्रहरी प्रधान कार्यालयलाई अनुरोध गर्न आदेश गरिएको छ । त्यस्तै अदालतले संवेदनशील विषयमा जथाभावी सामग्री प्रसारण गर्नेविरुद्ध कारबाही गर्न तथा त्यस्ता साइट आवश्यकतानुसार बन्द गराउन गृह मन्त्रालयमार्फत सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई समेत अनुरोध गर्न आदेश दिएको छ ।

को हुन् राउटे ?

लगभग ७ सय वर्ष पहिले कर्णालीको कालिकोट, फुकोटबाट एकजना शाही राजाका छोरा (रौतेला) आफ्नो घरबाट विद्रोह गरेर जंगल पसेका र त्यही रौतेला शब्द अपभ्रंश भई कालान्तरमा रौतेला, राउतेला हुँदै अन्तमा राउटे नाम रहेको मान्ने गरिएको छ । समाजशास्त्री डोरबहादुर विष्टले जुम्लामा गरेको जनगणनामा राउटेहरुको संख्या करिब ४ सय रहेको उल्लेख छ । त्यो संख्या २०६५ सालमा १ सय ६३ र हाल १ सय ४६ जनामात्रै छन् ।

हालका मुखिया महिनबहादुर शाही झण्डै ८० वर्षका भइसकेका छन् । उनले सहायक मुखियारी पद ससूरा मानबहादुरबाट २०४० ताका नै पाएका हुन् । मुखिया मानबहादुरको २०५४ सालमा दैलेखको तालपोखरीमा निधन भएपछि महिनबहादुरले कार्यकारी मुखिया पद पाएका हुन् । आफू पनि वृद्ध हुँदै गएका महिनबहादुरले अर्का समूहका ऐनबहादुर र सूर्यबहादुरलाई सहायक मुखिया घोषणा गरी महत्वपूर्ण भेटघाट र घुमफिर गर्ने अधिकार दिएका थिए । राउटेको मौखिक सहमति नै उनीहरुको लागि कानुनसरह हुन्छ ।

राउटे खेतीपाती नगर्ने, एउटै स्थानमा बसोबास नगर्ने, जङ्गली जनावर गुना र बाँदरको सिकार गर्ने अनि जङ्गली काठबाट आफूले निर्माण गरेको काठका घरायसी उपयोगका सामग्रीहरु नजिकैका गाउँमा लगेर खाद्यान्न साट्ने र पुराना लत्ताकपडाहरु मागेर गुजारा गर्ने, सिलाएका लुगा नलगाउने, दिए पनि च्यातेर फेरि हातैले एकसरो सिलाउने गर्छन् ।

कर्णालीका विभिन्न स्थानमा घुमन्ते जीवनयापन गर्ने राउटेहरु आफूहरुलाई जङ्गलको राजा भन्ने गर्छन् र उनीहरू आफ्नै भाषा (खाम्ची) बोल्छन् जस्को लिपि छैन । रीतिरिवाज, चाडपर्व र आफ्नै कानुन (कविला कानुन) हुन्छ । मुखिया उनीहरूको मुख्य अभिभावक हुन्छ जो पहिले पुस्तैनी र हाल समुदायबाटै निर्वाचित हुने गर्छन् । पश्चिम नेपालको जुम्ला, कालीकोट, जाजरकोट, दैलेख, सुर्खेत, अछाम, बझाङ र बाजुरासम्मका बस्ती नजिकका जङ्गलहरुमा उनीहरू विचरण गर्छन् । यी जिल्लाका जङ्गलक्षेत्रमा उनीहरू पुगेपछि सबैभन्दा पहिले जिल्ला सदरमुकाममा पुगेर प्रमुख जिल्ला अधिकारी र जिल्लाका वन अधिकृतलाई भेटेर आफूले तयार गरेको काठको घरेलु उपयोगको सामग्री (सन्दुस) उपहार प्रदान गर्छन् । अनि भन्छन्, ‘तिमी सहरको राजा, हामी जङ्गलको राजा । तिमीसँग तिम्रो कानुन छ, हामीसँग हाम्रो कानुन छ, हामी जङ्गलमा आश्रित छौं । सिकार गर्नु र रुख काटेर काठका भाँडा बनाउनु हाम्रो जीवन धान्ने पेसा हो । तिम्रो ठाउँमा हामी आएका छौं, हामीलाई तिमीले कुनै अप्ठ्यारो हुने काम गर्ने छैनौं ।’ यसो भन्दै उनीहरु आफ्नो आगमन र उपस्थितिको जानकारी गराउँछन् ।

उनीहरू दुई चार महिना त्यहाँको जंगलमा बिताउँछन् । उनीहरु त्यो स्थानको जङ्गलमा उनीहरूको प्रिय सिकार बाँदर र गुना, काठको सामग्री बनाउन उपयोगी हुने टुनु र सिमल काठको उपलब्धता हुँदासम्म रहने गर्छन् । त्यसपछि आफूले तयार गरेको अस्थायी बासस्थान (स्याउलाले बारेको छाप्रो) भत्काएर आगो लगाएर पूर्णरुपले नस्ट गरेर मात्र अन्यत्र फेरि त्यस्तै ठाउँमा जाने गर्छन् । त्यसरी आगो लगाउनुको अर्थ उनीहरूको बुझाइमा आफ्नो बसाइ अवधिमा त्यस स्थानमा कतै खसेका अन्नका गेडाहरु नउम्रिऊन् भन्ने हो । किनकि, उनीहरू अन्न उमारेर खेती गर्ने कुरामा विश्वास गर्दैनन् ।

राउटेहरु वस्तु विनिमयका लागि नजिकैको गाउँमा जाँदा ससानो समूहमै जाने गर्छन् । जतिसुकै टाढा गए पनि बेलुका आफ्नै बासमा फर्किने उनीहरुको आदत हुन्छ । तर अहिले यो आदतमा परिवर्तन आइसकेको छ । त्यसरी समूहमै गए पनि आपसमा त्यति कुरा गर्दैनन् । धेरै कम बोल्छन् र मुखियाको खटनपटनमै हिँड्छन् । आफूलाई प्राप्त भएको खानेकुरा बाँडेर खाँदैनन् । जसलाई दिएको हो उसले मात्रै खान्छ, उसको साथमा गएको साथी जतिसुकै भोकाएको भए पनि उसलाई आफ्नो भोकभन्दा ठूलो लाग्दैन र दिँदैन । त्यसैले राउटेलाई केही खानेकुरा दिँदा सामूहिक रूपमा बाँडेर खाऊ भनी एउटालाई दिनुको अर्थ हुँदैन । समूहका प्रत्येकलाई छुट्टाछुट्टै दिनु पर्छ । राउटेले बाँडेर नखाने भएकाले नै बाँडेर नखाने अरुलाई पनि कस्तो राउटेजस्तो भन्ने चलन छ । उनीहरुले मागेको अन्नलाई कुहाएर जाँड रक्सी बनाउँछन्, बेलुका र चाडबाडका बेला मस्तले जाँड खाँदै नाचगान गर्दै रमाइलो गर्ने गर्छन् । भविष्यप्रति चिन्ता नराख्ने र वर्तमानमा रमाउने स्वभाव उनीहरुमा देखिन्छ । चाडबाडको लागि बाँसको ठेउलोमा कोचेर (जतनले जोगाएर) राखेको कपडा लगाउँछन् । मादल र खुट्टामा लगाउने नेवर उनीहरुका मनोरञ्जनका सामग्री हुन् ।

राउटेहरु आफूलाई ठकुरी (कल्याल, रास्कोटी र समालवंशी) भन्ने गर्छन् र राउटे समुदायमा मात्रै बिहाबारी हुने उनीहरूले बस्तीमा छाप्रो बनाउँदा विवाहबारी हुने जात वारि र पारि गरी बिचमा खाली भाग–आँगन) राखी छाप्रो निर्माण गरेका हुन्छन् । राउटे बाहेकका अरुहरुले उनीहरूको खाना पकाउने चुलो छुनु हुँदैन भन्ने उनीहरुमा बलियो मान्यता छ ।

जङ्गलमा सिकार गर्न जाँदा पुरुष राउटेहरु सानाठूला सबै उमेर समूहमा जान्छन् । मुखिया सबैभन्दा अगाडि हिँड्छन् र अरुहरु नबोलिकन उनी हिँडेको बाटो पछ्याउँछन् । हिँड्दै जाँदा दोबाटो या चौबाटो आयो भने दुरी बनाएर अलगअलग अगाडि हिँडेको मुखियाले आफ्ना पछाडि आइरहेका तर आफूलाई नदेखेका अरुलाई आफू कुन बाटो कता गएको छु भन्ने सङ्केत गर्न हरियो स्याउलाको मुख आफू गएको बाटोतिर तेर्स्याएर ढुङ्गाले स्याउला अचट्ने गर्छन् र पछाडि आउनेले त्यही स्याउलाको मुख फर्किएको बाटोतिर आफ्नो मुखिया गएको सम्झेर र त्यही बाटो अगाडि बढ्छन् ।

सरकारले दैलेखको गुराँस गाउँपालिकामार्फत हरेक राउटेलाई प्रतिमहिना ३ हजारका दरले सामाजिक सुरक्षा भत्ता दिन्छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले मासिक २ हजार थपेर मासिक प्रतिराउटे ५ हजार भत्ता पुर्‍याएको छ ।

प्रकाशित : असार २, २०७८ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?