१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

एक प्यालेस्टिनी शरणार्थीको पीडा

'मोहम्मदसँग कमाएर धेरै सम्पत्ति जोड्नुपर्ने कुनै कारण छैन । किनकि उनीसँग घरको जग हाल्ने एक इन्च माटो पनि छैन ।'
मेघराज सापकोटा

यूएई — म त ‘होमलेस’ नागरिक हुँ । मेरो कुनै देश छैन । सन् १९४८ मा यहुदीहरु मेरो घरमा आए र हजुरबुवालाई दुई दिनको लागि घर खाली गरेर अन्यत्रै जानु भन्ने आदेश दिए । त्यसपछि त्यो घरमा कहिलै फर्कन दिएनन्’, पूर्व प्यालेस्टिनी नागरिक तथा इन्जिनियर मोहम्मदले भने ।

एक प्यालेस्टिनी शरणार्थीको पीडा

उनको अनुहार मलिन थियो । बोल्दै जाँदा बेलाबेला गला पनि अवरुद्ध हुन्थ्यो ।

मोहम्मदकै शब्दमा उनी बेवारिसे नागरिक हुन् । उनको हातमा नत कुनै देशको नागरिकता छ, न मर्दा उनको पार्थिव शरीरलाई अर्पिने एकमुठ्ठी माटो नै उनीसँग छ । कथाजस्तै लाग्ने उनको व्यथा आजको हैन ७३ वर्षअघि देखिको हो । हजुरबुबा, बुवा, आफू र आफ्ना छोरा–नातिलगायत सन्तानहरु यसरी नै अनागरिक भएर बाँच्नु परेकोमा मनमा असैह्य पीडा छ ।

उनीसँग मेरो वर्षौंदेखिको संगत छ । जबजब प्यालेस्टाइन र इजरायलबीच बमबारी सुरु हुन्छ मलाई उनकै याद आउँछ । इजरायलले हानेको प्रत्येक गोलीले उनीहरुको मन छेड्छ । हजुरबुवाको पालादेखिका युद्धका डोबहरु कहिलै सुक्न पाएनन् ।

मिलनसार, भद्र र शान्त स्वभावका मोहम्मदसँग मैले यसपाली धेरै कुरा सोधें । तर उनी थोरै मात्र खुल्न चाहे । थोरै बोल्नुमा उनीभित्र रहेको त्रास थियो । धेरै बोल्दा हुनसक्ने समस्याबाट उनी चिन्तित थिए । हजुरबुवाको पालामा खोसिएको स्वतन्त्रताको त्रास नातिको पालामा पनि उस्तै थियो । मानव सभ्यता र स्वतन्त्रताको जननी भनिने पश्चिमा देशहरु यिनै अनागरिकहरुलाई वर्षाउने बम बारुदको कारखाना चलाइरहेका छन् । र, हतियार बेचेर बर्सेनि खरबौं डलरको व्यापार गरिरहेका छन् । त्यसैले उनले बोलेको ‘होमलेस’ शब्द भने मेरो मनमा सधैं गढिरह्यो ।

उनी मसँग भेट भएका एक प्रतिनिधि पात्र मात्र हुन् जसका पुस्तौंपुस्ता आधुनिक सभ्य संसारमा घर भएर पनि घरविहीन पारिए र पारिंदैछन् । लाखौं परिवार देशविहीन पारिए । पुँजीवादी मानव सभ्यताको चरमउत्कर्ष र स्वतन्त्रताको शिखरमा रहेको यो संसारमा उनी यी सबै कुराबाट वञ्चित छन् । त्यसैले उनीसँग कमाएर धेरै सम्पत्ति जोड्नुपर्ने कुनै कारण छैन । किनकि उनीसँग घरको जग हाल्ने एक इन्च माटो पनि छैन ।

उनका हजुरबुवा खासिम मोहम्मदको घर हालको इजरायल देशको राजधानी जेरुसेलम नजिकैको फाहिद गाउँमा थियो । त्यसबेला उनको घर भएको ठाउँको देशको नाम प्यालेस्टाइन थियो अर्थात् फाहिद प्यालेस्टाइनमा पर्थ्यो । यो गाउँ सन् १९४८ मा यहुदीहरुले कब्जा गरे ।

‘युद्ध हुँदै छ, २ दिनका लागि तिमीहरु सुरक्षित गाउँमा जानू’ यहुदी सेना आएर हजुरबुवालाई भने । हजुरबुवाले घरमा ताला लगाए र चाबी पनि तिनै यहुदीहरुलाई सुम्पे । त्यसपछि कहिलै घर फर्कन पाएनन् । अमेरिकाले यहुदीको समर्थन गऱ्यो । केही इस्लामिक अरब देशहरुबाहेक संसारले यहुदीको समर्थन गऱ्यो । त्यसपछि उनीहरु सधैंका लागि अनागरिक भए । खासिमसहित ७ लाख प्यालेस्टिनीहरु त्यहीबेला भागेर सिरिया पुगेका हुन् । १९६७ मा भएको ६ दिने आन्दोलनले थप ३ लाख प्यालेस्टिनीहरु भागेर विभिन्न देश पुगे । त्यसपछि पनि उनीहरुमाथि पटकपटक दमन गरियो र प्यालेस्टाइनबाट भगाइयो ।

‘हजुरबुवा खासिम भागेर सिरिया गए । बुवाको जन्म सिरियामै भयो । म पनि सिरियामै जन्मे । सिरियामै पढें । मेरो पहिलो पनि र दोस्रो घर पनि सिरिया नै भयो,’ उनले भने, ‘आफ्नो जन्मभूमिलाई बिर्सेर छिमेकी देश सिरियामा हामीले आकाश छेक्ने धर्ती पायौं । तर यी पनि हाम्रा लागि आस्थायी भए । अब त फर्केर सिरिया जाने ठाउँ पनि छैन । सुरक्षा स्थिति पनि छैन । सिरियामा आफन्त, नातागोता पनि छैनन् । हाम्रो स्थायी भन्ने केही छैन ।’

२०११ बाट अरब देशहरुमा सुरु भएको युद्धले सबैभन्दा बढी पिल्सिएको देश पनि सिरिया नै हो । जुन अहिलेसम्म पनि अशान्त छ । त्यसपछि मोहम्मदका सबै घरपरिवार सिरियाबाट भागेर अन्य देश पुगे । भाइहरु युरोप पुगे । एकजना बहिनी युक्रेनमा छिन् । बुवाको मृत्यु भइसक्यो । आमा, बहिनी सँगै उक्रेनमा हुनुहुन्छ । उनी आफू परिवारसहित यूएईमा बस्छन् । अब सिरियामा एकजना काकाबाहेक कोही छैनन् । केही आफन्त यहुदीको शरणमा इजरायलमै छन् । कोही भागेर त्यसैबेला हालको प्यालिस्टाइनी भूभाग गाजा स्ट्रिप पुगे त कोही वेष्ट बैंक । १९४८ देखि आस्थाइ बसोबास गर्दै गरेको सिरिया पनि अब बिरानो भइसकेको छ ।

मेरो परिवार यसरी छिन्नभिन्न भयो । योभन्दा बढी मलाई बोल्न नलाउनुस् । उनको आँखा रसाएका थिए । ‘अझै केही बोल्नु पर्छ,’ मैले भने । उनले भने, ‘यो म एकजनाको मात्र व्यथा हैन । लाखौं होमलेस प्यालेस्टाइनहरुको कथा हो । धेरै पटक युरोपको भ्रमणको लागि निवेदन दिएँ । युरोपले रिजेक्ट गऱ्यो । म मेरा बच्चाहरुलाई नागरिक बनाउन चाहन्छु । नागरिक भएर बाँचेको हेर्न चाहन्छु ।’ उनको अनागरिक हुनुको पीडा सुनेर मैले मेरो देश सम्झें । देश नहुनुको पीडा कस्तो हुँदोरहेछ भन्ने कुरा थोरै भए पनि महसुस गरें ।

‘तिम्रो देशले मलाई नागरिकता दिन्छ ? म नागरिक भएर बाँच्न चाहन्छु’, उनले सोधे तर ‘मसँग यसको कुनै जजाफ छैन ।

मोहम्मदजस्तै घरबारविहीन १ लाखभन्दा बढी प्यालिस्टाइनीहरु कामदार भिसामा यूएईमा बसोबास गर्छन् । उनीहरुसँग कि त लेबनानको आस्थायी यात्रा अनुमतिपत्र छ, कि त सिरियाको । कोही कोहीसँग जोर्डन र इजिप्टको पनि ।

प्यालेस्टिनी शरणार्थी हेर्ने जोर्डनस्थित संयुक्तराष्ट्र संघअन्तर्गतको यूनाइटेड नेसन्स रिलिफ एण्ड वर्क एजेन्सी फर प्यालेस्टिनी रिफ्युजीको २०१९ को तथ्यांकअनुसार हाल ६० लाखको हाराहारीमा प्यालेस्टिनीहरु शरणार्थी जीवन बिताइरहेका छन् । इजरायलभित्र नै जबर्जस्ती आत्मसमर्पर्ण गरेर इजरायली जीवन बिताइरहेका र विश्वभर छरिएर बाध्य भई सोही देशका नागरिकता लिएका लाखौं प्यालिस्टिनीहरुको हिसाब गर्ने हो भने देशविहीन प्यालिस्टिनीहरुको संख्या यो भन्दा हुनसक्छ ।

विश्वको सबैभन्दा धेरै शरणार्थी भएका देशका नागरिक पनि यिनै हुन् । तिनीहरुले अब कहिलै प्यालेस्टाइन फर्कन पाउने छैनन् ।

प्रकाशित : जेष्ठ १०, २०७८ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?