कोरोनाले उदांगियो ‘मोदी मोडल’- ब्लग - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाले उदांगियो ‘मोदी मोडल’

‘संक्रमित भइहाले अकालै ज्यान जाने हो कि भन्ने चिन्ताले सबै भयभित छन् । सरकारमाथिको नागरिकको भरोसा टुटेको अवस्था छ । कुनै समय लोकप्रिय मानिएको विकासको ‘मोदी मोडल’ अहिले उदांगो भएको छ । ’
सुरेशराज न्यौपाने

बुधबार साँझ दिल्लीमा अध्ययनरत एकजना नेपाली विद्यार्थी भाइले आत्तिँदै फोन गरे । उनलाई केही दिनदेखि कोरोना संक्रमणका लक्षण देखिएको रहेछ । बुधबार बिहानदेखि भने सास फेर्न गाह्रो हुन थालेछ । सँगै खोकी लाग्ने र अक्सिजनको स्तर पनि घट्न थालेछ । अवस्था चिन्ताजनक भन्ने बुझेर सबैले तत्कालै अस्पताल पुर्‍याउने निधो गरियो । एम्बुलेन्स पनि आयो । तर, दिल्लीका कुनै पनि अस्पतालमा बेड नै थिएन ।

भारतको अहमदाबादमा कोरोना संक्रमितलाई अस्पताल लगिँदै तस्बिर : रोयटर्स

मैले चिनेजानेका नेता, पत्रकार देखि नेपाली दूतावाससम्मलाई गुहारे । तर, दिल्लीका कुनै अस्पतालमा बेड खाली थिएन । बेड खाली नभएको भन्दै एम्बुलेन्सहरु पनि फर्किए । अक्सिजनको स्तर क्रमशः ओरोलो लागिरहेको थियो । भाइलाई मनोबल उच्च राख्न सबै मिलेर ढाडस दिइरह्यौं । चिकित्सकहरुको सल्लाहअनुसार श्वाससम्बन्धी एक्सरसाइज गर्न भन्यौं । त्यतिन्जेल पनि सबैजना बेडकै लागि प्रयास गरिरह्यौं । करीब चारघन्टा प्रयास गर्दा पनि कुनै उपाय लागेन । धन्न उनको स्वास्थ्यमा रातिदेखि भने केही सुधार देखिएको छ ।

राजधानी दिल्लीमै एकजना बिरामीले बेड पाउन भोग्नु परेको यो हदको सास्तीले भारतको अहिलेको स्वास्थ्य पूर्वाधारको वास्तविक अवस्था उजागर गर्छ । यसका साथै भारतले पछिल्ला ७ वर्षमा लिएको विकासको ‘मोदी मोडल’ माथि नै गम्भीर प्रश्न खडा गरेको छ ।

कस्तो संयोग, नरेन्द्र मोदीले विश्वकै सबैभन्दा ठूलो लोकतन्त्रको सत्ताको चाबी हात पारेको अर्को महिना ठ्याक्कै सात वर्ष पुग्छ । प्रधानमन्त्रीको कुर्सीमा बस्नु अघि मोदी करिब डेढ दसक गुजरातमा मुख्यमन्त्री थिए । मुख्यमन्त्रीका रुपमा उनले अघि सारेको विकासको ‘गुजरात मोडल’ ले भारतमा मात्र नभएर विदेशमा वाहवाही पायो । प्रधानमन्त्री बनेलगत्तै नेपाल भ्रमणमा गएका बेला नेपालीहरुले पनि मोदीले गुजरातमा विकास गरेको भन्दै ‘जयजयकार’ गरे । ‘गुजरात मोडल’ अर्थात् ठूला पूर्वाधार, गगनचुम्बी भवनहरुका नयाँ सहर, आधुनिक प्रविधि, ठूला औद्योगिक घरानाहरुको उदय । विकासको यही मोडलको भर्‍याङ चढेर मोदी दिल्लीको सत्तामा उक्लिन सफल भए । र, उनी दिल्ली पुग्नासाथ उनको विकासको गुजरात मोडल ‘मोदी मोडल’ रुपान्तरण भयो ।

यो मोडलले करिब सात वर्ष दिल्लीमा मात्र नभएर भारतभर चर्चा बटुल्यो । विदेशमा पनि त्यत्तिकै प्रशंसा पायो । अन्तर्राष्ट्रिय मञ्‍चहरुमा भारतका मित्र मुलुकका प्रतिनिधिहरुले यो मोडललाई लिएर मोदीको प्रशंसा गर्न छुटाएनन् तर कसैले पनि ‘मोदी मोडल’ को वास्तविक गहिराइ बुझ्न खोजेनन्। पूरै रजगज गर्‍यो । यस्तो वाहवाहीबाट वाककलामा पोख्त मोदीको छाती एकाएक ‘छत्तीस इन्च’ को बन्नु स्वाभाविक थिएन । त्यो मोदी स्वयंले बारम्बार दाबीसमेत गर्दै आएका छन् । ‘मोदी मोडल’ को कार्यान्वयनका क्रममा ठूला पूर्वाधार र गगनचुम्बी भवन ठडिँदा धेरैले रोजगारी पनि पाए । अर्थतन्त्रका सूचकहरुलाई माथि लैजान योगदान पनि गर्‍यो । तर, स्वास्थ्यलगायतका नागारिकहरुको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुलाई बेवास्ता गर्दा त्यो अल्पकालीन रोजगारी र आर्थिक सूचकहरु अर्थहीन हुँदो रहेछ भन्ने पछिल्लो एक वर्षमा भारतीय समाज र अर्थतन्त्रलले व्यहोरेको क्षतिबाट पुष्टि हुन्छ ।

बलियो आधारभूत सामाजिक संरचनाबिनाका कुनै पनि विकास मोडलको जग बलियो हुँदैन भन्ने प्रमाणित भएको छ । त्यसो त चीनबाट सुरु भएको कोराना महामारीले जब भारतको ढोकाढोका ढक्यायो तबदेखि मात्र मोदीको विकासको मोडलमाथि प्रश्न उठ्न थालिसकेको थियो । प्रवासी कामदारहरुले ज्यानको माया मारेर खाली खुट्टा र साइकलमै सयोैं किलोमिटर दूरी तय गरेका कारुणिक तस्बिरहरु सामाजिक सञ्‍जाल र सञ्‍चारमाध्यमबाट बाहिर आएपछि त ‘मोदी मोडल’ वास्तविकता थप उजागर भयो । तर, कोरोना महामारीको दोस्रो लहरले त विकासको यो मोडल पूरै उदांगिएको छ । एक महिनामै अक्सिजनको चरम अभाव भएको छ । आमनागरिकहरु अक्सिजन नपाएर ज्यान गुमाउनु परेको छ । बिरामीहरु अस्पतालमा बेडका लागि घण्टौं कुर्न बाध्य छन् । राजधानी दिल्लीमै न त बेड छ न अक्सिजन । रेमडेसिभिरजस्तो अत्यावश्यक औषधिको कालोबजारी चलिरहेको छ ।

पहुँच नहुनेले ती औषधि पाउन असम्भवजस्तै बनेको छ । सामाजिक सञ्‍जालहरुका भित्ताहरु अक्सिजन र अस्पतालको बेड गुहार लगाएका सन्देशहरुले भरिएका छन् । कोरोना परीक्षणको रिपोर्ट पाउन नै एक सातासम्म पर्खनुपर्ने अवस्था छ । संक्रमितहरुको स्वास्थ्य अवस्थाका बारेमा बुझ्ने कुनै निकाय छैन । घरमै आइसोलेसनमा बसेका बिरामीहरुको अवस्था कस्तो छ भन्ने जानकारी कसैलाई छैन । दिल्लीका अस्पतालका फोनहरु उठ्न छाडेका छन् । सरकारी अधिकारीहरु प्रतिक्रियाविहीन छन् । दिल्लीमै पनि अस्पतालको गेटमा बेड कुरिरहेका सिकिस्त बिरामीहरुले अस्पतालमा भर्ना भएका अर्को बिरामीको मृत्यु भइदिए आफ्ना लागि बेड खाली हुन्थ्यो भनेर कामना गर्नुपर्ने अवस्था बनेको छ ।

दिल्लीबाहिरको अवस्था त भनिसाध्य छैन । महाराष्ट्र, उत्तरप्रदेश, छत्तीसगढ, गुजरात, बिहारको अवस्था त झनै भयावह छ । बनारसमा एक महिलाले आफ्ना बिरामी छोरालाई रिक्सामा राखेर भए भरका अस्पताल धाउँदासमेत बेड नपाए पछि ती छोराको रिक्सामै मृत्यु भएको तस्बिर दिल्लीबाहिरको बेहाल देखाउन पर्याप्त छ । शव जलाउने ठाउँ नभएर नयाँ घाटहरु बनाइएका छन् । कतिपय ठाउँमा चौबीसै घण्टा चलाउनु परेका कारण विद्युतीय शवदाह गृहहरु बिग्रिएका छन् ।

मृत्यु हुनेहरुको कुनै अभिलेख छैन । खोला किनार र पार्कमा दाहसंस्कार गरिएको छ । यस्तो परिस्थिति आउनसक्छ भनेर विज्ञहरुले पहिल्यै चेतावनी नदिएका होइनन् । तर, प्रधामन्त्री मोदी र उनका मन्त्रीहरुले नै ती चेतावनीलाई बेवास्ता गरे । न त स्वास्थ्य संरचना बनाउन गम्भीर बने न त स्वास्थ्य मापदण्ड पालनामै कडाइ गरियो । तर, मोदी भने चुनावी र्‍यालीहरुमा आफ्नो विकासको मोडलको चर्चा गर्न व्यस्त थिए । उनका चुनावी र्‍यालीका भीड हेर्दा र भाषणहरु सुन्दा लाग्थ्यो भारतमा महामारी नै छैन ।

जताततै समृद्धिको रेल कुदिरहेको छ । तर, यथार्थ त्योभन्दा धेरै फरक रहृयो । आमनागरिकहरुबीच आधारभूत उपचार नपाएर रुवाबासी चलेको छ । संक्रमित भइहाले अकालै ज्यान जाने भो भन्ने चिन्ताले सबै भयभित छन् । नागरिकहरुको सरकारमाथिको भरोसा टुटेको अवस्था छ । महामारीले ‘मोदी मोडल’ लाई उदांगो पारेको छ ।

प्रकाशित : वैशाख ९, २०७८ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्

लाप्राकको गुप्सीपाखा बस्ती हस्तान्तरण

हरिराम उप्रेती

गुप्सीपाखा,गोरखा — धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुप्सीपाखामा भूकम्प पीडितका लागि बनेको एकीकृत नमुना बस्ती हस्तान्तरण गरिएको छ ।

बिहीबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली र गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष कुमार पन्तले संयुक्त रुपमा बस्ती हस्तान्तरण गरे । बस्ती हस्तान्तरण समारोहमा भाग लिन चारवटा हेलिकप्टरमा पुनःनिर्माण प्राधिकरण र एनआरएनएका प्रमुख तथा प्रतिनिधि बिहीबार गुप्सीपाखा आएका थिए ।


स्थानीय डम्बर सिं गुरुङलाई लालपुर्जा वितरणसँगै बस्ती हस्तान्तरण गरिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, तत्कालीन शहरी विकास मन्त्रालय र गैरआवासीय नेपाली संघबीच सम्झौता भएर २०७३ वैशाख १२ बाट लाप्राक बस्ती पुनःनिर्माण सुरु भएको थियो । बस्ती पुनःनिर्माण सुरु भएको झण्डै पाँच वर्षपछि लाप्राकबासीले नयाँ घर पाएका हुन् ।


गुप्सीपाखामा पाँच सय ७३ घर निर्माण भएसँगै बस्ती आकर्षक बनेको छ । निर्माण सम्पन्‍न भएका घरमा भूकम्प पीडित पनि सर्न थालेका छन् । २० भन्दा बढी घरधुरी गुप्सीपाखा बस्तीमा सरिसकेको धार्चे गाउँपालिका–४ का वडा अध्यक्ष राज गुरुङले बताए । लाप्राकस्थित गुप्सीपाखा बस्तीका लागि मात्र ६१ करोड ४० लाख २८ हजार तीन सय १५ रुपैयाँ खर्च भएको एनआरएनएले जनाएको छ । उक्त रकममध्ये ५७ करोड ६६ लाख ४ हजार आठ सय ३६ रुपैयाँ बस्ती पुनःनिर्माणमा मात्र खर्च भएको छ ।


एकदेखि डेढ वर्षमै बस्ती पुनःनिर्माण सक्ने योजना रहेपनि वर्षा र हिउँ पर्दा ढिला भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले बताए । ढिलै भएपनि सुन्दर बस्ती बनाएर हस्तान्तरण गरेको उनको भनाइ छ । गुप्सी पाखालाई पूर्वाधारयुक्त बस्ती बनाउने पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले बताए । खानेपानी, ढल,नाली तथा पहिरो नियन्त्रण लगायतका काम गर्ने योजना अघि बढिरहेको उनको भनाइ छ ।

प्रकाशित : वैशाख ९, २०७८ १८:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×