२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

अनुभव : कोभिड-खोप-कोभिड

डा. अनन्त श्रेष्ठ

काठमाडौँ — डा. अनन्त श्रेष्ठ दोस्रो पटक कोरोना संक्रमण भएका कारण आइसोलेसनमा छन् । उनी अल्का अस्पताल, जावलाखेलमा कार्यरत कलेजो रोग विशेषज्ञ हुन् । उनलाई पहिलो पटक संक्रमित हुँदाभन्दा दोस्रो पटक धेरै लक्षणहरु देखिएका छन् । कोरोना खोप लगाएको ८ हप्ता बढी भएपनि उनलाई दोस्रो संक्रमण छोराबाट सरेको हो । उनको कोरोना अनुभव उनकै शब्दमा :

अनुभव : कोभिड-खोप-कोभिड

मलाई पहिलो पटक कोरोना संक्रमण बिरामीको जाँच गर्दा सरेको हो । मैले उपचार गरेको बिरामीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मलाई पनि लक्षण देखिन थाल्यो र परीक्षण गराउँदा पीसीआर पोजिटिभ देखियो । मलाई त्यतिबेला कोरोनाको संक्रमण पुष्टि भएपछि म होटल आइसोलेशनमा बसें र निको भएँ ।

पहिलो पटक संक्रमित हुँदा ममा धेरै लक्षणहरु थिएनन् । सबै लक्षणहरु सामान्य मात्रै थिए । त्यसबेला म व्यावसायिक धर्म निभाउँदा संक्रमित भएँ । यतिबेला भने म अभिभावकको धर्म निभाउँदा संक्रमित भएको छु ।

यसपटक लक्षणहरु केही कडा छन् । टाउको धेरै नै दुखेको छ, रुघा पनि लागेको छ र ज्वरो पनि छ । अहिले सामान्य सिटामोल खाएर घरमै आइसोलेसनमा छु । छोरालाई पनि विस्तारै निको हुँदै छ । हामी बाबुछोरा घरको कोठामा आइसोलेटेड भएर बसेका छौं ।

छोरालाई रुघाखोकी लागेकोले परीक्षण गराउँदा पोजिटिभ आएपछि ऊ आइसोलेसनमा बसेको थियो । उसको कक्षामा पढाउने एकजना शिक्षक पनि संक्रमित भएका छन् । ती शिक्षकबाट छोरा संक्रमित भयो वा छोराको कारण शिक्षक संक्रमित भए भनेर खुट्याउने अवस्था नै छैन । तर, छोरोको स्याहर–सुसार गर्दा म संक्रमित भएको हुँ त्यसमा कुनै द्विविधा छैन ।

विद्यालयहरु अब केही समयका लागि बन्द गरिनुपर्छ जस्तो लाग्छ । म चिकित्सक भएर छोरोको हेरचाह गर्दा त संक्रमित भएँ भने अरु अभिभावकलाई कति गाह्रो हुन्छ होला ? यो सबैले बुझ्नु जरुरी छ । त्यसमाथि पनि अहिले यूके भेरियन्ट नै हाम्रो समाजमा फैलिरहेको तथ्यलाई हल्का रुपमा लिनु मुर्खाइ नै हो ।

खोप लगाएपनि संक्रमण हुन्छ भन्ने उदाहरण पनि हुँ म । त्यसैले खोप नलगाएकाले मात्रै होइन लगाएकाले पनि जनस्वास्थ्य मापदण्ड अक्षरस पालना गर्नुपर्छ । र, मेरो आग्रह छ– ‘केही समयका लागि विद्यालय बन्द गरौं ।’


प्रकाशित : चैत्र ३०, २०७७ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?