१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

महामारीमा दसैं

नयाँ वर्षकै छेका कोरोना महामारी देखिएपछि नियन्त्रणका लागि सरकारी कदमलाई साथ दिँदै ‘स्प्रिङ फेस्टिभल’ को उल्लास स्थगित गरेकैले चिनियाँहरुले अक्टोबर १ तारिखदेखिको आठदिने ‘गोल्डेन बिदा’ खुला आकाशमुनि मनाउन पाएका छन् ।
लक्ष्मी लम्साल

बेइजिङ — कोरोना भाइरस (कोभिड–१९) महामारीले उग्र रूप लिइरहेका बेला नेपालीहरूको सर्वाधिक जमघटका चाडपर्व नजिकिँदै छन् । आउँदै गरेको दसैंका बेला संक्रमणले उच्च रूप लिने भनेर नेपालका स्वास्थ्यविज्ञले भविष्यवाणी गरिसकेका छन् ।

महामारीमा दसैं

यस्तोमा महामारी नियन्त्रणका लागि जिम्मेवार निकायहरू के–कसरी परिचालन हुने, कसको नेतृत्व रहने, स्वास्थ्य संरचनाहरू कसरी व्यवस्थित गर्ने, जनतालाई महामारीबाट जोगिन के–कस्ता निर्देशिका जारी गर्ने भन्नेबारे अहिल्यै पहल गरिनु वाञ्छनीय हुन्छ ।

महामारीको उद्गम थलो चीनको वुहान हो । अब नेपालको संक्रमण–दरले चीनलाई पनि उछिनिसकेको छ । सारा चीनभरि कोराना भाइरस संक्रमण रोक्न चालिएका अनुशासित तथा अविच्छिन्न कदमले चिनियाँको जीवनमा सुखद दिनहरू क्रमशः बहाल हुन थालेका छन् । यस वर्षको अक्टोबर १ तारिखदेखिको आठदिने ‘गोल्डेन बिदा’को अवधिमा ६० करोडभन्दा बढीले पर्यटन गर्ने अनुमान गरिएको छ । तथ्यांकअनुसार अक्टोबर १ मा रेलमार्गबाट आवतजावत गरेका यात्रुको संख्या नै नेपालको आधा जनसंख्याबराबर अर्थात् १ करोड ५० लाख ९० हजार पुगेको थियो । दोस्रो दिन १९ करोड ८० लाखले आउजाउ गरेका थिए । यद्यपि यस वर्षको पर्यटकीय खर्च र मानवीय चहलपहल पोहोरको तुलनामा कम हो । चिनियाँ जनसंख्याको एकाध दिनको चहलपहल नै नेपालको जनसंख्याभन्दा कैयन् गुणा बढी हुन्छ । सानो जनसंख्याका माग, आवश्यकता, चाहना पूरा गर्न नसकेर नेपालजस्तो मुलुकमा भद्रगोल भइरहेको हुन्छ । साधनस्रोतको अभाव एउटा ठाउँमा छ तर अभावका नाउँमा राज्यका जिम्मेवार निकायको मनोमालिन्यले सर्वसाधारणको चित्त दुखाएको स्पष्टै छ ।

नयाँ वर्ष सुरु हुनु केही दिनअघि चीनमा कोरोना महामारी देखिएपछि ‘स्प्रिङ फेस्टिभल’का लागि तय गरिएका सारा गतिविधि ठप्प भएका थिए । राष्ट्रपति सी चिनफिङको नेतृत्वमा चीनले महामारीविरुद्ध ‘युद्धघोष’ गरेको थियो । सरकारको आग्रहमा जनताले नयाँ वर्षको हर्षोल्लास र जमघटलाई स्थगित गरेर साथ दिए । आफ्नो सबैभन्दा ठूलो पर्वलाई चिनियाँहरूले इन्टरनेट प्रविधिद्वारा मनाए, महामारीविरुद्धका निर्देशिकाहरूमा टेकेर जीवन चलाए । उतिखेर दुःख गरेर थाती राखेको पुनर्मिलनको अवधि यसपटकको राष्ट्रिय दिवसमा खर्चिन पाए । राष्ट्रिय दिवसको बिदा चार दिन भए पनि अगाडि र पछाडिका साप्ताहिक बिदाहरू जोडेर लगातार आठ दिन पारिएको छ । जसकारण कोरोना महामारीले उकुसमुकुस चिनियाँ जीवनले खुला आकाशमा विचरण गर्ने प्रशस्त समय पायो ।

चालू वर्षको राष्ट्रिय दिवस र अक्टोबर १ मै परेको मध्यशरद् पर्वको बिदा चलिरहँदा चीनमा महामारी उत्पन्न हुँदाको ८ महिना पार भइसकेको थियो । यो लामो बिदा महामारी प्रभावकारी रूपमा नियन्त्रण गरिएयताको पहिलो लामो बिदा पनि थियो । अघिअघिका स्थगित यात्राहरू निर्धक्क हुन सकेका छन् । यसो भन्दैमा जिम्मेवार निकायहरू सुस्ताएको भन्ने होइन । उनीहरूको निरन्तर, दृढ र अनुशासित सक्रियता नै सुखद दिनहरू पुनरागमन गर्ने सूत्रहरू हुन् ।

चीनको महामारी अहिले राम्रोसँग नियन्त्रित भएर उत्पादन र जीवन आधारभूत रूपमा पुनः सुरु भइसकेको छ । महामारीबाट गम्भीर धम्की खेपेको उपभोग क्षेत्र त्यसको असरबाट मुक्त भएको छ । केन्द्रीय तथा क्षेत्रीय उपभोग नीति प्रस्तुत गरिएको छ । चीनमा स्वर्णिम सेप्टेम्बर र रजत अक्टोबर भन्ने उपभोगको व्यस्त सिजनको जग बसेको छ । सर्वसाधारणको उपभोगको विश्वास र उत्साह उकासिँदै गएको छ । यस उपभोगले आर्थिक पुनरुत्थानलाई बढाउने निश्चित छ ।

दसैंतिहारजस्ता चाडपर्वमा नेपालको महामारी शिथिल हुने छाँट देखिएको छैन । राज्य निकाय शिथिल बन्ने तर जनतामाथि दोष थोपरिरहने हो भने महामारीको ‘ग्राफ’ ओरालो लाग्नेछैन । त्यसैले केही कुराहरूमा तत्काल पूर्वतयारी गर्नु श्रेयस्कर छ ।

पहिलो, महामारी रोकथाम तथा नियन्त्रणको स्थिति सुदृढ पार्नुपर्छ । चीनमा महामारी सुरु भएदेखि नै नेपालले देखेकै हो तर ढंगपूर्वक तयारी गरिरहेको थिएन । अब त राज्यका जिम्मेवार व्यक्तिहरू नै संक्रमित भएको अवस्था छ । उनीहरूले महसुस गरेको पीडाले जनताको पीडा बुझ्न टेवा गर्ला कि ? तर दसैंमा विदेशबाट भित्रिने सर्वसाधारणमाथि निगरानी गर्न सक्ने संयन्त्र बढाउनुपर्छ, भावनामा बगेर हुँदैन । यसपटकको लामो बिदामा चिनियाँहरू विदेश सायदै गए तर देशभित्रै खुलस्त घुमेका छन् । यो बिदामा चीनले अघि सारेको एउटा नीति थियो कि विदेशी संक्रमितहरू चीनमा प्रवेश गर्नबाट जोगिनुपर्छ र देशभित्रको महामारी पुनः फर्कनबाट रोक्नुपर्छ ।

दोस्रो, प्रविधि–पर्यटनमा सक्दो जोड दिनुपर्छ । पर्यटनमा प्रविधिलाई चुस्त–दुरुस्त राख्नुपर्छ ताकि सर्वसाधारणको सुरक्षा जोखिम घटाउन सकियोस् ।

तेस्रो, आत्मपरीक्षा । राज्यले आफ्नो परीक्षा लिने समय यही महामारी हो । सफलता–असफलता आफ्नो ठाउँमा छ । तर जनताका नजरमा इमानदार प्रयास भने देखिनुपर्छ । जस्तो कि राष्ट्रिय दिवसमा चीनको पर्यटन र आर्थिक बजारमा हलचल आयो । जहाँ जुन क्षेत्रमा कस्तै हल्लीचल्ली भए पनि महामारी रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धित विभागहरू आफ्ना कदमबाट टसको मस भएनन् । यातायात, खानपान, पर्यटन सेवाले आफ्नो स्थिरता र व्यवस्थापनको लत्तो छाडेनन्, खुकुलो हुन दिएनन् ।

चिनियाँ अनुभवबाट सिक्न सकिने कैयन् कुरा छन् जसले महामारी विकराल हुने अवस्था केही हदसम्म रोक्न सक्छ । यति लामो अवधि बितिसक्दा पनि स्वास्थ्यकोड अवधारणातर्फ नेपालले भेउ पाएको देखिँदैन । बरु नीतिनिर्माताहरूले नै घाँटीमा ‘कोरोना बुटी’ लगाएका हास्यास्पद घटना उजागर भए । गल्ली–गल्ली वा प्रवेशद्वारमै व्यक्तिको तापमान लिने, रोकथाम प्रणालीको विकास गर्नेतर्फ ध्यानै गइरहेको छैन । जनता, निजी क्षेत्रहरू राज्यको अनुरोध पछ्याउन उत्साहित देखिँदैनन् । राज्य र गैरसरकारी अंगहरूबीच कोभन्दा को गैरजिम्मेवार बन्ने होडबाजी बढ्ने हो भने दसैं नेपाली जीवनमा अझ ठूलो महामारी भएर देखापर्न सक्छ । चाडपर्वभन्दा ठूलो जीवन हो । चाडपर्वहरू बर्सेनि आइरहन्छन् तर यो दुर्लभ जीवन एकचोटि मात्रै हो । पहिला जीवन बचाऔं अनि पर्व मनाऔं ।

प्रकाशित : आश्विन २१, २०७७ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?