कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

‘कसैले यस्तो पीडा भोग्‍नु नपरोस्’

‘एसिड आक्रमणकारीलाई २० वर्ष कैद हुने व्यवस्था गर्न लागेकामा खुसी छु ।’
बिन्दबासिनी कंसाकार

मलाई सात वर्षअघि छिमेकमा बस्ने एक भारतीयले एसिड आक्रमण गरेका थिए । आक्रमण गर्नेलाई ८ वर्षको जेल सजाय भयो । अहिले २० वर्ष कैद हुने व्यवस्था गर्न लागेकामा खुसी छु । प्रधानमन्त्रीले पीडितलाई बोलाएर १५ दिनभित्र कानुन संशोधन गर्छु भन्नुभएको थियो, त्यो गर्नुभयो ।

‘कसैले यस्तो पीडा भोग्‍नु नपरोस्’

उहाँले जीवनभर उपचार र जागिरको व्यवस्था राज्यले गर्छ भन्नुभएको छ । त्यो पनि सकारात्मक कुरा हो । आगामी दिनमा यी कुरा पूरा हुनेछन् भन्ने आशा गरेका छौं । हामीले यसका लागि वर्षौं कुरेका थियौं । कानुन संशोधनले पीडितलाई राहत भएको छ । जागिरका लागि जाँदा अन्तर्वार्ता लिइन्थ्यो । शारीरिक स्वरूप हेरेर जागिर भने दिइँदैनथ्यो । अब एसिडपीडितले त्यस्तो बेहोर्नु नपरोस् ।

एसिड छ्याप्नेलाई कारबाही गर्न ६ ऐन हेरफेर

क्षतिपूर्तिको रकम ७ देखि १० लाख रुपैयाँ तोक्नुभएको छ । त्यो पनि राम्रै हो । पढाइ नभएका पीडितले त्यो रकमबाट आफ्नै व्यवसाय सञ्चालन गर्न सक्छन् । एसिड अहिले खुला रूपमा बेचबिखन भइरहेको छ । लाइसेन्स भएका कारण बेच्नेलाई प्रहरीले पक्राउ गर्न सक्तैन ।

नियमन, अनुगमन, प्रयोगलगायतका विषयमा रेकर्ड राख्ने व्यवस्था नभएकाले पीडक एसिड छ्यापेर भाग्थे । तर अब रेकर्ड राख्नुपर्ने कानुन बनेकाले प्रहरीले अपराधीलाई सजिलै पक्राउ गर्छ । लाइसेन्स लिएर पनि अनधिकृत रूपमा एसिड बेच्ने र किन्ने व्यक्तिको रेकर्ड नराख्नेलाई पनि कडा सजाय दिइनुपर्छ ।

हाम्रो मुलुकमा एसिड आक्रमण गलत हो भन्ने गरी जनचेतना फैलाइएको पाइँदैन । सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रिय संघसंस्था छन् । उनीहरूले एसिड आक्रमणविरुद्ध जनचेतना फैलाएको पाइँदैन । सरकारले नै जनचेतना अभियान सञ्चालन गर्नुपर्छ । भोलिका दिनमा एसिड हानेको देख्न नपाइयोस् ।

-सात वर्षअघि हेटौंडामा एसिड आक्रमणमा परेकी कंसाकारसँग गरिएको कुराकानीमा आधारित

प्रकाशित : आश्विन १०, २०७७ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?