‘मुग्लानबाट श्रीमान् फर्किए, ऋण कसरी तिरौँ ?’- ब्लग - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘मुग्लानबाट श्रीमान् फर्किए, ऋण कसरी तिरौँ ?’

कोरोनासँगै थपिए ग्रामीण महिलाका दुःख  
मेनुका ढुंगाना

अछामका अधिकांश ग्रामीण भेगमा समाचार संकलनका लागि पुगेको छु धेरै ठाउँमा जाँदा मेरा लागि महिला नै समाचारका पात्र बन्छन् । मैले धेरै महिलालाई सोध्ने गर्छु । ‘तम्रा बड्डा (श्रीमान्) काँ छन् त ?’ धेरै महिलाले दिने साझा जवाफ हुन्छ, ‘बम्बै’ । यहाँका गाउँमा भारतको जुनसुकै ठाउँमा गए पनि बम्बै भनेर बुझ्ने चलन छ ।

कोरोना संकटका कारण लकडाउन भएको दोस्रो महिना ढकारी गाउँपालिका जाने मौका मिल्यो । कोरोनाको सन्त्रासमा गाउँ पुग्नु त्यति सजिलो थिएन । गाउँमा जाँदा त्यहाँका महिलाहरुसँग कुराकानी गर्न सुरु गरेँ । गाउँलेहरु सुरुमा खुलेर कुरा गर्न अप्ठ्यारो मान्छन् । म एकजनासँग कुरा गर्न अघि सरेँ । बाहिरबाट आएकासँग बोल्न अप्ठ्यारो लागेर होला? उनले मुख छोपिन् । जब मैले अछामी भाषा बोलेँ, ‘किन लाज मान्नी छओ । मेरो घर पन मंगलसैन हो ।’

मैले यति भनिसकेपछि उनी मुसुक्क हाँसिन् । ‘तमी पन याँइ कै बोली बोल्नी रैछओ । काँ की पो हुन् सुचेर अप्ठ्यारो लाग्यो ।’ उनको हुलिया र चाउरी परेको अनुहारले उमेर झण्डै ५० को हाराहारीको अनुमान लगाउन सकिन्थ्यो । मैले उनलाई सोधेँ, ‘नाउँ क्या हो तम्रो ? तमी कती वर्षकी भया ?’ उनको जवाफ आयो ‘नाउँ मेरो धौली बुढा । ३५ बस्सकी भैगया । ५ वटा छोराछोरी छन् । घरवाला बम्बै छिया । नौलो रोग आएर घर आइगया । अब यी केडाकेटी

(छोराछोरी) लाई कसरी पढाउन्या हो । बड्डा घर आएपछि राति निन् (निद्रा) छैन । दिन भोक छैन ।’ उनले एकोहोरो आफ्ना समस्या सुनाइरहिन् । श्रीमान् घर आएपछि उनलाई ठूलो पीडा परेको छ । कारण अरु केही होइन, अब घरबार कसरी धान्ने कुराले उनको मनमा चिन्ताको बादल छाएको छ ।

घरेलु हिंसा

उनका यति कुरा सुनेर छेवैकी अर्की महिलासँग कुरा गर्न पुगेँ । धौलीसँगको सबै कुरा उनले सुनिसकेकीले मेरो परिचय दिइराख्नै परेन । उनी सहजै बोल्न तयार भइन् । मैले डायरीको पाना पल्टाउन नपाउँदै उनले आफ्नो बेदना सुनाउन थालिन् । ‘सबै ठाउँ रोग आयो भन्ने सुनेर बड्डा पन घर आया । घर आएको महिना दिनसम्म त शान्ति छियो (थियो) । बम्बैबाट ल्याएको नाप (थोरै) पैसा हुँदासम्म कलह पन केही भएन । जब पैसा सक्यो, त्यही दिनदेखि मेरा घरमा शान्त छैन’, उनले सुनाइरहिन्, ‘गाउँमा रक्सी भनेजति पाइन्छ । दाल, चामल उधारो नदिने साहुले रक्सी भने दिँदा रैछन् । दिनभरि बड्डा पसलमा हुन्छन् । बासा (साँझ) रक्सी खाएर घरमा आएपछि मलाई र छोराछोरीलाई कुट्न सुरु होइजान्छ (भइहाल्छ) ।’

यति कुरा सुनाएपछि मलाई उनको पारिवारिक अवस्था थप बुझ्न गाह्रो भएन । ४ जना छोराछोरी रहेछन् । उनी फेरि गर्भवती छिन् । उनीसँग कुरा गर्दै जाँदा थाहा भयो, आफूले चाहेर वा रहले उनी गर्भवती भएकी होइनन् । सन्तानको रहर पनि होइन । न त कुनै योजना । तर नचाहेरै पाँचौ सन्तानकी आमा बन्दैछिन् । सन्तान अब चाहिँदैन भन्ने कुरा उनले श्रीमानलाई नसुनाएकी होइनन् । बिहानैदेखि जाँड खाएर बस्ने श्रीमानसामु उनी सधैं हार्छिन् । ढकारीका यी महिला प्रतिनिधि पात्र मात्रै हुन् । उनले असह्य पीडा मलाई सुनाइन् । तर नाम नखुलाउने सर्तमा ।

उनीजस्ता थुप्रै महिला छन्, जसले परिवार र श्रीमानलाई आफ्ना कुरा राख्न सक्दैनन् । श्रीमान्को इच्छा नै उनीहरुको इच्छा हो । अझै भनौं, श्रीमान्ले श्रीमतीका कुरा सुन्न चासो नै देखाउँदैनन् । आफूले चाहेका बेला श्रीमतीको शरीरमा खेल्छन्, गर्भवती बनाउँछन् ।

ऋण तिर्नु कसरी?

त्यही दिन जिल्लाकै विकटमध्ये एक तुर्माखाँद गाउँपालिका जाने मौका मिल्यो । ढकारीका महिलासँग कुरा गरेपछि मनमा अनेक कुरा खेल्न थाले । र, छट्पटी हुन थाल्यो । कोरोना त लाग्ना, नलाग्ला तर यसले गर्दा गाउँमा अनेक समस्या देखिएका छन् । कतिपयले कोरोना जितेर निको पनि भएका छन् । तर कोरोनाको सन्त्रासले गर्दा अन्य समस्याहरु निम्तिएका छन् । कतिपय समस्या यसरी फैलिएका छन्, अब निको हुनै सक्दैन । तुर्माखाँदमा पनि महिलाहरुसँग भेटघाट भयो । मैले कुरा गर्न सुरु गरेँ ४५ वर्षीया पारु बयकसँग । उनले श्रीमान् रोगकै डरले घर आएको कुरा सुनाइन् ।

‘आफू बिरामी उपचार खर्च नहुँदा माइतीको लालपूर्जा बैंकमा राखेको छु । एक महिनामा १४ हजार बैंकमा किस्ता बुझाउनु पर्छ । महिनामा किस्ता बुझाउनलाई श्रीमान्ले हरेक महिनाको ५ गते पैसा पठाइसक्थे । तर अब श्रीमान्ले पैसा पठाउन सक्दैनन्,’ मैले उनका कुरा डायरीमा टिप्दै थिएँ, उनी भन्दै गइन्, ‘भारतमा कोरोना भाइरस फैलिन थालेपछि वैशाख १५ गते श्रीमान् घर आइसके । बिरामी हुँदा बैंकबाट कर्जा निकालेकी थिएँ । बम्बैबाट पैसा आउँथ्यो र किस्ता तिर्थेँ । पैसा कमाउने मान्छे नै घरमा छन् । अब त बम्बैको भरोसा पनि टुट्यो ।’

एकातिर भारतबाट रोजगारी गुमेर घर फर्किनुपर्दाको तनाव, अर्कातिर परिवार व्यवस्थापन गर्न नसक्दाको तनाव । यसले जतिबेला पनि मदिरा पिउनु, श्रीमती, छोराछोरीलाई कुटपिट गर्नु, तास खेल्नु नै अहिले अधिकांश पुरुषको दैनिकी बनेको छ । यति भन्दै गर्दा सबै दोष पुरुषलाई दिन खोजिएको होइन । आखिर पुरुषले नै कमाएको पैसाले त परिवार चलेको छ । भारतका गल्लीगल्लीमा डण्डा हानेर उनीहरुले परिवार पाल्न सकेका थिए । समस्या त बेरोजगारी र आर्थिक अभावले निम्त्याएको हो । जसले परिवारमा कलह भित्र्यायो भने समाजमा पनि अशान्ति बढेको छ । हुन त बाँझो जग्गा खनेर पनि जीविका चलाउने उपाय गर्न सकिन्थ्यो । तर भारत जाने परम्पराले गाउँलेका लागि खेतीपातीमा ध्यानै जान छाड्यो ।

निराश छ गाउँ

अरु बेला प्रदेश गएका श्रीमान् घर आउँदा खुसी हुने ग्रामिण महिला अहिले चिन्तित छन् । भारतबाट आउने, खेतिपाती लगाएर फेरि कमाउन फर्किने भएकाले उनीहरु खुसी हुन्थे । तर अहिले फर्किने टुंगो छैन । दशैं, तिहार आउँदा उल्लासमय हुने ग्रामीण भेगमा भारतबाट श्रीमान्, छोरा, भतिजा आउँदा दोब्बर खुसीयाली छाउँथ्यो ।

तर अहिले समय बदलिएको छ । गत मंसिरमा गहुँ छरेर मुग्लान पसेका अधिकांश पुरुष चैतमा गाउँ फर्किन सुरु गरे । त्यसपछि ग्रामीण परिवारमा तनाव, अभाव र भोकमरीले गाँजेको छ । मुग्लानबाट घर आएपछि फर्किने टुंगो छैन । नफर्किएपछि घरबार कसरी चल्छ ? हो, यही कारणले आफन्त भारतबाट फर्किँदा पनि गाउँमा खुसी छैन । परिवारको गुजारा चलाउने बाटो नै बन्द भएको छ ।

यसअघि बम्बैबाट श्रीमान्ले पैसा पठाउने बाटो कुर्थे । त्यही पैसाले परिवारको रोजीरोटी चलाउने महिला अहिले निराश छन् । अधिकांशको परिवारमा पैसा आउने स्रोत बन्द भएको छ । अब बम्बै जान नपाए अधिकांश छोराछोरीका रहर पूरा हुने छैनन् । विभिन्न कारणले लागेको ऋण तिर्न त कठिन भएकै छ । साहुलाई ब्याज तिर्न पनि नसकेर पनि धेरैको परिवारमा अशान्ति सुरु भएको छ । यसको मूल कारण हो, घरको कमाउने मान्छे नै बेरोजगार भएर गाउँमै थन्किनु ।

चलनचल्तीको ज्यालादरमा काम गर्न इच्छुक र सक्षम मानिसहरुले रोजगार पाउन नसक्दा विभिन्न खालका समस्या थपिँदैछन् । यसले समाजमा आर्थिक संकटसँगै अनेकन विकृति र समस्या पनि बढाएको छ । बेरोजगारीले गरिबी, असमानता, चोरी, डकैती, वेश्यावृत्ति, मानव बेचबिखन, हत्या जस्ता गम्भीर समस्या निम्त्याइरहेको छ ।

रोजगारी बढाऔं

सरकारले चलाइरहेको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गाउँ फर्किएकालाई फाइदा दिन उत्पादनमुलक क्षेत्रमा लगानी गर्नु आवश्यक भएको छ । त्यो लगानीले माथि उल्लेखित जस्तै ग्रामीण परिवारलाई राहत मिलोस् । साविकको जिल्ला विकास समितिको कार्यालयको तथ्यांकमा अछामका ४० हजार भन्दा बढी भारतमा कामको सिलसिलामा गएको देखिन्छ ।

करिब ६ वर्ष अघि गरिएको सर्वेक्षेण भएकाले हालसम्म ५० हजार भन्दा अछामी भारत पुगेका छन् । कोरोना भाइरसको बढ्दो संक्रमणले करिब २० हजार युवाहरु अछाम फर्केको अनुमान छ । स्वास्थ्य कार्यालय अछामका अनुसार चैत ११ गतेदेखि हालसम्म करिब १५ हजार व्यक्ति क्वारेन्टाइनमा बसेका छन् । माघदेखि चैत १० गतेसम्म करिब ५ हजार व्यक्ति भारतबाट अछाम फर्केको अनुमान छ । यसरी हेर्दा अहिलेसम्म २० हजार फर्किए भने अझै ३० हजार भारतमै रहेका छन् ।

एकैपटक हजारौंको संख्यामा भारतबाट फर्किँदा पनि तीन तहकै सरकारले रोजगारीका अवसर सिर्जना गर्ने कुरालाई प्रथामिकतामा राखेको देखिँदैन । तत्काल बेरोजगार अवसर दिन उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सके धेरैजस्तो ग्रामीण परिवारको समस्या सामाधान हुन सक्ने देखिन्छ ।

प्रकाशित : भाद्र १४, २०७७ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्

कालीकोटको नाग्मबजारमा पहिरो, १ को मृत्यु, १२ जना बेपत्ता

तुलाराम पाण्डे

कालिकोट — कालीकोटको तिलागुफा-१ स्थित नाग्म बजारमा आइतबार बिहानको पहिरो जाँदा १ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् ।

पहिरोमा चारवटा घर पुरिदा १२ जना बेपत्ता भएको आशंका गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए । पहिरोमा परी ५ वर्षीय निराजन शाहीको मृत्यु भएको छ । अन्य दुई जनाको जीवितै उद्धार गरिएको प्रजिअ गैरेले बताए ।

नाग्म बजारको पछाडीपट्टीको भिरोलो जमिन भासिएर पहिरो जाँदा तिलागुफा-१ का लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारको घर पुरिएका हुन् ।

प्रहरीले जीवितै उद्धार गरेका अर्जुन हमाल र पुन्नी शाहीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ । पहिरोमा परी पुन्नी शाहीका ४० वर्षीय पति प्रयाग शाही, ७ वर्षीया छोरी हिमा, र १ महिने छोरा अक्कल बेपत्ता भएको कालीकोटका डीएसपी श्यामबाबु ओलियाले बताए । अन्यको जानकारी लिने काम भइरहेको डीएसपी ओलियाले बताए । पहिरोले कर्णाली राजमार्ग पनि अवरुद्ध भएको छ ।

कालीकोट र जुम्लाको सिमानामा पर्ने नाग्म बजार कालीकोटको तिलागुफा नगरपालिका, जुम्लाको हिमा र तिला गाउँपालिकाको व्यापारिक केन्द्र हो ।

प्रकाशित : भाद्र १४, २०७७ १४:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×