१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

कोरोनासँग जम्काभेट

हाम्रो समाजमा यो रोगको जुन त्रासदी छ, त्यस्तो होइन रहेछ । आफैंले भोगेपछि यसलाई सामान्य रूपमा लिन थालेको छु ।
रवीन्द्र धिताल

लामो लकडाउनपछि जीवन विस्तारै सामान्य बन्दै गइरहेको थियो । कार्यालयका काम पूर्ववत् सञ्चालन हुन थालेका थिए । आवरणमा अवस्था सामान्य हुँदै गएजस्तो प्रतीत भए पनि भविष्य भयावह रहेको अनुमान गर्न गाह्रो भने थिएन ।

कोरोनासँग जम्काभेट

कारण– संक्रमण रोकथाममा जुन किसिमको सरकारी उदासीनता देखिन्थ्यो, जनताका व्यवहार पनि ठ्याक्कै उस्तै थिए । त्यस्तो अवस्थामा सचेत नागरिक बनेर आफ्नो सुरक्षाका लागि आवश्यक उपाय अपनाउँदै दैनिकी चलाइरहेको थिएँ ।

अचानक एक दिन केही असहज महसुस गरेँ । ऋतु परिवर्तनको समयमा आउने सामान्य ज्वरोले यस वर्ष पनि छोडेन भनेर घरेलु उपचारमा लागेँ । तर, ज्वरो असामान्य हुँदै गएपछि आफूलाई एकान्तवास (आइसोलेसन) मा राखेँ । बिस्तारै बान्ता हुने, शरीर दुख्नेजस्ता लक्षण पनि देखिन थालेपछि मनमा चिसो पस्यो । तीन दिन बित्यो, यी लक्षण कम हुने छनक नै देखिएन । अनि कोरोना परीक्षण गराउने निधो गरेँ । नभन्दै नतिजा पोजिटिभ देखियो ।

आफ्नो चिनजानमा त्यस दिनसम्म अरू कसैलाई कोरोना देखिएको थिएन । अब आफूलाई कसरी मानसिक हिसाबले तयार गर्ने भन्ने अन्योलमै केही समय बित्यो । तर, यो रोग लाग्दैमा आत्तिन नपर्ने चिकित्सकहरूको सल्लाह र विश्वभर निको हुनेको संख्या अत्यधिक भएको तथ्यांकलाई आत्मसात् गर्दै मैले पनि यसलाई जितेर छाड्ने निधो गरेँ । बिस्तारै रोगका लक्षण कम हुँदै गए । हुँदाहुँदा यसलाई अन्य बेलाको सिजनल फ्लुभन्दा अलि फरक तर सोचेभन्दा निकै सहज भाइरसका रूपमा पो अनुभव गरेँ । तथापि यो एक सरुवा रोग भएकाले आफूलाई मात्र सहज भएर सन्तुष्ट हुन सकिने अवस्था थिएन । कन्ट्याक्ट ट्रेसिङबाट परिवार र आफन्तभित्रै अन्य चार जनालाई पनि कोरोना पोजिटिभ देखियो जसमा चार वर्षकी सानी छोरीदेखि प्रेसरकी रोगी आमा र मधुमेहका रोगी ससुरा बुबासमेत हुनुहुन्थ्यो । यसले मलाई आफूलाई रोग लागेको कुराले भन्दा ज्यादा त्रस्त पारेको थियो । तर, मलाई जसरी नै परिवारका अरू सदस्यलाई पनि यो भाइरसले खासै समस्या नपारी प्रभाव कम गर्दै लग्यो ।

हाम्रो समाजमा यो रोगको जुन त्रासदी छ, त्यस्तो होइन रहेछ । आफैंले भोगेपछि अब यसलाई सामान्य रूपमा लिन थालेको छु । सिजनल फ्लुभन्दा अलि फरक प्रभाव देखाउने तर हाम्रो शरीरले पचाउन सक्ने भाइरस हो यो । यसले आक्रमण गरेमा सजग हुने, नआत्तिने, आत्मबल दह्रो बनाउने र एकान्तवास बस्ने नै सरल उपचार पद्धति रहेछ । उमेर–समूह, आफूसँग भएका अन्य रोगहरू, मानसिक प्रभावले केही दिन तलमाथि पार्ने भए पनि निकोचाहिँ हुन्छ भन्ने अस्पतालबाट घर जाँदै गरेकाहरूबाट पनि देखिन्छ । त्यसैले रोग लागिहाले पनि आत्तिन नपर्ने महसुस गरेको छु ।

लक्षण देखिएको चार–पाँच दिनपछि आफूलाई यस भाइरसबाट मुक्ति मिलिसकेको अनुभव गर्न सकिन्छ । तर भाइरस शरीरबाट पूर्णतया हट्ने निश्चित प्रक्रिया भएकाले केही दिन आइसोलेसनमै बसेर त्यो दिन कुर्ने संयम अपनाउन जरुरी देखिन्छ ।

यो भाइरसको असर निर्मूल पार्न संसारभरिका वैज्ञानिक निकै मिहिनेत गरिरहेका छन् । तर जुन किसिमले यो भाइरसलाई भयावह र प्राणघातक रूपमा प्रचार गरिएको छ, त्यस किसिमको समस्या यसले पार्दैन भन्ने अनुभूति मलाई भएको छ । हो, अन्य भाइरसको तुलनामा यसको संक्रमण दर र शक्ति निकै धेरै देखिन्छ । त्यसै कारण नजानिँदो तरिकाले समुदाय स्तरमा फैलिएर यसले अन्य रोगबाट पहिल्यैदेखि दुःख भोगिरहेकाहरूलाई पक्कै ज्यादा असर गरिरहेको छ । केही जटिल दीर्घरोग (सुगर, प्रेसर, थाइराइड आदि) का बिरामीले सहजै जित्न सक्ने भए पनि श्वासप्रश्वाससम्बन्धी समस्या रहेका व्यक्तिमा यसको प्रभाव अलि जटिल भएको देखिन्छ ।

यो भाइरसलाई साह्रै सहज रूपमा लिनुपर्छ भन्न खोजेको चाहिँ होइन । तर यसबाट अहिले हाम्रो समाज जति भयभीत छ, त्यो हदसम्म हुनुपर्नेचाहिँ रहेनछ भन्ने महसुस मलाई भएको छ । हुन त यो मेरो व्यक्तिगत भोगाइ हो, सबैसँग मिल्छ भन्ने छैन । तर, मसँग सम्पर्कमा आएका करिब सय जनाजति बिरामीको अनुभव पनि मैसँग मिल्दोजुल्दो छ । यो अनुभवले अरू बिरामीलाई पनि आत्मबल बढाउन सहयोग पुग्ला भनी यी कुरा राखेको हुँ ।

प्रकाशित : भाद्र ११, २०७७ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?