१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

धोनी : द्रविड राज्यमा ‘नन–द्रविडियन स्टार’  

जगदीश्वर पाण्डे

काठमाडौँ — जसरी हामी नेपालमा बसेर भारतलाई हेर्छौं/चिन्ने कोसिस गर्छौं, त्योभन्दा भारत विलकुल फरक छ । हिन्दी भाषा बोल्नेलाई भारतीय मान्ने सोच धेरैमा देखिन्छ (सबैमा होइन) । तर, भारत घुमेपछि थाहा हुन्छ, भारतमा हिन्दी नजान्ने र नबुझ्ने पनि भारतीयहरु हुँदा रहेछन् । नजान्ने र नबुझ्ने मात्र होइन, हिन्दी भनेपछि ‘एलर्जी’ हुनेसमेत भारतीय हुँदा रहेछन् भन्ने देख्न सकिन्छ र भेट्न सकिन्छ । 

धोनी : द्रविड राज्यमा ‘नन–द्रविडियन स्टार’  

हिन्दी नबुझ्ने, जान्नको लागि कोसिस पनि नगर्ने र हिन्दी भनेपछि एलर्जी हुने भारतमा मुख्यगरी दक्षिण भारती राज्यका नागरिकहरु हुन्छन् । ती राज्यहरु हुन्, आन्ध्रप्रदेश, तेलांगना, कर्नाटक, केरला र तमिलनाडु । ती राज्यहरुमा आफ्नै द्रविडियन संस्कृति, भेषभुषा र भाषा छन् ।

उत्तरी भारतको संस्कृति, भेष–भूषा र भाषासँग त्यस क्षेत्रको मेल खाँदैन । देशमा हुँदा माहत्मा गान्धीको फोटो भएको नोट चलाउने र विदेश जाँदा भारतीय पासपोर्ट बोक्नेबाहेक दक्षिण भारतका नागरिकहरुलाई उत्तरी भारतसँग खासै मतलब भएजस्तो देखिन्न । भारतलाई रेल र बलिउडले जोडेको भनिने गरे पनि दक्षिण भारतलाई बलिउडले पनि जोड्न सकेको देखिन्न । किनकी एकाधबाहेक त्यहाँका फिल्म स्टारहरु आफ्नै फिल्म उद्योगमा रमाउँछन् र त्यहाँका नागरिकहरु पनि आफ्नै स्थानीय भाषामा फिल्म हेर्न मन पराउँछन् ।

यी सबै राज्यहरु मध्ये पनि तमिलनाडु अन्य दक्षिण राज्यको तुलनामा आफ्नो भाषा, संस्कृति र पहिचानलाई लिएर झन् कडा मानिन्छ । यसको भाषिक लडाईंको आफ्नै इतिहास पनि छ । यो राज्यको शासन सत्तामा सन् १९६७ पछि भारतीय जनता पार्टी वा कांग्रेसले पाइलो हाल्न पाएको छैन । स्थानीय द्रविडियन पार्टी डीएमके (द्रबिड मुनेत्र कज्हगम) र एआईए–डीएमके (अल इन्डिया अन्ना–द्रबिड मुनेत्र कज्हगम) ले यहाँ शासन गरिरहेका छन् । बीजेपी र कांग्रेसले लामो समयदेखि स्थानीय पार्टीको सिन्डिकेटलाई तोड्ने प्रयास गरे पनि सफल भएका छैनन् ।

त्यसैले दुवै पार्टी उक्त राज्यमा छिर्नको लागि त्यहाँका चर्चित फिल्म स्टार रजनीकान्तलाई आफ्नो पक्षमा पार्न प्रयासरत छन् । बिजेपीले त्यहाँ हिन्दुलाई धर्मको नामबाट पनि आफ्नोमा तान्न खोजिरहेको छ । भनिन्छ, तमिलनाडुमा भारतले क्रिकेट खेल खेल्यो र जित्यो भन्ने भन्दा पनि त्यस टिममा आफ्नो राज्यको खेलाडी परे वा परेनन् भन्नेमा मुख्य चासोको विषय हुन्छ । केन्द्रमा सरकार बन्दा आफ्नो प्रदेशको को मन्त्री भए भन्नेमा उनीहरुको चासो हुन्छ । बाँकी भारत खासगरी उत्तरी क्षेत्रसँग यिनको केही मतलब छैन भन्ने कुरा केही साहित्य र फिल्ममा पनि दर्शाइएको छ ।

यस्तोमा सन् २००८ मा विश्वकै क्रिकेट दुनियाँमा करोडौं रुपैंया खर्चेर इन्डियन प्रिमियर लिग हुन्छ । उक्त लिगमा चेन्नाई सुपर किंग्स पनि एउटा टोलीको रुपमा घोषणा हुन्छ । जसको नेतृत्व अघिल्लो वर्ष भारतलाई नयाँ संस्करणको ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटमा ट्रफी जिताउन सफल महेन्द्र सिंह धोनीले गर्छन् ।

सन् १९१६ को ब्रिटिस कालमा चेन्नईमा निर्माण भएको चेपक रंगशालामा बिहार (झारखन्ड) को राँचीमा जन्मिएका धोनीको इन्ट्री हुन्छ । धोनीको नेतृत्वमा चेन्नईले तीनपटक आईपीएलको ट्रफी उचाल्छ भने पाँचपटक फाइनलमा पुग्छ । त्यो पनि बीचका दुई वर्ष टिममाथि लगाइएको प्रतिबन्धका बाबजुद । चेन्नई आइपिएलको सबैभन्दा सफल टोली बन्छ । जुन टोलीको नेतृत्व गरेका थिए, उनै धोनीले ।

धेरै चिजले गर्न नसकेको काम यसरी तमिलनाडुमा क्रिकेटले गरदियो । जुन उत्तर भारतसँग तमिलनाडु चेन्नई सम्बन्ध जोड्न चाहन्थेनन् त्यहींका क्रिकेटर धोनी तमिलनाडूको सबैभन्दा लोकप्रिय पात्रका रुपमा जन्मिए ।

क्रिकेटमा किताबसमेत लेखेका भारतीय पत्रकार राजदीप सरदेसाईले सन् २०१८ को ‘हिन्दु बुक फेस्टिभल’ मा धोनीले भारतीय लोकतन्त्रको नक्सा नै बदलिएको बताएका थिए । उनको भनेका थिए, ‘कसले सोचेको थियो, राँचीको एउटा केटो आएर दक्षिणी भारतको तमिलनाडुमा सबैको मनमा बस्न सक्छ भनेर ?’

सन् २०१८ मा म चेन्नईमा अध्ययनको सिलसिलामा थिएँ । खेल मिलेमतोको आरोपमा दुई वर्ष प्रतिबन्ध भोगेर चेन्नई त्यस वर्ष फेरि आइपिएलमा फर्किएको थियो । खेल भएको दिन त हेर्न जान असम्भव जस्तै थियो । त्यति धेरै मान्छे र भिडलाई छिचोल्दै अघि बढ्न मैलै आँट गरिनँ । तर, चेन्नई सुपर किंग्सको अभ्यास खेल हेर्नका लागि साथीहरुसँग चेपक रंगाशाला पुगेको थिएँ । त्यो पनि ठूलो भिडलाई पार गर्दै । मैदानमा अभ्यास गर्दासमेत धोनीलाई हेर्न आउनेको भिडबाट उनको लोकप्रियताको आकलन गर्न सकिन्थ्यो । उक्त क्षेत्रका मुख्य खेलाडी थिए, आर. आसविन । तर, आसविनभन्दा धोनीलाई मानिसहरुले बढी पच्छ्याउँथें । द्रबिडियनहरुले यसरी नन–द्रबियनलाई पच्छ्याएको देखेरै होला, पत्रकार सरदेसाईले धोनीले भारतको लोकतन्त्रलाई आफ्नो खेलमार्फत् सहयोग गरिरहेका छन् भन्ने अभिव्यक्ति दिएको ।

धोनी तमिलनाडुमा कलाकार रजनीकान्त र संगीतकार एआर रहमानपछि लोकप्रिय मानिन्छन् । चेन्नईका बासिन्दा तथा क्रिकेटलाई नजिकबाट हेरिरहेका भुवन मल्लिक भन्छन्, ‘धोनी सबै तमिलहरुको मन–मनमा बसिसकेका छन् । उनलाई सबैले यही राज्यको मान्छन् । किनकी उनले हाम्रो राज्यकै लागि चेन्नई सुपर किंग्सको नेतृत्व गर्दै खेले र हामीलाई गौरव गर्नलायक बनाए ।’

मल्लिक धोनीलाई अन्य जर्सीभन्दा चेन्नई सुपर किंग्सको पहेंलो रंगको जर्सी लगाउँदा राम्रो देख्छन् । मल्लिकले पनि धोनीले लगाउने जर्सी नै किनेर लगाइरहेका छन् । उनी थप्छन्, ‘धोनीलाई तमिलनाडूमा खान, बस्न, हिँड्न, आदि कुनै पनि काममा कुनै शूल्क लाग्दैन । सबैले उनलाई मन पराउँछन् र सहयोग गर्न पाउँदा खुसी हुने बताउँछन् ।’ धोनीले पनि अन्तर्वार्ताहरुमा चेन्नईलाई राँचीपछिको दोस्रो घर बताउने गरेका छन् ।

धोनीले यही १५ अगष्टमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिँदा उनलाई सबैभन्दा चेन्नईका जनताले हेरिरहेका थिए । भारतमा दक्षिण भारत र उत्तर भारतबीचको सबभन्दा ठूलो खडलको रुपमा भाषालाई लिइन्छ । भेट भएपछि तमिलहरु हरेक मान्छेलाई कुन स्थानबाट आएको र के भाषा बोल्नु हुन्छ भनेर सोध्न गर्छन् । तर, धोनीको सवालमा उनीहरु यो प्रश्न कहिल्यै पनि गर्दैनन् । उनीहरुलाई लाग्दैन, धोनी अर्को राज्यका हुन् । धोनी त तमिलनाडूमै जन्मे–हुर्केका हुन्समेत भन्न उनीहरु पछि पर्दैनन् ।

अर्थात् धोनी द्रविडयन राज्यमा ‘नन–द्रविडियन स्टार’ बन्न सफल भए, त्यो पनि द्रविडयन व्यक्तिकै हैसियतमा ।

धोनी र तमिलनाडूको यो कथाको महत्व दुईवटा कारणले छ भन्ने मलाई लाग्छ । एउटा भाषिक र सांस्कृतिक रुपमा विविधता भएको एउटै देशलाई पनि जोड्ने विभिन्न औजार र यन्त्रहरु हुन्छन् भन्ने बुझ्नका लागि । र, दोस्रो त्यस्तो काम खेलबाट हुनसक्छ भन्ने महसुस गर्नका लागि । राजनीतिजस्तो खेलमा पनि सामूहिक भावना हुन्छ । व्यक्ति चाहे कोठाभित्र एक्लै बसेर टिभीमा कुनै खेल हेरिरहेको होस् तर उसको भावना हज्जारौं/लाखौं खेलप्रेमीसँग गाँसिएको हुन्छ । एकैपटक फरक फरक स्थानमा बसेका आपसमा अपरिचित मानिसहरुलाई एउटै भावनामा गाँस्नु चानचुने कुरा होइन । यो शक्ति खेलमा छ । यो शक्ति सिनेमामा हुन्छ ।

त्यसमाथि खेलाडी धोनीजस्तो क्षमता भयो भने त उसले झन् आफ्नो जादु समेत मिसाएर त्यो खेलको शक्तिलाई नै बढाउन सक्छ ।

प्रकाशित : भाद्र ३, २०७७ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?