कोसी ब्यारेज

खासमा उनको घर कोसी ब्यारेजपारि बिहारको वीरपुर हो तर चलनचल्तीको भाषामा त्यतातिर कोसी ब्यारेज भन्दारहेछन् । इतिहासको कुनै कालखण्डमा भएको गल्तीको कारण जनस्तरमा समेत भाष्य (न्यारेटिभ) परिवर्तन हुँदै जाने यो सानो उदाहरण मात्रै हो ।
हरिकुमार श्रेष्ठ

गत मंसिर महिनाको कुरा गर्दैछु । कोरोना कहर सुरु भएको थिएन । म नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली गएको थिएँ । एक हप्ताका लागि गएको; यो परीक्षण, त्यो परीक्षण गर्दैमा झण्डै एक महिना बिताउनुपर्‍यो । म त्यति लामो समय दिल्लीमा बसेको थिइनँ ।हुनत, परराष्ट्रमा जागिर खाँदा सरकारी कामको सिलसिलामा धेरै पटक दिल्ली जाने काम पर्दथ्यो, तर त्यो ठिमीले यात्राजस्तै हुन्थ्यो ।

दिल्ली वास्तवमा मैले राम्ररी घुमेकै थिइनँ भन्दा हुन्थ्यो । एक मनमा अहिले ठीकै पनि लाग्यो, अस्पतालको तारेखको बहानामा मन फुकाएर दिल्ली घुम्न पाइने भयो ।

दिल्ली घुम्न सबैभन्दा भरपर्दो सार्वजनिक यातायातको साधन दिल्ली मेट्रो नै हो । मेट्रोमा यात्रा गर्ने बानी मलाई मस्को पोस्टिङ हुँदादेखि नै परेको हो । लन्डन बस्दा पनि म प्रायः त्यहाँको अण्डरग्राउन्ड मेट्रोमा यात्रा गर्न रुचाउथेँ । अहिले दिल्ली बस्दा पनि अलि टाढा आउजाउ गर्न मलाई मेट्रो नै सजिलो लाग्यो ।

त्यसरी मेट्रोमा यात्रा गर्दा समय र पैसाको बचत त हुन्थ्यो नै, मेट्रो कल्चरको झलक पनि देख्न सकिन्थ्यो । बिहान-बेलुका कार्यालय समयमा दिल्लीको राजीव चोक, केन्द्रीय सचिवालय, मण्डी हाउस, कश्मीरी गेटजस्ता व्यस्त मेट्रो स्टेसनमा मानव समुद्र उर्लेको भान हुन्थ्यो । त्यो भीडमा पसेपछि नदीको भेलले हुत्याएजस्तै मानिसको भीडले धकेलेर कुन बेला एक छेउबाट अर्को छेउमा पुर्‍याउँथ्यो । थामी नसक्नुको भीड देख्दा दिल्लीवासीको उकुसमुकुसको जीवन पनि स्वतः अनुमान लगाउन सकिन्थ्यो ।

मेट्रोभित्र पसेपछि पनि जीवनशैली अर्कै । महिला, वृद्ध, अशक्तजनका लागि भनेर छुट्याइएको सिटमा अरू यात्रु ढसमस्स गरी बसेको देखिँदैन । त्यसमाथि सुरुको एउटा सिङ्गै मेट्रोकार महिला यात्रुका लागि सुरक्षित गरिएको हुँदोरहेछ । त्यहाँ पुरुष यात्रुको प्रवेश गैरकानूनी नै रहेछ । भीडभाडको बीच पनि यात्रुहरूमा शालीनता देखिन्थ्यो, हल्लाखल्ला हुन्थेन । सिटमा होस् या भुइँमा, यात्रुहरू आ-आफ्ना मोबाइल, ट्याबलेट, ल्यापटपमा व्यस्त देखिन्थे । एक अर्थमा त्यसलाई मेट्रो संस्कृति पनि भन्न सकिन्थ्यो ।

मेट्रोबाट निस्केपछि भने दिल्लीको वास्तविक अनुहार देखिन्थ्यो । सडकपेटीमा मान्छेको भीड, कोलाहल, ट्राफिकजाम; फोहोर पनि त्यस्तै। ध्वनि प्रदूषण, वायु प्रदूषण- भारतको राजधानीले भोगिरहेको यथार्थ थियो । गर्मी याममा भतभती पोल्ने गर्मी र जाडोमा भित्री मुटु कमाउने शीतलहर आउने दिल्लीमा नोभेम्बर महिना मनोरम हुनुपर्ने हो तर प्रदूषित वायुमण्डलका कारण दिल्लीको आकाशले घामको मुख देख्न नपाएको महिना दिन हुन लागेको थियो ।

त्यसै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीलाई मृत सहरतिर उन्मुख भनेका रहेनछन् । धानी नसक्नुको सवारीसाधन र वरिपरिका कलकारखानाबाट निस्कने धुवाँले दिल्लीको प्रदूषणको समस्या उसै गम्भीर बनाएको थियो, त्यसमाथि बाली भित्र्याएपछि पञ्जाब र हरियाणाका किसानले बर्सेनि खेतमा बाल्ने परालको आगोको धुवाँले दिल्लीवासीलाई सास फेर्न समेत गाह्रो पारेको थियो । दिल्लीका सडकमा गुड्ने सवारीसाधनले दिउँसै हेडलाइट बाल्नुपर्ने स्थिति आएको थियो । निसास्सिँदो हावामा स्कुले नानीहरूलाई सास फेर्नसमेत गाह्रो हुँदा दिल्ली सरकारले केही दिनका लागि शिक्षण संस्थासमेत बन्द गर्नुपरेको थियो । त्यस्तै, दिल्लीको सडकमा गुड्ने सवारीसाधनका लागि सरकारले जोर-बिजोर प्रणाली पनि लागू गरेको थियो ।

केजरीवालको प्रयासलाई दिल्लीवासीले राम्रैसँग सहयोग गरेको देखिन्थ्यो । तर उनले बीजेपी नेतृत्वको केन्द्रीय सरकारको सहयोग पाएका थिएनन् । बरु उल्टै आलोचना खेपिरहेका थिए । तैपनि उनले हरेस खाएका थिएनन् । महाभारतको एक्लो अभिमन्युजस्तै उनी दिल्लीवासीको आम जीवनस्तर सुधार्न लागी परिरहेका थिए । उनको निरन्तरको प्रयासले दिल्लीका आम जनताले वर्षौँदेखि भोगिरहेको बिजुली, पानी, सार्वजनिक विद्यालय र स्वास्थ्य क्षेत्रको सुधारमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै केही ठोस नतिजा ल्याउनसमेत सफल भएको थियो ।

जस्तो- बत्ती, बिजुली, पानीजस्ता अत्यावश्यक सेवाकै उदाहरण लिऊँ । दिल्लीमा पहिला-पहिलाजस्तो लोडसेडिङ हुँदैन, त्यस्तै एक बाल्टिन पानीका लागि गृहिणीहरूले घण्टौँ लाइन पनि बस्नुपर्दैन । व्यवस्थापनलाई चुस्त बनाउन सके त्यो सम्भव हुँदोरहेछ भन्ने सानो उदाहरण हो यो । तर केजरीवाल त्यत्तिकैमा सन्तुष्ट छैनन्, उनको प्रयासको कारण दिल्लीका निम्न आय भएका परिवारले तिर्ने मासिक विद्युत् महसुल महाराष्ट्र र गुजरात राज्यमा भन्दा पनि कम रहेछ । त्यस्को साक्षी हामी स्वयम् हो ।

हामी बस्ने फ्ल्याटमा बिजुली, पानीको पैसा हामी आफैँले बुझाउनुपर्थ्यो । केही हप्तापछि मिटर रिडरले विद्युत् महसुलको बिल ढोकामा छिराए । त्यस्तो बिल मैले त्यसअघि देखेकै थिइनँ, पढ्नु त अर्कै कुरा । मैले त्यसलाई दोहर्‍याई-तेहर्‍याई पढेँ । कारण, बिलको एकातिर मासिक खपत युनिट र महसुल रकम थियो भने अर्कोतिर केजरीवालले दिल्लीवासीलाई सम्बोधन गरेको पत्र थियो, जसमा दिल्ली सरकारले विद्युत् चुहावट रोक्न गरेको प्रयासको फलस्वरूप विद्युत् आपूर्तिमा आएको नियमितता र निम्न आय भएका परिवारका लागि विद्युत् महसुलमा गरिएको छुट सुविधाबारे विस्तृतमा उल्लेख गरिएको थियो । प्रयास गरे आखिर हुँदोरहेछ त ।

त्यस्तै, सार्वजनिक उद्यान र सुलभ शौचालयको व्यवस्थापनमा समेत दिल्ली सरकारको प्रयास अनुकरणीय छ । दिल्लीका प्रायः सबै मेट्रो स्टेसन र मेट्रोबाहिर समेत सफासुग्घर सुलभ शौचालय प्रयोग गर्न पाइन्छ । यात्रुहरूलाई

हाम्रोमा जस्तो कन्तबिजोग बेहोर्न पर्दैन । त्यसरी शौचालय प्रयोग गर्दा खुद्रा पैसा भने साथमा बोक्नु पर्दोरहेछ । हामीलाई पनि मेट्रोमा यात्रा गर्दा मेट्रो कार्ड र सुर्के थैलीमा खुद्रा पैसा बोक्ने बानी नै पर्‍यो ।

नेपालमा खुद्रा पैसा, मोहरको प्रचलन हराइसक्यो भन्दा पनि हुन्छ । तर भारतमा खुद्रा किनमेलका लागि एक, दुई, पाँच र दशसम्मका मोहर निकै चलनचल्तीमा आउँदारहेछन् । बेलायत र अमेरिकामा पनि त्यहाँका खुद्रा मोहर ग्रोसरी किनमेल र सार्वजनिक यातायातमा खुबै चल्छन् । ती मोहर धेरै टिकाउ हुने, रोगको सङ्क्रमणको जोखिम पनि कम हुने भएकोले तिनको प्रचलनमा त्यहाँका केन्द्रीय बैंकले प्राथमिकता दिएको बुझ्न गाह्रो छैन । हाम्रो राष्ट्र बैंकले पनि पाँच रुपैयाँसम्मका नोटको साटो टक्सार विभागले मोरु एक, दुई, पाँच र दशसम्मका सिक्का छापी प्रचलनमा ल्याउन सर्वथा व्यावहारिक देखिन्छ ।

दिल्लीजस्तो शुष्क मरुभूमीय हावापानी भएको सहर पनि हरियालीले ढाकिनुको श्रेय त्यहाँको विशाल रमणीय पार्क र सार्वजनिक उद्यानहरूलाई जान्छ । दिल्लीको सानो ठूलो जुनसुकै आवासक्षेत्र किन नहोस् त्यस्ता ठाउँमा सानो भए पनि एउटा पार्क त अवश्यै हुन्छ । त्यतिमात्र हैन, साँझ-बिहान पार्क घुम्न आउनेका लागि सानो जिमखानाको सुविधा पनि हुँदोरहेछ । जहाँ केटाकेटीदेखि विभिन्न उमेरका मानिसहरू आफ्नो शरीर सुहाउँदो व्यायाम गरिरहेका हुन्छन् । त्यसै दिल्लीमा केजरीवालको लोकप्रियता बढेको रहेनछ ।

हामी त्यहाँ छँदा नै दिल्ली विधानसभाको चुनाव नजिकिँदै थियो । चुनावी सरगर्मी पनि बढ्दै थियो । ठाउँठाउँमा भित्तेलेखन र पोस्टरहरू छापछापती देखिन्थे । त्यस्तैमा म सधैँ हिँड्ने सडकपेटीको भित्तामा हालै लेखिएको एक चुनावी भित्तेलेखनले मेरो नजर तान्यो, जसमा लेखिएको थियो :

‘दिल्ली बोले दिल से

केजरीवाल फिर से ।’

भित्तेलेखन र पोस्टर कलाकारितामा भारतीयहरूलाई कसले भेट्ने ? नभन्दै केजरीवालको आम आद्‍मी पार्टीले यो चुनाव पनि अत्यधिक सिट हासिल गरी विजयी भयो ।

सडकपेटीलाई अरू प्रयोजनका लागि समेत निःशुल्क प्रयोग गरेको हामीले देख्दै आएका छौँ- जस्तो चियापसल, नाङ्लेपसल, पत्रपत्रिका बेच्ने ठाउँ, फलफूल जुस बेच्ने ठाउँ आदि । तर सडकपेटीमा नै काठको अग्लो मेच राखेर अनि सडकपेटीको भित्तामा ऐना झुन्ड्याएर हजामले सैलुन चलाएको मैले दिल्लीमा देखेँ ।

त्यो दृश्यले मलाई धेरै पहिलेको अतीततिर डोर्‍यायो ।

२०४०-४१ सालतिरको कुरा हो । त्यतिखेर म परराष्ट्रमा नवप्रवेशी थिएँ । कुपण्डोलमा डेरा थियो । प्रायः हिँडेरै सिंहदरबार मन्त्रालयमा जान्थेँ । त्यसरी हिँडेरै जानेमा मेरा हाकिम गोवर्द्धनविक्रम शाह पनि थिए । हामी गफिँदै मन्त्रालय जाँदा र घर फर्कँदा समय गएको पत्तै हुन्थेन । उनलाई ठट्टामजाक गर्न पनि त्यति नै आउने । व्यङ्ग्य, छेड्खान गर्न उनलाई मन्त्रालयमा कसैले भेट्दैनथे ।

त्यतिखेर थापाथलीमा वाग्मतीको नयाँ पुल बनिसकेको थिएन । जापान सरकारले बनाइदिएको नयाँ पुलको ठाउँमा चन्द्र शमशेरको पालामा बनेको पैदलयात्रु हिँड्ने फलामे पुल थियो । हामी त्यही पुलबाट आउजाउ गर्ने गर्थ्यौँ । कुपण्डोलबाट पुल तरेर थापाथली पुग्ने ठाउँमा एउटा तीनकुने खाली ठाउँ थियो जुन चना, चट्पटे, बदाम, चुरोट बेच्ने नाङ्ले पसले अनि दुइटा इँटा थापेर टिनको बाकसमा कैँची, छुरा, ऐना लिई बसेका घुमन्ते हजामले ढाकिएको हुन्थ्यो । त्यसलाई जी.बी. शाहले रमाइलो गरी यसो भन्थेः

‘हरिकुमारजी, इटालियन कट काट्ने हैन ?’

मैले सुरुमा बुझिनँ । उनले बुझाउँदै भनेः ‘गजब मजा हुन्छ, बदाम खाँदै इटालियन कट कपाल काट्न ।’

त्यो भनेको दुइटा इँटामाथि टुक्रुक्क बसेर कपाल काट्ने रहेछ । उनी मनमौजी स्वभावका मान्छे, त्यो अनुभव पनि बटुलिसकेका रहेछन् । धेरै वर्षअघिको त्यो नामी इटालियन कटको अर्को स्वरूप अहिले मैले दिल्लीको सडकपेटीमा ‘भित्तालिएन कट’को रूपमा देखेँ ।

हामी बसेको फ्ल्याटको अगाडि सानो पार्क छ । हाम्रो लागि साँझ-बिहान हिँड्ने र दिल बहलाउने ठाउँ त्यही पार्क हो । त्यही पार्कको एउटा कुनामा स-साना केटाकेटी क्रिकेट र भँवरा खेल खेलिरहेका हुन्छन् । तिनीहरूको खेल हेरेर म आफ्नो बालापनतिर फर्कन्थेँ ।

शनिबार र आइतबारको दिनचाहिँ हामी बूढाबूढी अटो लिएर नजिकैको सपिङमलमा घुम्न जान्थ्यौँ । त्यसरी घुम्न जाँदा नवउदारवादी आर्थिक नीतिले भारतीय जनजीवनमा पारेको प्रभावको सानो झलक पढ्न पाइन्थ्यो । धनीमानी, पुगीसरी आएकाहरू चिल्ला कारमा सपिङमल छिर्थे, महँगा ब्रान्डेड सामानले ट्रली भर्थे, त्यहाँको रेस्टुँरामा महँगा परिकारको स्वाद लिन्थे भने औसत ग्राहकहरू धेरैजसो सपिङमलमा भीडभाड बढाउन आएका प्रतित हुन्थे । बाहिर निस्कँदा प्रायः धेरैको झोला रित्तै हुन्थे अनि उही सडकपेटीमा उभिएर पानीपुरी, भेलपुरीको स्वादमा रमाइरहेका हुन्थे । धनी र गरिबको खाडल भारतको अन्य सहरको तुलनामा दिल्लीमा झनै विषम भएको यथार्थ चित्रण चियो त्यो ।

तर राजधानी भनेपछि सबैतिर त्यस्तै हुँदोरहेछ कि, क्या हो । राजधानीमा त्यस्तो के आकर्षण हुन्छ कुन्नि ? मुलुकको चारैतिरबाट मानिस वैरिइएको वैरिइयै गर्छन् । दिल्ली मात्र हैन, ढाका मात्र हैन, हाम्रै काठमाडौँको त्यही हालत छ । त्यसरी दिल्लीमा तँछाड्मछाड् गरी वैरिइनेमध्येकी एक महिला हुन् सुधा- जो हाम्रो फ्ल्याटमा सफा सुग्घर गर्न सधैँ बिहान आउने गर्छिन् ।

‘तिम्रो घर कहाँ नि ?’ मेरो प्रश्नमा उनको सरल र सोझो जवाफ थियोः ‘कोसी ब्यारेज ।’

खासमा उनको घर कोसी ब्यारेजपारि बिहारको वीरपुर हो तर चलनचल्तीको भाषामा त्यतातिर कोसी ब्यारेज भन्दारहेछन् । इतिहासको कुनै कालखण्डमा भएको गल्तीको कारण जनस्तरमा समेत भाष्य (न्यारेटिभ) परिवर्तन हुँदै जाने यो सानो उदाहरण मात्रै हो । नेपालको सुगम सुनसरी, मोरङ, सप्तरी, सिराहा जिल्लाको नाकैमुनिको भूभागको त यस्तो अवस्था छ भने सुदूरपश्चिम दुर्गम दार्चुला जिल्लाको कालापानी, लिपुलेक, लिम्पियाधुराको के कुरा गर्नु ?

नेपाल-भारतबीच रोटी-बेटीको सम्बन्ध मलाई मधेसी दलको सारङ्गी रेटाइजस्तो लाग्थ्यो तर होइनरहेछ । जस्तो- सुधाकै कुरा गरौँ न । उनलाई नेपाल आफ्नो माइतीजस्तै लाग्दोरहेछ । उनलाई नेपाली भाषा राम्ररी बोल्न आउँदोरहेछ । सुनसरी, मोरङ, बिर्तामोड, झुम्का, धुलाबारी धेरै ठाउँमा घुमेकी रहिछिन् । पहिले सीमापारि भारतीय बजारमा भन्दा नेपालका ती सीमावर्ती बजारमा फेन्सी चिज सस्तो मूल्यमा पाइन्थे । सुधालाई ती सबको याद रहेछ ।

सुधा दिल्ली आएको पनि धेरै वर्ष भइसकेछ । उनको सोह्र वर्षमा नै बिहे भएको रहेछ । दुई छोरा र एक छोरीकी आमा भए पनि सुधा चालीस वर्षकीजस्ती देखिन्थिन् । केही वर्षपहिले उनको पन्ध्र बर्से छोरो गाउँबाट हराएको रहेछ, त्यसलाई खोज्दै दिल्ली आउँदा सुधा पनि यतै रमाइछन् । अहिले लोग्नेस्वास्नी दुःखजिलो गरेर सबै परिवार दिल्लीको घाम नछिर्ने छिँडीको अँध्यारो कोठामा गुजारा चलाउँदैरहेछन् । तैपनि दिल्ली बस्ने बानी बसेपछि उनीहरू किन बिहारको देहातको वीरपुर गाउँ फर्कन मन गर्थे ? भलै पेसा र आम्दानी जस्तोसुकै किन नहोस् ।

दिल्ली मात्रै किन ? हाम्रै राजधानी सहर काठमाडौँको त्यही हालत छ । यस्तै ताल हो भने अनियन्त्रित बसाइँसराइँको समस्यालाई राजधानी सहरले कसरी थेग्ने हुन् ?

त्यसो त सुधालाई आफ्नो गाउँठाउँप्रति गर्व पनि छ । उनी भन्छिन्: ‘वीरपुरमा हाम्रो पच्चीस बिघा जमिन छ ।’

‘वीरपुरमा पच्चीस बिघाको जमिन्दार्नी, अनि दिल्लीमा मेडको काममा किन नि ?’ मैले लय मिलाई प्रश्न गरेँ ।

‘सर, काम भनेको ठूलो-सानो हुँदैन । अहिले परिश्रम गरे पो बुढेसकालमा सुख मिल्छ । अलिअलि बचत गरेर नै त भकारी भरिन्छ ।’ सुधाले मन छुने कुरा गरिन् ।

तर उनको चसक्क बिझ्ने शब्द त ‘कोसी ब्यारेज’ नै थियो जुन सुधाले अन्जानमा नै भनेकी थिइन् । त्यही जान-अन्जानको परिणति र इतिहासमा गरेको भूलको परिणति हामीले कोसीदेखि गण्डक र अहिले महाकालीसम्म भोगिरहेका छौँ । इतिहास निर्मम त हुन्छ नै, त्यसले भविष्यका लागि गल्ती सच्याउने दिशाबोध पनि दिन्छ । कोसी ब्यारेजले हामीलाई अहिले त्यस्तै दिशाबोध गरेको छ ।

-श्रेष्ठ बंगलादेशका लागि पूर्व नेपाली राजदूत हुन् । प्रकाशित : श्रावण १७, २०७७ १५:२८

प्रतिक्रिया
पठाउनुहोस्

इलामको सशस्त्र प्रहरी गणका २७ जनामा कोरोना संक्रमण

विप्लव भट्टराई

इलाम — इलामस्थित सशस्त्र प्रहरी गणमा कार्यरत थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण फैलिएसँगै गणलाई सिल गरिएको छ । यसअघि गणमा कार्यरत १० जनामा कोरोना पोजिटिभ देखिएको थियो ।

गणमा शुक्रबार ५ र साउन ११ गते ५ जनामा कोरोना पोजिटिभ देखिएको थियो । पोजिटिभ देखिएका सबै जनालाई गोठगाउँस्थित आइसोलेसनमा पठाइएको गणका प्रमुख सुरधिरजंग थापाले जानकारी दिए ।

क्याम्पमा रहेका जवानदेखि प्रहरी नायब उपरीक्षकसम्मलाई कोरोना पोजिटिभ देखिएको थापाले बताए ।

गणलाई पूर्ण रुपमा सिल गरेर वाँकी ४३ जनाको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाउने तयारी भइरहेको छ । गणका प्रमुख थापाका अनुसार संक्रमित कसैमा पनि कोरोनाको लक्षण देखिएको छैन ।

प्रकाशित : श्रावण १७, २०७७ १५:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×