१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सलह, कृषिमन्त्री र ‘हेभी मेटल’

सजना बराल

यो काठमाडौं त्यही ठाउँ हो जहाँ हिजो छाडी अस्तिसम्म लामो कपाल पाल्ने, ट्याटु हान्ने, पियर्सिङ गर्ने, मेटल गीत गाउने वा बजाउनेलाई चुल्ठे/मुन्द्रेको व्यवहार गरिन्थ्यो । मेटल संगीतका फ्यानलाई पक्रिएर तिनको लामो कपाल च्वाट्टै काट्दिनेदेखि, मेटल–म्युजिसियनलाई सताउने, मेटल गीग (कार्यक्रम) आयोजकलाई ध्वनि प्रदूषण गरेको आरोपमा झ्यालखानामा थुन्ने कामसमेत भएको छ यहाँ । 

सलह, कृषिमन्त्री र ‘हेभी मेटल’

आज यही ठाउँका मन्त्रीले सलह भगाउन हेभी मेटल गीतको सहारा लिने फन्टुस अभिव्यक्ति दिए । उक्त अभिव्यक्तिले एकातिर स्थानीय मेटल संगीतको उपेक्षा भएको छ भने अर्कातिर थोरबहुत प्रचार पनि । हेभी मेटल गीत वा कुनै पनि चर्को ध्वनिले सलह भगाउँछ भन्नु एक त अवैज्ञानिक कुरा हो । दोस्रो, वैज्ञानिक नै भएको भए पनि यसका लागि हाम्रै हेभी मेटल गीत प्रयोग गर्न सकिन्थ्यो । तर, कृषि मन्त्रीलाई हामीकहाँ पनि हेभी मेटल ब्यान्ड छन् र तिनले गीत रेकर्ड गराएका छन् भन्नेबारे कसले भनिदेओस् !

हुन त कृषि मन्त्रीको भनाइ सुन्दा उनलाई हेभी मेटलबारे पटक्कै थाहा छैन भन्ने बुझ्न सकिन्छ । उनले यसलाई ‘अमेरिकाको एउटा ब्यान्ड हो रे’ भनेका छन् जब कि हेभी मेटल रक संगीतको एक विधा हो, अमेरिकी ब्यान्ड होइन । यो प्रसंगमा उनका कुरा केलाउँदा हाँसो उठ्ने चिज धेरै छन् । तर, यसबारे कृषिमन्त्रीले उटपट्याङ नै बालेर भए पनि नेपालमा मेटल संगीतको जुन स्तरमा चर्चा चुल्याइदिए, त्यो भने सकारात्मक छ । यसका लागि सलहलाई धन्यवाद दिन सकिन्छ ।

संगीतको यो विधाबारे नेपालमा यतिबिघ्न होहल्ला भएको सम्भवतः यो पहिलो पटक होला । होइन भने, लामो समयदेखि मेटल म्युजिक हामीकहाँ अन्डरग्राउन्ड अवस्थामै थियो र छ पनि । सीमित सर्कलमा मात्रै यो चिनिएको छ । यस पटक संस्कृतिमन्त्री नभएर कृषिमन्त्री नै सही, मन्त्रीकै मुखबाट हेभी मेटल विधाको उच्चारण भएको छ। यसर्थ, यसलाई घुमाउरो पाराले, हाँस्यास्पद शैलीमा र अन्जानमै भए पनि राज्यको नजरमा हेभी मेटल संगीत परेको हुनुपर्छ ।

हाम्रो समाजले हेभी मेटल विधालाई स्वीकार्नु त परको कुरा, स्थानीय प्रशासनले यसलाई कज्याउने, मेटल संगीतका पारखीलाई हेप्ने, दुःख दिने र बेलाबखत थुन्ने काम हुँदै आएको छ । यो विधामा रुचि राख्ने हाम्रा संगीतकर्मीले घर, छिमेक, समाज र प्रशासनको अवरोध र खिसी झेल्दै आएका छन् । अन्य विधाका कलाकर्मीले झैं उनीहरूले आफ्नो प्रचार र प्रवर्द्धनको माग गरेका छैनन् । तैपनि उनीहरूको कौशल, पेसा र सोखलाई हाम्रो समाजले बुझ्न र सम्मान गर्न सकेको छैन ।

सलहको सन्दर्भमा कृषिमन्त्रीले हेभी मेटललाई कुन आशयमा प्रयोग गरेका हुन्, त्यो त उनैलाई राम्रोसँग थाहा होला । उनले यसलाई सलह कक्रक्क पार्न सक्ने सशक्त वा बेजोड संगीत भन्न खोजेका हुन् कि सलह नै कक्रक्क पार्ने कर्कश आवाज वा ध्वनिप्रदूषक भनेका हुन् ! जुन आशयमा बोलेका भए पनि मेटल गीतबारे थोरबहुत प्रचार भयो, राम्रै भयो । यसबारे थाहा नपाएका उनीजस्ता थुप्रैले संगीतमा यो विधा पनि हुँदो रहेछ भन्नेबारे कम से कम चाल पाए अब ।

काठमाडौंको आकाशमा मंगलबार दिउँसो सलह उड्दा कतिले कौसीमा बसेर ‘आइरन मेडन’, मेटालिका, मसिन हेड जस्ता बेलायती तथा अमेरिकी हेभी मेटल ब्यान्डका गीत बजाउँदै गरेको व्यंग्यात्मक भिडियो सामाजिक सञ्जालतिर राखे । केहीले भने फेसबुक/ट्वीटरमा अन्डरसाइड, उग्रकर्म, द स्याडोज नेपाल र बिनासहरूलाई सम्झिए । अन्डरसाइडको ‘गढीमाई...’, ‘सेटन इन योर स्टेरियो...’, द स्याडोजको ‘के पाइस् नेपाली...’ जस्ता म्युजिक भिडियो सेयर पनि भए ।

रक र मेटल विधाका संगीतकर्मी भने यो सबै भइरहँदा हाँसोमा डुबेका देखिन्थे । ‘द मंकी टेम्पल’ ब्यान्डका भोकलिस्ट सरिन देउजाले आफ्नो फेसबुकमा ईकान्तिपुरमा आएको कृषि मन्त्रीको सलह भगाउने उपाय सुझाएको भिडियो सेयर गर्दै क्याप्सनमा बेस्सरी हाँसेको इमो राखेका थिए । त्यसको कमेन्टमा जवाफ दिँदै उनले लेखेका छन्, ‘मान्छेहरूले अब सलह भगाउने अथवा मार्ने चिजका रूपमा हेभी मेटल म्युजिकलाई चिन्ने भए भनेर हाँसेको ।’

केहीले भने ‘नेपाली ब्यान्डहरूलाई पनि चान्स दिनुपर्‍यो’ भन्दै मन्त्रीलाई व्यंग्य गरेका छन् । अर्काथरिले चाहिँ ‘मेटल आर्टिस्टहरूले राष्ट्रवाद देखाउने समय आयो है’ भन्दै ठट्टा गरेका छन् । कृषिमन्त्रीको भनाइले मेटल गीतको बहु–उपयोगिता पुष्टि भएको भन्नेहरू समेत देखिए । हेभी मेटल म्युजिसियनहरू सामू नयाँ स्कोप देखापरेको उल्लेख गर्दै संगीत पाठशाला इन्स्टिच्युटले आफूहरूकहाँ ‘संगीत सिक्न आऊ’ भन्दै नयाँ विज्ञापन गर्‍यो ।

नेपालमा मेटल संगीतको इतिहास दुई दशक लामो छ । सन् १९९९ मा स्थापना भएको उग्रकर्म ब्यान्डपछि नेपालको मेटल संगीत विधामा एक्स–मन्त्र, अन्तिम ग्रहण, डाइङ आउट फ्लेम, बिनास, अन्डरसाइड, आक्रोस, बर्न इन साइलेन्स र श्री ३ जस्ता ब्यान्ड देखा परे । लाखे, कालोदिन, रेज हाइब्रिड, अन्त्येष्टिहरू पनि बीचमा आए । यो अवधिमा स्थानीय मेटलहेडहरूले हेभी, डेथ, ब्ल्याक, मेटलकोर, एथ्निक मेटल, अल्टरनेटिभलगायत मेटलभित्रका पनि अनेक विधामा प्रयोग गरिसकेका छन् ।

प्राविधिक, आर्थिक र ह्युमन रिसोर्सको अभाव झेल्दै उनीहरूले ठूल्ठूलै कार्यक्रम र गजबका कन्सर्ट आयोजना गरिसकेका छन् । तिनमा विदेशका नामी मेटल ब्यान्ड तथा कलाकारलाई उभ्याउनसमेत सफल भएका छन् । हालसम्म आठौं संस्करण मनाइसकेको ‘साइलेन्स फेस्टिभल’ मा भेडर (पोल्यान्ड), नेपाम डेथ (बेलायत), बेहिमथ (पोल्यान्ड) जस्ता अन्तर्राष्ट्रिय मेटल ब्यान्डले प्रस्तुति दिएका छन् । नेपाल डेथफेस्ट, मेटल फर नेपाल जस्ता कार्यक्रमले पनि स्थानीय मेटल ब्यान्डलाई प्लेटफर्म दिने गरेका छन् ।

हामीकहाँ अन्डरग्राउन्ड रहेका वा ‘मूलधार’मा नआएका कतिपय स्थानीय मेटल ब्यान्डले विभिन्न देशमा नेपालीपनसहितको मेटल म्युजिक प्रचार गर्दै आएका छन् । तीमध्ये सबैभन्दा चर्चित छ, सन् २०१० मा फर्म भएको– अन्डरसाइड । यसले बेलायतमा आयोजना हुने प्रख्यात ‘डाउनलोड फेस्टिभल’ देखि मेलट वर्ल्ड कपलगायत प्रतियोगितामा प्रस्तुति दिएको छ । सन् २०१५ को भूकम्प र अहिलेको कोरोना महामारीका बेला यस ब्यान्डले भोकमरीमा परेकालाई राहत वितरण गरिरहेको छ ।

लकडाउनयता हाम्रो कला क्षेत्रबारे कुनै नेता वा मन्त्रीले खोजखबर गरेको सुनिएन । सलहले बाली सखाप पारेझैं हाम्रो फिल्म, रंगमञ्च, फाइन आर्ट, नृत्य र संगीत क्षेत्रलाई कोरोनाले ध्वस्त पारेको छ । यस्तोमा संगीतको एउटा विधाबारे यत्तिको चर्चा चल्दा देशमा कला क्षेत्रकै चर्चा चलेको मानेर रुन्चे हाँसो हाँस्न सकिन्छ ।

प्रकाशित : असार १९, २०७७ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?