भोकले नसिध्याएको मान्छे

लकडाउन डायरी ६
सिमाना पौडेल

बलिउड अभिनेता सुशान्तसिंह राजपूतद्वारा आत्महत्या...। यो खबरले दुःखी मात्रै होइन, भित्रैदेखि हल्लायो । मेरा निराशाहरू, मेरा दुःखहरू, मेरा पीडाहरू, मेरा छटपटीहरू । जिन्दगी भन्नु केही होइन । कति सजिलै त्यागिदिन्छन् मान्छेहरू आफ्ना सपना ।

आफूले लम्कँदै गरेको पाइला । फोटोमा मुस्कुराइरहने अनुहार कहिल्यै नमुस्कुराउने गरी यति छिट्टै संसारबाट बिलाउनेछ, कसले सोचेको थियो ?

सुशान्तले ‘छिछोरे’मा खेलेको भूमिकाले जिन्दगीको उज्यालो देख्नेहरू छन् । अरूलाई जिन्दगी जिउन सिकाउने मान्छे आफैँ किन जिन्दगी जिउन बिर्सन्छन् ? मान्छे जहिल्यै एक्लो हुँदो रहेछ । अझ करियरको उच्चतम विन्दुमा लम्कँदै गरेको व्यक्ति आफ्नो काम र मेहनतमा आशावादी हुन्छ तर जिन्दगीसँग आशावादी नहुन सक्छ ।

हाम्रो देश चलाइरहेका नेता हेर्‍यो र भाषण सुन्यो भने आत्महत्या गर्न जोकोही उक्सन्छ । नेता हुनका लागि भाषण बिक्नुपर्छ । सपना बाँड्नुपर्छ । कहिल्यै पूरा नहुने सपना । निराश हुनका लागि कति धेरै कुरा छन् है ? उसले आत्महत्या गरेदेखि मलाई निराशा भन्ने कुरा आशाभित्र पनि हुन्छ भन्ने ज्ञान भएको छ । नभए आशाले धपक्क बलेको ऊ किन निराशाको हत्या गर्न आफैँले आत्महत्या गर्‍यो ?

सुशान्त, तिमीले निराश बनायौ । तिमीलाई सम्झेर आशाको दियोमा तेल थपिरहेकाहरू अब के गर्दा हुन् ? तिम्रो आत्महत्याको खबर सुनेपछि बहिनीले भनी, ‘के नपुग्दो थियो र आत्महत्या गर्‍यो । म पनि आत्महत्या गर्छु । आखिर मरेर जानुपर्छ । दिदी, हामी पनि मरिदिऊँ ।’ तिमीले धेरैलाई निराश बनाएर गयौ । तिमी आफैँ सोच, तिमीले राम्रो गर्‍यौ कि नराम्रो । तिमी आफैँ भन, तिमीलाई कायर भनूँ कि बहादुर ?

तिमी हुन्थ्यौ भने हामी भेटिन सक्थ्यौँ । सम्भावना जे पनि हुन्छ । तर तिमी नरहेपछि...।

‘यो समय पनि बितेर जानेछ ।’ तिमीले धैर्य राखिदिएको भए...।

क्वारेन्टाइनमा बसेकी महिलाको बलात्कार

महिलाअधिकारका कुरा, महिला आरक्षणका कुरा, महिला समानताका कुरा सुन्दासुन्दा, पढ्दापढ्दै दिक्क भइरहेको बेलामा बलात्कारको खबर आउँछ । ‘दिक्क लाग्ने गरी बोलेर के भयो ?’ तर पनि बोल्नुपर्छ । लेखिरहनुपर्छ । वकालत गरिरहनुपर्छ । निरन्तर खसिरहेको एक थोपा पानीले पनि ढुंगालाई खियाउँछ । महिलाको मुद्दामा महिला मात्रै कराउने, जातको मुद्दामा जातविशेष कराउने यस्तो गरेर कसरी देश अगाडि बढ्ला ? (अपवादलाई छोडेर) चेतना कसरी बढ्ला ?

एकथरी महिलाहरू पुरुष र महिला भनेर छुट्ट्याउने होइन भन्न सक्छन् । अर्काथरीले महिलालाई कानुनमा विशेष अधिकार दिइएको छ भन्ने थाहा पाएका छैनन् । समग्र स्थिति हेर्दा अझै पनि महिला पटकपटक यौन दुर्व्यवहार र बलात्कारमा परिरहेकै छन् ।

क्वारेन्टाइनमा बसेकी महिलाको सुरक्षाको जिम्मा सरकारले लिनुपर्ने हो तर सरकार एक करोडको कार्पेट ओछ्याउँदै दस अर्बमाथि बस्छ ।

विरोधमा उत्रिएका युवाको विरोध

प्लेकार्डमा अश्लील शब्दहरू राखेर माइतीघर मण्डलमा विरोधमा उत्रिएका युवाले धेरैको ध्यान खिचे । लकडाउनको बेलामा सरकारलाई जिम्मेवार बन्न दबाब दिँदै स्वस्फूर्त जुटेका युवालाई पुलिसले पानीको फोहोराले तितरबितर बनायो । देश बदल्ने युवा नै हुन् ।

उनीहरू सडकमा उत्रनु राम्रो हो तर उत्रने सही समय होइन । भीडमा एक जनालाई संक्रमण भएको रहेछ भने छिटो फैलने भयो । युवाहरू गैरजिम्मेवार बन्न मिल्छ ?

भेरीले बगाउन नसकेको जातीयता

भेरीमा नवराज विकलगायत उनका साथीहरू बगेर गए । तर यो समाजबाट जातीयता कहिल्यै नजाने भयो । जातकै कारण प्रेमका मुनाहरू फुल्न नपाई ओइलाइरहेका छन् । के सपना देख्न पाउने अधिकार पनि वर्गीय हुन्छ ? नवराजको सपनाले अहिले सिंगो देशलाई दुखाइरहेको छ । हाम्रो देशमा प्रेमले जात, धन, शक्ति सब हेर्नुपर्छ । नभए भेरीमा बग्नको लागि तयार हुनुपर्छ । यस्तो कतिन्जेल ?

म सानो हुँदा मेरा साथीहरूले आफ्नो थर फेरेर उच्च थरको बनाएका थिए । किन ?

अहिले उत्तर मिलेको छ । जातका कारण सम्मान गर्ने कि नगर्ने भनेर एकपल्ट सोच्न पर्ने मुलुक नेपाल मात्रै हो ।

व्यस्तताको कुरा

‘तिमी व्यस्त छौ है ?’

छैन । यस्तै हो नि ।

‘तिम्रो डायरीमा आइरहने ऊ पात्र को हो ? झूटो बोलेकी ?’

जिन्दगीमा कोही चाहिँदैन भने पनि कसै न कसैको साथ चाहिन्छ । महिला सफल हुनुमा पुरुषको र पुरुष सफल हुन महिलाको हात हुन्छ । तर महिला सफल भए ऊसँगको संघर्षमा जोडिएको पुरुषको चर्चा किन हुँदैन ? पुरुषद्वेषी समाज छ । पत्रपत्रिकामा खालि पुरुषकै खिलाफमा लेखिन्छ । पुरुषहरू पनि अन्यायमा छन् । यस्तो कुरा कतै लेखिँदैन । किन होला ?

एक समय म पत्रिका पढ्दापढ्दा यस्तो भइसकेको थिएँ, जसलाई हेरे पनि छोपिहाल्लाजस्तो । बुबालाई पनि शंका गरिबस्थेँ । आँखाभरि डर बोकेर पुरुषहरूलाई नियाल्दाका अत्यासलाग्दा गुम्फनहरू कहिलेकाहीँ धूवाँ बनेर निस्कन्छन् ।

सामाजिक सञ्जालको कुरा

सामाजिक सञ्जाल भन्नेबित्तिकै दिमागमा फेसबुक र ट्विटर आउँछ । फेसबुकमा देखिएका हँसिला अनुहार के वास्तवमै खुसी छन् ? सामाजिक सञ्जालमा हामी जिन्दगीका उज्याला पाटा मात्रै देखाउँछौं । त्यसभित्रका दुःख, अँध्याराहरू लुकाउँछौं । त्यही देखेर कति मान्छे ‘फ्रस्टेट’ छन् । थाहा छ ? सामाजिक सञ्जाल नचलाए पनि हाम्रो जिन्दगी चल्छ । हामी यति धेरै बानी परिसक्यौं कि सामाजिक सञ्जालबाट टाढा बस्न सकिएला ?

सामाजिक सञ्जालबाट टाढा रहेर आनन्दको जिन्दगी बिताउनेहरू पनि छन् । मैले कुनै समय चार महिना सामाजिक सञ्जाल चलाइनँ । जिन्दगीका सबै कुरा सामाजिक सञ्जालमा छताछुल्ल पार्ने मलाई कति धेरै सकस भएको थियो ? सामाजिक सञ्जालबाट हामीले धेरै तनाव लिइरहेका हुन्छौँ । सबै कुरा थाहा पाएर पनि पूर्वजन्मको कर्मको फल भन्दै तनावमै लत बसिसकेको छ मलाई । यो लकडाउनले पारेको एउटा बानी हो, छिनछिनमा उसलाई म्यासेज गरिरहनु । उसको म्यासेज कुरिरहनु ।

चरित्र मापनको आधार

स्त्रीहरूको चरित्र सबैभन्दा महत्त्वपूर्ण मानिन्छ हाम्रो समाजमा । चरित्रवती हुनुपर्ने । यसभित्र केके पर्छन्, त्यो मैले भनिरहन पर्दैन । बलात्कारको घटना आउनेबित्तिकै केही पूज्य व्यक्तिहरूलाई बलात्कृत भएकी महिलाको विवाह नहुने चिन्ताले घेर्छ–

‘बलात्कारमा परी । त्यसलाई कसले बिहे गर्ला ?’

बलात्कार गर्ने व्यक्ति सानले छाती फुलाउँदै हिँड्छ । फेरि त्यस्तै कृत्य दोहोर्‍याउँछ । सामाजिक संरचना यसरी बनाइएको छ कि पुरुषले गरेको गल्तीको चर्चा कतै हुँदैन । महिला भने नगरेको गल्तीको सजाय जिन्दगीभर भोग्न विवश हुन्छन् ।

‘चरित्रवान् महिला मात्रै हुनुपर्ने ?’

भगवान्को पालादेखिको नियम ।

‘जातको नाममा सधैँ छुवाछुत, भेदभाव कतिन्जेल ?’

भगवान्को पालादेखिको नियम । आजको आजै कहाँ अन्त्य हुन्छ ?

भगवान्को नाममा कसले गरिरहेछ कुरीति र कुसंस्कारको खेती ? भगवान्को नाममा भनेर आफ्नो हरेक गल्तीलाई ढाकछोप गर्न मिल्छ ?

मान्छेको एउटा चित्रबाट उसको चरित्र मापन गर्न मिल्छ ?

प्रेम र आशाको जिन्दगी

लकडाउनले हाम्रो अर्थतन्त्र ध्वस्त भएको छ । यो बेला हामी मिडिया र सामाजिक सञ्जालसँग धेरै नजिक भएका छौँ । राजनीतिमा केही चासो नहुनेहरूले पनि सानासाना भिडियो क्लिपमार्फत केपी ओलीको भाषण, सरिता गिरीको अन्तर्वार्ता हेरेका छन् । मधेसलाई आफ्नै ठानेर पुर्खौंपुर्खा बसिरहेको परिवारले नागरिकता पाएको छैन । नेपालको नागरिकता किनेर पाइने अवस्था छ । बस्, किन्न सक्नुपर्‍यो । भनेजति पैसा दिनसक्नुपर्‍यो ।

‘राष्ट्रप्रेम भ्रम रहेछ । म यो देशको अनागरिक हुँ ।’

नागरिकता नपाएको कुराले ऊ दुख्दै गर्दा खराब मान्छेको हातमा परेको नागरिकताले झन् बढी दुख्छु । मधेसका जनता कतिले नागरिकता पाएकै छैनन् । सीमापारि भारतका मान्छेहरूले नागरिकता पाइरहेका छन् । यो कुरा कतै चासोको विषय नै बन्दैन । कि मधेसका जनता नेपालका होइनन् ?

‘पख । म मिलाउँछु । तिमीले नागरिकता पाउँछौ ।’

ऊ मेरो कुराले मख्ख पर्छ । उसलाई विश्वास छ, म कहिल्यै झूटो बोल्दिनँ । उसले यो देशको नागरिक बन्ने संघर्षमा मैले कसरी साथ दिनुपर्छ । केही जान्दिनँ । तर मसँग आशा छ । एउटा गहिरो आशा...।

मधेसी हुँदैमा उसको राष्ट्रवादमा शंका गर्न सक्दिनँ । ऊ यही देशको नागरिक हो । अनागरिक होइन । नागरिकता पाउने सपना कहिलेसम्म देखिरहनुपर्ने हो उसले ?

लकडाउन समीक्षा

लकडाउन खुकुलो बनाइएको छ । जोर–बिजोर गरेर गाडीहरू चलिरहेका छन् । मान्छेको अवचेतनमा कोरोना भए पनि बाहिर निस्कनुको खुसीमा उनीहरूले बिर्सिएजस्तो गरिरहेछन् । बाहिरको संसार नदेख्दाको न्यास्रो मेटाइरहेजस्ता देखिन्छन् ।

‘फेरि लकडाउन हुन्छ । हामी सबै संक्रमित बन्नेछौँ । फेरि सरकारले लकडाउन गर्छ । बल्ल त्यसपछिको स्थिति सामान्य बन्छ । लकडाउन दसैँसम्म लम्बिन्छ । यो वर्षभरि नै लकडाउन होला भन्ने लाग्छ । के होला है ?’ चोकतिर निस्किएर आआफ्ना भविष्यवाणी साटिरहेका छन् ।

संक्रमित कति पुगे ? कोरोनाका कारण मर्नेको संख्या १३ पुगेको सम्म मात्रै अपडेट छु । संक्रमित ३ हजार पुगेको हल्ला पनि तरकारी पसलतिर सुनेको थिएँ । कति पुगे भनेर कन्फर्म गर्न मन भएन । आत्तिने, डराउने कुराको चासो किन राखिरहनु ?

बरु बिहानै कुद्न निस्कियो । यात्रामा फोटो खिच्यो । सञ्जालमा राख्यो । अनि दिनभर आफ्नै फोटो हेर्‍यो, बस्यो । बाहिर मान्छेसँग भेट्न नपाएपछि प्रेम आफैँसँग पर्दो रहेछ । आफ्नै चिन्ता लाग्दो रहेछ । कहिलेकाहीँ आफ्नो बढ्दै गरेको कपाल सुमसुम्यायो । कहिले गीत गुनगुनायो ।

बस्, भोकले नसिध्याएको मान्छेले लकडाउनमा कोठाभित्र यस्तै गरिबस्दो रहेछ ।

अब बिस्तारै निस्कँदै छ संसार कामको व्यस्ततामा । प्रकृतिबाट टाढा रहेर एउटा कोठाभित्र आफ्नै काममा व्यस्त तिमीलाई उपहारमा आएको जिन्दगी हो । खुसी भएर बाँच्नू । प्रकृतिको दोहन नगर्नू ।

प्रिय कोरोना, तिमीले मलाई डायरी लेख्न सिकायौ । प्रकृतिका सुन्दरता देख्न नपाएर छटपटिने बनायौ । मानवनिर्मित संसारले तिमीलाई दिएको दुःखको अगाडि तिमीले दिएको दुःख केही होइन । तिमीले हाम्रो शक्ति चकनाचुर बनाइदियौ । तिम्रो अगाडि कति निरीह छ, स्वघोषित सर्वश्रेष्ठ मानव ?

खुला चौरमा पल्टेर आकाशका तारा गन्न मन छ । अब लकडाउन खुल्यो है अलिअलि गर्दै । त्यता कस्तो छ ?

उदासीले छटपटाइरहेको एउटा अनुहार तपाईंको नजिकै हुन सक्छ या त्यो अनुहार तपाईंकै हुन सक्छ । तपाईंको कुरा सुन्ने कोही नहुँदा ऐनामा हेर्दै आफैँसँग गुनासा साटिबस्नू । सधैँ जिन्दगीले उदासी मात्रै दिँदैन ।

एउटा कथा भनेर यो डायरी अन्त्य गर्छु । आशाको कथा...।

कुनै एउटा गाउँमा एकदम दुःखी मान्छे बस्थ्यो । ऊ आफ्नो हर दुःखसुखमा सधैँ भगवान्लाई सम्झन्थ्यो । एक दिन भगवान्ले उसको सम्पूर्ण जीवनलीला उसलाई देखाउनुभयो र भन्नुभयो, ‘हे मनुष्य, तिमी भन्छौ कि मैले तिम्रो दुःखमा साथ दिइनँ । ल हेर त, म हरक्षण तिमीसँगै छु ।’

उसले त्यो हेर्‍यो । जब ऊ एकदम नाजुक अवस्थामा थियो, त्यो क्षणमा जम्मा दुइटा मात्र पाइला देख्छ । र फेरि ४ वटा पाइला । दुईवटा उसका र दुईवटा भगवान्का । उसले भन्यो– ‘म धेरै दुःखी भएका बेला त हजुरले पनि साथ दिनुभएको रहेनछ । म आफैँले संघर्ष गरेको रहेछु । सजिला बाटाहरूमा मात्रै हजुरको साथ मिलेको रहेछ । कस्तो अन्याय प्रभु ।’

भगवान् भन्नुहुन्छ– ‘हे मूर्ख, त्यो कहाँ तिम्रो पाइला हो ? जब तिमी कुनै दुःखबाट पार गर्न नसक्ने अवस्थामा भयौ । त्यस बेला पनि मैले तिमीलाई बोकेर त्यो क्षणबाट पार गराएको छु ।’

भगवान् सधैँ हाम्रो साथमा हुनुहुन्छ । आशाको बादल बोकिहिँडेका हाम्रा कठिन परिस्थितिमा भगवान्ले हाम्रो आशासहित हामीलाई बोकेर निराशाको अँध्यारोबाट पार गराउनुहुन्छ ।

लकडाउनले तहसनहस पारेको जिन्दगी विस्तारै लम्कँदै छ, उज्यालोको खोजीमा...। प्रकाशित : असार ८, २०७७ १३:२१

प्रतिक्रिया
पठाउनुहोस्

ब्राउन सुगरसहित झापामा तीन जना पक्राउ

कान्तिपुर संवाददाता

काँकडभिट्टा — प्रहरीले लागूपदार्थ ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । 


झापा कमल गाउँपालिका ५ बस्ने २० वर्षीय दिपेश थापा, झापा गाउँपालिका–४ बस्ने २१ वर्षीय सेराज अली र सोही ठाउँका २३ वर्षीय अनन्तप्रसाद गणेशलाई प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापाको कमल गाउँपालिका–५ पाडाजुँगीबाट गौरादहतर्फ जाँदै गरेको मे ११ प ६५४६ नम्बरको मोटरसाइकल र बा ४४प ९७८५ नम्बरको मोटरसाइकल शंका लागि जाँच गर्ने क्रममा लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले ३५ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

आरोपीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले जानाए ।

प्रकाशित : असार ८, २०७७ १३:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×