१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

प्रदर्शनमा अभिभावक र छोराछोरी

सजना बराल

काठमाडौँ — जारी सडक प्रदर्शनको पहिलो दिन बालुवाटारमा प्रहरीले हानेको पानीको फोहोरासँग जुध्दै गरेकी एक युवतीको तस्बिर समाचार र सोसल मिडियामा छाइरहेको थियो । त्यही बेला पुजन गुरुङले उक्त तस्बिर फेसबुकमा सेयर गरे । आफ्नी छोरी सुबानीको साहस र सचेतनाप्रति गर्व लागेको भन्दै भावुक शैलीमा लामो क्याप्सन पनि लेखे । 

प्रदर्शनमा अभिभावक र छोराछोरी

अर्को दिन लेखक सावित्री गौतमले ‘इनअफ इज इनअफ’ वाला नारा बोकेर प्रर्दशनमा सहभागी उनका छोराको तस्बिर ट्वीट गरिन् । ‘यो बेथितिको विरोधमा सडकमा आउने सबैप्रति ऐक्यबद्धता छ’ भन्दै उनले छोराछोरी पुस्तामा चेतनाको पुस्तान्तरण भएकोमा खुशी लागेको समेत उल्लेख गरेकी थिइन् ।

बसन्तपुर र कीर्तिपुरमा भएका शान्तिपूर्ण प्रर्दशन अवलोकन गरिरहँदा मैले त्यहाँ केही बा–आमा पुस्ता पनि भेटेकी थिएँ । उनीहरू आफ्ना बाबु–नानीलाई साथ दिन आएका रहेछन् । कीर्तिपुर, पाँगादोबाटोको प्रर्दशनमा ‘नो मोर आ अप्पो मखु न्हा’ लेखिएको प्लेकार्ड बोकेकी एक आमा ‘छोराछोरीको काम राम्रो लागेर आएको’ बताउँदै थिइन् ।

प्रर्दशनमा सहभागी थुप्रै युवायुवतीलाई मैले ‘आन्दोलनमा जान्छु भन्दा घरमा गाली गर्नु भयो कि भएन ?’ भनी सोधेँ । उनीहरूमध्ये अधिकांशले ‘सुरुमा अलि मान्नु भएको थिएन तर मैले सम्झाएपछि जाऊ भन्नुभयो’ भने । कतिका त बा–आमा, दाइ–भाउजुसमेत सँगै आएका रहेछन् । तीमध्ये कोही अलि पर बसेर छोराछोरीलाई नियाल्दै थिए भने कोही प्लेकार्ड बोकेर सँगै लाइनमा उभिएका थिए ।

बा–आमाले हत्तपत्त आफ्ना छोराछोरीलाई प्रर्दशन, आन्दोलन वा हुलहुज्जत हुने ठाउँमा जाउ भनिहाल्दैनन् । त्यसमाथि यस्तो महामारीका बेला ! अन्यायविरुद्ध लड्नुपरे बरु आफैँ सडकमा उत्रेलान् तर सन्तानलाई सुरक्षितसँग घरमै राख्न चाहन्छन् । जब अभिभावकले नै सन्तानलाई प्रर्दशनमा पठाउँछन् वा त्यसमा सहभागी हुने अनुमति दिन्छन् भने तब हामीले बुझ्नैपर्छ, त्यो कुनै परम्परागत शैलीको, प्रायोजित वा रौसे प्रर्दशन होइन ।

यो प्रर्दशनमा तोडफोड, ढुंगामुढा, रेलिङ भाँच्ने, प्रहरी कुट्ने काम भएको छैन । फोहोरा हान्नेलाई फुल दिइएको छ बरु । यसलाई कसैले लिड (नेतृत्व) पनि गरेको छैन । कुनै दल वा व्यक्तिको देखिने नेतृत्व बिनाको प्रर्दशन संस्थापनको लागि ठूलो चुनौती हुन्छ । कुनै एक/दुई जना नेतृत्व नहुने भएकाले सरकारलाई यस्ता प्रदर्शन असहज लाग्छन्, दबाउन गाह्रो पर्छ । कसलाई समात्नु ? कतिलाई थुन्नु ? कोसँग वार्ता गर्नु ?

त्यसमाथि यसमा हत्तपत्त सडकमा ननिस्किने, लेख–पढ गर्ने, आफ्नै दैनिकीमा सिमित रहने, फेसबुक/इस्टाग्राम चलाउने, मिम बनाउने, ट्वीटरमा रोष पोख्नेहरू सहभागी भए । यसले सरकारलाई अझ बढी तनाव दिन्छ । जब उग्र नभइ रचनात्मक तरिकाले, कोरोना महामारीको समेत ख्याल गरेर, भौतिक दूरी कायम राख्दै, मास्क र पञ्जा लगाइ, पानी पिउँदै, स्यानिटाइजर दल्दै, शान्तिपूर्ण ढंगले प्रदर्शनमा उत्रिँदा सरकार केही समय मौन रहला तर ऊ सुध्रिन बाध्य हुने विश्वास प्रदर्शनकारीको छ ।

‘सुकिला’ युवा सडकमा पुग्नुलाई सरकारले सुरुमा वास्ता नगर्ला । वा, कहिलेकाहीँ ‘हाम्रो बालुवाटारमा प्रर्दशन गर्ने ?’ भन्दै टियरग्याँस हानेर शास्त्रीय शैलीमा आफ्नो दबाब–मोडल अपनाउन खोज्ला । तर, अहिलेको अवस्था हेर्दा सरकारले यो प्रर्दशनलाई दुई/चार दिनको खेला ठानेजस्तो देखिन्छ । तसर्थ यसबारे चुट्किला सुन्न पाइएको छैन । बरु, सडकका रोचक प्लेकार्ड र सहभागीका अनेकन प्रपहरूले चर्चा पाइरहेका छन् ।

शनिबार माइतघरको प्रर्दशनमा सहभागीले ‘सयौं थुंगा...’ गाउँदा प्रहरीले सलाम गर्नु कस्तो आनन्ददायी भयो । ‘अस्ति भर्खर फोहोरा हान्नेहरू आज हामीलाई सलाम हान्न तयार भए Û हामीले पनि त गुलाबको फुल दियौं ! माया दिई माया लियौं सायद । अस्ति भान्जी भन्ने अनि आज फुल दिने ?’ यस्ता मिम पनि बने । निशान छापमा नयाँ नक्सा समावेश गरेको विधेयक पारित प्रर्दशनकारीले नै थपडी बजाएर खुशी मनाए ।

....

प्रर्दशनको प्रकृति हेर्दा यो विभिन्न देशमा असल उदेश्यसाथ भएका र सरकारलाई सुधारको बाटो देखाउन सफल कतिपय ‘अकुपाई मुभमेन्ट’ को जस्तो देखिन्छ । भारतको चेन्नइमा सन् २०१७ मा भएको ‘अकुपाइ मरिना’ का बेला तमिलनाडुका विभिन्न ठाउँका लगभग सबै खुला स्थानमा शान्तिपूर्ण प्रर्दशन भएका थिए । पछि त्यो प्रर्दशन मरिना बिचमा एककृत हुँदा हिन्द महासागरसामू विशाल जनसागर उर्लिएको थियो ।

‘इलिट’ तमिल युवाहरूले सुरु गरेको प्रर्दशनमा पछि साराले साथ दिए । महिला, पुरुष, वृद्ध, शिक्षक, सरकारी कर्मचारी, वकिल, किसान सबै प्रर्दशनमा सहभागी बने । यसबारे पुस्तक लेखेकी चेन्नइकी स्वप्न सुन्दरका अनुसार त्यो प्रर्दशनमा तमिलनाडुका हरेक अभिभावकले आफ्ना सन्तानलाई प्रदर्शनस्थल ल्याएका थिए वा त्यहाँ जान सुझाव दिएका थिए । ‘बच्चालाई प्रर्दशनमा लग्नेले त्यहाँ उच्छिृङखल काम गर्दैनन्, उच्छिृङखल काम गर्नेले बच्चालाई प्रर्दशनमा पठाउँदैनन् भन्ने जनविश्वास थियो,’ उनले भनिन् ।

यसपाली नेपालमा पनि बा–आमाले छोराछोरीलाई प्रर्दशनमा पठाइरहेका छन्, विरोधमा ऐक्यबद्धता जनाइरहेका छन् । पानीको फोहोरा झेल्ने छोराछोरीबारे गौरव सुनाइरहेका छन् । कोरोना महामारीको यत्रो त्रासका बीच अभिभावकका तर्फबाट यो सब हुनु भनेको यसका पछाडि सानोतिनो कारण छ भन्ने लाग्दैन ।

अभिभावक पुस्ता सायद अब आफ्ना सन्तानको पहलमा राजनीतिक/सामाजिक सुधार देख्न चाहन्छन् । सरकारको भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, गैरजिम्मेबारीपन, हेपाहा प्रवृत्तीजस्ता मुद्दामा आफूले लडेको लडाइ छोराछोरीले पनि लड्नु परेकोमा उनीहरू दुःखी पनि छन् । तर, सन्तानले आफ्नोभन्दा अलि भिन्न शैलीमा विमति देखाउँदै दबाब सिर्जना गरेको पाउँदा सायद उनीहरूमा आशा पलाएको छ ।

तसर्थ, जनस्वास्थविदहरू, जो स्वयं कसैका माता–पिता होलान्, ले समेत ‘यस्तो महामारीका बेला प्रदर्शनमा नजाऊ वा प्रदर्शन नै नगर त कसरी भनौं तर सर्तकता अपनाउन नभुलौं’ भनिरहेका छन् । प्रर्दशनरत युवाले पनि अभिभावकको यो आशा र आग्रह भूल्न हुँदैन अब ।

प्रकाशित : जेष्ठ ३२, २०७७ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?