प्रदर्शनमा अभिभावक र छोराछोरी

सजना बराल

काठमाडौँ — जारी सडक प्रदर्शनको पहिलो दिन बालुवाटारमा प्रहरीले हानेको पानीको फोहोरासँग जुध्दै गरेकी एक युवतीको तस्बिर समाचार र सोसल मिडियामा छाइरहेको थियो । त्यही बेला पुजन गुरुङले उक्त तस्बिर फेसबुकमा सेयर गरे । आफ्नी छोरी सुबानीको साहस र सचेतनाप्रति गर्व लागेको भन्दै भावुक शैलीमा लामो क्याप्सन पनि लेखे । 

अर्को दिन लेखक सावित्री गौतमले ‘इनअफ इज इनअफ’ वाला नारा बोकेर प्रर्दशनमा सहभागी उनका छोराको तस्बिर ट्वीट गरिन् । ‘यो बेथितिको विरोधमा सडकमा आउने सबैप्रति ऐक्यबद्धता छ’ भन्दै उनले छोराछोरी पुस्तामा चेतनाको पुस्तान्तरण भएकोमा खुशी लागेको समेत उल्लेख गरेकी थिइन् ।

बसन्तपुर र कीर्तिपुरमा भएका शान्तिपूर्ण प्रर्दशन अवलोकन गरिरहँदा मैले त्यहाँ केही बा–आमा पुस्ता पनि भेटेकी थिएँ । उनीहरू आफ्ना बाबु–नानीलाई साथ दिन आएका रहेछन् । कीर्तिपुर, पाँगादोबाटोको प्रर्दशनमा ‘नो मोर आ अप्पो मखु न्हा’ लेखिएको प्लेकार्ड बोकेकी एक आमा ‘छोराछोरीको काम राम्रो लागेर आएको’ बताउँदै थिइन् ।

प्रर्दशनमा सहभागी थुप्रै युवायुवतीलाई मैले ‘आन्दोलनमा जान्छु भन्दा घरमा गाली गर्नु भयो कि भएन ?’ भनी सोधेँ । उनीहरूमध्ये अधिकांशले ‘सुरुमा अलि मान्नु भएको थिएन तर मैले सम्झाएपछि जाऊ भन्नुभयो’ भने । कतिका त बा–आमा, दाइ–भाउजुसमेत सँगै आएका रहेछन् । तीमध्ये कोही अलि पर बसेर छोराछोरीलाई नियाल्दै थिए भने कोही प्लेकार्ड बोकेर सँगै लाइनमा उभिएका थिए ।

बा–आमाले हत्तपत्त आफ्ना छोराछोरीलाई प्रर्दशन, आन्दोलन वा हुलहुज्जत हुने ठाउँमा जाउ भनिहाल्दैनन् । त्यसमाथि यस्तो महामारीका बेला ! अन्यायविरुद्ध लड्नुपरे बरु आफैँ सडकमा उत्रेलान् तर सन्तानलाई सुरक्षितसँग घरमै राख्न चाहन्छन् । जब अभिभावकले नै सन्तानलाई प्रर्दशनमा पठाउँछन् वा त्यसमा सहभागी हुने अनुमति दिन्छन् भने तब हामीले बुझ्नैपर्छ, त्यो कुनै परम्परागत शैलीको, प्रायोजित वा रौसे प्रर्दशन होइन ।

यो प्रर्दशनमा तोडफोड, ढुंगामुढा, रेलिङ भाँच्ने, प्रहरी कुट्ने काम भएको छैन । फोहोरा हान्नेलाई फुल दिइएको छ बरु । यसलाई कसैले लिड (नेतृत्व) पनि गरेको छैन । कुनै दल वा व्यक्तिको देखिने नेतृत्व बिनाको प्रर्दशन संस्थापनको लागि ठूलो चुनौती हुन्छ । कुनै एक/दुई जना नेतृत्व नहुने भएकाले सरकारलाई यस्ता प्रदर्शन असहज लाग्छन्, दबाउन गाह्रो पर्छ । कसलाई समात्नु ? कतिलाई थुन्नु ? कोसँग वार्ता गर्नु ?

त्यसमाथि यसमा हत्तपत्त सडकमा ननिस्किने, लेख–पढ गर्ने, आफ्नै दैनिकीमा सिमित रहने, फेसबुक/इस्टाग्राम चलाउने, मिम बनाउने, ट्वीटरमा रोष पोख्नेहरू सहभागी भए । यसले सरकारलाई अझ बढी तनाव दिन्छ । जब उग्र नभइ रचनात्मक तरिकाले, कोरोना महामारीको समेत ख्याल गरेर, भौतिक दूरी कायम राख्दै, मास्क र पञ्जा लगाइ, पानी पिउँदै, स्यानिटाइजर दल्दै, शान्तिपूर्ण ढंगले प्रदर्शनमा उत्रिँदा सरकार केही समय मौन रहला तर ऊ सुध्रिन बाध्य हुने विश्वास प्रदर्शनकारीको छ ।

‘सुकिला’ युवा सडकमा पुग्नुलाई सरकारले सुरुमा वास्ता नगर्ला । वा, कहिलेकाहीँ ‘हाम्रो बालुवाटारमा प्रर्दशन गर्ने ?’ भन्दै टियरग्याँस हानेर शास्त्रीय शैलीमा आफ्नो दबाब–मोडल अपनाउन खोज्ला । तर, अहिलेको अवस्था हेर्दा सरकारले यो प्रर्दशनलाई दुई/चार दिनको खेला ठानेजस्तो देखिन्छ । तसर्थ यसबारे चुट्किला सुन्न पाइएको छैन । बरु, सडकका रोचक प्लेकार्ड र सहभागीका अनेकन प्रपहरूले चर्चा पाइरहेका छन् ।

शनिबार माइतघरको प्रर्दशनमा सहभागीले ‘सयौं थुंगा...’ गाउँदा प्रहरीले सलाम गर्नु कस्तो आनन्ददायी भयो । ‘अस्ति भर्खर फोहोरा हान्नेहरू आज हामीलाई सलाम हान्न तयार भए Û हामीले पनि त गुलाबको फुल दियौं ! माया दिई माया लियौं सायद । अस्ति भान्जी भन्ने अनि आज फुल दिने ?’ यस्ता मिम पनि बने । निशान छापमा नयाँ नक्सा समावेश गरेको विधेयक पारित प्रर्दशनकारीले नै थपडी बजाएर खुशी मनाए ।

....

प्रर्दशनको प्रकृति हेर्दा यो विभिन्न देशमा असल उदेश्यसाथ भएका र सरकारलाई सुधारको बाटो देखाउन सफल कतिपय ‘अकुपाई मुभमेन्ट’ को जस्तो देखिन्छ । भारतको चेन्नइमा सन् २०१७ मा भएको ‘अकुपाइ मरिना’ का बेला तमिलनाडुका विभिन्न ठाउँका लगभग सबै खुला स्थानमा शान्तिपूर्ण प्रर्दशन भएका थिए । पछि त्यो प्रर्दशन मरिना बिचमा एककृत हुँदा हिन्द महासागरसामू विशाल जनसागर उर्लिएको थियो ।

‘इलिट’ तमिल युवाहरूले सुरु गरेको प्रर्दशनमा पछि साराले साथ दिए । महिला, पुरुष, वृद्ध, शिक्षक, सरकारी कर्मचारी, वकिल, किसान सबै प्रर्दशनमा सहभागी बने । यसबारे पुस्तक लेखेकी चेन्नइकी स्वप्न सुन्दरका अनुसार त्यो प्रर्दशनमा तमिलनाडुका हरेक अभिभावकले आफ्ना सन्तानलाई प्रदर्शनस्थल ल्याएका थिए वा त्यहाँ जान सुझाव दिएका थिए । ‘बच्चालाई प्रर्दशनमा लग्नेले त्यहाँ उच्छिृङखल काम गर्दैनन्, उच्छिृङखल काम गर्नेले बच्चालाई प्रर्दशनमा पठाउँदैनन् भन्ने जनविश्वास थियो,’ उनले भनिन् ।

यसपाली नेपालमा पनि बा–आमाले छोराछोरीलाई प्रर्दशनमा पठाइरहेका छन्, विरोधमा ऐक्यबद्धता जनाइरहेका छन् । पानीको फोहोरा झेल्ने छोराछोरीबारे गौरव सुनाइरहेका छन् । कोरोना महामारीको यत्रो त्रासका बीच अभिभावकका तर्फबाट यो सब हुनु भनेको यसका पछाडि सानोतिनो कारण छ भन्ने लाग्दैन ।

अभिभावक पुस्ता सायद अब आफ्ना सन्तानको पहलमा राजनीतिक/सामाजिक सुधार देख्न चाहन्छन् । सरकारको भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, गैरजिम्मेबारीपन, हेपाहा प्रवृत्तीजस्ता मुद्दामा आफूले लडेको लडाइ छोराछोरीले पनि लड्नु परेकोमा उनीहरू दुःखी पनि छन् । तर, सन्तानले आफ्नोभन्दा अलि भिन्न शैलीमा विमति देखाउँदै दबाब सिर्जना गरेको पाउँदा सायद उनीहरूमा आशा पलाएको छ ।

तसर्थ, जनस्वास्थविदहरू, जो स्वयं कसैका माता–पिता होलान्, ले समेत ‘यस्तो महामारीका बेला प्रदर्शनमा नजाऊ वा प्रदर्शन नै नगर त कसरी भनौं तर सर्तकता अपनाउन नभुलौं’ भनिरहेका छन् । प्रर्दशनरत युवाले पनि अभिभावकको यो आशा र आग्रह भूल्न हुँदैन अब । प्रकाशित : जेष्ठ ३२, २०७७ २१:१४

प्रतिक्रिया
पठाउनुहोस्

उपत्यका प्रवेशमा तीन पक्षको स्वीकृति अनिवार्य

कान्तिपुर संवाददाता

काठमाडौँ — तपाईं काठमाडौं उपत्यका प्रवेश गर्दै हुनुहुन्छ ? यदि बाहिरी जिल्लाबाट काठमाडौं, भक्तपुर वा ललितपुर आउँदै हुनुहुन्छ भने आफू आउन लागेको स्थानको वडा कार्यालयबाट अनिवार्य स्वीकृति लिन नबिर्सिनु होला ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले ललितपुर र भक्तपुर प्रशासनसँग समन्वय गरेर आइतबारदेखि उपत्यका प्रवेशका लागि वडा कार्यालय र जिल्ला प्रशासनबाट सवारी अनुमतिपत्र अनिवार्य गरेको हो । त्यसपछि उपत्यकास्थित जिल्ला प्रशासन कार्यालयबाट पाससम्बन्धी निर्णय गरिनेछ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत मानबहादुर बुढाले राजधानी प्रवेशका लागि नयाँ व्यवस्था गरिएको बताए । ‘अब बाहिरी जिल्लाबाट उपत्यका प्रवेश गर्न औचित्य, आवश्यकता र कारण खुलाएर आफू आउन लागेको स्थानको वडा कार्यालयबाट लिखित स्वीकृति लिनुपर्नेछ,’ बुढाले कान्तिपुरसँग भने, ‘वडाको स्वीकृति र सिफारिस लिएर यात्रा सुरु गर्दाको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ, यसका लागि यात्रा गर्नुपर्ने कारण खुल्ने कागजातहरू अनिवार्य रूपमा पेस हुनुपर्नेछ ।’

त्यसपछि आउन लागेको प्रशासनले अनुमति दिएपछि मात्रै यात्रा सुरु गर्न लागेको प्रशासनबाट अस्थायी सवारी पास जारी हुनेछ । आउने व्यक्तिले व्यक्तिगत वा संस्थागत जुन प्रयोजनका लागि भए पनि औचित्य खुल्ने कागजात पेस गर्नुपर्नेछ । आफ्नो पालिका वा वडा कार्यालयमा क्वारेन्टाइन क्षमता र जोखिम मूल्यांकन गरेर मात्रै वडाले पनि आउनका लागि स्वीकृति प्रदान गर्नेछ । यस्तै उपत्यकाभित्र निजी सवारी जोरबिजोर प्रणालीबाट सञ्चालन व्यवस्था गरिएका कारण यसअघि जारी गरिँदै आएको सवारी पास हाललाई स्थगन गरिएको छ । अब प्रशासनमा निवेदन दिए औचित्य हेरेर पास जारी गर्न सकिने बताइएको छ ।

प्रकाशित : जेष्ठ ३२, २०७७ २१:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×