त्यो एउटा कुरा

प्रश्नबाट पार लागेका हुन् वा उत्तरदेखि पलायन भएका, हे हिमवत्खण्डवासी हो ! यो अन्तिम सन्देशलाई सुन ! ढिला नगर, कोरोनाको कालकहरले हाम्रो कठालो समात्नुअघि नै कविता बाँच्नुपर्छ । भो, कविता ! तिमी रोग, भोक र शोकले आत्महत्या नगर !
दीपक पराजुली

काठमाडौँ — महर्षिको गुरुकुलबाट शिक्षादीक्षा प्राप्त गरी म घर फर्किएको थिएँ । उहाँको सान्‍निध्यमा रहँदा मैले संसारका सबैजसो शास्त्रको अध्ययन-चिन्तन गर्ने मौका पाएको थिएँ । शास्त्र चिन्तनप्रतिको मेरो लगाव देखेर महर्षिले मलाई सुचिन्तक नामकरण गरी दीक्षित गर्नु भयो र उज्जवल भविष्यको आशीर्वाद पनि दिनुभयो ।

घरमा आएर मैले मेरा मातापितालाई गुरुकुल रहँदा हासिल गरेका ज्ञानविज्ञानका अनेक आयामहरुबारे बताएँ । वेदान्त दर्शनदेखि विज्ञानका विविध रहस्यहरुमाथिको मेरो पकड देखेर मातापिता फुरुङ्‌ग पर्नु भयो । प्रसन्नताले उहाँहरुको अनुहार सहस्र सूर्य झैं चम्किएको थियो ।

मैले प्राप्त गरेको ज्ञानलाई परख गर्न पिताजीले बीचबीचमा केही थान प्रश्न पनि सोध्नु भयो । ती सबै प्रश्नको मैले यथोचित उत्तर दिएँ । मेरो उत्तरदेखि पिताजी सन्तुष्ट हुनुभएको थियो । यस्तैमा माताजीले पनि मलाई प्रश्न सोध्ने इच्छा गर्नुभयो । र उहाँले मलाई एउटा अनौठो प्रश्न सोध्नु भयो ।

'पुत्र सुचिन्तक ! के तिमीले त्यो एउटा कुरालाई जान्यौ ?'

'कुन कुरा हो माता ?'

'त्यही, जसलाई जानेपछि जान्नको लागि अरु कुनै कुरा बाँकी रहन्न?'

गुरुकुलमा त मैले अनेक शास्त्रको अध्ययन गरेको थिएँ । तर माताजीले भन्नु भएको कुन चाहिँ त्यस्तो कुरा थियो, जसलाई मैले जान्न सकेको थिइनँ । उहाँको कुरा मैले ठम्याउनै सकिनँ । धेरै बेरसम्म म उहाँको प्रश्नमा घोत्लिरहेँ । तर कुनै उचित उत्तर फेला पार्न सकिनँ । त्यो एउटै प्रश्नले मेरो मनमस्तिष्क गलाउन थाल्यो । त्यसपछि माताजीले फेरि भन्नुभो- 'प्रिय पुत्र ! यदि तिमीले त्यो एउटा कुरालाई जानेका छैनौँ भने तिमीले केही पनि जानेका छैनौँ । तिमीले जानेको छु भनेका सबैथोक व्यर्थ छन् ।'

त्यत्रा वर्ष दुःख गरेर आर्जन गरेको मेरो ज्ञानमाथि माताजीको एउटै प्रश्नले चुनौती खडा गरिदिएको थियो । बडेमानको हात्तीलाई सानो अंकुशले लडाइदिन सक्छ भनेर मैले नीतिकथा पढेको कुरा मैमाथि चरितार्थ हुन पुगेको थियो । त्यो एउटा कुराको निरुपणबिना मैले आर्जित गरेको ज्ञान असलमा ज्ञान नभएर केवल खोक्रो पण्डित्याईँ मात्र हुने भयो । अवश्य पनि म देखावटी पण्डित बन्नको लागि महर्षिको गुरुकुलमा गएको थिइनँ । वर्षौँवर्षको त्यो कठिन तपस्या आजको यो दिन देख्नको लागि गरेको थिइनँ ।

त्यसपछि मैले त्यो एउटा कुरालाई जानेरै छाड्ने अठोट गरेँ । जुन अठोटलाई पूर्णता दिनको लागि मैले घर छोडेर पुनः ज्ञानको खोजीमा निस्कनु पर्थ्यो । अरु त कुनै विकल्प पनि थिएन । यही निश्चय गरेर मैले मातापितासँग बिदा मागेँ । उहाँहरु दुवैले मलाई लक्ष्यसिद्धि होस् भनी आशीर्वाद दिनुभयो । र त्यसपछि म त्यो एउटा कुराको खोजीमा घर छोडेर हिँडेँ ।

सुरुमा म महर्षिकहाँ नै गएँ र भनेँ 'हे गुरुदेव ! तपाईंले मलाई धेरै कुराको ज्ञान दिनुभयो तर त्यो एउटा कुराको बारेमा किन भन्नुभएन जसलाई जानेपछि जान्नका निम्ति अरु कुनै कुरा बाँकी रहँदैन ।'

महर्षिले मेरो कुरा दुइटै कानले सुन्नुभयो । र एक मनले गुन्नु पनि भयो । तर फिटिक्कै बोल्नुभएन । मैले उहाँको जवाफको प्रतीक्षा गरिरहेँ । धेरै बेरसम्म उहाँ मौन रहनु भयो । उहाँको त्यो मौनताले मलाई भित्रभित्रै काटिरहेको थियो । पर्खाइको त्यो समय मेरा लागि निकै कष्टप्रद रह्यो । एक मन त उहाँको मौनतालाई नै उत्तर सम्झेर फर्किउँ जस्तो नलागेको पनि होइन । तर यत्तिकै फर्कँदा गुरु महर्षिको अपमान होला भनेर कुर्दै बसिरहेँ । सूर्यास्त हुनु केहीअघि उहाँले मुख खोल्नु भयो र मेरो प्रश्नको उत्तरमा मात्र एकै वचन बोल्नु भयो- 'तत्वमसि' । त्यसपछि उहाँ सन्ध्योपासनाका लागि सरासर नदीतर्फ प्रस्थान गर्नुभयो । म पनि उहाँलाई दण्डवत् प्रणाम गर्दै बिदा भएँ ।

त्यहाँदेखि एउटा कुराको खोजीमा म देशदेशान्तर घुम्दै हिँड्न थालेँ । कहाँकहाँ मात्र पुगिनँ र ? युनान गएँ । त्यहाँका प्रसिद्ध विचारक सुकरातलाई भेटेँ र सोधेँ । उत्तरमा उहाँले 'मलाई यो थाहा छ कि मलाई केही पनि थाहा छैन ।' भनी जवाफ फर्काउनु भयो । श्रावस्तीमा मैले बुद्धलाई भेटेँ र उही प्रश्न सोधेको थिएँ । जवाफमा उहाँले 'अप्प दीपो भव' मात्रै भन्नुभयो । मिथिलामा गएर मैले राजर्षि जनकलाई भेटेँ । राजर्षिले 'सारा विषयलाई विष सम्झेर त्याग गर्नु' भन्नुभयो । तर यी कुनै पनि जवाफबाट म सन्तुष्ट भइनँ ।

यसरी कयौँ जुग बितिगए । ती कयौं जुगमा मैले कयौं ज्ञानीसन्त महात्मालाई भेटेँ । तर जतिलाई भेटे पनि मैले त्यो एउटा कुराको रहस्यलाई भेट्न सकेको थिइनँ । यस्तैमा घुम्दैफिर्दै एकदिन म हिमवत्खण्ड आइपुगेँ । यहाँ अहिले शासन गरिरहेका मुख्तियार निकै जान्नेसुन्ने छन् रे भन्ने सुनेँ । उनीसँग सबै प्रश्नको उत्तर छ भन्ने चर्चा यत्रतत्र फैलिएको रहेछ । लाग्यो, त्यसोभए त मेरो प्रश्नको उत्तर उनीसँग अवश्यै छ । अब उनलाई भेट्नै पर्ने भो भनी म उनको ठेगाना खोज्दै हिँडेँ ।

कोरोना महामारीका कारण विश्वका धेरैजसो जनपदमा जस्तै हिमवत्खण्डमा पनि बन्दाबन्दी लागू गरिएको रहेछ । बाटाघाटामा मान्छेहरुको ओहोरदोहोर पातलो थियो । साना खुद्रा पसलहरु कहीँकतै मात्र खुलेका थिए । मान्छेका अनुहार पनि नखुलेको आकाश जस्तै थियो । मुख्तियारकहाँ जाने बाटो पत्ता लगाएपछि म त्यतैतर्फ लम्कँदै थिएँ ।

जाँदै गर्दा एकठाउँमा लम्पसार सुतेको मान्छेले मेरो बाटो छेक्यो । मैले उसलाई 'उठ्नुस् ! कृपया, मेरो बाटो छोड्नुस् !' भनि बोलाएँ । तर ऊ केही बोलेन । ऊ घोर निन्द्रमा थियो । मैले उसलाई कोट्याएँ । झक्झक्याएँ । अहँ ऊ उठेन । कतै यो मान्छे मरेको त हैन भनी उसको नाकनेर औँला पुर्‍याएँ। श्वास फेरेको छैन । छाती छामेँ । धड्कन छैन । नाडी छामेँ । चिसो भएर आयो । पक्का मरेको रहेछ । वरपर आँखा डुलाएँ । केही मान्छे जम्मा भइसकेका थिए । उनीहरुमध्ये कसैले भन्यो 'विचरा, भोकभोकै मरेछ !' भोकै मरेको मान्छेलाई अब केही खुवाएर जिउँदो पार्न सकिँदैनथ्यो । हाय, कस्तो दुःखद मरण ! यस्तो कसैलाई नपरोस् भन्दै दुःखी मन लिएर म अगाडि बढेँ ।

पाइला चाल्दाचाल्दै म मुख्तियार निवासको द्वारमा आइपुगेँ । द्वारपालले मलाई 'पास खोइ ?' भनी माग्यो र केरकार गर्न थाल्यो । मसँग त्यस्तो कुनै 'पास' थिएन । सुकरात, बुद्ध र जनकजस्ता महाज्ञानी अनि कयौँ चक्रवर्ती राजालाई भेट्न जाँदा समेत नचाहिएको त्यो कस्तो 'पास' हो ? मैले केही बुझ्न सकिनँ । अनेक अनुरोध गर्दा पनि द्वारपालले भित्र छिर्न नदिएपछि मैले मुख्तियारको ढोका ढुकेरै बसेँ ।

यस्तैमा त्यहाँ बसिरहेको द्वारपालको रुँघ्ने पालो सकिएछ र सट्टामा अर्को नयाँ द्वारपाल नियुक्त भई आयो । मैले उसलाई पनि आफ्नो कुरा अनुरोध गरेँ । नयाँ द्वारपाल केही समझदार निस्कियो । उसले मलाई एउटा व्यक्तिको सम्पर्क सूत्र दियो र भन्यो 'महाशय, तपाईं आजीवन यहाँ ढुकेर बसे पनि भित्र जान सक्नुहुन्न । यदि तपाईंले मुख्तियारलाई साँच्चै भेट्न चाहनु भएको हो भने यो व्यक्तिसँग सम्पर्क गरेर आउनुहोला, फरकै पर्दैन ।'

नयाँ द्वारपालले बताएबमोजिम नै मैले त्यो सम्पर्क सूत्रलाई पछ्याएँ । सूत्रको माध्यबाट मैले एक चकलेट व्यापारीलाई फेला पारेँ । चकलेट व्यापारीसँग मैले विनम्रतापूर्वक आफ्नो कुरा अनुरोध गरेँ । सुरुमा त उसले मेरो कुरा पटक्कै मानेको थिएन । मैले उसलाई 'यदि मुख्तियारले मलाई त्यो एउटा कुरा बताउनुभयो भने त्यसको रहस्य म तपाईंलाई पनि बताउँला । अथवा उहाँबाट कुनै लाभ मिल्यो भने त्यो सबै बाँडेर लिउँला ।' भनेर वाचा गरेपछि चकलेट व्यापारी मलाई सँगै लैजान सहमत भयो । उसले मलाई आफ्नो वातानुकुलित सवारीमा राखेर सजिलैसित मुख्तियार निवासभित्र छिरायो ।

मुख्तियार निवासमा यत्रतत्र फौजीहरु तैनाथ थिए । सरकारी कारिन्दा अनि मुख्तियारलाई भेट्न आएका हामीजस्ता अनेक तरहका आगन्तुकहरुको चहलपहलले रमिता थियो त्यहाँ । एक मनले यति धेरै शस्त्रधारीबाट घेरिएका मुख्तियारलाई शास्त्र चिन्तन गर्ने उपयुक्त परिवेश जुर्ला र भन्ने पनि सोचेँ । त्यहाँ आएका आगन्तुकहरु आआफ्नो पालोमा मुख्तियारलाई भेट्न जाँदै थिए । कोही भेटेर फर्कँदै थिए । पर्याप्त समय गुज्रिएपछि हाम्रो पनि पालो आयो । चकलेट व्यापारीको साथमा म मुख्तियारको खोपीमा छिरेँ ।

मुख्तियार हंसमुख लिएर सोफमा विराजमान थिए । एकखाले निश्चिन्तता उनको अनुहारमा व्याप्त थियो । केहीबेर चकलेट व्यापारी र मुख्तियारका बीच कुराकानी चल्यो । आफ्ना हरेक भनाइमा यथासन्दर्भ उखान र उपमाको प्रयोग गर्ने मुख्तियारको अद्भुत वाक्कला देखेर म त कायल भइगएँ । चकलेट व्यापारीले आफ्नो कुरो सकायो । त्यसपछि मेरो पालो आयो । मुख्तियारलाई म यहाँ आउनुको प्रयोजन बताएँ र त्यही एउटा कुराको प्रश्न सोधेँ ।

मुख्तियारज्यू, तपाईंलाई त्यो एउटा कुरा थाहा छ, जसलाई जानेपछि जान्न अरु कुनै कुरा बाँकी रहँदैन ?

त्यो मलाई थाहा छ । र, मैले भन्दै आइरहेको छु कि अब कोही भोको मर्नु पर्दैन ।

तर महामहिम, अघि म यता आउँदै गर्दा बाटोमा एउटा मान्छे भोकै मरेको थियो ।

त्यो तपाईँको भ्रम हो । यहाँ मुटु नभएका मान्छेहरु भ्रम फैलाउनमा उद्दत छन् ।

हैन मान्यवर, त्यो किञ्चित भ्रम थिएन । त्यो भोकै मरेको मान्छेलाई मेरो आफ्नै आँखाले देखेको हो । हेर्नुस्, त्यो मान्छेको दुर्दशा देखेर मेरो पनि आँखा रसाएर आएको थियो ।

ना ना ना मैले भनिसकेको छु कि अब आँसु खसाउनु पर्दैन । र यो पनि घोषणा गरिसकेको छु कि अब कसैले रगत पनि बगाउनु पर्दैन ।

त्यसो भए तपाईँलाई भेरी नदीमा बगेको रगतबारे पनि केही थाहा छैन ? घृणाले मच्चाएको त्यो जातीय संहारमा रगतमात्र होइन मानवता पनि बगेको छ मान्यवर । र तपाईं भन्दै हुनुहुन्छ, अब रगत बगाउनु पर्दैन ।

त्यो म जान्दछु, मित्र ।

हैन महोदय, तपाईं धेरैथोक जान्नुहोला । म मान्छु । तर तपाईं के जान्दिनँ भन्ने कुरा किञ्चित जान्नुहुन्न । यस्तोमा तपाईंले खै कसरी मेरो त्यो एउटा कुरा जान्नुहोला र ?

संवाद गरमागरम हुन थालेको देखेर चकलेट व्यापारी आत्तियो । स्थितिलाई सामान्य बनाउन उसले ङिच्च हरिया दाँत देखाउँदै हह र हिँहीँ गर्दै हात मल्दै भन्यो- 'अब टुङ्ग्याउँ होला हजुर हहह… । अब सकौँ होला हजुर, हिँहिँहीँ… ।'

यसैबीच खोपीमा एउटा सेवक प्रवेश गर्यो र मुख्तियारको आरामको समय भएको जानकारी दियो । मुख्तियार आराम गर्न लागेपछि चकलेट व्यापारी र म त्यहाँबाट बाहिरियौँ । मेरो व्यवहारबाट चकलेट व्यापारी निरास थियो । त्यसैले छुट्टिने समय हामीबीच कुनै उल्लेख्य कुरा भएनन् । ऊ आफ्नो बाटो लाग्यो । म त्यही बाटो फर्किएँ, जुनबाटो भइ हिँड्दै आएको थिएँ ।

म पुनः अघि भोकले मान्छे मरेको ठाउँमा पुगेँ । त्यहीनेर छेऊमा एउटा सालिक ठडिएको रहेछ । त्यो कसको सालिक रहेछ भनी नियालेर हेरेँ । अघि भोकै मर्ने मान्छेको पो हो कि भनेर आँखामा थप जोड लगाउँदै हेरेँ । हेर्दाहेर्दै सालिकको अनुहारमा केही हलचल देखिन थाल्यो । सालिकको आँखाले यताउता संकेत गर्न थाल्यो । सालिकको मुख पनि चल्न थाल्यो र यस्तो बरबराउन लाग्यो :

।। ॐ कुतर्काय नमो नमः ।।

यो शीर्षकमा म एउटा कविता कोर्न चाहन्थेँ । निश्चय नै यो काम कपाल कोरेजस्तो हैन । उहिलेका राजामहाराजाहरुले पनि कविता कोर्थे । यो कुनै नौलो कुरा होइन । अहिले हाम्रा मुख्तियार पनि कविता कोर्न व्यस्त छन् । चौतारिया र अरु भाइभारदार समेत कुनै न कुनै किसिमको काव्य रचनाको उद्यममा व्यस्त छन् । सभा, जहाँ सभ्य मान्छेहरु भेला हुन्छन् भन्ने गरिन्छ, अन्यथा भए म जिम्मेवार छैन र सदन कुन ? कविगोष्ठी कुन ? छुट्याउन मुस्किल भएको छ । र काव्यको यथोचित परख गर्नुपर्ने समीक्षक पण्डितहरु भने कोरोनाको पीरले क्वारेन्टाइनमा ट्वाँ परेर बसेका छन् । यो यही हिमवत्खण्डको कुरा हो ।

केही समयअघि भारदारी सभाका विपक्षी नाइकेले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई खण्डकाव्य भनिदिए । त्यसअर्थमा सरकारको बजेट पनि त्यस्तै कुनै काव्य हो । संविधान महाकाव्य हो । देशमा प्रचलित सबै कानून यस उप्रान्त कविता हुन् । पीडित/पक्षको जाहेरी, फिराद, रिट, निवेदन अनि विपक्षीको प्रतिउत्तर र लिखित जवाफ कविता हुन् । अभियुक्तको बयान, साक्षीको वकपत्र, विपक्षी वकिलको जिरह र इजलासमा हुने दोहोरो बहस मात्र होइन अदालतको आदेश र फैसला समेत कविता हुन् । इतिहास, भूगोल, अर्थशास्त्र र राजनीति अनि समाचार, भाषण, चिठिपत्र र टिप्पणी पनि कविता हुन् । पाणिनीको व्याकरणदेखि पाइथागोरसको गणितसम्म सबै कविता हुन् ।

सकल दर्जाका देशबासीले यो सत्यलाई आत्मसात गर्न सक्नुपर्छ । कुनै उत्सव होस् या दुर्घटना । विजय होस् या पराजय । अनिकाल होस् या सहकाल । भोकमरी, महामारी होस् या मदनोत्सव । दैवी प्रकोप होस् या जातीय संहार । जस्तोसुकै परिस्थिति आइलागे पनि, जस्तोसुकै घटना घटे पनि हाम्रा लागि निश्चित गरिएको कर्म एउटै छ – कविता । काम, कर्तव्य, दायित्व र अधिकार भन्नुस् वा धर्म, अर्थ, काम अनि मोक्षको कुरा गर्नुस्, अब सबथोक जानेर पनि जान्न बाँकी केही छैन । कथम् केही बाँकी छ भने त्यो कविता नै हो भनी जान्नु । प्रश्नबाट पार लागेका हुन् वा उत्तरदेखि पलायन भएका, हे हिमवत्खण्डवासी हो ! यो अन्तिम सन्देशलाई सुन ! ढिला नगर, कोरोनाको कालकहरले हाम्रो कठालो समात्नुअघि नै कविता बाँच्नुपर्छ ।

भो, कविता ! तिमी रोग, भोक र शोकले आत्महत्या नगर ! प्रकाशित : असार १, २०७७ १३:२८

प्रतिक्रिया
पठाउनुहोस्

३ स्वास्थ्यकर्मीसहित पर्सामा थप १० जनामा कोरोना

भूषण यादव

पर्सा — नारायणी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा पर्साका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार सोमबार एक महिलासहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा ९ जना विन्दवासनी गाउँपालिकाको क्वारेन्टाइन र एकजना पटेर्वा सुगौली गाउँपालिकाको रहेको डा.उपाध्यायले बताए । विन्दवासनी गाउँपालिकाको स्वास्थ्य प्रमुख चौहानका अनुसार ९ जना संक्रमितमध्ये तीन जना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगी हुन् ।

भारतबाट फर्किएकाहरुलाई राख्न गाउँपालिकाले झौवागुठीमा निर्माण गरेको क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी र कार्यालय सहयोगी संक्रमित भएको उनले जनाए । गत जेठ २६ मा उनीहरुको स्वाब संकलन गरिएको थियो ।

संक्रमितलाई आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको स्वास्थ्य प्रमुख चौहानले बताए । यसअघि त्यस क्वारेन्टाइनमा राखिएका दुई जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : असार १, २०७७ १३:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×