१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ब्लग : देश खोज्दै फर्कनेहरुको नाममा...

गंगा बीसी

काठमाडौँ — माफ गर्नुहोला । मैले लेखेर खासै केही फरक पर्ने छैन । स्वदेश फर्कदाफर्कदैँ भाइरसको ‘हट–बेड’जस्ता क्वारेन्टाइनमा काखका नानी गुमाएका बाआमाहरु माफ गर्नुहोला । मैले तपाईका नाममा दुई शब्द खर्च गरेर राज्यले सुन्ने छैन । यो केवल पीडा पोख्ने एउटा माध्याममात्र हुनेछ ।

ब्लग : देश खोज्दै फर्कनेहरुको नाममा...

ज्यान गुमाउनेहरुलाई श्रद्धाञ्जलीसिवाय केही हुने छैन । दुई शव्द कोरेर खास अर्थमा आफन्तलाई सानो समवेदनामात्र हुनेछ । तपाईंहरुले भोगेका रोग र भोकको पीडा कल्पना गर्न सकिदैन । सीमादेखि क्वारेन्टाइनसम्म भोगेका कष्टका कुरागरी साध्य छैन ।

कोरोनाले महामारीको रुप लिइसकेपछि तपाईहरुले देश सम्झनु भयो । राज्यले तपाईंलाई किन सम्झन्थ्यो ? तपाईलाई के गन्ति गर्थ्यौ ? देशमै भएका नागरिकलाई शासकले चिनेनन्, सयौं मजदुर सयौ किलोमिटर हिँडेर घर फर्कंदा यस्तै भएको थियो ।

राज्यल परदेशी नेपालीहरुलाई चिन्ने ‘कष्ट’ किन गर्थ्यो ? रहरले होइन, बाध्यताले परदेशी हुनु भएका तपाईंहरुलाई राज्यले (अ)नागरिक ठान्नु स्वभाविक हो । यदि राज्यले चिनेको भए देशको सीमामै आएका नागरिकलाई ढोकै थुनेर कुनचाहिँ शासकले राख्न सक्थे ? आफ्ना नागरिक चिनेको भए आमाका काखमै पुगेको बच्चालाई छेकेर कोही रमाउन सक्दैनथ्यो ।

शासकहरुले देशमै काम गरेर खाने वातावरण बनाएको भए अर्काको देशमा अपमान सहेर बस्नु पर्ने थिएन । कोरोना भाइसरले विश्व लकडाउन भएको बेला परदेशी दाजुभाइले आफ्नो देश सम्झनु, आफ्नी आमालाई खोज्नु के दोष थियो ? पसिना विदेशमा बगाए के भयो ? देश चलाउन रेमिट्यान्स पठाएकै हो । संकटमा देश आउन खोज्दा रोक्ने अधिकार शासकलाई कसले दियो ? आफ्नो देश फर्कन पाउनु नागरिकको अधिकार हो । स्वदेश फर्केर आफ्नो घरमा सुरक्षित भएपछि अवश्य तपाईँहरुले नेताहरुलाई प्रश्न सोध्नुपर्छ ।

केही समय अघिसम्म स्वदेश फर्कन हजारौ दाजुभाइ, दिदीबहिनी सिमा आएर धैर्यपूर्वक पर्खिरहे । लकडाउन खोल्ने प्रतीक्षामा भारतको क्वारेन्टाइनमा कष्ट काटेर बसे । केही दाजुभाइहरु उत्तराखण्डबाट ज्यानको बाजी लगाएर सुसाउँदो महाकाली तरेर आफ्नो घर फर्किए । महाकाली पार गरेर आफ्नो मातृभूमि टेक्दा पक्कै गर्व लागेको थियो होला तर शासकका रक्षकले तपाईलाई अपराधीजस्तै समातेर लगे । के आफ्नो मातृभूमिमा फर्कनु दोष थियो ?

क्वारेन्टाइन बस्दाबस्दै बा, आमा गुमाउँदासमेत शासकको मन पग्लिएन । कामक्रिया गर्न घरमा आउन पनि बिन्ती हाल्नुपर्ने अवस्था आयो । आफ्नो आमाको काखमा आउन पनि दया माग्नु पर्‍यो । देश कसको हो ? माटो कसको हो ? स्वदेश फर्केका दाजुभाइ, दिदीबहिनीले उत्तर खोज्नु पर्ने छ ।

.......

भारतबाट घर फर्कने क्रममा क्वारेन्टाइनमा उपचार नपाएर १० जनाले ज्यान गुमाउनु पर्‍यो । बाँकेमा एकजना युवाको क्वारेन्टाइनमा बसेकै बेला जीवनजल समेत खान नपाएर मृृत्यु भयो । भारतबाट फर्कदै गर्दा बैतडीमा मुटु सम्बन्धी औषधि खान नपाएर युवतीको मृत्यु भयो । बझाङमा एक बालकको पनि क्वारेन्टाइनमा उपचार नपाएर ज्यान गयो । त्यस्तै डडेल्धुरामा एक बालकसहित २ जनाको पनि उचित उपचार नपाएर मृत्यु भएको छ । भारतबाट घर फर्कदै गर्दा गुल्मीका एक युवकको कपिलवस्तुमा र सुर्खेतका २, दैलेखका १ र जुम्लाका १ जनाको पनि क्वारेन्टाइनमा उपचार नपाएर मृत्यु भएको छ ।

यी सबैको भारतबाट स्वदेश फर्कदै गर्दा क्वारेन्टाइनमा बस्दाबस्दै मृत्यु भएको हो । भारतमा कोरोना संक्रमण व्यापक भएको बेला मृतकहरु ज्यान जोगाउन स्वदेश फर्केका थिए । तर, घर नपुग्दै बाटोमै ज्यान गयो ।

सीमामा केही दिन अलपत्र परेका उनीहरुलाई भोकैप्यासै क्वारेन्टाइनमा राखियो । सीमाबाट ल्याएर क्वारेन्टाइनको कष्टपूर्ण बसाइ थेग्न नसकी कमजोर ज्यान ढल्यो । परदेशमा मरेको भए सायदै गन्ति हुने थिएन, आफ्नो देशको माटो टेकेपछि उनीहरुको गन्ति भयो । आफ्नो माटो टेकेपछि ज्यान बच्नु पर्ने थियो । तर ज्यान गयो । हुन त उनीहरुको मृत्युले राज्य संचालकलाई छोएन । हरेक वर्ष रोग र भोकले मर्नेहरुको संख्यामा थपिएको एउटा संख्याका रुपमा उनीहरुले त्यसलाई लिए । उनीहरुको मृत्यु प्वाखजस्तो हलुङ्गो ठानियो ।

खासगरी भारतबाट फर्कनेहरुमा कोरोना संक्रमितको संख्या बढी देखिएको छ । बाध्यताले विदेशिएकाहरुको यो भयानक दुःख हो । स्वदेश फर्किएकाहरु जो संक्रमित भए, अब उनीहरुलाई गाउँमा बर्जित गरिएको छ । उनीहरुको परिवारलाई दूरदूर गरिएको छ । मानवले मानवलाई गर्ने व्यबहारमा फरकपन आएको छ । भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ, सबै सतर्क हुनुपर्छ, जोगिनु पर्छ । तर, त्यसका नाममा यहाँ मनावताविरोधी गतिविधि भइरहेका छन् ।

हवाइजहाजबाट आउने र लड्दैपड्दै आउनेप्रति राज्यको व्यबहार पनि विभेदकारी छ । चीन र अरु देशबाट आउनेहरुको क्वारेन्टाइनको स्तर अर्कै छ । खासगरी भारतबाट आउनेहरुलाई न्युनत सुविधा पनि छैन । क्वारेन्टाइनमा जीवनजल र न्युनतम औषधि नपाएर मर्नुपर्ने बाध्यता छ । केन्द्र, प्रदेश र स्थानीय सरकारका आँखाले मानवीय व्यबहार पनि देखाउँदैन । सरकारले त मानवीय व्यबहार देखाएन, देखाएन, स्वयं गाउँलेले समेत ‘अछुत’ व्यवहार देखाए । यतिबेला उनीहरुले महसुस गरेको हुनुपर्छ, जो होचो, उसको मुखमा घोचो ।

कोरोना संक्रमण रोकथामका लागि लकडाउन बाध्यता हो । राज्यको लकडाउन घोषणालाई जनताले राम्ररी साथ दिएकै छन् । लकडाउन कति समय भयो ? त्यसको खास अर्थ हुन्छ । लकडाउनको अवधिभर सरकारले केको काम गर्‍यो ? त्यसको झन् ठूलो महत्व हुन्छ । खासगरी भारतमा भएका नेपालीलाई बेलैमा स्वदेश ल्याउन वातावरण बनाएको भए, अहिलेको अवस्था सृजना हुने थिएन । भारतमा व्यापक संक्रमण भएपछि नेपालीहरु देशको सीमामै आएर अड्के । त्यहाँ उनीहरु झन् संक्रमणमा परे । आगोसरी एकबाट अर्कोमा संक्रमण फैलियो । अहिले उनीहरु सरकारको हेपाई र भाइरसको संक्रमणमा परेका छन् ।

भनिदैछ, उनीहरु स्वदेश फर्कनु गल्ती थियो । स्वदेश नर्फकिएर जाने ठाउँ कहाँ थियो ? ढिलोसम्म स्वदेश आउने ढोका कसले बन्द गर्‍यो ? बेलैमा स्वदेश फर्कन चाहने नेपालीलाई ल्याएको भए हालसम्म व्यवस्थापन भइसक्ने थियो । आफैं ढोका थुनेर ढिला किन आइस् ? भनेजस्तै स्वदेश फर्केका दाजुभाइ, दिदीबहिनीलाई व्यवबहार गरिँदैछ ।

स्वदेश फर्केकालाई माया र सहयोग गर्ने बेला झन् दुःख दिएको दर्जनौं उदाहरण छन् । बाध्यताले काम खोज्दै विदेश गएका नेपालीहरुले त्यहाँ अपमान सहेर भए पनि कमाइ गरे, स्वदेश पठाए । उनीहरुको पसिना विदेशमा बगे पनि त्यसको कमाइले नेपालको ढुकुटी बलियो बनायो । अहिले उनीहरुलाई घरसम्म सुरक्षित पुर्‍याउन तीनै तहका सरकारलाई दाँतबाट पसिना आएको छ ।

लकडाउन अवधिभर तीनै तहका सरकारले हजारौ क्वारेन्टाइन बनाएको हल्लाखल्ला गरेका थिए । ती क्वारेन्टाइन अहिले संक्रमण फैलाउने र मृत्युका कारण बनिरहेका छन् । केही नगण्य क्वारेन्टाइनले मात्र सरकारले तोकेका मापदण्ड पूरा गरेका होलान् । क्वारेन्टाइन आफैं सरकारका अनुहारजस्ता भएका छन् । सरकार बुझ्न क्वारेन्टाइन गए भयो । क्वारेन्टाइन बनाउने नाममा राज्य कोषबाट कति रकम खर्च भयो ? त्ससको लेखाजोखा पछि होला, अहिलेचाहिँ मानवीय सेवा भए ठूलो काम ।

उनीहरु देश खोज्दै आएका हुन् । पहिलैदेखि शासकहरुले चिथोर्दै आए पनि यो देश सबैको हो । परदेशबाट फर्कनेहरुको पनि देश हो । उनीहरु शरण लिन आएका होइनन्, आफ्नो देश भन्दै फर्केका हुन् । उनीहरुले भोगेको दुःख, सहेको अपमान र देखेको देशको हालत देख्दा आफ्नो देश भनेर पत्याउन गाह्रो मानिरहेका छन् । त्यो जमानामा भूपि शेरचनले देशको हालत देखेर भनेका थिए, भोकमा डुबेका चोकहरु देख्दा गलत लाग्छ देशकोको इतिहास ।

तर मलाई

हुँदैन विश्वास

जब म

यी भोकमा डुबेका चोकहरुमा

यी वैलाएका कलीजस्ता गल्लीहरुमा

हेर्छु एक–दुई दिन बसेर बास

तब मलाई गलत लाग्छ

मेरो देशको इतिहास

यो मेरो सत्य इतिहास ।

प्रकाशित : जेष्ठ २४, २०७७ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?