ब्लग : पीडित होइन, पीडकको साथ !

काठमाडौँ — पश्चिम रुकुमको बर्बर हत्याकाण्डको समाचार शेयर गरेको केही मिनेटमै ट्वीटरमा म्यासेज आयो– ‘तेरो घरमा १७ वर्षकी बहिनी छ । १०–१२ जना केटाहरु हुल बाँधेर आए । त्यो बेला ढुंगाले नहानेर फूलमालाले स्वागत गर्छौ ?’

पढें, वास्ता गरिनँ । एकैछिनमा फेरि समान आक्रोश पोखिएका अरु चार म्यासेज आए । त्यसपछि भने मन चिसो भयो । त्यति क्रुर अपराधलाई अपब्याख्या गरेर यसरी आधिकारिता दिलाउनु लोकतान्त्रिक र सभ्य भनिएको समाजका लागि पक्कै शोभनीय हुन्न । तर, वर्तमानमा यो हाम्रो तीतो नियति बनेको छ । त्यसपछि मैले अनलाइन न्युजपोर्टलले सोही हत्याकाण्डसम्बन्धी फेसबुक पेजमा पोस्ट गरेको समाचारमा आएका कमेन्टहरु नियाल्न थालें । जति स्क्रोल गर्दै गएँ, मन त्यति आत्तिन थाल्यो ।

३ किशोरलाई कुटी–कुटी मारियो, ३ अझै सम्पर्कविहीन छन् । १२ जना घाइते भए । आधारभूत मानवीय गुणकै आधारमा पनि जातीय दम्भको बलमा गरिएको यो आतंकलाई कसैले समर्थन वा मौन स्वीकार गर्न मिल्दै–मिल्दैन । ‘परिस्थिति त्यस्तै थियो होला, त्यही भएर मारे’ भन्नुमात्र पनि हामीभित्र सुषुप्त रुपमा रहेको जातीय अंहकार र आपराधिक सोचको प्रतिबिम्ब हो । विडम्बना ! करिब ४० प्रतिशत कमेन्टहरु यही सोचको सेरोफेरोमा थिए । भित्र–भित्रै जातीय अतिवाद कसरी मौलाइरहेको छ भन्ने योभन्दा गतिलो प्रमाण अरु के होला ? त्यो सामूहिक हमला जति निन्दनीय छ, त्योभन्दा डरलाग्दो छ घटनाको ढाकछोप गर्न सामाजिक सञ्जालमा सल्बलाएका ‘भाइरस’हरु । ती प्रायः ‘फेक’ एकाउन्ट छन् तर तीनले समाजको एउटा तप्कामा रहेको ‘रियल’ जातीय अंहकारलाई छरपस्ट पारेका छन् ।

यो क्रुर मनोविज्ञानले प्रश्रय पाउनुमा दुई–तीन वटा भ्रमले भूमिका खेलेको छ । त्यसमध्ये पहिलो हो, सुरुमै स्थानीय प्रहरीले प्रवाह गरेको हत्याकाण्डको गलत विवरण । गुन्डा टाइपका केटाहरु हुल बाँधेर केटीको घरमा गए, परिवारसहित गाउँलेले प्रतिरोध गरे । झडप हुँदा केटाहरुको घटनास्थलमै ज्यान गयो । सुरुवाती चरणमा ‘बिहेको निहुँमा दुईको मृत्यु’ भन्ने आशयका रिर्पोटिङहरु आएका थिए । त्यो प्रहरीकै ‘न्यारेटिभ’ हो । जबकि यस्तो भएकै थिएन । सोमबार मैले जिल्ला प्रहरी कार्यालय, पश्चिम रुकुमका सूचना अधिकारी प्रहरी निरीक्षक कविराज रोकायासँग कुरा गरेको थिएँ । फोनवार्तामा रोकायले प्रारम्भिक चरणमा घटना विवरण अर्कै तरिकाले बाहिर आएको स्वीकारे । त्यसपछि उनले भनेका थिए, ‘अबचाहिँ हामी घटना कसरी भयो भन्नेबारे प्रष्ट भएका छौं ।’

खास भएको के थियो ?

रोकायाका अनुसार नवराज विक साथीहरुको साथमा गत शनिबार साँझ केटीको घर पुगेका थिए । नवराज पहिले पनि प्रेमिकाको घर गएकाले उनका अभिभावकले चिन्थे । त्यो दिन त्यस्तै भयो । नवराजको समूहलाई देख्नासाथ केटीकी आमाले तथानाम गाली गरिन् । नवराजको जातलाई लिएर अनेक अपशब्द बोलिन् । आमा ठूल्ठूलो स्वरमा कराउने, केटी घरबाट निस्कन नपाउने । नवराजको केही सीप लागेन । उनी साथीसहित जाजरकोट फर्किए । त्यतिबेला साँझको ६ बज्दै थियो ।

त्यसको केही बेरमा केटीकी आमाले गाउँलेलाई खबर गरिछन्, गाउँलेहरु नवराजको समूहलाई पछ्याउन थाले । उनीहरु बेसीमा पुगीसकेका थिए । माथिबाट गाउँलेहरुले ढुंगा हान्नथाले । चारैतिर ढुंगा बर्सिन थालेपछि ज्यान जोगाउनकै लागि भेरी नदीतिर जानुपर्ने बाध्यता भयो । पौड्न सक्ने पौडीएर पारि पुगे, नसक्ने वारी बसे, नवराज वारि नै थिए । त्यसपछि ढुंगा र लाठी बोकेका गाउँलेको हुल नवराज नजिक आए, निर्मम कुटपिट गरे । नदी तरिसकेकालाई पनि गाउँलेले अर्को बाटो हुँदै समाते, मरणासन्न हुने गरी कुटे ।

प्रहरीका अनुसार नवराजको समूहलाई झन्डै दुई किलोमिटर लखेटी–लखेटी ढुंगा बसाइएको थियो । गाउँले ५० जनाको हाराहारीमा थिए । त्यसमाथि गाउँले माथि, नवराजहरु तल । प्रतिरोध गर्न सक्ने कुरै भएन । भोलिपल्ट घटनास्थलभन्दा ३ किलोमिटर तल नवराजको शव भेटियो । उनका साथी टिकाराम सुनुवारको शव करिब ३० किलोमिटर तल भेटियो । तर, प्रहरीले अझ अनुसन्धान गर्दैछ रे, नवराज, टिकाराम र गणेश बुढामगरको कुटपिटबाटै ज्यान गएको हो वा बगेर !

केटी, केटीका बाबु, वडाअध्यक्षसहित अन्य १२ स्थानीय नियन्त्रणमा लिइएको छ । राति भएकाले नवराजका साथीहरुले आफूलाई कुटपिट गर्नेहरुको पहिचान गर्न नसकेको प्रहरीको भनाई छ । भलै यो आफैंमा विश्वसनीय लाग्दैन । जेठको महिनामा ६ बजे कस्तो राति हुन्छ, सबैलाई थाहा छ ।

केटाहरुले केटीको घरमा हुलदंगा मच्चाएका थिएनन्, फर्किसकेपछि त्यति बर्बरपूर्ण शैलीमा उनीहरुमाथि आक्रमण भएको प्रस्टै छ । तर, प्रहरीले सुरुवाती चरणमा किन घटनालाई ‘म्यानुप्लेट’ गर्‍यो ? यसको पनि छानबिन हुनुपर्छ । स्थानीय नेताहरुको दबाबमा प्रहरीले घटनालाई सामसुम बनाउन खोजेको प्रष्टै हुन्छ ।

जसले घटनाको सार्थकता वा आवश्यकता पुष्टि गर्न खोजिरहेका छन्, उनीहरुले दुई तीन (कु) तर्क पेस गरेका छन् । पहिलो, लकडाउनको बेला किन निहुँ खोज्दै हुल बाँधेर केटीको घरमा जानुपर्‍यो ? दोस्रो, केटाहरुले आक्रमण गर्ने डरले गाउँलेले प्रतिरक्षा गरे, केटाहरु भोग्दै जाँदा भेरीमा आफैं हाम्फाले । तेस्रो, केटी १७ वर्षकी मात्र छिन्, कानुनले पनि यो उमेरमा बिहे गर्न वर्जित गरेको छ, त्यसैले त्यसरी बिहे गर्न जानु नै ‘अपराध’ हो । तपाईं सामाजिक सञ्जालका भित्ताहरु नियाल्नु भयो भने विभिन्न आवरणमा यी तर्कहरु भेट्टाउनु हुन्छ । जसले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा हत्याको आधिकारिता पुष्टि गर्छन् ।

अब ती तर्कहरु कति तथ्यपूर्ण र न्यायसंगत छन्, नियालौं । प्रहरीकै अनुसन्धानबाट पुष्टि भइसक्यो, केटीको घरअगाडि होइन, चुप लागेर फर्किसकेका केटाहरुलाई बाटोमा लखेटीलखेटी ढुंगा हानिएको छ । यो दोहोरो झडप होइन, एकतर्फी हमला हो । झडप हुन्थ्यो भने गाउँले पनि कोही घाइते हुन्थे । तर, सबै सकुशल छन् । केटीकै गाउँमै हुँदो हो त यसलाई आवेशजन्य आक्रमण पनि मान्न सकिन्थ्यो होला तर घर फर्किसकेका केटाहरुलाई गाउँले जम्मा भएर लखेटेकाले यो योजनाबद्ध र सुनियोजित अपराध हो । त्यति ठूलो समूह केटाहरु माथि जाइलाग्न र हत्या गर्न कुन मनोविज्ञानले एकजुट भए होलान् ? त्यो पनि सामाजिक रुपान्तरण र समानताका लागि माओवादी युद्धका दौरान रगत बगाएको ठाँउमा ?

लकडाउनको बेला आए, छोरीको बिहे गर्ने उमेर भएको छैन भनेर नवराजहरुको हत्या गरिएको होला त ? हुँदै होइन । नवराज दलित हुँदैनथे भने मात्र पनि त्यस्तो बर्बर आक्रमणको सामना गर्नुपर्थेन । ‘जन्मजात म उचो हुँ, तँ नीच होस्’ भन्ने कथित उपल्लो जातिको अंहकारको परिणाम हो यो । ‘दलित भएर हाम्री छोरी भगाउन खोज्ने’ भन्ने दम्भबाट प्रेरित आतंक हो यो । ‘यिनलाई देखाउनु पर्छ, नत्र हामीलाई हेप्छन्’ भन्ने प्रतिशोधपूर्ण भावनाको सार हो यो । कथित ठूला जातिको ‘इगो–हर्ट’ भएको नजिता हो यो ।

नत्र अनेक उमेर समूह, शैक्षिक र आर्थिक हैसियत भएका ५० जनाको समूहको एकैसाथ ‘दानवीय’ रुपान्तरण सम्भव छ ? त्यसैले अनेक भ्रमपूर्ण व्याख्या गरेर त्यस्तो कहालीलाग्दो अपराधको पक्षपोषण गर्नु आफैंमा अर्को ‘राक्षसी’ प्रवृत्ति हो । यो दलित वा कुनै समुदायमाथिको आक्रमण होइन, बरु यसले हाम्रो सामाजिक सोच र व्यवहारको निकृष्ट तह देखाएको छ । अनि, प्रेम र सद्भावले भरिएको भनिएको हाम्रो समाजको असली चरित्र उदांगो पारिदिएको छ ।

यहाँ अघिल्लो वर्ष भारतमा भएको एउटा आततायी घटना उल्लेख गर्नु सान्दर्भिक हुन्छ । हिन्दु केटी बिहे गरेको भन्दै दुई हिन्दु पुरुषले मुस्लिम केटालाई मारे । एउटाले बन्चरोले हान्यो, अर्कोले मोबाइलले खिच्यो । मारिसकेपछि उसले विजयीभावमा क्यामेरातिर हेर्‍यो । उनीहरु आफैंले भिडियो ‘लिक’ गरे, भाइरल भयो । केही दिनपछि प्रहरीले दुवैलाई समात्यो । अनुसन्धानकै क्रममा कल्पनै नगरेको तथ्य प्रहरीले पत्ता लगायो, ती दुई ‘हत्यारा’को परिवारका लागि भन्दै विभिन्न ठाउँबाट बैंकमा पैसा जम्मा भइरहेको रहेछ । अर्थात्, हिन्दु केटी बिहे गरेकै कारण त्यति बर्बर शैलीमा गरिएको मुस्लिमको हत्याप्रतिको समर्थन र साथ थियो त्यो । बैंकमै पैसा जम्मा गरिदिने भनेपछि ती शिक्षित र सम्पन्न थिए भन्नेमा शंका रहेन ।

रुकुम हत्याकाण्डको पीडकप्रति सामाजिक सञ्जालमा पोखिएका सकारात्मक भाव र हत्याको आवश्यकता पुष्टि गर्ने कुचेष्टाले भारतको सोही घटनाको झल्को दिन्छ । प्रवृत्ति त्यही हो । यस्ता कुनै पनि खालका अतिवाद सभ्य समाजको लागि घातक हुन्छ ।

तपाईं कुन कित्तामा हुनुहुन्छ ? ऐनाअगाडि बसेर सोध्नुस् । प्रकाशित : जेष्ठ १४, २०७७ १२:०७

प्रतिक्रिया
पठाउनुहोस्

माछा मार्दा करेन्ट लागेर झापामा युवकको मृत्यु

कान्तिपुर संवाददाता

काँकडभिट्टा — करेन्ट लगाएर माछा मार्ने क्रममा झापाका एक युवकको मृत्यु भएको छ । 

झापा मेचीनगर–१२ पिपल डाँगीका २४ वर्षीय रामायण राजवंशीको मंगलबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घर नजिकैको खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनी घाइते भएका थिए । उनको उपचारका लागि विर्तामोडको मनमोहन अस्पतालमा मृत्यु भएको हो । उनको शव पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर लगिएको छ ।

प्रकाशित : जेष्ठ १४, २०७७ १२:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×