आफ्नै नजरमा दु:खी हुनुभन्दा दुनियाँको नजरमा निकम्मा हुनु वेश !

निशा राई

काठमाडौँ — महामारीको बखत अङ्ग्रेजी साहित्यकार विलियम शेक्सपियरले प्रसिद्ध वियोगान्त 'किङ्ग लियर' लेखे । सर आईज्याक न्युटनले क्वारेन्टाइनमै रहँदा ग्रयाभिटि पत्ता लगाएर संसारलाई योगदान गरे । म किन केही योगदान नगरुँ ?

'आइ एम नट एन अर्ली बर्ड ।' बिहान चाँडै उठ्ने मान्छे हुँदै होइन म । साढे नौ बजे अफिस पुग्न पनि म साढे आठ बजेमात्रै उठ्ने गर्थे। तर, अचेल म बिहान ६ बजे उठ्न थालेकी छु । १ घण्टे योगा अभ्यास सकेर अदुवा र तेजपत्ता हालेको दूधको चिया बनाउँदा बनाउँदै म हतारिन्छु । कतिखेर ल्यापटप अन गरुँ र दैनिकी बनाउँ भनेर ।

मलाई कामहरु सकेँ भन्न औधी रहर लाग्छ। साथीहरुसँग कुराकानीमा म दिनमा यो त्यो काम सबै सके भनेर बेलिविस्तार लाउँछु । आफूले केही पनि काम पूरा गर्न नसकेको दिन म निरश हुन्छु । आफैंलाई कोस्छु- कस्तो अर्थहीन भई समय खेर फ्याँकें !

लकडाउनमा मेरो दैनिकी फेरिएको छ। मलाई 'प्रडकटिभ' हुने खूब जाँगर चलेको छ । जाँगर भन्दा पनि भूत सवार भन्छु । दिनको २ पटक योगा र व्यायाम गर्छु । कार्यालयका कामहरु पनि तीव्र गतिमा चलिरहेकै छन् । सामुदायिक रेडियोहरुका लागि सार्वजनिक हितका सन्देशहरु तयार पारिरहेकी छु । देशको भलाईका खातिर मेरा १-२ विचार ट्विटर र फेसबुकको फिडले पाउँछ । म त्यहाँ आफ्नो धारणा राखिरहेको जताउँछु । यो सब उत्पादनशील हुने मेरो प्रतिष्पर्धा हो । कोसँग ? म आँफैसँग ।

मलाई लेखनमा रुचि छ। प्रत्येक दिन म क्यै न केही लेखिरहेको हुन्छु । फोटोग्राफीमा पनि त रुचि छ मेरो । दिनमा एउटा फोटो इन्स्टाले पनि पाउँछ । अनि फेसबुकमा ३, ४ वटा पोष्टहरु । यी सबका बाबजुद २ वटा टिकटक भिडियोहरु पनि जान्छन् मेरा । गुँरास नानीदेखि आशा भोस्लेका रोमान्टिक गानाहरुमा ।

त्यतिले पुग्दैन् । नेटफ्लिक्समा डार्क सिरिजहरु अनि किन्डलमा बेस्ट सेलर बुकहरु । सबैले मेरो एटेन्सन पूरापुर पाइरहेका छन् । अनि खानाका र प्लान्टका पोस्टहरु त छँदै छन् । तर, लकडाउनले कुक र विरुवाप्रेमी बनाएको हैन । पकाउने र फूल फूलाउने रहर ममा बच्चैदेखि सवार थियो । यत्रो सारा काममा पूरापुर समय खर्चिएर पनि मलाई लाग्छ मैले किन केही गरिनँ ?

अङ्ग्रेजीमा 'प्रडकटिभिटि सेमिङ' अर्थात् अनुत्पादनशील हुनुको लज्जाबोध भन्ने शब्द नै प्रयोग गरिन्छ। यो यस्तो लज्जाबोध हो जुन बेचैनीजस्तो हुन्छ। सबैले पाउने २४ घण्टे समय हो तर पनि त्यो समय अपुगजस्तो, केही छुटेजस्तो नभ्याएजस्तो बोध लज्जाबोध हो ।

मैले कसैको ट्विट पढेको थिएँ कसले कति धेरै रिट्विट पाएर कति फलोअरस् बढाउन गरेका कसरत बारे । त्यसखालका कन्भरसेसनका लहरोहरुको मतलब कसले कति बढी ध्यान आकर्षित गराउने थियो । ती ट्विटेहरु कसले कति राम्रो ट्विट फुराउने र धेरै रिट्विट खाँदै फलोअर बढाउने रस्साकस्सीमा रैछन ।

यो सब के का लागि ?

उत्पादनशील हुनका लागि अरुको ध्यान तान्नका लागि ।

यो मानवीय स्वभाव नै हो । कोरोना भाइरसको महामारीपछि सुरु भएको क्वारेन्टाइनको बसाईँमा सबै कुरा सुस्त देख्छु । शिवाय यही एटेन्सन अर्थात् ध्यान बटुल्ने भागदौडबाहेक । यो भागदौडमा प्राय: सबै सामेल देखिन्छन् । यो कुनै राहतको लाइनमा नुनतेल तिउन बुझ्न कुँदेका निम्न मध्यम वर्गीय होइनन् । यो त कसरी उत्पादनशील हुने भन्ने भागदौडको लाइन बसिरहेकाहरु हुन् । यो समूहको कुनै यकिन गर्न सक्ने वर्ग छैन ।

यो समूह एउटा प्रतिष्पर्धामा छ । को ? कति ? उत्पादनशील देखियौं भन्ने प्रतिष्पर्धामा । प्रडकटिभ अर्थात उत्पादनशील हुने स्वभाव मिल्लेनियमहरुसँग बढी हुन्छ भनेर विभिन्न अध्धयनहरुले भन्दै आइरहेका छन् । स्वभावभन्दा पनि यो कुनै अफिमजस्तो नसाको रुपमा चढ्न थालेको छ ।

चाहेर वा नचाहेर पनि प्रडकटिभ हुने पर्ने बाध्यता हामीले अंगाल्दै आएका छौं । महामारीका बेला यसको गति झन तीव्र भइरहेको छ ।

मेरी एउटी पूर्वसहकर्मीले मलाई आज फोनमा सोधी- दिदी यो भिडियो एडिटिङ चैँ कसरी गर्ने हो?

अनि किन बनाउनुपरो त भिडियो भन्ने मेरो प्रश्नमा उसको जवाफ यस्तो थियो- अफिस बन्द छ सबले क्यै न क्यै गरिहरेका छन् । म क्यै गरिरहेको छैन ।

आफूले भरपुर एटेन्सन नपाएकोमा दुखी थिई, उत्पादनशील हुननसकेकोमा लज्जित थिइ । त्यही उत्पादनशील हुने प्रतिष्पर्धामा थिई तर सफल हुन नसकेका कारण निराश थिइ ।

'तिमी उत्पादनशील हैन एटेन्सनको खोजीमा छौ । एटेन्सन बुरी बात तो नही है, पर बुरा हाल बना सक्ता है ।' म यसो भन्न सक्थें उसलाई तर भनिनँ । पछि सिकाइदिउँला भनेर कुरा टारें ।

एकजना साथीले सामाजिक संजालमा केही साथीहरुलाई मेन्सन गर्दै लेखेको थियो- तपाईहरु किन चुप हुनुहुन्छ ? अन्तराष्ट्रिय विश्वविद्दालयमा पढेर आउनुभो । यो गर्नुभो, त्यो गर्नुभो तर खै त कोरोना महामारीमा देशका लागि त केही गर्नु भए नि !

उ आफैं जनहितमा जारी धेरै कामहरुमा संलग्न छ। राहत वितरणदेखि रिपोर्टिङसम्म। घुमाउरो हिसाबले म यत्रो गरिरहेको छु तपाई चाहिँ चुपचाप बसेर किन केही गर्नु भएको छैन भन्ने सार थियो उसको भनाइको । तर, उसले मागेको स्पष्टीकरण चाहिँ साँच्चिकै अनौठो थियो । उसले मेन्सन गरिरहेका जतिले सामाजिक संजालबाटै उत्पादनशील भइरहेको स्पष्टीकरण दिनुपर्ने खालको !

आधुनिक जमानामा दस्तावेजीकरण सोचको उपज हो यो । जहाँ हरेक कामको दस्तावेजीकरण गर्नैपर्ने बाध्यता रहन्छ ।

जुन पूँजीवादी समाजको अभिन्न अंग हो ।

तर, केही मान्छेहरु फ्रन्टलाइनमा भन्दा पनि पर्दा पछाडि काम गर्न रुचाउँछन् । उनीहरु एटेन्सनको भोका हुदैँनन् ।

आफ्नै सूरले काम गरिरहेका हुन्छन् र आफूमै रमाइरहेका पनि । भलै दुनियाँका नजरमा उनीहरु निकम्मा नै किन नदेखिउन् !

म एउटा टेलिभिजन कार्यक्रमको रिसर्चर भएर काम गरिरहँदा एक जना बरिष्ठ महिला नेता प्राय: क्रार्यक्रमको दिन आउन पाउँदिन भनेर क्यान्सिल गर्नुहुन्थ्यो । उहाँबाट आजित भइसकेका थियौ हाम्रो उत्पादन टोली । त्यसपछि उहाँलाई कार्यक्रममा अतिथि बोलाउन पनि अनकनाउँथ्यौं । 'लास्टमा धोका दिन्छिन् भो नबोलाम्' भन्थ्यौ । कस्तो राजनीति गर्ने भएर पनि गैरजिम्मेवार रहिछन् भनेर आक्षेप लगाउँथ्यौं ।

केही महिनाअघि मात्र थाहा पायौं उहाँका एकजना सन्तान लागुपर्दाथको दुर्व्यसनीमा फँस्नुभएको रहेछ । सन्तानलाई कुलतबाट पिछा छुटाउन उहाँले पूरापुर घरमा समय दिँदा सामाजिक भेटघाटहरु उहाँको उपस्थिति स्वाट्टै घटेको रहेछ । उहाँ अधिकांश सामाजिक भेलाहरुमा वाचा गर्दागर्दै जान नपाउनुको कारण विशुद्द पारिवारिक रहेछ । तर, हामीले उहाँलाई केवल नेताका रुपमा हेर्‍यौं र जतिखेर पनि त्यही नेताको ‌ओहोदामा बसेर सामाजिकीकरणमा सामिल भइरहनुपर्छ भन्ने सोच्यौं । जुन गलत थियो ।

उत्पादनशील भइरहँदा त्यसले तपाईं वा एउटा ठूलो समुदायलाई मद्दत पुगिरहेको हुनसक्छ । त्यस्ता सकारात्मक पक्षमा विमति रहन्न । तर, महामारीका बेला देखाउनकै लागि हुने उत्पादनशीलताको महत्व हुँदैन । उदाहरणका लागि २०७२ सालको भुईचालोताका घरबास भत्किएकाहरुका लागि अनगिन्ती स्वंयमसेवकहरुले राहत वितरणमा सहभागी भएर सहयोग गरे । अहिले लकडाउनमा पनि धेरै ब्यक्तिहरु यस्ता सामाजिक सेवामा सहभागी छन् । तर सँगसँगै राहत वितरणमा चाउचाउका पोकाहरु बाँड्दै गर्दाका सेल्फी तस्बिरहरु पनि ट्रोल भइरहेका छन् ।

सकारात्मक उद्देश्य लिएर एटेन्सन लिन चाहने जमातको नकारात्मक व्यवहारको उदाहरण हो त्यो । उत्पादनशील हुने होडबाजीमा आफ्नो ध्यानको ब्यवस्थापन गर्नु नसक्नु अहिलेको विश्वभरिकै जनमानसको सवाल बनेको छ ।

ध्यान ब्यवस्थापनका बारेमा सबैभन्दा बढी उदृत गरिएकी अन्तर्राष्ट्रिय प्रेरणादायी वक्ता मअरा थोमस ध्यान नै अहिलेको सबभन्दा मूल्यवान बस्तु हो भन्छिन् । उनी भन्छिन्, 'हामी भएको संसार स्ट्रिमिङ र सोसल मिडियाको लतको नयाँ संसार हो ।'

मअराका अनुसार अहिले हामी यस्तो नयाँ दुनियाँमा छौं, जुन दुनियाँ कहिल्यै बन्द हुँदैन । यो दुनियाँमा जहिल्यै काम बढिरहन्छ । स्ट्रिमङ भइरहन्छ र सामाजिकीकरण पनि बढिरहन्छ । किनकि हामी हाम्रो समय पूरापूर प्रयोग गर्न चाहन्छौं ।

अहिले लकडाउनको समय छ । कलकारखानादेखि प्राय: हरेक क्षेत्रहरु ठप्प छन् । तर, सामाजिक संजालको स्ट्रिमिङ बन्द भएको छ त ? छैन । सामाजिक भेटघाटका कार्यक्रममात्र बन्द भएका छन् । भर्चुअल वर्ल्डमा, जुम, स्काइप, फेसटाइमिङहरु झन् क्रियाशील भएका छन् ।

निजी विद्यालयहरुले जुम टेक्नोलोजीबाटै अनलाईनमा कक्षा संचालन गरिरहेका छन् । उनीहरु महामारीका समयको भरपूर उपयोग देखाउन उत्पादनशील भइरहेका छन् । सुरक्षित जागिरे परिवारका केटाकेटीका लागि ती कक्षाहरु कामलाग्दा पनि होलान् तर जुन परिवारका केटाकेटीलाई स्मार्ट फोन पनि राम्ररी चलाउन आउँदैन र उनीहरु नयाँ टेक्नोलोजीबारे बेखबर छन् उनीहरुका लागि केटाकेटीसँगै कक्षामा सहभागी हुने समय पनि हुन्न । जस्तो कि, खेतीपातीमा ब्यस्त हुने किसान ।

सामाजिक संजालमा मानिसहरु सबैभन्दा बढी प्रतिष्पर्धामा होमिने एउटा ठाँउ ट्विटर हो । अझ ट्विटर त बौद्दिक बर्गको संजाल ! यो संजालमा एउटा शैली छ- के हेरेर बसेका छन् भन्दै आक्षेप लगाउने । फलानो ठाँउमा महिला हिंसा भएछ के हेरेर बसेका छन् महिला अधिकारकर्मीहरु ? ह्यासट्याग फेमिनिस्ट, बिकासे, डलरेसहित । मानौं बिकासे वा अधिकारकर्मीको २४ घण्टे ड्युटी भएभरका घटनाहरुको जिम्मेवारी काँधमा बोकेर हिँड्नु नै सरह हो । वा सबै ब्यक्तिहरु उ जत्तिकै उत्पालनशील भइरहनुपर्छ ।

यसो पनि हुनसक्छ, कोही सामाजिक संजालमा सबै मुद्दाहरुमा नबोलिरहेको हुन सक्छ । वा अन्य कुनै माध्यमा ती बहसहरु उठिरहेकै हुन सक्छन् । वा उसको ब्यक्तिगत कारणवश समय खर्चिन नसकेको हुनसक्छ । हामी फरक पृष्ठभूमिमा बाँचिरहेका छौं । दु:ख, सुख, आवेग र समस्याकाले हामी प्रताडित भइरहेका हुनसक्छौं । महामारीले त्यसै पनि फरक वर्गलाई फरक तरिकाले स्पर्श गरिरहेको हुन्छ । हुनेखालेले भाटभटेनीमा अनलाइनबाट तरकारी अर्डर गर्न सक्छ तर निम्न वर्गका मानिसलाई झिसमिसेमै उठेर ५ रुपैयाँ सस्तोमा तरकारी किन्न २ किलोमिटर यात्रा तय गर्नुपर्ने बाध्यता हुनसक्छ । त्यसैले आफ्नो पृष्ठभूमिभन्दा फरक अरुलाई किन उत्पालनशील छैनौ भनेर दुख नदिएकै जाति।

र, आफू पनि जानीजानी एटेन्सनका तिर्खा मेटाउन प्रयासरत खोक्रा उत्पादनशील आवाजहरुको पछाडि नलागौं । ती आवाजहरुमा अनायासै होमिन जरुरी छैन । चाहे सारा दुनियाँका सामुन्ने अनुत्पादनशील नै किन हुननपरोस् !

ब्यक्तिपिच्छेकै उत्पादनशील हुने जुनुन साँच्चिकै हो या नाटकीय ? त्यो त थाहा छैन । तर, हेर्नुस् मैले पनि यो लेख लेखेरै उत्पादनशील हुन खोजिरहने मेरो जुनुनलाई बरकरार राखें । ताकि, भोलीको दिन मैले मनमनै भन्न नपरोस्- हिजोको दिन त्यसै खेर फालिएछ नि !

प्रकाशित : जेष्ठ १, २०७७ १६:३८

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कर्णालीमा बाँझो जमिनमा खेती गर्ने अभियान

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारले बाँझो जमिनमा खेती गर्ने अभियानको थालनी गरेको छ । कोरोना भाइरस (कोभिड–१९) ले निम्त्याएको परिस्थितिमा उत्पन्‍न हुन सक्ने खाद्य संकटको जोखिमलाई मध्यनजर गर्दै कर्णाली सरकारले बिहीबार अभियान सुरुवात गरेको हो ।

यो अभियानका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले करिब २० करोड बजेट प्रस्ताव गरेको छ । मन्त्रालयका प्रवक्ता हरिप्रसाद पण्डितका अनुसार चालू आर्थिक वर्षमा करिब १५ करोड बजेट खर्च नहुने देखिन्छ । ‘अहिले १५ करोड बजेट खर्च गर्न सकिँदैन,’ उनले भने, ‘यही बजेटमा ५ करोड बजेट आर्थिक मन्त्रालयसँग माग गरेका छौँ ।’

जिल्ला–जिल्लामा बजेट पठाएर गह्रा सुधार कार्यक्रममार्फत् बाँझो जमिनमा उत्पादन कार्यक्रमलाई पूर्णता दिने उनको भनाइ छ । कृषि मन्त्रालयले आगामी आर्थिक वर्षलाई नै उत्पादन अभियान वर्षका रुपमा मनाउने गरी नीति तथा कार्यक्रमसमेत तयार पारेको छ ।

प्रदेशका ७९ वटै स्थानीय तहलाई बाँझो जमिन खोज्‍नका लागि पत्राचार गरि सकिएको उनको भनाइ छ । कृषि मन्त्रालयले भेटेरिनरी र कृषि विकास कार्यालयमार्फत ८९ वटै स्थानीय तहमा एकैपटक अभियान सुरु गरेको मन्त्रालयका प्रवक्ता पण्डितले जानकारी दिए । मन्त्रालयले बाँझो जमिनमा खेती गर्न स्थानीय तहलाई आवश्यक रकमका साथै मल, बीउ र बेर्ना पनि निःशुल्क उपलब्ध गराउने तयारी गरेको उनले जनाए ।

मन्त्रालयले अहिले आफैं खेती गरिरहेका कृषकलाई पनि गह्रा सुधार कार्यक्रममार्फत् निश्चित अनुदान पनि दिने तयारी गरेको छ । मन्त्रालयका अनुसार कर्णालीमा अझै २३ हजार ४ सय २० मेट्रिक टन खाद्यान्‍न अपुग छ ।

प्रदेशको कूल २ लाख ९९ हजार ३ सय ३९ हेक्टर खेतीयोग्य जमिनमध्ये २८ प्रतिशत बाँझो जमिन छ । मन्त्रालयले गह्रा सुधार कार्यक्रममार्फत ७१ हजारलाई रोजगारी दिई करिब २८ हजार हेक्टर जमिनमा खेती गर्ने लक्ष्य राखेको छ । खेर गएको बाँझो जग्गा, पाखो, खरबारीलगायत सार्बजनिक जग्गाहरु कम्तीमा ७ हजार हेक्टर जमिनमा खेती गर्न सकिने अनुमान मन्त्रालयले गरेको छ ।

गह्रा सुधार भएको जग्गामा पनि कम्तीमा ३ हजार हेक्टर जग्गामा फलफूल खेती, ४ हजार हेक्टरमा खाद्यान्‍न लगायतका अन्य दलहन, तरकारी बालीहरुको उत्पादन हुने गह्रा सुधार अभियानको अवधारणा पत्रमा उल्लेख छ ।

कोरोना भाइरसले विश्वभर सन्त्रास फैलाएपछि स्वदेश फर्किएका युवा जनशक्तिलाई पनि कृषि क्षेत्रमा प्रयोग गर्ने मन्त्री बिमला केसीले बताइन् । उनका अनुसार व्यक्ति वा सरकारी र संस्थानको स्वामित्वका बाँझा जमिन खोज्ने काम पनि सुरु गरिसकिएको छ । भारत तथा तेस्रो मुलुकबाट यो अवधिमा करिब २५ हजार युवा कर्णालीमा फर्किएको मन्त्रालयको अनुमान छ ।

यो अभियानका लागि मन्त्रालयले गह्रा सुधार, बाँझो जग्गा खनजोत, सार्वजनिक खालि जग्गालाई करारमा लिई खाद्यान्न, दलहन फलफुल लगायतका बालीहरु, पशुपालन, डालेघाँसलगायत उत्पादन कार्य प्रदेशका सबै जिल्लाहरुमा सञ्चालन गरिनेछ ।

प्रकाशित : जेष्ठ १, २०७७ १६:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×