२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

इति श्री महाभारत कथा

दीपक पराजुली

काठमाडौँ — त्यतिखेर म आफ्नै कोठामा अष्टावक्र गीता पढेर बसिरहेको थिएँ । थाहा छैन, ऊ कहाँदेखि आयो । अचानक मेरो अगाडि प्रकट भयो र भन्यो 'म महाभारत कथा सुन्न चाहन्छु ।' त्यसपछि मेरा जोरआँखाले उसको हुलिया पढ्न लाग्यो ।

इति श्री महाभारत कथा

उसका अनुहारमा कालक्रमले कोरेका उल्लेख्य रेखाहरु थिए । उसले लगाएका लुगा साधारण तर सुकिला थिए । सरसर्ती हेर्दा ऊ अरु कुनै कोणबाट पनि विघ्नदायक देखिँदैनथ्यो । बस्, उसले लगाएको कपडामा भने एउटा गाढा टाटो बसेको थियो, सायद रगतको हुनुपर्छ । त्यसले मलाई अलिकति सशंकित बनायो । सोचेँ, कतै यो मान्छेले ज्यानसम्बन्धी कसुर गरेर बच्नको लागि यहाँ आएको त होइन ?

विश्वस्त हुनका निम्ति मैले उसको पुरा परिचय मागेँ । जवाफमा उसले आफ्नो नाम, थर, वतन, पेशा आदि केही पनि खुलाएन । कुनै ऐतिहासिक घोषणा गरेजस्तो अन्दाजमा यति मात्र भन्यो 'नाम-नम्बर, ठहर-ठेगाना मेरो केही पनि छैन । मेरो परिचय अज्ञात छ । यदि तपाईँलाई सुविधा हुन्छ भने मलाई 'अपरिचय' भनेर बोलाउन सक्नुहुन्छ । मेरा निम्ति यही सम्बोधन उपयुक्त छ । बरु छिटो गर्नुस्, म महाभारत कथा सुन्न चाहन्छु ।' अपरिचय आतुर देखियो ।

मैले उसलाई कपडामा लागेको टाटोको बारेमा सोधेँ । उसले त्यसलाई यो कपडाको मौलिक डिजाइन हो भन्यो । त्यसपछि मैले उसलाई तखतामा राखिएको महाभारतका ठेलीलाई देखाउँदै भनें 'कुल मिलाएर सवा सातहजार पृष्ठ छ, आफैं पढ्नुस् !' मेरो प्रस्तावलाई इन्कार गर्दै उसले 'म त्यति ठूलो किताब पढ्न सक्दिनँ । त्यति पढेको मान्छे पनि परिनँ । मलाई शब्दको अर्थ लगाउन गाह्रो हुन्छ,' भन्यो ।

अब उसले पढ्न सक्दैन भने म के पो गर्न सक्थें र । म चुपै लागेर बसें । तर ऊ चुप लागेन र भन्यो, 'अरु उपाय निकाल्नुस् न ! यत्तिको पढेलेखेको मान्छेले कुनै टिडिक लगाउन सक्नुहुन्न ? तपाईं हेर्दा त नेपाल सरकारजस्तो ग्वाँच देखिनुहुन्न !' मोरोले कहाँको कुरा कहाँ लगेर जोड्यो ! उसले मेरो अक्किलमाथि ठाडो चुनौती दियो ।

मैले अर्को विकल्प सुझाउँदै 'बिआरा चोपडाले महाभारत कथामा आधारित टेलिसिरियल बनाएका छन्, त्यो हेर्नुहुन्छ ?' भनी सोधेँ । उसले 'हुन्छ त्यै भएपनि हेर्छु, देखाउनुस् !' भन्यो । म केही ढुक्क भएँ । त्यसपछि पढ्दै गरेको 'अष्टावक्र गीता'लाई छेउ लगाएर टिभीमा 'महाभारत' लगाएँ । दूर्भाग्य मेरो हो कि उसको हो थाहा छैन, टिभीमा कुनै पनि दृश्य देखिएन । आवाजको नाउँमा एकोहोरो शंख फुकेको मात्रै आयो । टिभीको पर्दामा पूरै सेतो मात्रै देखियो । र, एक ठाउँमा रगतको टाटो पनि देखियो । त्यो टाटो उसको कपडामा लागेको जस्तै गाढा थियो । मलाई अचम्म लाग्यो । र, शंका पनि । मैले बेलाबखत हेर्ने गरेको 'महाभारत' आज किन चलेन ? यतिबेलै किन बिग्रियो मेरो टिभी ? अनि कहाँबाट आयो त्यो टाटो… ? कतै यो कथित अपरिचय नामको मान्छेले कुनै टुनामुना त गरेन ? कालोजादु पो गर्यो कि यो मनुवाले ?

त्यसपछि मैले ल्यापटप खोलें । युट्युबमा पिटर ब्रुकको 'महाभारत' लगाउने प्रयास गरें । त्यो पनि चलेन । त्यहाँ पनि उस्तै सेतो पर्दा र रगतको टाटो मात्रै देखियो । लौजा मेरो ल्यापटप पनि बिग्रियो । मलाई लाग्यो, पक्कै पनि यो मान्छेमा केही गडबढी छ । यसलाई कुनै पनि हालतमा यहाँबाट धपाउनु नै उचित हुन्छ भन्ठाने ।

त्यसपछि मैले उसलाई पोखरा थिएटर जाउँ भनें । जहाँ 'यो कस्तो महाभारत' नामक नाटक प्रदर्शन भइरहेको थियो । उसले इन्कार गरेन । बरु भन्यो 'नाटक हेर्न चाहिँ पाउनु पर्छ नि फेरि !' मैले उसलाई पक्का पाइन्छ भनी आश्वस्त गराएँ । मनभित्र अलिअलि डर थियो कि त्यहाँ पुगेर यसले केही गडबड नगरोस् ।

हामी पोखरा थिएटरमा भित्र पस्यौं । नाटक हेर्न थाल्यौं । सूत्राधारको यही वचनले नाटक सुरु भो र अन्त्य पनि 'महाभारत द्वापरयुगको मात्र होइन हरेक युगयुगान्तरको कथा हो । घटना, पात्र र परिवेश बदलिन सक्छ तर कथा उही सत्ताको हो । शक्तिको हो अनि स्वार्थको हो । अनि यसैका लागि चलिरहन्छ आपसी टकराव, संघर्ष र लुछाचुँडी…. हो महाभारत आज पनि जारी छ !'

नाटक हेरिसकेर हामी बाहिर निस्कियौं । उसले मलाई आभार प्रकट गर्दै भन्यो 'महाभारत मेरो पनि इतिहास हो । मलाई आफ्नो समयको कथा पुन: जान्न मन भएर तपाईं समक्ष आएको थिएँ । जस्तो तपाईंहरुलाई पनि त कहिलेकाहीँ आफ्नो बाल्यकालको सम्झना आउला । अनि त्यसबेलाको किस्साहरु पुन: भन्ने र सुन्ने जान्ने रुचि होला । आज त्यस्तै भयो मलाई पनि । म श्रापित आत्माको इच्छालाई पूरा गरिदिनुभएकोमा तपाईंलाई धेरै धन्यवाद !'

'श्रापित ? कस्तो श्राप ?' मैले उत्सुकतापूर्वक सोधें । त्यसपछि उसले मलाई अहिलेसम्म लुकाएको रहस्य खुलाउँदै यस्तो कथा सुनायो :

'उहिले महाभारतकालको कुरा हो । तर, यो कुरा वेदव्यासले महाभारतमा लेख्न छुटाएका छन् । कुरुक्षेत्रमा कौरब र पाण्डवहरुकाबीच घमासान युद्ध चलिरहेको थियो । म कौरव पक्षको एक सिपाही थिएँ । तपाईंलाई थाहा हुनुपर्छ कि त्यो महायुद्धमा लड्ने सारा योद्धाहरुको लागि दैनिक भोजनको व्यवस्था उडुपी नरेशले गर्दथे । उनको अड्कल यति पक्का थियो कि हरेक दिन युद्धमा सैनिकहरु मारिँदै घट्दै गए तापनि उनको भोजनको एक दाना पनि खेर जाँदैनथ्यो ।

एकदिन मेरो मनमा एउटा उट्पट्याङ विचार आयो । मलाई उडुपी नरेशको परीक्षा लिन मन भयो । युद्धबाट फर्केपछि मैले छिटोछिटो स्नान गरिकन वस्त्र फेरेर भोजनालयमा गइ बसें । मेरो अघि भोजन पस्किइयो । भोजन थपीथपी खाएँ । सँगै भोजन गर्न बसेका अरु योद्धाहरु अघाएर उठे । म पनि टन्न अघाइसकेको थिएँ । तर म उठिनँ । त्यहाँ म मात्रै एक्लो थिएँ । त्यसपछि मैले उडुपी नरेशलाई बोलाएर भनेँ कि 'आज मलाई एकदमै भोक लागेको छ, भान्साको अवस्था के छ कुन्नि, मलाई अझै खान मन भयो ।' मैले यसै भनेर उनलाई ढाँटेँ ।

उनले तुरुन्त मेरो लागि भोजनको व्यवस्था गरे । म अघाइसकेको हुँदा त्यो भोजन खान सक्दिनथेँ । त्यो भोजन मैले नदेखिनेगरी पिर्कामुनि लुकाएँ । फेरि म अझै अघाएको छैन भन्दै पटकपटक भोजन मगाउँदै गएँ । उनी थप्दै जान्थे म लुकाउँदै जान्थेँ । यो क्रम निरन्तर चलिरह्यो । उनी हायलकायल परेको देखेर मलाई भने मजा आइरहेको थियो ।

भोजन थप्ने र मगाउने क्रम धेरै भएपछि उनलाई शंका लागेछ र यो के रहस्य हो भनी जान्न वासुदेव कृष्ण कहाँ पुगेछन् । वासुदेवले अवश्यै त्यो सैनिकले तिमीलाई छल गरिरहेको छ भनेपछि उडुपी नरेश म समक्ष आए । सिधै खानतलास गर्न लागे र मैले पिर्कामुनि भोजन लुकाएको पत्ता लगाए ।

त्यसपछि उनी निकै क्रोधित भए । 'मलाई छल गर्ने तँ कपटी रहेछस् ! तँ धुर्त सैनिकलाई म श्राप दिन्छु !' भनिकन छुरा उठाएर आफ्नो हत्केला काटे । त्यहाँबाट बगेको रगत अर्को अञ्जुलीमा थापे र मलाई त्यही रगतले छ्यापेर यस्तो श्राप दिए 'अब उप्रान्त तैले जति खाए पनि तेरो पेट अघाउने छैन । तँलाई सधैँ भोकमात्रै लागिरहनेछ । तँ अनन्तकालसम्म भोकले तड्पिएरै बाँच्लास् !' उनले छ्यापेको रगतले मेरो वस्त्रमा टाटो पर्‍यो । यो उनको श्रापको निशानी हो ।

त्यसपछि मबाट भयंकर भुल हुन गएको महसुस गरीकन मैले उडुपी नरेशको पाउ समाएँ । र हारगुहार गर्दै भनेँ 'हे महाराज ! मबाट गल्ती भयो । जति खाए पनि नअघाउने भोकले त म हरिकंगाल हुनेछु । मेरो त उठिबासै लाग्नेछ । न मैले मेरो परिवार पाल्न सक्छु । न त परिवारले नै मलाई धान्न सक्छ । मलाई क्षमा दिनुहोस् प्रभु !' मेरो चर्को बिलौना सुनेर वासुदेव कृष्ण पनि त्यहाँ आइपुगे । उनले अनेक तरहले समझाएपछि उडुपी नरेशको क्रोध पनि शान्त भयो ।

त्यसपछि उडुपी नरेशले दिएको श्राप फिर्ता त हुँदैन तर तँलाई खानेकुराको पनि कुनै समस्या पर्ने छैन भनी आश्वासन दिए । उनले यसो भने, 'कलियुगमा कुनै देशका शासकहरुको पेटमा तैँले बास पाउनेछस् । तँ उनीहरुको पेटमा गइ बस्लास् । त्यसपछि उनीहरुलाई पनि तीव्र भोक लाग्नेछ । त्यो बखत उनीहरुले जे खानेछन् पेटमा पुगेपछि तैंले पनि पाउलास् र त्यसले नै तेरो भोकलाई मथ्थर पार्नेछ ।'

यसो भएको हुँदा मैले धेरै देशका शासकहरुको पेटमा गइ बास गरेँ । तर, ती त अन्न खाएपछि अघाइहाल्ने रहेछन् । तिनलाई अरुथोक चाहिँदै नचाहिने । मैले उनीहरुको पेटमा बसेर जति नै आगो दन्काए पनि उनीहरु कहिल्यै भोकले आतुर भएनन् । ती अत्यन्त संयमी थिए । भोक जति नै लागे पनि उनीहरुले निश्चित गरिएको अन्नको भोजनबाहेक अर्थोक केही खाँदैनथे । भोकले मर्नै परे पनि आफ्नो आत्मनिष्ठलाई च्यूत नगर्ने खालका थिए । तिनीहरुको पेटमा बसेर मैले यथोचित आहारा पाउन सकिनँ । त्यहाँ मेरो भलो हुने अवस्था नै थिएन । त्यसपछि म निकै पीडित भइ अनेक देशका शासकहरुको पेट चाहर्दै गएँ ।

यस्तैमा एकदिन म नेपाल आएँ । यहाँका शासकहरुको पेटमा बसेँ । यहाँ आएपछि मेरो भाग्य खुल्यो । अहिले मलाई भनेजस्तै भएको छ । मैले धेरैथोक खाने अवसर पाएको छु । चौरासी व्यञ्जनको त के कुरा गर्नु र ! यी त अन्नले मात्रै नअघाउने रहेछन् । भोक मेट्न यिनीहरुले ठूलाठूला जहाज खाए । किलोका किलो सुन खाए । कति जग्गा खाए । सामान किन्ने नाउँमा अरबका अरब कमिसन खाए । जति खाए पनि यी अघाएका छैनन् । हेरिराख्नुहोला भविष्यमा पनि अघाउने छैनन् । यिनीहरुको पेटमा बसेर मलाई बडो हाइसञ्चो भएको छ । मलाई स्वर्ग छ ।'

यति भनेर उसले मलाई पुन: धन्यवाद व्यक्त गर्दै अँगालो हाल्यो र विदावादी भइ सरासर बाटो लाग्यो ।

उसको कुरा सुनेर अचम्म मान्दै म पनि थिएटरबाट निस्किएर घर फर्किएँ । घर पुगेर लगाएको कोट फुकाल्दा देखें, अँगालो हाल्दा उसको कपडाबाट हल्का रगतको टाटो मेरो कोटमा पनि टाँसिएछ । ओहो ! फेरि मलाई पनि उसको श्राप सर्ला कि भन्ने डरले भोलिपल्टै त्यो टाटो लागेको कोट धुन भनि लाउण्ड्रीमा दिन गएँ । कोट बुझाउनु अघि सम्झें, कोटको खल्तीमा पैसा र महत्वपूर्ण कागजपत्र हुनसक्छ । त्यसपछि कोटका गोजी छामछुम पार्ने र टक्कक्याउने काम गरें । केही नगद पैसा, थिएटरको टिकट, सामान किनेका बिलहरु रहेछन् । साथमा एउटा पत्र पनि फेला पर्‍यो । के रहेछ भनी खोली हेरें । त्यहाँ यस्तो लेखिएको थियो :

'धोबीको केटो अलि बदमास छ

र उसमा सभ्यताको एकदमै कमी छ

ऊ महाभारत हेर्न चाहन्छ टिभीमा र आफूसँग

फोहरजस्ती आफ्नी बहिनीलाई पनि सँगै लिएर आउँछ

एकदिन यस्तो हुनेछ कि यो सिरियल सकिनेछ

त्यसपछि धृतराष्ट्र

पुरै दिल्लीमा सोध्दै हिँड्नेछ कुनै धोबीको ठेगाना

र उसको कानमा ठोकिनेछ लगातार हर्नका आवाजहरु

महाभारतको अन्त्य भएपछि कालचक्रले भन्छ कि

केवल हर्न बजिरहन्छ

र जति खोजे पनि इन्द्रप्रस्थमा कहीँ कुनै धोबी भेटिने छैन ।

महाभारतपछि

हरेकको कपडामा देखिनेछ रगतको टाटो ।"

थाहा छैन, उदय प्रकाशले लेखेको यो कविता कसरी मेरो खल्तीमा आयो । कतै त्यो श्रापित योद्धा उर्फ अपरिचयले मेरो खल्तीमा सुटुक्क राखिदिएको हो कि ? लौ जेसुकै होस् भनी लाउण्ड्रीमा कोट बुझाएर म घर फर्किएँ ।

केही दिनपछि नै विश्वव्यापी कोरोना प्रकोपका कारण देश लकडाउनमा गयो । घरमै थुनिएर दिनहरु बित्दै थिए । यसैबीचमा देशको हालखबर बुझ्न भनी टिभी खोलेँ । कोरोनाको भयले संत्रस्त्र देश लामो लकडाउनका कारण निस्सासिँदै गएको थियो । तर, त्यसैबखत सन्सनीपूर्ण खबर भन्दै समाचार च्यानलहरुले देशका छोटाबडा सबै खालका नेताहरु छुट्टाछुट्टै झुण्डमा विभक्त भएर आआफ्नो चुल्होमा खिचडी पकाइरहेको दृश्य देखाइरहेको थियो । मैले अझ ध्यान दिएर त्यो दृश्य हेरेँ । त्यहाँ खिचडी पकाउने हरेकको कपडामा रगतको टाटो देखिएको थियो । त्यो टाटो श्रापित योद्धा अपरिचयको कपडामा लागेको जस्तै थियो । दुरुस्तै त्यस्तै गाढा टाटो ।

प्रिय पाठक ! कोरोनाको यो कालकहरमा तपाईं जहाँ जस्तो अवस्थामा हुनुहुन्छ । कृपया, तपाईंको घरमा टिभी छ भने खोलिहाल्नुस् र हेर्नुस् खिचडी पकाइरहेका नेताहरुको कपडामा लागेको त्यो टाटो झन् झन् गाढा हुँदै गएको छ ।

प्रकाशित : वैशाख २३, २०७७ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?