१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

अफ्रिकादेखि दक्षिण अमेरिकासम्मको आवाज

हिक्मत थापा

हरेक बादलभित्र चाँदीको घेरा हुन्छ, भनिन्छ । कतिपटक वर्षातमा हवाई यात्रा गर्दा चट्याङले बादलभित्रैबाटै गन्तव्य खोजिरहेको र क्षितिजमा चट्याङका डरलाग्दा उज्याला धर्सा देखिएको क्षणको स्मृति आउँछ । चाहे ती सन्त्रासका हुन् या बादल फाटेर जाने भरोसाका ।

अफ्रिकादेखि दक्षिण अमेरिकासम्मको आवाज

अफ्रिकामा रहेका प्राय: सबै मित्र कोरोना महामारीको रूप अझ डरलाग्दो भए के होला भन्ने सन्त्रासमा छन् । न उपयुक्त स्वास्थ्यसेवा छ न राम्रा अस्पताल । निरन्तरको लकडाउनले खाना अभाव हुँदै जाँदा सुरु हुने लुटपाट र चोरीको डर उत्तिकै छ । यस्तोमा सबैले आ–आफ्नो घरफिर्ती चाहेका छन्, यो स्वाभाविक पनि हो । समस्या बढ्दै गएपछि आफ्नै घर फर्कन पो नपाइएला कि भन्ने चिन्ता यथावत् छ । यथार्थमा घनघोर कालो बादलमाझ हल्लिरहेको जहाजभित्र बसिरहेको अनुभूति छ सबैलाई । यही कहालीलाग्दो स्थितिमाझ केही मनकारी नेपाली भने स्थानीय चिडियाखानाका जनावर र गरिबजनलाई खाना खुवाउन दिनरात सहयोग जुटाउँदै हिँडिरहेका छन् ।

अघिल्लो साताको एक बिहान कम्प्युटरमा सब्जी र फलफूलले भरिएका क्रेट राखिएको गाडीको तस्बिर आयो । मध्यपूर्वी अफ्रिकी मुलुक युगान्डामा श्रमजीवी बन्दै आएका जीवनाथ पंगेनी, रमेश कँडेल, रञ्जिता पंगेनीसहितको तस्बिर त्यहाँ देखिन्थ्यो । सोचँे, होटेललाई तरकारी ओसार्दै रहेछन् साथीहरू । तर अरू जानकारी हेर्दै जाँदा थाहा भयो, उनीहरू उत्कृष्ट मनकारी काममा पो लागेका रहेछन् । युगान्डास्थित चिडियाखानाका जनावर भोकै परेको सूचना पाएपछि तिनका लागि तरकारी र फलफूल बोकेर पुगेका रहेछन् ।

पंगेनीले बिहीबार फेरि अर्को तस्बिर पठाए । उनी स्थानीय विपन्न समुदायलाई खाद्यान्नका पोका बाँड्दै हिँडेका रहेछन् । त्यहीँ रहेका भारतीय र आफैं काम गर्ने होटलको सहयोग लिएर ७ सय घरधुरीलाई राहत बाँडिएको रहेछ । उनलाई कसरी बधाई भनूँ ? यो मनकारी कदमको जति बयान गरे पनि कमै हुन्छ । जुन समाज र समुदायले आफूलाई रोजीरोटी दिँदै आएको छ, त्यही कर्मभूमिलाई आपत्मा यी नेपालीले गुन लगाए । सम्झेर मनमनै आह्लादित भएँ ।

यता उत्तरपूर्वी अफ्रिकी मुलुक सुडानको खार्तुनका नेपाली समुदायको कुरा अलग छ । त्यहाँ एक अन्तर्राष्ट्रिय संस्थामा कार्यरत बहिनीको चिन्ता आजै मात्र सुनेको थिएँ । भन्दै थिइन्, ‘प्रकोप यसै गरी बढ्दै गए हाम्रो उद्धार कसरी होला ? यहाँ हामी नेपालीको संख्या सानो छ, यतिका लागि जहाज आउन र चार्टर गर्न पनि गाह्रो होला । समस्या विकराल हुनुपूर्व घर फर्किन पाए हुन्थ्यो । यताको स्वास्थ्यसेवाको स्थिति एकदमै नाजुक छ । हामी त असमञ्जस स्थितिमा छौं दाइ ।’

ठिक त्यस्तै स्थिति रहेछ, बोकोहरामको केन्द्रविन्दु रहेको नाइजेरियाको मैदागुरीमा । यहाँ अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत एक दर्जनजति नेपाली रहेछन् । यहाँ पनि सन्त्राससँगै उद्धार–समन्वयको समस्या । यस्तै चिन्ता व्याप्त छ, आइभोरी कोस्ट, घाना, गिनी, मोरक्को, बुर्कानो फासो, क्यामरुन, साउथ सुडान, निजर र सेनेगलतिर । अहिले प्रकोप कम देखिए पनि तान्जानिया, जाम्बिया, मोजाम्बिक, बोत्स्वाना, मदागास्कार, इथोपिया, रुवान्डा र इकोटोरियल गुयनाका साथी सबैको उस्तै–उस्तै चिन्ता । त्रासको पारो केही तलमाथि होला, चिन्ता र संशयले सबैलाई छोपेकै छ । यो संकटमाझ समाधान के ? न आफ्नो राज्यको अनुभूतिबोध हुन सकेको छ न परराष्ट्र मन्त्रालयले सोधीखोजी र चासो लिएको देखिन्छ । बरु अपेक्षाकृत बढी संख्यामा नेपाली रहेका नाइजेरिया, युगान्डा, केन्या, सेसेल्स, कंगो र दक्षिण अफ्रिकाका साथीसंगीलाई संकटमा एक्लै नपरिएला कि भन्ने धेरथोर आस छ ।

हिजो धेरै पछि ब्राजिलका मित्र गणेश गुरुङसँग कुरो भयो । त्यहाँको कथाव्यथा पनि फरक रहेनछ । दक्षिण अमेरिकामा पनि नेपालीको संख्या न्यून छ, लगभग हजार हाराहारी । चिली, ब्राजिल, पेरु, कोलम्बिया, इक्वेडर र अर्जेन्टिनामा रहेका नेपाली सकुशल छन् । तर उनीहरू पनि सम्भावित संकटको चिन्ताबाट मुक्त छैनन् । प्रकोप बढ्दै जाँदा आफ्नो देशबाट खोजीनिती र चासो शून्यप्राय: छ, न ठाम न ठेगाना भनेझैँ ।

आज बिहानै एक अफ्रिकी न्युज साइटमा आँखा पर्‍यो । त्यहाँ लेखिएको रहेछ– ‘नआत्तिनुहोला । यो विपत्तिपछि हामी सबै मिल्नुपर्छ, अबको भविष्य भनेको हाम्रै हो । अब एउटै मुद्दा बनाउनुपर्छ र एउटै अर्थतन्त्र । अहिलेसम्म अरूले हाम्रो प्राकृतिक स्रोत दोहन गरिरहे र आफू सम्पन्न बनिसके । अब हामी आफैं बन्छौं ।’ स्थानीय स्रोत–साधनको तस्बिरसहित व्याख्या गरिएको थियो ।

यो कुराले निकै आशा जगायो । कोरोना महामारीमा अफ्रिका र दक्षिण अमेरिका अबको इपिसेन्टर बन्ने विश्व स्वास्थ्य संगठनले घोषणा गरिसक्दा यिनले कालो बादलमा चाँदीको घेरा देखेका रहेछन् । मैले पनि यही सोचेँ । कंगो, सुडान, केन्या, नाइजेरियालगायत देशका साथीहरू जो घर फिर्तीको चिन्तामा छन्, परे आफैं हवाई खर्चको जोहो गर्ने विश्वासमा छन् । रोइ–कराइ गर्दै दूतावासमा आवेदन हालिरहेकै छन्, कहीँकतै निकट भविष्यमा यो चीत्कार सुनिएला कि भनेर । सरकारले अफ्रिका र दक्षिण अमेरिकी महादेशमा पनि हाम्रा नेपाली छन् है भन्ने यथार्थ सुनिदिए मात्रै पनि धेरै हुने थियो । तिनले पनि पसिना र आँसुको थोरबहुत रेमिट्यान्स पठाएका छन् है भन्ने बोध गरिदिए काफी हुने थियो । मडारिँदै गरेको संकटको बादलबीच यत्ति सम्झना गरिदिए मात्रै पनि हाम्रा लागि चाँदीको घेरासरह हुने थियो ।

(गैरआवासीय नेपाली अभियन्ता थापा दशकदेखि नाइजेरियाको लेगोसमा कार्यरत छन् )

प्रकाशित : वैशाख २०, २०७७ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?