एक पत्रकारको डायरी : फोटो खिचेकै कारण प्रहरीको केरकार

ग्यास सप्लायर्स, बैंकका कर्मचारी, विद्यालय हिँडेका शिक्षक आफ्नो सवारी छुटाउन प्रहरी कार्यालय पुगेका थिए। त्यही भिडको तस्बिर लिँदै गर्दा प्रहरीद्वारा मेरो मोबाइल खोसियो अनि सुरु भयो केरकार।
प्रमिता ढकाल

भरतपुर — बैंक, सहकारी र शिक्षण संस्थामा काम जारी राख्नुपर्ने निर्देशनअनुसार अन्य दिनको तुलनामा सोमबार बिहान साढे ९ देखि नै भरतपुरमा चाप बढेको थियो।

चापसँगै प्रहरीको कडाइ बढेपछि रिर्पोटिङका लागि १० बजेतिर भरतपुरको चौबिसकोठी पुगेका चितवनका पत्रकार विनोदबाबु रिजाल र अर्जुन अधिकारीलाई प्रहरीले अभद्र व्यवहार गर्दै नियन्त्रणमा लियो।

कर्भडहलमा बनाइएको क्वारेन्टाइन (जहाँ बन्दाबन्दी उल्लंघन गरेकालाई नियन्त्रणमा लिएर राख्ने गरिएको) पुर्‍याइयो। घटनाको करिब डेढ घन्टापछि पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा जमानी बसेपछि मात्रै दुवै रिहा भए। यो घटनाले प्रेस स्वतन्त्रतामाथि प्रहार भएको ठहर गर्दै महासंघले विज्ञप्ति जारी गरिसकेको छ। नेपाल प्रेस युनियन चितवन र प्रेस संगठनले विज्ञप्तिमा ऐक्यबद्धता जनाएका छन्।

घटनापछि महासंघबाट जिल्ला प्रशासन कार्यालय डेलिगेसनका लागि जाने निर्णय भयो। महासंघ जिल्ला शाखाको कार्यसमिति सदस्य र क्रियाशील पत्रकार महिला चितवनको नेतृत्व गरिरहेको नाताले म पनि ऐक्यबद्धताका लागि दिउँसो २ बजे पत्रकार महासंघ चितवनको कार्यालय पुगेँ। २:४५ मा प्रमुख जिल्ला अधिकारीसँग भेट्ने समय तय भएकोले सबैजना जिल्ला प्रशासन कार्यलयतर्फ लाग्यौं। त्यहाँ पत्रकार रिजालले आफूलाई परेको समस्या राखे। जिल्ला अध्यक्ष खतिवडाले पत्रकारहरुलाई गरिएको दुर्व्यवहारप्रति खेद प्रकट गर्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराए। प्रजिअले घटना गम्भीर भएको र पुनः दोहोरिन नदिन सर्कुलर गर्ने आश्वासन दिए।

प्रशासनमा सुरक्षा संयन्त्रको बैठक सुरु हुने समय भएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नान्तीराज गुरुङ त्यहीँ पुगेका थिए। महासंघको नेतृत्वले प्रहरी उपरीक्षकलाई उनकै कार्यालयमा ४:३० बजे भेट्ने भन्दै त्यहाँबाट निस्कियौं।

चितवनमा जिल्ला प्रहरी कार्यालय र नेपाल पत्रकार महासंघ चितवन शाखाको कार्यालय भवन आमनेसामने छन्। महासंघ कार्यालय पुग्दा करिब ३:३० भएको थियो। प्रहरी कार्यालयको गेटअगाडि बिहान सवारीसाधन नियन्त्रणमा लिइएकाले तिनका धनीको भीड देखियो। त्यहाँ अक्सिजन ग्यास सप्लायर्सका कर्मचारी, बैंकका कर्मचारी, नतिजा प्रकाशनको काम सक्न विद्यालय हिँडेका शिक्षक र प्राध्यापक, इन्टरनेट सेवा प्रदायक कम्पनीका कर्मचारी पनि थिए। उनीहरु सबै मास्क लगाएर उभिएका थिए। कोही सवारी छुटाउने पास लिएर आउँदै थिए त कोही पालो कुरिरहेका।

भिडभाड देखेपछि पारिबाटै मोबाइलमा तस्बिर कैद गर्दै थिएँ। प्रहरी कार्यालय गेटबाट अचानक एक महिला प्रहरी आइन्। हातबाट मेरो मोबाइल खोसिन् र अर्को व्यक्तिको फोन खोस्न दौडिइन्। अलिपर पत्रकार लेखाराम सापकोटा समस्यामा परेका सर्वसाधारणसँग कुरा गर्दै थिए। मैले उनलाई इसारा गरेर बोलाएँ। हामी दुवै ती महिला प्रहरी नजिक गयौं र कार्ड देखाउँदै 'पत्रकारले पनि फोटो खिच्न नपाउने हो र?' भन्यौं।

ती महिला प्रहरीले भनिन्, ‘यहाँ कहाँ लेख्या छ, फोटो खिच्न पाइन्छ भनेर? हामीलाई टर्चर दिने, भिडियो बनाउने?’

‘सार्वजनिक ठाउँमा फोटो खिच्न कहाँ लेख्नपर्छ र,’ मैले भनेँ।

हप्कीको भाषामा उनी बोलिन्, 'भित्रबाट अनुमति लिएर आएको छ? खोइ अनुमति?'

म र मोबाइल खोसिएका अर्का व्यक्ति कार्यालयभित्र गयौं। ती महिला प्रहरीले कन्ट्रोल रुममा कुरा गर्न भनेर निस्किइन्।

मैले त्यहाँ पनि आफू पत्रकार भएको र भिडको फोटो खिच्दा मोबाइल खोसिएको बताएँ। तर त्यहाँकी अर्की महिला प्रहरीले नाम र ठेगाना सोध्दै मोबाइलमा स्टिकर टाँसेर ड्रअरमा राखिन्। उनलाई थप जिज्ञासा राख्दै गर्दा एक पुरुष प्रहरीले हामीतर्फ हेर्दै भने, 'धेरै बोले कर्भडहल क्वारेन्टाइन पठाइन्छ।' यति भनेर उनी बाहिरिए। यसअघि पत्रकार रिजाल र अधिकारीले भोगेका तिता अनुभव सुनेकी मैले त्यसपछि बोल्नु उचित ठानिनँ। त्यहाँका प्रहरी कर्मचारी बिहान समातिएका मोटरसाइकलका चाबीमा मोटरसाइकल नम्बर लगाउँदै राख्दै थिए। हेल्मेटहरुमा पनि नम्बर टाँसिरहेका थिए।

कन्ट्रोल रुममा सेवाग्राहीका फोन तिनै महिला प्रहरीले रिसिभ गर्दै थिइन्। एउटा कलमा उनी भन्दै थिइन्, 'यो रमाइलो गर्ने फोन होइन, काम छ भने गर्ने नत्र राख्ने।' मैले झलक्क सम्झिएँ, बिहान पत्रकार अधिकारीले पनि कन्ट्रोल रुममा फोन गर्दा कुरै नसुनी थर्काएर फोन राखिदिए भनेर गुनासो गरेका थिए।

करिब एक घन्टापछि प्रहरी नायव उपरीक्षक एकनारायण कोइराला 'प्रमिता ढकाल भनेको को हो?' भन्दै आए। मैले हात उठाएर परिचय दिए। उनले ‘ए कान्तिपुरको पत्रकार मैले चिन्छु नि’ भने र 'पत्रकारको फोन किन खोसेको, ल दिइहाल्नु' भनेर अह्राए।

म मोबाइल लिन तिनै महिला प्रहरीतिर लम्बिएँ। फोन दिनुअघि उनले मलाई अनलक गर्न भनिन्। मैले किन भनेर प्रश्न गर्दा उनले भिडियो डिलिट गर्नु भनिन्। त्यही बेला महासंघका अध्यक्ष खतिवडाको फोन आयो। हतारमा 'यहाँ भिडियो डिलिट गर्न भन्दै छन्' भनेर सुनाएँ। त्यो संवाद प्रहरी नायव उपरीक्षक कोइरालाले सुनिरहेका थिए। त्यसपछि मात्रै उनले 'पर्दैन पर्दैन' भने। म कन्ट्रोल रुमबाट बाहिर निस्किएँ। ठीक त्यसैबेला प्रहरी उपरीक्षक गुरुङ पनि आइपुगे।

यसबीचमा पत्रकार साथी राजु चौधरी (कान्तिपुर टेलिभिजन) र रामकान्त पौडेल (सिनर्जी एफएमका स्टेसन म्यानेजर) लगायतले पनि उस्तै सास्ती खेप्नुपरेछ। भिडियो र फोटो लिँदा प्रहरीले रोकेको उनीहरुले सुनाए। महासंघको कार्यालयमा पुग्दा जिल्ला सचिव तीर्थ नेपालले मलाई गृहमन्त्रीका सल्लाहकार सूर्य सुवेदी पथिकसँग समेत कुरा गरेर पहल गर्नुपरेको सुनाए। महासंघका केन्द्रीय सदस्य कृष्ण गिरीले एकैदिनमा तीन वटा घटना हुनु र त्यसमा पनि प्रशासनमा डेलिगेसन गएलगत्तै फेरि पनि उस्तै प्रकृतिको घटना हुनु खेदपूर्ण भएकाले केन्द्रमा जानकारी गराइएको बताए। त्यसपछि हामी सबै जिल्ला प्रहरी कार्यालयमा वार्ताका लागि निस्कियौं।

४:२० देखि सुरु भएको बैठक करिब ५:४० सम्म चल्यो। प्रेस संगठनका चितवन संयोजक प्रकाश ज्ञवालीले केही दिनअघि तिनै प्रहरी हवल्दार (रिजाल र अधिकारीलाई दुर्व्यवहार गर्ने) ले आफू र पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायण अधिकारीलाई गरेको दुर्व्यवहारबारे जानकारी गराए। प्रहरीको चेन अफ कमान्डमा कमजोरी वा व्यक्ति विशेषको व्यवहारको नतिजा भन्नेबारे ध्यानाकर्षण गराए। प्रहरी उपरीक्षक गुरुङले आफू मातहतका कर्मचारीको तर्फबाट भएको गल्ती स्विकारे र माफी पनि मागे। उनले ती प्रहरी हवल्दारलाई कारवाही गर्ने आश्वासन त दिएका छन्। कार्यान्वयन हुन्छ वा हुँदैन, हेर्न बाँकी छ। प्रकाशित : वैशाख १६, २०७७ १८:५२

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

२० वर्ष नपुग्दै गर्भवती

प्रमिता ढकाल

(भरतपुर) — भरतपुर महानगरपालिका–२२ पटिहानीकी आशिमा चौधरी १८ वर्षकी भइन् । १० कक्षा पढ्दै गरेकी उनको बिहे भएको आठ महिना भयो । उनी हाल गर्भवती छिन् । गर्भ रहेको थाहा पाएर पनि स्वास्थ्यचौकी जान लाज मानेकी उनलाई स्वास्थ्य स्वयंसेविकाले घरमै पुगेर जाँच गरे ।

वडा नम्बर २२ ले सुरु गरेको हरियो झन्डा राख्ने अभियानअन्तर्गत उनको घर पुगेका स्वयंसेविकाले छिमेकीमार्फत उक्त घरको सदस्य गर्भवती भएको थाहा पाएका थिए । आशिमालाई स्वास्थ्यको ख्याल राख्न र चारपटकसम्म स्वास्थ्यचौकीमा जाँच गराउन उनीहरूले सुझाएका छन् ।

आशिमाकै छिमेकको अर्को घरमा पनि हरियो झन्डा राखिएको छ । घरकी बुहारी १७ वर्षकी सुनिता बोटे चार महिनाकी गर्भवती छिन् । आठ कक्षा पढ्दै गर्दा बिहे गरेकी उनले गर्भ रहेपछि विद्यालय जान छाडिन् । गर्भ जाँच गराउन उनी पनि स्वास्थ्यचौकी पुगेकी छैनन् । झन्डा राख्न उनको घर पुगेका स्वयंसेविकाले नियमित जाँच गराउन र आइरन चक्की खान सुझाएका छन् ।

वडा नम्बर २२ मा आशिमा र सुनिताजस्तै अरू तीन जना २० वर्ष उमेर नपुगेका युवती गर्भवती छन् । पुसमा पहिलोपटक गर्भ जाँचका लागि स्वास्थ्यचौकी पुगेका १७ जनामध्ये पाँच जना २० वर्ष उमेर नपुगेका छन् ।

गत मंसिर १९ देखि महानगरले वडाका सबै घरधुरी सर्वेक्षण गरी गर्भवती भएकाको घरमा हरियो झन्डा राख्ने काम सुरु गरेको हो । त्यसयता ११० घरमा झन्डा राखिएको पटिहानी स्वास्थ्यचौकीकी एएनएम प्रियंवदा शर्माले बताइन् । सुरुमा महिला स्वयंसेविकाले गर्भवती भएको घरको पहिचानपछि स्वास्थ्यचौकीमा सिफारिस गर्छन् । त्यसपछि ती घरमा हरियो झन्डा राखिन्छ । ‘हरियो झन्डा भएका घरमा महिला स्वास्थ्य स्वयमंसेविकाको निगरानी रहन्छ,’ शर्माले भनिन्, ‘यो अभियानले गर्भावस्थामा आउने जोखिम कम गर्न मद्दत पुग्ने विश्वास लिएका छौं ।’

भरतपुर महानगरको स्वास्थ्य महाशाखाका अनुसार यस आर्थिक वर्षको पुस मसान्तसम्म वडा नम्बर २२ मा २० वर्षभन्दा कम उमेरका १० जना महिलाले पहिलोपटक स्वास्थ्यचौकीमा गर्भ जाँच गराएका छन् । यस आर्थिक वर्षको पुस मसान्तसम्म २० वर्ष नपुग्दै गर्भवती भएका २ हजार ८५ जना पहिलोपटक स्वास्थ्यचौकी पुगेका छन् । २० वर्षभन्दा कम उमेरका गर्भवतीले नियमअनुसार चौथो महिनामा गर्भ जाँच गराउने संख्या ८२८ छ भने नियमअनुसार चारपटकसम्म गर्भ जाँच गराउनेको संख्या जम्मा ३५८ छ । गर्भ जाँच गराउन आएका २० वर्षभन्दा कम उमेरका गर्भवतीमध्ये ३९ प्रतिशतले चौथो महिनामा गर्भ जाँच गराएको देखिन्छ भने १७ प्रतिशतले मात्रै प्रोटोकलअनुसार चारपटक स्वास्थ्य जाँच गराएका छन् ।

वडा नम्बर १० मा मात्रै यस आर्थिक वर्षको पुस मसान्तसम्म २० वर्ष नपुग्दै गर्भवती भएका १ हजार ८४१ युवती पहिलोपटक गर्भ जाँच गराउन स्वास्थ्य संस्था पुगेका छन् । चारपटक पुग्नेको संख्या भने २१० मात्र छ । वडा १६ मा २० वर्ष नपुग्दै गर्भवती भएका ३२ युवती पहिलोपटक स्वास्थ्य संस्था पुगेका छन् । भरतपुर महानगरभित्र सुरक्षित गर्भपतन सेवा लिने २० वर्ष नपुगेका युवतीको संख्या १९० छ ।

ठूलो संख्यामा २० वर्ष उमेर नपुगेका युवती गर्भवती हुनु र स्वास्थ्य जाँचमा लापरबाही देखिनु महानगरको सुरक्षित मातृत्व कार्यक्रमका लागि चुनौतीपूर्ण रहेको स्वास्थ्य महाशाखा प्रमुख दीपक सुवेदीले बताए । सुरक्षित मातृत्वलाई प्राथमिकतामा राखेर महानगरले पुस महिनामा मात्रै यातायात सेवा निःशुल्क गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको पुस ७ गतेको बैठकअनुसार भौतिक दूरीलाई आधार मानेर महानगरले यातायात खर्च दिने भएको उनले बताए ।

प्रकाशित : फाल्गुन १, २०७६ ०८:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×