प्रधानमन्त्रीको रहस्यमयी सपना !

दीपक पराजुली

काठमाडौँ — ढोका खोल वत्स ! म तिमीलाई भेट्न आएको छु । चिन्यौ मलाई ? म तिम्रो गुरुको पनि गुरु । चिन्नेहरुले मलाई जर्ज विल्हेम फ्रेडरिक हेगेल भन्छन् । तिम्रो गुरु कार्ल मार्क्सलाई द्वन्द्ववाद सिकाउने जर्मन दार्शनिक मै हुँ ।

मैले आफ्नो जीवनकालमा विश्वविद्यालयमा पढाएँ । राजनीतिक दर्शनका अनेक किताबहरु लेखेँ । त्यो धेरै पहिलेको कुरा हो । कुरा जति सुकै पुरानो भए पनि राजनीतिक चिन्तनको मामिलामा पण्डितहरुले मलाई भुल्न सक्लान् तर अस्वीकार गर्न सक्दैनन् ।

हामी मरेका मान्छे, जसको भौतिक अस्तित्व छैन । विपनामा प्रत्यक्ष भेट हाम्रो निम्ति सम्भव छैन । हामी अशरीरी आत्माहरुले तिमी जिउँदा शरीरीहरुसँग भेट्ने भनेको सपनामा नै हो । फेरि निन्द्रा विना सपना कहाँ ? निन्द्रा जति गहिरो हुन्छ, सपनाको सम्भावना पनि त्यति नै प्रवल हुन्छ । तिम्रो निन्द्राको गहनताले गर्दा सपनामा आउन सम्भव भएँ । तिम्रो दिव्य सपनामा म हाजिर छु प्यारे !

पहिला त तिमी अठार घण्टा काम गर्छौ भन्ने सुनेको थिएँ । महामारीविरुद्ध संघर्षको यो चटारोमा तिमीलाई भेट्न नपाइएला कि भन्ने बडो चिन्ता थियो । तर अब त्यो चिन्ता रहेन । सुविधासम्पन्न यो आरामदायी महलमा तिमी आराम गरिरहेका छौ । वैश्विक व्याधिले मै हुँ भन्ने साम्राज्यहरुलाई समेत हायलकायल पारेको घडिमा यो तिम्रो कस्तो लोभलाग्दो आराम ! तिम्रो आराम चिरन्जीवी रहोस् !

सुनेँ, कोरोनाको यो कालकहरमा तिमीले जनतालाई जीवन र स्वतन्त्रतामध्ये एक थोक रोज्न आदेश दियौ । म प्रभावित भएँ । अति प्रसन्न भएँ । लाग्यो यो धरामा मेरो आस्था मरेको छैन । मेरो मान्यता के हो भने राज्यको इच्छाअनुसार काम गर्नु नै मानिसको स्वतन्त्रता हो । राज्य छैन भने मानिसको स्वतन्त्रता पनि छैन । स्वतन्त्रताको सर्वाधिकार राज्यमा सुरक्षित हुनुपर्छ व्यक्तिमा होइन । किनकि राज्य भनेको धरतीमा ईश्वरको अवतरण हो । विश्वात्माको साकार रुप त्यही हो । राज्य पूर्ण छ, मानिस अपूर्ण । राज्यको विरोधमा मानिसले जुन वैयक्तिक स्वतन्त्रता खोज्छ, त्यो मानवीय नभएर केवल पशु स्वतन्त्रता हो । राज्यले सदैव यस्ता पाशविक स्वतन्त्रताको दमन गर्नुपर्छ ।

मेरो यो कुरालाई मार्क्सले बुझ्न सकेन । ऊ मदेखि परपरी बटारिएर हिँड्यो । उसले पूँजीको कुरा गर्यो । पूँजी नै वर्गीय समाजको माईबाप हो भन्यो । उसले मेरो विश्वात्माको अवधारणालाई ठाडै इन्‍कार गर्‍‍यो । अझ द्वन्द्ववाद सम्बन्धी मेरै विचारलाई टाउकोले टेकेको हुँदा सुल्ट्याएर खुट्टामा उभ्याएको छु भनी झुठा दावी गर्‍यो । हाय, उसको अहंकार ! विश्वात्माले उसलाई सदबुद्धि देउन् !

दुर्भाग्य, मैले आफ्नो जीवनकालमा तिमीजस्तो चेला पाउन सकिनँ । त्यसैले मलाई घरीघरी झोँक चल्छ र भन्न मन लाग्छ, मार्क्सवाद भनेको बेकारहरुको दर्शन हो, त्यो लेनिनवाद भनेको लफंगाहरुको सिद्धान्त हो र माओवाद भनेको त झन् आततायीहरुको विचारधारा हो ।

म यस मानेमा खुशी छु कि अब 'बुर्जुवा सामन्तवाद दलाल नोकरशाही पूँजीवाद र साम्राज्यवादको शोषण विरुद्धको संघर्ष' भन्ने नारा जो नेपालका कम्युनिष्टहरुको सर्वकालिक थेगो थियो त्यो कम्तिमा तिम्रा पार्टीका एजेण्डाहरुबाट लोप हुँदै गएको छ । तिमीहरुले यी तथाकथित साम्यवादी विचारधाराको यस्तो जादुयी संश्लेषण गरिदियौ कि उत्पादनका साधनमाथि सर्वहारा वर्गको अधिनायकत्व भन्ने मार्गचित्र अब नजाने गाउँको बाटो भइसकेको छ । जसलाई उखेलेर फालेपछि मात्र यो देशको कायाकल्प हुनसक्छ, भाग्य र भविष्य सुध्रन सक्छ भन्ने तिम्रा पार्टीका लोकप्रिय नेता मदन भण्डारीको विचार आफैंमा असान्दर्भिक मात्र भएको छैन बरु किटान गरिएका सबै वर्गशत्रुहरु तिमीहरुका मित्रशक्ति भइ सकेछन् । वाह् ! यो हो नि द्वन्द्ववादको वाद प्रतिवा र उत्तम सम्वाद (सिन्थेसिस) । मैले भन्ने गरेको विश्वात्माको पूर्णता यसैमा सम्भव छ ।

सुनेको छु, भण्डारीले त अझ यस्तोसम्म भन्थे रे कि यदि कसैलाई उनका धारणाहरु चित्त बुझेनन् भने मज्जाले आलोचना गर्न सकिन्छ । सुझाव दिन सकिन्छ । खण्डनमण्डन समेत गर्न सकिन्छ । त्यसको निम्ति उनी सदैव शीर निहुराएर नम्रतापूर्वक ती कुराहरु लिन र ग्रहण गर्नको निम्ति तयार छन् । अरे एउटा कम्युनिष्ट नेतामा यो हदको विनम्रता ? अभिव्यक्ति स्वतन्त्रताका सवालमा यस्तो खुलापन ? संसारभरको इतिहासमा यस्तो वचन दुर्लभ छ । यस्ता नेता पनि दुर्लभ छन् । साँच्चै अचेल कहाँ छन् महामहिम भण्डारी? मैले भेट्न पाएको छैन । भेटेँ भने स्वतन्त्रताका सम्बन्धमा उनीसँग दुईचार बात राख्ने थिएँ । र, भन्ने थिएँ, जो वास्तविक छ त्यो अरिङगाल हुन्छ, जो अरिङगाल छ त्यो वास्तविक हुन्छ ।

तर, हे पार्थ ! म तिम्रै प्रशंसक हूँ । तिमीले शासनको बागडोर सम्हालेपछि वैयक्तिक अभिव्यक्ति स्वतन्त्रताको आयतन मरिच झैँ चाउरिएर गयो । र, तिम्राविरुद्ध बोल्नेहरुको हुर्मत लिइयो । गीत गाउनेदेखि सामाजिक सञ्जालमा पटरपटर कराउनेहरुको मुख बन्द गरायौं । कतिलाई त जेलको हावा चखायौ । शस्त्र, शास्त्रदेखि लिएर अरिंगाल अस्त्रसम्मको अचुक प्रयोगले तिम्रो यो शासनलाई पूर्णता दिएको छ । तिम्रो शासनकालमा घटित लस्कर-ए-काण्डहरु तिम्रा राजनीतिक जीवनका गहनाहरु हुन् । सम्हालेर राख्नू । भोलि विश्वात्माले राजनीतिक प्राणी हुनुको प्रमाण खोज्न सक्नेछन् । त्यसबेला यी दसीहरु अवश्यै काम आउनेछन् ।

मलाई थाहा छ, तिम्रै पार्टिका सहकर्मी नेताहरु तिमीदेखि कति जल्छन् भनेर । तिनलाई औडाह भएको छ । ईर्ष्याले तिनका चित्त खरानी भइसकेको छ । थाहै छ, तिम्रोविरुद्ध चौतर्फी घेराबन्दी भएको छ । पार्टिभित्रै तिमीलाई अल्पमतमा पार्ने र तिम्रो सत्ता गिराउने कुटिल खेलको रचना भइरहेको छ । यता तिमी लकडाउन भन्छौ तर उता तिम्रै क्याविनेटको मन्त्री खुदै बसपार्क जान्छन् र गाउँघरजाने मान्छे बटुलेर बस चढाउँछ । हेर त बन्दाबन्दीमा पनि कसरी मान्छेहरु बाटोमा देखिएका छन् । ती कुन दुलाबाट निस्किए ? अनि काठमाण्डुबाट क्यामेरा बोकेर रातारात पत्रकार कसरी त्यहाँ पुगेको छ ? हो, कुरो रहस्यमय छ, जसलाई तिमीले समयमै ठम्यायौ । तर नआत्तिनु, तिम्रो विरोधमा दुष्टहरुले जतिसुकै ङ्यारङ्यार गरे पनि उनीहरुले भित्तो चिथोरेर आफ्नै नङ्ग्रा भाँच्न बाहेक अर्थोक केही गर्न सक्दैनन् । तिमी निश्चिन्त होऊ । बस् यसरी नै यो धरामा राज गरिरहनु ।

अब तिमीले यो कुरा स्पष्टसँग भनिदिनुपर्छ कि तिमी नै राज्य हौ । राज्यका विरुद्ध नागरिकलाई बोल्ने र विद्रोह गर्ने कुनै हक छैन । जस्तो मैले भन्दै आएको थिएँ, 'राज्य सर्वोच्च नैतिक समुदाय हो र यो कुनै पनि व्यक्तिभन्दा माथि छ ।' उचित के हो अनुचित के हो यसको निर्धारण गर्ने एक मात्र अधिकारी पनि तिमी नै हौ । सबै प्रश्नका उत्तर तिमी हौ । राजनीतिदेखि रसायनशास्त्रसम्म जीवनदेखि जीवविज्ञानसम्म सत्य त्यही हो जो तिमी जान्दछौ । बाँकी सब मिथ्या हुन् ।

स्मरण गर, हे मेरा प्रिय शासक ! विभाजित जर्मनीलाई एकीकृत बनाएको मेरै विचारले हो । हिटलरको नाजीवाद र मुसोलिनीको फासिवाद मेरै विचारका जगमा खडा भएका हुन् । भलै मानिसहरुले उनीहरुलाई घृणा गर्लान्, तर इतिहासले आफ्नो श्रेस्ताबाट उनीहरुको लगत कट्टा गर्न सक्दैन । र, भनिदिएको छु यी अधर्मी मानिसहरुले तिम्रो जतिसुकै आलोचना गर्दै रहुन्, इतिहासमा आफ्नो नाम अमर गर्ने महान उद्देश्यबाट तिमी किञ्चित विचलित हुनु हुँदैन ।

सुनेको छु, थाहा छैन कति सत्य हो, सिंगापुरका लि क्वान यू, मलेसियाका महाथिर तिम्रो विकास योजनाका आदर्श हुन् अरे । उत्तरको सी पथ त अब पार्टिको मार्गदर्शन नै बन्न लागेको छ रे । तर मलाई के लाग्छ भने तिमीले कसैबाट सिक्नु नै छ भने संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबाट सिक । अनुशरण गर्नका लागि समकालीन विश्वका शासकहरु समक्ष त्यस्तो कुनै आदर्श मौजुद छ भने डोनाल्ड ट्रम्प नै एक हुन्, अन्तिम हुन् । क्यामेष्ट्री नमिल्ला कि भनेर चिन्तै लिनु पर्दैन तिमीले ।

तिमीले देश काल र परिस्थितिको कुनै ख्याल राख्नु पर्दैन । मन लगेजस्तो सुकै अध्यादेश ल्याउन सक्छौ । अर्काको पार्टी फुट्छ र आफ्नो इच्छा सिद्ध हुन्छ भने तिमी जस्तोसुकै हत्कण्डा अपनाउन पनि सक्छौ । तिमीलाई नैतिकता अनैतिकताका बारेमा कुनै बारबन्देज छैन । तिम्रो आदेश नै नैतिकता हो । त्योबाहेक संसारमा अर्को कुनै नैतिकता छैन । नभुल, तिमी नै राज्य हौ । र, अन्त्यमा यही भन्न चाहन्छु कि सुख र समृद्धिका तिम्रा ती सपनाहरु अलपत्र नपरुन् । विकासका कुनै पनि योजना तुहेर नजाउन् । अराजक मान्छेहरुले तिम्रो राजीनामा माग्लान् । कुनै पनि हालतमा नदिनु । तिमी भएनौँ भने यो राज्य डुब्छ । सब सखाप हुन्छ । विश्वात्माले तिम्रो कल्याण गरुन् !

अन्तिम दृश्यांश

प्रधानमन्त्रीको आराममा बिराम लाग्छ । उनको तन्द्रा हो या निन्द्रा जो यकिन हुन सकेको छैन, त्यसबाट बिउँझन्छन् । उठेर देशको हालखबर बुझ्न भनी समाचारका पोर्टलहरुतिर आँखा कुदाउँछन् । उनको आँखा यो आलेखमा पुगेर टक्क अडिन्छ, जो भर्खर तपाईँले पढ्नु भयो । उनी यसलाई सर्सर्ती पढ्छन् । उनलाई अचम्म मात्र होइन, आश्चर्य समेत लाग्छ र ताज्जुब पनि । तुरुन्त देशका पत्रकारहरुलाई डाक्न लगाउँछन् । आकस्मिक प्रेसमिट आयोजना गरिन्छ । र प्रधानमन्त्री भन्छन् 'हेर्नुस्, म भर्खर निन्द्राबाट बिउँझिएर उठ्दै छु । मैले जुन सपना भर्खर देखेको हुँ त्यसको यथा वृतान्त यो पत्रिकामा कसरी दुरुस्त प्रकाशित भएर आयो ? रहस्यपूर्ण छैन र ?' प्रकाशित : वैशाख १३, २०७७ १५:४६

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

विज्ञ भन्छन्, ‘यसपालि परीक्षा नलिऔं, लिनै परे घरबाटै लिऔं’ 

बोर्ड भने विद्यालयको मूल्यांकनलाई मान्यता दिन नसकिने भन्दै साबिककै जसरी परीक्षा लिनुपर्ने पक्षमा
मकर श्रेष्ठ

काठमाडौँ — कोरोना भाइरस रोग (कोभिड १९) संक्रमणका बेला विद्यार्थीको परीक्षा लिनुभन्दा शैक्षिक संस्थाले गरेको मूल्यांकनका आधारमा उनीहरूको सिकाइ स्तर मापन गर्न विज्ञहरूले सुझाएका छन् । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको सिकाइ मूल्यांकन कसरी गर्ने भनी गरेको छलफलमा उनीहरूले पहिलेजसरी परीक्षा सञ्चालन नगर्न सुझाव दिएका हुन् ।

बोर्डले शुक्रबार खुला विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्मा, शिक्षाविद्हरू विद्यानाथ कोइराला, मनप्रसाद वाग्ले, गणेश सिंहसँग सुझाव मागेको हो ।

विज्ञहरूले कक्षा १० र ११ को मूल्यांकन विद्यालयले नै गर्ने र १२ कक्षाको परीक्षा लिनै पर्ने भए घरबाटै दिन मिल्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । कक्षा १० देखि माथिका करिब १८ लाख विद्यार्थीको परीक्षा स्थगित छ ।

‘पढाइ नै गर्न सकिँदैन भने परीक्षा लिने कुरै हुँदैन,’ खुला विश्वविद्यालयका उपकुलपति शर्माले भने, ‘विद्यार्थी भौतिक र मानसिक समस्यामा छन् । परीक्षा केन्द्रमा ल्याएर परीक्षा गर्नु त झन् जोखिम छ ।’ यस वर्ष विद्यालयकै मूल्यांकनका आधारमा विद्यार्थीको सिकाइ परीक्षण गर्नुपर्ने उनको भनाइ छ । ‘१२ कक्षाको सिकाइका आधारमा उच्च शिक्षा अध्ययन गर्ने भएकाले विद्यार्थीलाई खुला प्रश्न तयार गरेर घरबाटै उत्तर लेख्न दिने अर्को विकल्प हुन सक्छ,’ उनले भने, ‘१० र ११ विद्यालय तह नै भएकाले परीक्षा लिनु पर्दैन ।’

शिक्षाविद् कोइरालाले पनि परीक्षा केन्द्रमा राखेर लेख्न लगाउँदा थप जोखिम भएकाले यस वर्ष विद्यालयकै मूल्यांकनलाई आधार मान्नुपर्ने बताए । ‘यसअघि पनि १० कक्षाको परीक्षा दिएका सबैले ११ मा भर्ना पाएकै छन् । यस्तो परिस्थितिमा परीक्षा लिनु उचित हुँदैन,’ उनले भने, ‘१२ कक्षाका आधारमा उच्च शिक्षा अध्ययन गर्ने भएकाले परिस्थिति ठिक नभएसम्म परीक्षा लिने होइन भने विद्यालयकै मूल्यांकनलाई आधार मान्न सकिन्छ ।’

स्नातक तहको पढाइ दसैंपछि मात्रै सुरु हुने भएकाले १२ कक्षाको परीक्षा परिस्थिति ठिक भए साउनमा पनि लिन सकिने अर्का शिक्षाविद् वाग्लेले बताए । ‘१२ कक्षाको हकमा अहिले आत्तिनुपर्ने अवस्था छैन । तल्लो तहको परीक्षा लिन जरुरी नै छैन,’ उनले भने । उच्च शिक्षाको हकमा विश्वविद्यालय र क्याम्पसहरूले घरबाटै हरेक विषयको उत्तर लेखेर ल्याउने गरी परीक्षाको नमुना तयार गर्न सक्ने उनको भनाइ छ ।

कानुनले विद्यालय तहलाई आधारभूत र माध्यमिक तह गरी दुई भागमा बाँडेको छ । कक्षा आठको परीक्षा सम्बन्धित स्थानीय तहले लिने गरेको छ । कक्षा १० को प्रदेश स्तरमा लिने भनिए पनि बोर्डले नै लिइरहेको छ । १२ कक्षाको मात्रै बोर्डले लिन सकिने कानुनी व्यवस्था छ ।

बोर्डले भने विद्यालयले गर्ने मूल्यांकनलाई परीक्षाको आधार बनाउन कानुनी अन्योल देखाइरहेको छ । ‘के–के कानुन बनाएर हुन्छ, परीक्षा केन्द्रमा विद्यार्थी ल्याएर परीक्षा लिनु उचित हुँदैन,’ वाग्लेले भने, ‘यस वर्ष परीक्षा नलिँदा उल्कापात केही हुनेवाला छैन ।’

विज्ञहरूले परिस्थिति अनुकूल भए एक दिनमा निश्चित अनिवार्य विषयको परीक्षा लिने व्यवस्था गर्न सकिने सुझाव पनि दिएका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) का महासचिव लोकबहादुर भण्डारीले परीक्षा नलिई विद्यार्थीको मूल्यांकन गरेर यसवर्ष सहज व्यवस्थापन गर्नुपर्ने बताए । ‘शैक्षिक सत्रलाई असर नपर्ने गरी सरकारले बेलैमा उपयुक्त निर्णय लिनुपर्ने हुन्छ,’ उनले भने ।

बोर्ड भने विद्यालयले गर्ने मूल्यांकनभन्दा आफैं परीक्षा लिनुपर्ने अडानमा छ । ‘परीक्षा लिने निकायले अरूले गरेको परीक्षाको नतिजालाई कसरी मान्यता दिन मिल्छ ?,’ बोर्ड अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘सहज भएपछि परीक्षा लिने नै हो ।’ विद्यार्थी र अभिभावकलाई सहजभन्दा पनि बोर्डका पदाधिकारी परीक्षा सञ्चालन गर्दा हुने नाफा/घाटामा अल्झिएको विज्ञहरूको आरोप छ ।

विद्यालयले चैत ५ भन्दा अघि नै ११ र १२ को प्री–बोर्ड परीक्षा लिइसकेका छन । यही परीक्षालाई आधार मान्न पनि बोर्ड तयार छैन । बोर्डर्ले वैशाख पहिलो सातादेखि १२ कक्षाको परीक्षा लिने भएपछि विद्यालयले फागुन अन्तिममै प्री–बोर्ड लिएर बिदा दिएका थिए । तर, चैत ११ देखि लकडाउन भएकाले नतिजा सार्वजनिक हुन सकेको छैन ।

‘काठमाडौं उपत्यकामा मात्रै परीक्षा लिइएको होला । हुम्लामा परीक्षा लिइएकै छैन । त्यसैले हामीले नै परीक्षा लिने हो,’ बोर्ड अध्यक्ष पौडेलले भने, ‘हामीले बाहेक अरूले लिएको परीक्षालाई मान्यता दिन सकिँदैन ।’ सहज बेलाकै जसरी परीक्षा लिनुपर्ने पक्षमा रहेका उनी यही प्रस्तावसहितको प्रतिवेदन मन्त्रालयमा बुझाउने तयारीमा छन् । मन्त्रालयले परीक्षाबारे सुझावका लागि शर्माकै अध्यक्षतामा समिति बनाएको छ ।

प्रकाशित : वैशाख १३, २०७७ १५:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×