सहर न तिम्रो थियो न मेरै
काठमाडौँ — विश्वभरि त्रास फैलाइरहेको कोरानाको समाचार अक्सर म मामाको पसलमा बसेर साथीहरूसँग गफिँदै चियाको चुस्की लिँदै पढ्थें । दिनहरू बिस्तारै घिस्रिँदै थिए । यो भाइरसले नेपाल–यात्रा पनि गर्ला ? चिन्ता र चासो हाम्रो चिया गफमा सधैं हुन्थ्यो ।
नभन्दै यो भाइरस मामाको चिया पसलसम्म आइपुग्यो । चिया पसलबाट बिस्तारै हामी साथीभाइ टाढा हुन थाल्यौ । बाहिर ननिस्की सबै आ–आफ्नो घरमै बस्न थाल्यौं । लगत्तै होली आयो ।
सरकारले एक हप्तादेखि होलीमा पानी नखेल्नू, धेरै मान्छे जम्मा हुने ठूल्ठूला कार्यक्रम नगर्नु भनी सूचना जारी गरेको थियो । होली नखेले पनि म साथी पशुपति राईको घर गएँ । उनी मेरो सबैभन्दा नजिकको साथी । त्यहाँ ममात्र थिइनँ । अरु साथी–बहिनीहरू पनि बिस्तारै भेला हुँदै थिए । एकले अर्कालाई रङ लगाएर, खाना खाएर आ–आफ्नो घरतिर आइयो । होलीको भोलिपल्टदेखि हामी सबै सेल्फ आइसोलेसनमा बस्ने निर्णय गरेका थियौं । अब पालो आयो– वर्षौंदेखि थन्किएर बसेका किताब पढ्ने । ती सबै नपढेका किताब ओछ्यानभरि भए ।
कहिले किताब पढ्ने, कहिले फिल्म हेर्ने ! ५ दिनसम्म त पढियो तीनवटा किताब लगातार । त्यसपछि मेरी आमै कति पढ्नु ! कति फिल्म हेर्नु ! घरको काम त छँदै थियो । समाचार, किताब पढ्दा–पढ्दा वाक्कदिक्क लागिसकेको थियो, झन्झन् स्थिति डरलाग्दो हुँदै थियो ।
अब पालो आयो लकडाउनको । फाइनल्ली सरकारले लकडाउन गर्यो । यो जरुरी पनि थियो । एक हप्तालाई हामी घरबाट बाहिर जान नपाउने । सुरुसुरुमा त किताब पढ्ने, फिल्म हेर्ने, घरको काम गर्नेमा व्यस्त भइयो । अब त त्यो पनि कति गर्नु ! अब अलिकति अगाडिको कुरा गर्छु है !
फेसबुकमा १, २ महिना अघिदेखि नयाँ साथीहरूको लिस्ट थपिएका थिए । ती नयाँ साथीहरू नौला थिएनन् तर मेरा लागि भने नौला थिए । पहिला कहिल्यै गफ नभएका ! लकडाउनको दोस्रो हप्ता मलाई लेख्न मन लागेको केही केही– ती साथीबारे । ती साथी, जो मेरा फेसबुकमा सुरुमा अति नै नौला र मायालाग्दा थिए । फेसबुकमा मैले भेटेका पाँचखाले साथीहरू यसप्रकार छन्–
१. आफूलाई एकदम ‘सो अफ’ गर्ने २. एकदमै ज्ञानी ३. उद्दण्ड ४. सेक्सका कुरा गर्न बढी रुचाउने र ५. सबै कुरामा जानकार । पाँचैथरि साथीको व्याख्या गर्नु जरुरी छैन । तर, म एकथरी साथीको कुरा अलि विस्तृतमा गर्छु ।
यो लकडाउनमा मेरो मन पनि लकडाउन भएको छ । मनभरि प्रश्न आइरहन्छ । यी शब्द लेख्दा पनि प्रश्न आइरहेकै छन् । आखिर किन ?
सायद केही विषयले मनमा नबिझेको भए म यो लेख लेख्ने पनि थिइनँ । मलाई थाहा छ, मान्छेका अनगिन्ती चाहना हुन्छन् । तर, यसको मतलब यो हेइन– मेरो चाहना वा इच्छाले कसैको भावनामाथि ठेस पुर्याओस् ।
तिमी किन फेसबुकमा मसँग जोडिन आयौ– त्यो पनि थाहा छैन, मबाट के चाहेका थियौ– त्यो पनि थाहा छैन । तिमीले बोलेका हरेक शब्द मेरा लागि प्रिय बन्दै गएका थिए या भनौं तिमी मेरो मनमै बस्दै गएका थियौ । ‘शुभप्रभात’ तिमीबाटै सुरु हुन्थ्यो, ‘शुभदिन’ अनि ‘शुभरात्रि’ पनि । मैले उत्तर नपठाएका दिन तिम्रो छटपटाहट तिमीले गरेका प्रश्नबाटै थाहा पाउन सकिन्थ्यो । तिमीले बेलाबेला मलाई सोधेका प्रश्नले अचम्मित हुन्थें । तिमी सोध्थ्यौ, ‘एकदिन तिमीसँग संवाद भएन भने किन हो किन दिनै खल्लोजस्तो लाग्छ । म तिमीलाई मिस गर्न थालेको छु, काली के यो माया त होइन ?’ म यताबट ‘हा... हा...’ लेख्थें । तिम्रो प्रश्नमा मेरो उत्तर हुन्थ्यो, ‘खै ?’ किनभने तिमी पनि त लकडाउनमा परेका थियौ । सायद तिम्रो पनि अरु कोही थिएन् कुरा गर्ने साथी । बेलाबेला मलाई कविता फुर्थ्यो र सुनाउँथें ः
प्रेमको लेखाजोखा कहाँ हुन्थ्यो
हुने भए त तराजुमा जोख्थें
तराजुको काँटा कहिले तिम्रोपट्टी
कहिले मपट्टी हुन्थ्यो
कहिले तिमीले जितेजस्तो
कहिले मैले हारेजस्तो हुन्थ्यो ।
आफ्नो भागबाट एक चिम्टी माया निकालेको तिमी कहाँ पाउँथ्यौ पत्तो ! अनि तिमी भन्थ्यौ, ‘देख्यौ तिम्रो मायाभन्दा त मेरै माया पो ठूलो । मेरो हारमा तिम्रो जित खोज्ने यो कस्तो हो माया मेरो...!’
माया ? पहिलो लकडाउन हप्तामै मायाको मुना पलाएर पनि पात हाल्ने आफ्नो आकार लिइसकेको थियो ।
अब हामी सपना देख्न थालिसकेका थियौं । एकले अर्कालाई सम्बोधन गर्दा पनि ‘काली’ र ‘काले’ भन्न थालेछौं । ऊ अति नै मायालु थियो । अरुजस्तो थिएन, मलाई आदर–सम्मान गर्थ्यो । मेरो पेसालाई कदर गर्थ्यो । ऊ भन्थ्यो, ‘तिमी आफ्नो काम कहिल्यै नछाड्नु !’ मेरो नाटक, फिल्म हेरेको थियो उसले । सायद उसका यस्तै कुराले म ऊसँग नजिकिँदै गएकी थिएँ । मैले धेरै नै सपना बुन्न थालें क्यारे ! धेरै नै आशावादी हुन थालें क्यारे !
बिहान उठ्नेबित्तिकै पहिलो आवाज उसैको त सुन्थें । फोनमा ऊ ‘शुभप्रभात’ भन्थ्यो । खाना खायौ ? खाजा खायौ ? भात खायौ ? अनि शुभरात्री !
उसको फोन आइदिओस्जस्तो लाग्न थाल्दाथाल्दै लकडाउनको दोस्रो सातादेखि उसको फोन, एसएमएस, शुभप्रभात, शुभदिन, शुभरात्रि कम आउन थाल्यो ।
मनले सोधिरह्यो– मबाट केही गल्ती त भएन ? उसलाई सोधें पनि । उसले भन्यो, ‘होइन त्यस्तो ! आजकल अलि बोल्न मन लाग्दैन कसैसँग पनि ।’ उफ् ! मन चसक्क भयो– कसैसँग पनि ?
ए...! म त उसको ‘सबै’भित्र पो पर्दो रहेछु । त्यस दिनदेखि लाग्यो– सायद मैले नै पो धेरै ठूलो सपना बुनेछु । बिस्तारै अब ‘हाई’, ‘हेल्लो’ पनि हुन छाड्यो । अब त २, ३ दिनमा एकदमै छोटो संवाद हुन्थ्यो, ‘के छ ? ठीक छ ? खाना खायौ ?’ संवाद सकियो । म भने त्यही समयको प्रतीक्षामा हुनेरहेछु– ए काली के गर्दै छेस् ? खाना खाइस् ? खाना राम्रोसित खा डाइटिङ गर्ने होइन, भाइरससँग लड्ने क्षमता हुनुपर्छ ! आज दिनभरि अनलाइन किन नआएकी ?
मैले पो ठूलो सपना बुनें कि ! हामी टाढा थियौं र पनि नजिकको आभास हुन्थ्यो । तर, अहिले नजिक छौं र पनि टाढा भएको आभास हुन्छ । यो लकडाउन त सकिएला । तर, मेरो मनमा भर्खर टुसा पलाएको पालुवा सदाका लागि लकडाउन नै रहनेछ ? तिम्रै सम्झनामा मेरो शहरको कविता लेखेको छु । पढ है–
सहर न तिम्रो थियो न मेरै
तिमी भन्छौ यो सहर मेरो पो त,
माने तिम्रो सहरको पाहुना म
खुशी, चाहाना, भोक, लोभ, प्यास
सायद तिम्रो शहरले मेटाएन होला
र पनि
तिमी भन्छौ यो सहर मेरो पो त
तिम्रो सहरमा आउने अनगिन्ति,
सपाना पनि नयाँ देखाउँछौ होला
खुशी, चाहान, भोक, लोभ, प्यास
पनि मेटाउछौ होला
र पनि
तिमी भन्छौ यो सहर मेरो पो त
भोका छौ तिमी र तिम्रो सहर,
धमिराले खोक्रो बनाईसक्यो
अत्तरको वासना, मलमलले ढाकेर
देखाउछौ होला
र, पनि
तिमी भन्छौ यो सहर मेरो पो त
सहर न तिम्रो थियो न मेरै
प्रकाशित : वैशाख १२, २०७७ १६:२०