बंगलादेश लकडाउनमा भाइ, अछाममा दिदीको छटपटी

मेनुका ढुंगाना

अछाम — विश्वसँगै नेपाल पनि  कोरोनाको कहरले त्रसित छ । छिमेकी मुलुक चीनबाट देखा परेको यो भाइरसले विश्व नै हल्लाउन थालेपछि नेपाल पनि असुरक्षित भएको महशुस सुरुका दिनमै हुनथालेको थियो । 

भारतका विभिन्न सहरमा कोरोना भाइरसका संक्रमित भेटिएको खबर सार्वजनिक भइरहँदा मनमा भुइँचालो आएजस्तै हुन्थ्यो । किनभने अछामका हजारौं दाजुभाइ, दिदिबहिनीको कर्मथलो हो भारत । अनि, धेरै अछामीका परिवारको गुजारा पनि भारतबाटै चलेको छ । त्यहाँ कोरोना भाइरसका संक्रमितहरु भेटिएपछि धमाधम अछामीहरु फर्किन थाले । धनगढी, कोहलपुरबाट दैनिक अछामका लागि छुट्ने गाडीको संख्या वृद्धि भयो ।

अछाम पनि सुदूरपश्चिमका धेरै जोखिम भएको जिल्लामा गनिन थाल्यो । अब भने आफूले थप सर्तकता अपनाएर उनीहरुसँग सोधखोज गर्नु पर्ने भयो । केही दिनयता अछामका अरु विषयवस्तुले समाचारमा ठाउँ पाउन छोडे । मेरो दैनिकि नै भारतबाट आएकाहरु, उनीहरुका परिवार, स्वास्थ्यकर्मी र जनप्रतिनिधिसँग कोरोना भाइरसकै बारे कुराकानी गर्दै समाचार लेख्नमा केन्द्रित रहेको छ । आफू सुरक्षित रहेर रिर्पोटिङ गर्नु आफैंमा चुनौती पनि हो ।

माथि उल्लेख गरिएका कुराहरु मेरो पेशागत जीवनका केही अंशमात्रै हुन् । भारतबाट फर्किएर अछाम पुगेका यात्रुहरुलाई देख्दा घरिघरी लाग्थ्यो आफ्नो घर पुग्ने यी मानिसहरु कति भाग्यमानी छन् । परिवारलाई पनि ढुक्क भयो होला ।

मेरो भाइ पनि बंगलादेशमा छ । ढाका युनिभर्सिटीमा कम्प्युटर इन्जिनियरिङ पढिरहेको छ । ऊ पनि यसैगरि घर आउन पाएको भए संसारकै खुशी मिल्थ्यो होलाझैं लाग्छ ।

मेरो भाइ बंगलादेश पढ्न गएको दुई महिनामात्रै भयो । ऊ पहिलोपटक आफ्नो देशै छोडेर बिरानो ठाउँमा गएको छ । बोली, भाषा, रहनसहन सबै उसलाई नौलो लाग्यो होला । के खायो, कहाँ बस्यो होलाजस्ता प्रश्नहरु मनबाट नहटेकै बेला कोरोनाको कहरले बंगलादेशलाई पनि छोयो ।

अब मलाई अर्को चिन्ता थपियो । भाइ कोरोनाको संक्रमणबाट जोगिन सक्छ की सक्दैन भन्ने चिन्ताले पोलिरहेको छ । उसले एक दिन फोनमा भन्यो, ‘दिदि यतै वरिपरि पनि थुप्रै संक्रमितहरु भेटिएछन् नि ! अब के गर्ने होला ? म घर आउन चाहन्छु । साह्रै छटपटी हुन थाल्यो । म यता बस्नै सक्दिनँ ।’

यही दिनदेखि मनमा सन्नाटा छाएको छ । अखबारका हरेक पाना कोरोनाकै समाचारले ढाकिन थालेछि घरमा पनि तनावको वातावरण सिर्जना भएको छ । काठमाडौंमा बस्ने गाउँका सबैजना फर्किएपछि मेरी आमाले अहिले पनि छोरा आउने बाटो कुरीराखेकि छन् । हरेकपटक समाचार सुन्दा आमाले ‘भाइलाई जसरी हुन्छ घरमा बोलाउ’ भन्दै आँशु खसाउँछिन् । तर, ऊ हामीबाट टाढा छ ।

उता बंगालादेश लकडाउनमा छ । यता नेपालमा लकडाउन छ । ऊ अहिले चाहेर पनि आउन सक्दैन । आमासँग भिडियो कलमा कुरा गर्दा ऊ जबरजस्ती हाँस्छ । आफूलाई कुनै पीडा नभएजस्तै गरि आमासँग बोल्ने प्रयास गर्छ । बोल्दाबोल्दै भावुक हुन्छ । फेरि हाँस्न खोज्छ । ऊ जबरजस्ती खुशी भएको देखाउनु र हाँस्नुको कारण एउटै हो, आमालाई चिन्ता नहोस् । छोरा सुरक्षित छ भन्ने लागोस् । तर उसको छटपटी, पीडा र चिन्ता मसँग कुरा गर्दा भने लुक्दैन । अझै भनौं उसले लुकाउन सक्दैन । किनकी, उसको मूख्य अभिाभावकको भूमिकामा म नै छु । हरेक सुख, दुःख मसँग ढुक्कले साट्न सक्छ ।

कोरोनाको त्रास फैलिँदा भाइको परीक्षा चलिरहेको थियो । अरु विद्यार्थीहरु लकडाउन हुनु पहिला नै नेपाल फर्किए । उता उसको युनिभर्सिटीले परीक्षा क्यान्सिल गरेको थिएन । तत्काल फर्कन पनि अन्योल नै भयो । जब परीक्षा क्यान्सिल भयो तब देशै लकडाउन भयो । विस्तारै होस्टेलको क्यान्टिन बन्द भयो । खाना कहाँ खाने टुंगो भएन, होटेलहरु समेत बन्द छन् । उसलाई फोन गरेर ‘खाना के खाइस् ?’ भनी सोध्दा उसको स्वर मधुरो हुन्छ ।

‘क्यान्टिन बन्द भइसक्यो, बाहिर जान सकिदैन । के खानु र ! बरु ममीले सोध्दा खाना खाइरहेको छ भन्नु,’ उसले यस्तो भनिरहँदा कस्तो समयमा विदेश पठाएछु भन्ने लाग्छ । यता हजारौंका कुरा सुन्दै सरोकारवालालाई घच्घच्याइरहँदा उता भाइका लागि केही गर्न नसकेकोमा पछुतो हुन्छ ।

न कोही आफ्नो मान्छे छन्, न त कसैलाई सोधपुछ नै गर्न सकिन्छ । ऊ हिरासतमा बसेजस्तै भएको छ । यता मनमा अनेकन कुराहरु खेलिरहेका छन् । उता भाइको पेट भोको रहँदा यता आमाबुबाको पेट भोको रहन्छन् । बुबाआमाले दिनहुँ मलाई प्रश्न गर्छन्, ‘तेरो भाइको हालत के छ ? नेपाल आउन सक्छ की नाईँ ? खाना के गर्दैछ ?’ मैले सधैं ढाँटेरै जवाफ दिन्छु । उसलाई ठीक छ । चाडै घर आउनेछ । खाना खाइरहेको छ । तीन दिनयता उसले खाना भने खान पाएको छ । सँगै बस्ने नेपाली विद्यार्थीले केही सहयोग गरेका छन् ।

केही दिन अघिमात्र मलेसिया, भुटान, नाइजेरिया, भारत, पाकिस्तानलगायतका सरकारले आफ्ना विद्यार्थीको उद्दार गरेर स्वदेश लगेपछि बंगलादेशमा अध्ययनरनत नेपाली विद्यार्थी आत्तिएका छन् । बंगलादेशका मेडिकल कलेज इन्जिनियरिङ इन्स्च्यिुट, एग्रिकल्चर तथा भेटेनरी इन्स्च्यिुटमा अध्ययनरत झण्डै एक हजार नेपाली स्वदेश फर्किन चाहेका छन् ।

बंगलादेशमा दिनानुदिन कोरोना संक्रमित बढ्न थालेको, युनिभर्सिटी बन्द भएको र देश नै लकडाउन भएपछि उनीहरु आत्तिन थालेका हुन् । कोरोनाको त्रास कहिलेसम्म रहन्छ भन्ने टुंगो नलागेकाले बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सरकारले स्वदेश फर्किने वातावारण सिर्जना गर्नु पर्ने विश्वव्यापी विद्यार्थी संगठन बंगलादेशका सल्लाहकार डाक्टर राजेश साह बताउँछन् । ‘कतिपय कलेजका होस्टेलले तिमीहरुको सरकारलाई भनेर नेपाल जान मिल्छ भने जाओ, हामी होस्टेल बन्द गर्छौ भनिरहेका छन्् । कतिपय युनिभर्सिटीमा ४/५ जनामात्रै नेपाली विद्यार्थी छन् । उनीहरु आत्तिरहेका छन्,’ उनले भने, ‘यस्तो अवस्थामा सरकारले नेपाल आउने वातावरण मिलाइ दिनुपर्छ । यता परिवार र उता छोराछोरी आत्तिरहेका छन् । सरकारले केही पहल गरिदिएको भए त्यहाँ अभिभावकबिहीन अवस्थामा आत्तिएर बस्नु पर्ने थिएन ।’

यस्तो विषम परिस्थितमा हरेकले सरकार भएको महसुस गर्न चाहन्छन् । विदेशमा भएकाहरुले स्वदेश फर्किने वातावरण मिलाइदेओस् भन्ने चाहन्छन् । अथवा दूतावासले आफ्ना नागरिकको वास्ता गरोस् भन्ने चाहन्छन् । अहिले हामी पनि यही चाहिरहेका छौं । सरकारले बंगलादेशलगायत अन्य देशमा अलपत्र परेका हजारौं विद्यार्थीको खोजी गरोस् । वास्ता गरोस् । हामी परिवारका सदस्य यस्तो परिस्थितीमा चिन्ता, पीर र छटपटीबाहेक अरु केही देखाउन सक्दैनौं । तर, सरकारले अभिभावकत्व दिन सक्छ । नेपाली दूतावासमार्फत् आफ्ना जनताको खोजी गर्न सक्छ । कम्तिमा नआत्तिन आग्रह गर्नसक्छ ।

संसारै डराएको यो बेलामा आफ्ना नागरिकलाई स्वदेश फर्काइ आफ्नै भूमिमा बस्ने व्यवस्था सरकारले गरोस् । मेरोजस्तै हजारौं परिवारलाई हरेक रात ढुक्कले निद्रा पर्ने वातावरण सरकारले बनाओस् । प्रकाशित : वैशाख ७, २०७७ १८:१५

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

आरडीटीमा पोजिटिभ देखिएका तेह्रथुमका तीन जनाको पीसीआर नेगेटिभ

प्रदीप मेन्याङ्बो

(सुनसरी) — तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाका तीन जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा एन्टीबडी पोजिटिभ देखिए पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर टेस्टमा नेगेटिभ रिपोर्ट आएको छ ।

तेह्रथुमबाट तीन जनाको रिपोर्ट एन्टीबडी पोजिटिभसहित १० जनाको स्वाब पीसीआरका लागि प्रतिष्ठानमा ल्याइएको थियो । प्रतिष्ठानका सहप्रवक्ता डा अशोक ऐरका अनुसार सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा आइतबार तेह्रथुमसहित अन्य जिल्लाबाट ल्याइएका ३० जनाको स्वाबको नमुना परीक्षण गरिएको थियो । ती सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको सहप्रवक्ता डा. ऐरले बताए । उनले प्रतिष्ठानमा हालसम्म कुल २ सय ४९ वटा पीसीआर नमुना परीक्षण भइसकेको बताए। ती सबैको रिपोर्ट नेगेटिभ छन् ।


प्रकाशित : वैशाख ७, २०७७ १८:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×