कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

लकडाउनमा मेकियावेली

स्वास्थ्य सुरक्षाका सन्दर्भमा संसारलाई एउटा पुनर्जागरण आवश्यक छ । यो अनिश्चयजस्तै अँध्यारोलाई चिर्न ज्ञान–विज्ञानको ज्वाला अनिवार्य छ । त्यो छिट्टै सल्कियोस् ।
दीपक पराजुली

काठमाडौँ — यो सहरको सुन्दरताको बयान गरेर लियोनार्दो कहिल्यै थाक्दैनथ्यो । तीन वर्षअघि क्रिसमसको छेको पारेर ऊ पोखरा आएको थियो । त्यहाँदेखि उसको कण्ठले पोखराको अखण्ड कीर्तन गर्दै आएको हो ।

लकडाउनमा मेकियावेली

मलाई यहाँ घुम्न जान उसले अनुरोध गरेन, आदेश नै दियो । जस्तो, लियोनार्दोले भनेको थियो, ‘तपाईको सहर त्यस्तो अद्भूत रहेछ । यो अद्भूत सहरले मलाई सम्मोहित गरेर राख्यो । वास्तवमै, जलारीको जालमा परेको माछाजस्तै यो मायावी सहरको मोहजालमा म परेँ । थाहा छैन यो जालबाट म कहिले मुक्त हुन्छु । कामन गर्छु, त्यो दिन छिट्टै आओस् ।’

नयाँ वर्ष २०२० को साइत जुराएर म यहाँ आइपुगेको थिएँ । अब साइत भन्न त्यति उपयुक्त भएन । आएको केही दिनपछि नै कोरोना नामको संक्रामक व्याधिले चीनलाई नराम्रोसँग च्यापिरहेको थाहा पाएँ । जनवरीको अन्त्यतिर आइपुग्दा यो शैतानी व्याधि अरु महादेशहरुमा पनि फैलन शुरु गरिसकेको समाचारले मेरो चिन्ता बढाएको थियो ।

विश्वस्वास्थ्य संगठनले समेत विश्वभर जनस्वास्थ्य संकटकाल घोषणा गरिसकेको थियो । यस्तो लागेको थियो कि कोरोना नामका राक्षसहरुले चारै दिशा बाँधेर मृत्युको मुख बाहिरहेछन् । मानौं, ढिलोचाँडो हामी त्यसको आहारा बन्दैछौँ ।

फेब्रुअरीको चौथो हप्तातिर तपाईँको देशको पर्यटन मन्त्रीले एउटा अचम्मलाग्दो फर्मान जारी गरे । त्यस्तो दुस्साहसी अध्यादेश मध्यकालमा समेत गरिएको कम्तिमा मलाई सम्झना छैन । तर, ती मन्त्रीले नेपाल ‘कोरोना फ्रि’ देश भएको हुँदा संसारका पर्यटकलाई नेपाल आउन आव्हान गरिरहेका थिए । त्यो खबरले मलाई विस्मितमात्र होइन त्रसित पनि बनायो । प्वाल परेको जहाजमा बसेर यो कस्तो रमझम हो, बुझ्न सकिरहेको थिइनँ ।

यो कुरा मैले ‘कश्यप कटेरो’ नाम गरेको गेस्ट हाउसको मेनेजरलाई बताएँ, जहाँ म अहिले बाटो खर्च सकिन लागेको अतिथि भई बसिरहेको छु ।

जबाफमा उसले कुनै चुट्किला सुनाएझैँ गरी मुस्कुराउँदै भन्यो, ‘यो देश कुनै मन्त्री, प्रधानमन्त्रीले होइन भगवान श्री पशुपतिनाथले चलाउँछन् । त्यसैले तपाईँ ढुक्क भएर बस्नहोस्, केही हुँदैन ।’ विपदले घेर्न थालेको यो घडीमा मेनेजरले यस्तो उरेन्ठेउलो कुरा सुनाउला भनेर मैले किञ्चित कल्पना गरेको थिइनँ । सोचें, ‘जस्तो रोमका राजा, त्यस्तै रोमनका जनता ।’ सायद कलाका मर्मज्ञहरुले यसैलाई भन्दा हुन्– ‘ब्ल्याक हृयुमर’ ।

फेवातालको छेउमा अवस्थित कश्यप कटेरोको बार्दलीमा छु । तालमा टल्किएको हिमाल छाँया हेरेर बसिरहेको छु । तालको पानी कञ्चन छ । माछाहरु मस्तसँग सल्बलाइरहेका छन् । वरपर सन्नाटाबाहेक अर्थोक केही छैन । मन हर्नलाई सिरसिरे बतास चलि नै रहेको छ । घरी टन्टलापुर घाम, घरी धुम्म बादल । घरी असिनापानी । मौसम पनि गज्जबको रहेछ यहाँको ।

यसबखत म आफ्नो प्यारो देश इटालीलाई सम्झिरहेको छु । फ्लोरेन्स, जहाँ म जन्मेँ र हुर्किएँ । ज्ञान–विज्ञानले समृद्ध त्यही नगरले सर्वप्रथम बालेको थियो पुनर्जागरणको राँको । जसको रापले ढालेको थियो झण्डै एक हजार वर्षको अँध्यारो जुग ।

जब मेरो मनमस्तिष्कमा फ्लोरेन्समा बिताएका ती भव्य दिनका सम्झनाहरु सल्बलाउँछन् म यसैयसै भावुक हुने गर्छु । मेरो भावुकतालाई यो सहरले पुरापुर साथ दिइरहेको छ ।

त्यसबेला मेरो देश राजनीतिको अन्त्यहीन दुष्चक्रमा फँसेको थियो । स्वयम् फ्लोरेन्सकै राजनीतिक अस्तित्व पनि जोखिममा थियो । फ्रान्स र स्पेनजस्ता साम्राज्यहरु इटालीका विभिन्न राज्यहरु कब्जा गर्न उद्दत थिए । अस्थिरताको भूमरीमा जाकिएको थियो मेरो देश । र, आज फेरि कोरोनाको आपतले यसलाई अस्तव्यस्त बनाइदिएको छ ।

संकटग्रस्त देशले उछार पाओस् र शासनको बागडोर बलियोसँग कसियोस् भन्ने पवित्र कामनाले ‘द प्रिन्स’ लेख्ने त्यो युगको बालक मेकियावेली मै हुँ । धर्मान्धता र खोक्रो आदर्शको बर्को ओडाएर सिंगो युरोपलाई बन्धक बनाउने त्यो अँध्यारो जुगका विरुद्ध सल्किएको राँको थाम्ने मध्येको एउटा मनुवा मै हुँ । तर, आज कोरोनाकालको यो कहालीबाट मुक्त गराउन ‘नयाँ प्रिन्स’ लेखिदिने कुनै मेकियावेली मेरो देशमा जन्मेको रहेनछ भन्ने लागेको छ । के जागरणको ज्वाला निभिसकेकै हो त ? म आफैंलाई प्रश्न गरिरहेको छु ।

असलमा बिपत्तिहरु बाजा बजाएर आउँदैनन् भनिन्थ्यो । तर, चीनबाहेक अरु देशहरुलाई विपद सामनाका निम्ति तयारी गर्ने समय थोरबहुत मिलेकै हो । संकटसँग जुध्न सधैँ तत्पर रहनुपर्छ । देशका सिपाहीहरुलाई अब केहीबेरमै युद्ध सुरु हुँदैछ भनेझैँ गरी तयारी हालतमा राख्नुपर्छ भन्ने मेरो सुझावलाई मेरै देशका शासकहरुले बारबेक्युमा सुँगुरलाई झैं पोलेर खाइसकेका रहेछन् ।

एउटा बुद्धिमान शासकले आजको मात्र होइन भोलिको बारेमा पनि सोच्नु पर्छ । भोलि उत्पन्न हुनसक्ने समस्याहरुप्रति आजै चनाखो भएर बस्नुपर्छ । कुनै समस्या चर्किनुभन्दा अघि जब भर्खर सुरुवात हुन थालेको हुन्छ त्यसबेला कारबाही गरिहाल्ने क्षमता हुनुपर्छ भनेर व्यवहारवादको दर्शन छाँट्ने म आज दुनियाँको सामु लज्जित भएको छु ।

नजाने यतिखेर कयौं विद्वानले मेरो कुरा काटिरहेका होलान् । उबेला पनि आलोचकहरु मलाई पक्का सनकी भन्ने गर्थे । भलै, आज संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यो ताज पाएका छन् । र, आज पनि मलाई नरुचाउने शुद्ध आदर्शवादीहरुको कुनै कमी छैन यो धरामा ।

गुनासो पनि कति गर्नु ? खतराको तलबार शीरैमाथि झुण्डिरहँदा पनि थाहा छैन मेरो देश कुन उत्सवमा मस्तमगन थियो । भीड र जमघट उस्तै थियो । मानिसहरु विना कुनै होशियारी बेलगाम घुमिरहेका थिए । लाग्यो, ‘मानिसहरु आफ्ना चाहनालाई कहिले रोक्नुपर्छ भन्ने कुरा नजान्ने गल्ती गर्छन्’ भन्ने मेरो वाक्यलाई इटालीको जनताले मुर्दालाई झैँ चिहानमुनि गाडिसकेका रहेछन् । श्री पशुपतिनाथको भरमा चलेको तपाईँको देशमा पनि एकजना डाक्टरले सार्वजनिक रुपमा बाझेपछि मात्र सरकार ओच्छ्यानबाट बिउँझिएको कुरा मलाई राम्रोसँग थाहा छ ।

पहिला त उनलाई जेल कोच्नुपर्छ भन्नेहरु पनि थिए । सायद तिनीहरु अहिले घरमा उपरखुट्टी लाएर टिभीमा राष्ट्रिय/अन्तर्राष्ट्रिय समाचार हेरिरहेका होलान् र ऐनमौकामा सामाजिक सञ्जालमा सस्ता ट्रोल पोस्टाइरहेका होलान् । सरकार बिउँझाउने ती डाक्टरको जय होस् ।

तर बिउँझियो भनेर के गर्नु ? घर जान चाहनेहरुलाई व्यवस्थित तरिकाले पठाइदेऊ भन्दा अझै पनि तपाईंको सरकार भावनामा नबग्ने कुरा गरिरहेको देख्दा उदेक लाग्छ । यो भावना र आदर्शको कुरा हुँदै होइन । विशुद्ध व्यवहारिक कुरा हो । किनभने आत्मसुरक्षा र सम्पत्तिप्रति मानिसमा जति चासो हुन्छ, त्यति अरु कुनै चिजमा हुँदैन । तसर्थ एउटा योग्य शासकले जहिले पनि अरु सबै कुरा छोडेर सर्वप्रथम मानिसको जीवन र सम्पत्तिको सुरक्षालाई प्राथमिकता दिनुपर्छ । मैले भनेको यही हो ।

बिडम्बना, तपाईंका जनतालाई आफ्नै देशको सीमामा रोकिएको छ । यस्तो कुनै जुगमा भएको थिएन होला, जो आज देख्नुपरेको छ । जोखिम मोल्दै घर जान भनी भोको पेट लिएर लामो यात्रामा फर्किरहेकाहरुलाई ‘अपराधी’ करार गरिएको छ । अपमानित गरिएको छ । रोगले भन्दा पहिला भोकले मार्ने भो भन्दै त्यति लामो यात्रामा उनीहरु पैदल हिडिँरहेका छन् । यात्राको दूरी सम्झँदामात्रै पनि कहाली लाग्छ । र, यता भावनामा नबग्ने भन्दै सरकार सिंहदरबारमा जमिरहेको छ ।

समस्याहरु छन् । समस्याका समाधान पनि हुन्छन् । सरकार भनेको समाधान सूत्र निकाल्नलाई बनाइएको हो, सुतीसुती दूधभात खानलाई होइन । व्यवस्थित काम र उचित परिणाम देखाउने दायित्वबाट पञ्छिने ठाउँ छैन । र, भुल्नु हुँदैन कि यो देशको थिति परदेशमा भाडा माझेरै भए पनि घरदेशमा रेमिट्यान्स पठाउने जनताबाट धानिएको छ ।

समस्याको व्यवस्थित समाधान गर्न दक्षता चाहिन्छ । धर्म र नैतिकताको जगतमा सद्गुणको जुन महत्व छ, राजनीतिको क्षेत्रमा दक्षताको पनि उस्तै ठूलो स्थान छ । राजनीतिमा अदक्षता सबैभन्दा ठूलो पाप हो । कश्यप कटेरोको मेनेजर फेरि ठट्टा गर्दै भन्छ, ‘हाम्रो देशका शासकहरु लुट्ने मामिलामा एकदम दक्ष छन् ।’ तर शासकहरुको नाउँमा मैले दिएको एउटा मन्त्र छ, ‘मान्छेहरुले आफ्नो पिताको हत्यालाई समेत सजिलै भुल्न सक्छन् तर आफू लुटिएको कुरा कहिल्यै भुल्दैनन् । त्यसैले लुट्ने गल्ती नगर ।’

एउटा कुशल शासकले जहिले पनि छिटो निर्णय गर्ने क्षमता राख्नुपर्छ । ढिला गर्नु भनेको विनाशलाई निम्तो दिनु हो । परिस्थितिलाई राम्रोसँग बुझ्दै गरौं, बाँकी काम पछि गर्दै गरौंला भनी समय खेर फाल्ने गल्ती कहिल्यै पनि गर्नु हुँदैन । मैले यसै भनेको थिएँ । तर, आज मेरा यी उक्तिहरु खै कहाँ बिलाएर गए ? विरक्त लागेर आउँछ । व्यवहारिकताको जुन पाठ मैले संसारलाई दिएर गएको थिएँ, त्यो पुरानो भइसकेछ । बिरानो भइसके छ ।

यो व्याधी निरुपणपछि विश्वव्यवस्थाको हर्ताकर्ता को हुने होला भनी राजनीतिका पण्डितहरुमाझ माथापच्ची सुरु भइसकेको रहेछ । शासकका निम्ति महत्वाकांक्षा स्वाभाविक हो । शक्ति राजनीतिका अनेक दाउपेचलाई नजिकबाट भोगेको देखेको मलाई यी सबै कुरा थाहा छ । त्यसो त मलाई शक्ति र सत्ता–राजनीतिकै गुरु भन्ने पनि गर्छन् । कुनै विद्वानले त यहाँसम्म भनेका रहेछन् कि चेम्बरलिनले मलाई पढेका हुन्थे भने हिटलरसँग व्यवहार गर्न सहज हुन्थ्यो र विड्रो विल्सनले ‘द प्रिन्स’ पढेका भए भर्साइलको दुर्घटना हुँदैनथ्यो । तर, आज एकल ध्रुवीय विश्वव्यवस्थाको सरदार मानिएको संयुक्त राज्य अमेरिकाका राष्ट्रपति ट्रम्पले विश्वस्वास्थ्य संगठनलाई दिँदै आएको सहयोग रोकेका छन् । सम्मानको पात्र हुनु त परै जाओस् घृणाको प्रतिमूर्ति बनिरहेका छन् । उनको स्वभाव अनुसारको यो विलोम यात्रा देखेर मलाई खासै आश्चर्य लागेको छैन ।

जेजसो भए पनि अहिले समस्त मानव स्वास्थ्य सुरक्षा अरु थोकभन्दा कयौं गुणा ज्यादा महत्वपूर्ण देख्छु । स्वास्थ्य सुरक्षाका सन्दर्भमा संसारलाई एउटा पुनर्जागरण आवश्यक छ । यो अनिश्चयजस्तै अँध्यारोलाई चिर्न ज्ञान–विज्ञानको ज्वाला अनिवार्य छ । त्यो छिट्टै सल्कियोस् । यो अँध्यारो हटोस् । फेवा किनारको यो कश्यप कटेरोमा बसेर म यस्तै कामना गरिरहेको छु ।

प्रकाशित : वैशाख ७, २०७७ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?