१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हजुरआमा भन्नुहुन्छ– मुखमा के जाती लगाओ है !

एक स्नातक विद्यार्थीको एघार दिनको डायरी
सिमाना पौडेल

काठमाडौँ — ‘तपाईँहरुले बाहिर निस्कदाँ मास्क लगाउनु भएको छ ? बाहिरबाट घरभित्र पस्दा साबुनपानीले हात धुनु भएको छ ? कोरोनासम्बन्धी समाचारहरु पढेर आत्तिनुभएको छ ?’

हजुरआमा भन्नुहुन्छ– मुखमा के जाती लगाओ है !

चैत ११ गतेबाट सरकारले गरेको लकडाउन आज ११ औँ दिनसम्म लम्बिएको छ । दुई हप्ता गर्ने भनिएको लकडाउन अझै लम्बिनेछ । कोरोनाले हामीलाई प्रकृतिसँग नजिक हुन सिकाएको छ । कृषिसँग नजिक हुनुपर्ने पाठ पढाएको छ । हामीसँग केही नहुँदा या कोही नहुँदा पनि बाँच्नुपर्ने तरिका सिकाएको छ । होइन र ? अब मेरो दिनैपिच्छेको मनोदशा हेर्नुस् है । देखेको, सुनेको सबै कुरा डायरीमा अटाउन सम्भव कहाँ हुनु ।


पहिलो दिन

लकडाउन हुनुभन्दा दुई दिनअघि बहिनीको कलेज बिदा भयो । ऊ त्यो दिन हस्याङफस्याङ गर्दै आई । हामीले कोरोनाको बारेमा सुनेर पनि उत्ती गम्भीरताका साथ लिएका थिएनौं । उसले घर जाने कुरा गरी । ऊ साँच्चै डराएकी थिई । ममीबुवाको काखमा हुँदा सुरक्षित भइन्छ भन्ने उसलाई लाग्दो हो । काठमाडौं किन कहिल्यै आफ्नो लागेन मलाई आजसम्म थाहा छैन । हामी घर जान पाएनौं । (किन भनेर नसोध्नु है । सबै कुराको कारण हुँदैन । त्यस्तो पनि होइन, डायरीमा लम्बेतान कुरा लेखिरहन मन हुन्न ।)

पहिलो दिन लकडाउन हुँदा हामीसँग स्टकमा खानेकुरा केही थिएन । धन्न दाल, चामल थियो । त्यो दिन हामी कोरोनाको बारेमा डराउने मान्छेहरुबारे खिल्ली उडाउँदै बस्यौँ । यत्तिसारो किन डराउनपर्ने हँ ?


दोस्रो दिन

साँच्चै लकडाउन भयो । हामी एकराउण्ड बजारतिर डुलेर फर्कियौँ । किराना पसल र तरकारी पसलबाहेक सब बन्द । हामीले मार्टमा केही किन्न पाएनौँ । सधैँ खुलिरहने मेडिकल बन्द थियो । (हामीसँग मास्क थिएन । अहिले पनि छैन तर हामी कोठाबाट बाहिर निस्केका छैनौँ । केही पढ्न सक्ने, फिल्म हेरेर बस्न सक्ने गरी एकाग्रता पाइएको छैन ।) हामीले किराना पसलबाट हप्ताभरीलाई पुग्ने सामान किनेर फर्कियौं । कतै कोरोना त हाम्रो घरभित्र छिरेन ? हामीले साबुनपानीले हात धोयौं । साँच्चै धेरै डराइरहेका छौं ।


तेस्रो दिन

कलेज जान नपाए कस्तो मज्जा हुन्थ्यो है ? यस्तो भनिराख्ने बहिनी कलेज छिटै खुलोस् भनेर प्राथना गर्न थालेकी छ । साथीहरुसँग भेट नहुँदाको उसको छटपटी म बुझ्छु । घरी टिकटिक बनाउँछे । आज उसले मलाई पनि टिकटक बनाउन बाध्य पारी । ऊ एक्लै बस्नै चाहन्नँ । घरीघरी आउँछे र भन्छे– ‘दिदी ! हामी मर्‍यौ भने के हुन्छ ? पृथ्वी ध्वस्त भयो भने के हुन्छ ? म एसइई दिएर उतै पढेको भए यस्तो हुन्नथ्यो होला है ? बुवाले भनेको नमानेर पो हो कि ?’ उसले सबैकुरा एकैचोटी सम्झन्छे र मृत्युको मुखसम्म आफ्नो कल्पना पुर्‍याएपछि रोकिन्छे ।

समय कसरी कटाउनु ? धन्न फेसबुक छ । साथीहरु पुरानो फोटो खोजीखोजीकन उडाइरहेका छन् । हामीले आजदेखि अनलाईन लुडो खेल्ने भयौं । आज मज्जा आयो । साथीहरु सुत्दासुत्दा दिक्क भएको कुरा गरिराछन् । साँच्चै यो समय हामी केही कुरामा केन्द्रित हुनै सकिरहेका छैनौँ । फुर्सद पाएदेखि पढ्न हुन्थ्यो या फिल्म हेर्न हुन्थ्यो । अहँ यस्तो केही गर्नै सकेको छैन मैले ।


चौथो दिन

अब अलि सहज महसुस भएको छ । घरभित्रै बसिरहने । सेल्फ क्वारेन्टाइनमा । सबै त्यहीँ गरिरहेका छन् । तर सबै हामी जसरी बस्न कहाँ सकेका छन् र ? भोकै पो बसिराछन् कि ? एक हप्तालाई लिएर आएको खानेकुरा लगभग सकिन लागेको छ । यत्ति धेरै कहिल्यै खाइएको थिएन । भोकभन्दा पनि अत्यास लागिरहेको छ । केही चपाइरहन मन लाग्ने । खै के हो । के भइरहेको छ आफैंलाई बुझ्न सकिरहेको छैन । हिजो त्यत्ति मज्जाले भुलेको लुडो खेल्दा आज त्यो पनि दिक्क लाग्यो । सबै सुनसान छ ।

बहिनी घरी टिकटक चलाउँछे । घरी फिल्म हेर्छे । मेरो हालत त्यस्तै छ । घरमा फोन गर्यो, फोन राख्न चाहनुहुन्न । कोरोना लाग्ला, बाहिर ननिस्कनु । भनिराख्ने चाँही यत्ति हो । मामाघरतिर फोन गर्‍यो । बुढी हजुरआमा भन्नुहुन्छ– ‘मुखमा के जाती लगाउने भन्छन् । लगाओ है ।’ (मास्क क्या !)


पाँचौ दिन

आज बिहानै उठेर हामीले योग गर्‍यौं । नुवाईधुवाई गर्‍यौं । खाना बनायौं । खायौं । ज्या ! बल्ल साढे नौ भएको छ । फेसबुक खोल्यो, कति हेर्नु । दिक्क लाग्ने गरी । क्वारेन्टाइनको लागि नाटक, फिल्म सिफारिस, अनलाइन क्लास, साथीहरु र अग्रजहरुको लाईभ भिडियो । ओहो ! भुल्ने कुरा कति धेरै छन् । तर अहँ कतै भुल्न सकिरहेकै छैन मन । अरुहरुको पनि यस्तै हालत छ कि ? लेखक रामलाल जोशीले भन्नुभएको थियो– यो समय सिर्जनशील काम गर्नै सकिँदैन । प्र्राथना गर्ने समय हो । माटोसँग खेलिरहेको छु । तर सकेको छैन ।

साँच्चै, यो समय केही गर्नै सकिरहेको छैन । हामी हाँस्ने बाहाना खोजिरहेका छौं । दुई जनामा कोरोना संक्रमण । ओहो ! कस्तो डरलाग्दो अवस्था । विश्वभर कोरोनाको कारण १८ हजारको मृत्यु भइसकेको छ । संक्रमितहरु ५ लाखको हाराहारीमा । कति डरलाग्दो अवस्था । कोरोनाले उदण्डता देखाइरहेको छ ।


छैटौं दिन

दिनहरु यसरी नै बितिराछन् । फेसबुक खोल्छु, सबैको गुनासो उस्तै छ । न कतै जमघट गर्ने महोल छ न केही कुरामा एकाग्र भएर लागिरहने । हामीहरु सबदेखि वाक्क भइसक्यौं । सुत्न पाउँदा कति रमाइलो हुने थियो । बसीबसी खान पाए भन्ने पनि लाग्न छोड्यो । कर्मभन्दा गतिशील केही छैन । हामी केही नगरी बस्न सक्दैनौं । अनि प्रकृतिभन्दा ठूलो केही छैन । प्रकृतिलाई जित्ने कोशिसमा हामी पटकपटक हारिसकेका छौं । हामीले अब प्रकृतिसँग सहकार्य गर्नुपर्छ भन्ने सिकाएको छ कोरोनाले ।

बहिनी अहिले ‘पावर अफ सबकन्सियस’ पढ्न थालेकी छ । होइन, होइन । ऊ सुन्छे । आज खाना खान लागेको मात्र थिए, उसले भनी– ‘दिदी Û हामी भगवान्प्रति आभारी हुनुपर्छ । यतिको खान पाएको पनि भगवान्को कृपाले हो । भगवान्लाई धन्यवाद भन्नु ।’ ऊमात्रै होइन, म पनि अचेल धेरै भगवानलाई सम्झिन्छु । हामी दुखमा मात्रै सम्झन्छौं । कति रिस उठ्दो हो, यदि भगवान् साँच्चै छन् भने ।


सातौं दिन

यो लकडाउनले राम्रो पनि भएको छ । कम्तिमा अल्छिपन हराएको छ । सुत्न फिटिक्कै मन लाग्दैन । फेसबुक चलाउँदा चलाउँदा दिक्क लागेको छ । केही नयाँ साथी बनाऊँ । केही नयाँ कुरा सिकौँ भन्ने जाँगर पनि छैन । बरु आज कलेजका साथीहरुलाई सम्झिएँ । उनीहरुको राम्रोको कामना गरेँ ।

हजुरबुवाले भन्नुभएको थियो– मान्छे जब मर्नेबेला हुन्छ, उसलाई जो पनि मनपर्छ । जे पनि राम्रो लाग्छ ।

मलाई अहिले फेसबुकमा मन नपर्ने पनि कोही छैनन् । जसको पनि माया लाग्छ । बाँचियो भने सब फेसबुकमा बोल्नदेखि लिएर आफ्नो जिन्दगीमा ठोक्किने सबलाई एकै ठाउँमा राखेर पार्टी गर्न मन छ । छ्या ! यस्तो त सकिँदैन होला है । म पनि केके सोचिबस्छु ।

साँच्चै, मान्छेहरु कति सुन्दर छन् । उनीहरुको मन कति सुन्दर छ । नराम्रो भन्नुमा मेरो स्वार्थ मिसिएर पो हो कि ?

फेरि लकडाउन एक हप्तालाई लम्बिने भयो । उफ्....!


आठौं दिन

भारतबाट आउने नेपालीहरुलाई सरकारले सीमाबाटै फर्कायो भन्ने समाचार सुन्नमा आइराछ । लकडाउनको अवज्ञा गर्नेलाई प्रहरीले हानेको भन्ने समाचार आइराछ । विदेशमा हुनेहरु नेपाल आउन नपाएर छटपटाइरहेका छन् ।

सहरमा हुनेहरु गाउँ जान नपाएर छटपटाइरहेका छन् । नेपाल हुनेहरु विदेशका आफ्ना साथीभाइ, आफन्त सम्झेर छटपटाइरहेका छन् । हामी एकले अर्कोको चिन्ता गरेर छटपटाउनु परेको अवस्था छ ।

यो समय साँच्चै प्राथनाको समय छ ।

बाहिरबाट नेपाल आएकालाई क्वारेन्टाइनमा १५ दिन नराखी घर फर्कन नदिने भनेर सरकारले निगरानी राखेको समाचार छ । स्वाथ्यकर्मी साधनस्रोतको अभावमा पनि आफ्नो काम गरिरहेका छन् । सेना, प्रहरी पनि आफ्नो कर्तव्य निभाइरहेका छन् । बरु सरकारले भ्रष्टचार गरेको सुन्नमा आइराछ । के के हो केके । बरु केही सुन्न नपरे हुने नि ।

कपडा छतमा सुकाएका थियौं । पाँचबजेतिर भूमरी चल्यो । पानी पर्ला जस्तो भयो । बहिनी आत्तिदैं आई । ‘दिदी, यो पृथ्वी अब साँच्चै ध्वस्त हुन्छ । हामी रहँदैनौ ।’

हामी कोरोनाको महामारी र प्रकृतिक प्रकोपमा पर्‍यौं भने के होला ? हामी मर्‍यौं भने के होला यो पृथ्वी ? आङ सिरिङ भयो है । आफ्नो मृत्युको कल्पना गर्न किन सक्दैनौँ हामी ?

मलाई मर्न डर लाग्छ ।


नवौ दिन

ध्यान गर्नु, योग गर्नु, बिहानै उठेर नुवाईधुवाइ गर्नु, पूजापाठ गर्नु, खान बनाउनु, खानु । बिहान यत्तिकै बित्छ ।

दिउँसो भुल्नलाई टिकटक, भिडियो च्याट, समाचार पोर्टलहरु, युटुबहरु अझ पुगेन भने डेटिङ एप्स पनि छ । नयाँ एप्स चलाउन सिक्न मन लाग्छ भने या केही नचिनेको मान्छेसँग बोलेर समय बिताऊ भन्ने लाग्छ भने... होइन ।

मलाई केही गर्न मन भएन । खाटमा घाम आएको थियो । म मस्त निदाएछु । आज राति पो सुत्ने कसरी ? बहिनी किचेनमा नयाँ नयाँ आइटम बनाइराख्छे । आज उसले परौठा बनाई । बिर्सेको, हिजो उसले पास्ता बनाएकी थिईँ । दिउँसो खाजा बनाउन अल्छी गर्ने हामीहरु पकाउन र खानमा व्यस्त छौं ।

कति मान्छे भोकै छन् । यस्तो सोच्यो भने खान मन लाग्दैन ।

सरकारले राहत बाँड्ने भनेको के गरिराछ हँ ?


दशौं दिन

आज बझाङमा भुँइचालो गयो भनेर अनलाइनमा पढें । प्रधानमन्त्रीका सल्लाहकारले अनधिकृत रुपमा समाचार हटाए । सरकारले कोरोना किट परीक्षणको लागि चाहिने स्वास्थ्य सामाग्रीमा भ्रष्टचार गरेको आरोप आएपछि सेनालाई स्वास्थ्य सामाग्री ल्याउने जिम्मा दिइयो । के हेरिराख्नु समाचार । संकट परेकै बेलामा नचाहिदोँ अभाव सिर्जना गर्ने काम नभएको कहिले हो र ?

हिजो अप्रिल फस्टमा एउटा केटासँग इन रिलेसनसीप भनेर राखेको थिएँ । आज होइन भनेर लेख्दालेख्दै हैरान भएँ । साथीहरु फेसबुकमा लुडो खेल्न इन्भाइट गरिराख्छन् ।

हामीलाई साथ चाहिएको छ । लकडाउन खुलेपछि सबैभन्दा पहिले कसलाई भेट्ने होला ? के गर्ने होला ? मलाई बन्जी जम्प हान्न मन छ । बहिनी पशुपति गएर धन्यवाद भन्ने भन्दैछ । ऊ कसरी यस्ती भई ?

अस्ति भूमरी आउँदा बत्ती नहुँदा बहिनी र म कुरा गर्यौं । उसले साह्रै निराश कुरा गरी । सम्पत्ति कमाएर पनि क्यार्नी हो ? मलाई त कोरोनाले लगे हुन्थ्यो दिदी । बाँच्यो भने पाप मात्रै गरिन्छ ।

केके बोल्छे है । केके सोच्छे ।

मलाई पनि बाँच्नु निरर्थक जस्तो लागिराछ । देशको हालत यस्तो छ । विश्वमा यस्तो छ । हाम्रोमा ६ जनामा कोरोना भेटियो । पश्चिमा देशमा मान्छे मरिरहेकै छन् । तिनीहरुसँगै कति सपना मरें ।


एघारौं दिन

अब बिहान चार बजेदेखि मात्रै आठ बजेसम्म मात्रै पसल खुल्छ । बिहानै ल्याउनुपर्छ बेलुकाको लागि तरकारी । हामी घरबाट बाहिर ननिस्कनेमा अभ्यस्त भइसक्यौ ।

सबदेखि वाक्क लागिसक्यो । यो कोठा । यो समाचार । यो फेसबुक । टिकटक । इन्स्टाग्राम । ट्वीटर । भाइबर । उफ् । मन आत्तिएको बेला केही मन पर्दैन । सबैभन्दा सुन्दर मान्छे हुन्छन् । मान्छेले बनाएका यी सब कुराहरुको आयु कति छोटो छ । सिनेमा हल, थियटर हल, जिमहल, कलकारखाना, स्मार्ट मार्टहरु, बैंकहरु सबै बन्द छ । सबै बन्द भयो भने ? सधैँ यस्तो भयो भने ? गाडीहरु कहिल्यै चलेनन् भने ? मान्छे बाँच्छ । गाउँमा गएर खानको लागि दुख गरे भइहाल्यो । खान पाएसी बाँचिन्छ । गीत, संगीत, किताब, सिनेमा, फेसबुक, फोन सबै सेकेन्डरी कुरा हुन् ।

पहिलो प्राथमिकता हो– भोक अर्थात् खाना ।

मान्छे खानाको लागि यत्ति दुख गरिरहेको छ । तर यत्ति जटिल पनि छैन जीवन । दुई छाक खानको लागि दिनरात सहरमा घोटिरहेका छौं । हामी माटोमा पो घोटिनुपर्ने हो नि हैन ?

केके सोच्छु म पनि ।

प्रकाशित : चैत्र २१, २०७६ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?