अन्योलमा खाडीका नेपाली कामदार

मेघराज सापकोटा

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई)स्थित अल ऐनमा कार्यरत झापाका गुरू बरालले नेपाल जाने आफ्‍नो योजना केही महिनाका लागि स्थगित गरेका छन् । उनले मार्च १३ मा नेपाल जाने टिकट लिएका थिए ।

घरमा छोराछोरी, श्रीमती र आमाबाबुलाई कोसेली समेत किनिसकेका थिए । तर, कोरोना भाइरसका कारण उनको कम्पनीले उनलाई छुट्टीमा नजान सुझाव दियो । कम्पनीको सुझाव अनुसार उनले छुट्टीको योजनालाई स्थगित गरे ।


स्याङ्जाका लक्ष्मण खनालको आगामी मार्च २३ तारिखको टिकट छ । घर परिवारसँग ४० दिनको वार्षिक बिदा मनाउने उनको योजना नेपाल सरकारले श्रम स्वीकृति प्रदान गर्न रोकेसँगै तुहिएको छ । ४० दिनमा पनि अवस्था सुध्रिएन भने के गर्ने ? यही प्रश्‍न्ले नेपाल जाने कि नजाने भन्‍ने दोधारमा छन् लक्ष्मण । गएर ‘सेल्फ क्वारेन्टाइनमा’ बस्नुपर्ने, अवस्था झनै बिग्रियो भने के गर्ने ? विदेशै भए पनि केही भइहाले नेपालको भन्दा राम्रो उपचार यूएईमा हुनसक्ने विश्वास उनको छ ।


कोरोना भाइरस (कोभिड (१९) को विश्वव्यापी महामारीले अहिले विदेशमा बस्‍ने नेपालीहरू चिन्तित बनेका छन् । कोरोना भाइरसबारे सूचनाको अभाव सो सम्बन्धी ज्ञानको अभाव र सामाजिक सञ्जालमा आएका विभिन्‍न भ्रमपूर्ण भिडियो र समाचारले उनीहरूलाई अझ धेरै मानासिक तनाव दिएको छ ।

मध्यपूर्वका खाडी राष्ट्रहरू पनि अहिले विश्वव्यापी महामारीको चपेटामा परेका छन् । यूएईबाट झण्डै १ सय माइल हवाई दूरीमा रहेको इरान सबैभन्दा बढी आक्रान्त बनेको छ । इरानको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ११ हजारभन्दा बढी यो भाइरसको संक्रमणमा परेका छन् । पछिल्लो तथ्यांकअनुसार खाडी मुलुकहरूमा सबैभन्दा बढी संक्रमित कतारमा ३ सय २० जनाछन् ।


बहराइनमा १ सय ९५, कुवेतमा १ सय, साउदी अरेबियामा ८६, यूएईमा ८५ र ओमानमा १८ जनालाई संक्रमण भएको ती देशले पुष्टि गरेका छन् । अहिलेसम्म खाडीका ६ राष्ट्रहरूमा ८ सय ४ जनामा संक्रमण देखिएको छ र यो दिनहुँ बढ्ने क्रम जारी छ । कतिपयले योभन्दा बढी संक्रमित हुनसक्ने आशंका समेत गरेका छन् । यूएईमा मात्र अहिलेसम्म २० जना पूर्णरूपमा निको भएर घर फर्केका छन् । अन्य खाडी राष्ट्रमा पनि धेरैले उपचार पाएर घर फर्केका छन् ।


मध्यपूर्वका कुनै पनि मुलुकहरू यसको संक्रमणबाट अछुतो रहेनन् । यसको वृद्धि दरले यस क्षेत्रमा रहेका झण्डै १५ लाख नेपालीमा जोखिम बढेको देखिन्छ । खाडी मुलुकहरूमध्ये हालसम्म यूएईमा नाम नखुलाइएका २ जना नेपालीलाई संक्रमण भएको भनिए पनि अन्य मुलुकमा नेपालीलाई संक्रमण भए, नभएको बारे यकिन जानकारी छैन ।


कुवेतले आफ्नो देशलाई ‘लक डाउन’ गरिसकेको छ । गत सातादेखि नै कतारले अन्तर्राष्ट्रिय उडानहरू बन्द गरेको छ । साउदी अरबले शनिबारदेखि दुई हप्ताको लागि उडान बन्द गर्ने निर्णय गरेको छ । ओमानले उडानहरूको कटौती गर्दै तत्काललाई टुरिस्ट भिसा दिन बन्द गरेको छ ।


यूएईले उच्च जोखिममा रहेका देशहरूसँगको उडान स्थगित गरी आवातजावतलाई कडा गरेको छ । राजधानी अवुधाबीमा बार, क्लबहरू बन्द गरिएका छन् भने हुक्का सेवनलाई पूर्णतः प्रतिबन्ध लगाइएको छ । शारजाहले सार्वजनिक पार्कहरू बन्द गरेको छ ।


यहाँका राज्यहरूले आफ्‍नो कानुन अनुसार कोरोना भाइरसको नियन्त्रणका उपाय अवलम्बन गरेका छन् । कम्पनीहरूले आफ्ना कामदारलाई सुरक्षाका उपाय अपनाउन निर्देशन जारी गरेका छन् । अति जरूरी कामबिना भीडभाड, मल र पार्कहरू नजान, अनावश्यक घुमफिर र अन्तर्राष्ट्रिय यात्रा नगर्न आफ्ना कामदारहरूलाई सुझाएका छन् । विद्यालय र कलेजहरू बन्द गरिएका छन् । विद्यार्थीलाई घरबाटै अनलाइन शिक्षा प्रदान गर्न थालिएको छ । कम्पनीले आफ्‍ना कामदारहरूको शरीरको तापक्रमको रेकर्ड राख्‍न थालेका छन् । छुट्टिबाट फर्किएका कामदारहरूलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्‍न थालेका छन् ।


कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने देखिएसँगै यसले खाडी मुलुकहरूसमेत प्रभावित हुने देखिएको छ । विश्व बजारमा तेलको मूल्यमा भारी गिरावट आएसँगै तेलमा निर्भर रहेका खाडी राष्ट्रको अर्थतन्त्र डगमगाउने देखिन्छ । विश्व नै ‘लकडाउन’ हुने स्थिति पैदा भए यहाँको पर्यटनक्षेत्रलाई ठूलो असर पर्नेछ । यूएईले २०१९ मा २ करोड पर्यटक भित्र्याएको थियो भने २०२० अक्टोबरमा विश्वको सबैभन्दा ठूलो प्रदर्शनी ‘एक्स्पो २०२०’ सुरु हुँदैछ । दुबईमा आयोजना हुने एक्स्पो २०२० ले दुबईको मुहार फेरिने अपेक्षा रखिएको अवस्थामा कोरोना भाइरसको महामारीले सबैलाई चिन्तित तुल्याएको छ ।


सामाजिक सञ्जालमा अनावश्यक भ्रम पैदा नगर्न र सरकारका आधिकारिक सूचनाहरूलाई विश्वास गर्न भनिएको छ । भ्रमपूर्ण समाचारहरू सामाजिक सञ्जालमा सेयर गरिए ३ वर्ष जेलदेखि ३० लाख दिर्हामसम्म जरिवाना गर्ने सूचना यूएई सरकारले जारी गरेको छ ।


खाडी राष्ट्रहरूमा कोरोना भाइरसको प्रकोप बढेसँगै नेपालीहरू चिन्तित बन्‍न थालेका छन् । नेपालका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले राज्यले कोरोना संक्रमितको आशंकामा कसैलाई पनि क्वारेन्टाइनमा राख्‍न नसक्ने भन्ने अभिव्यक्ति दिएपछि उनीहरू झनै चिन्तित बनेका छन् । कथम्कदाचित् भविष्यमा विश्व नै महामारीको चपेटामा परेर नेपाल फर्कनु परेको अवस्थामा आफूहरूको स्थिति के होला भन्ने चिन्ता बढेको छ ।


खाडी राष्ट्रमा रहेका नेपाली दूतावासहरूले आफ्ना नागरिकलाई सजग रहन सूचना जारी गरेका छन् । नेपाली दूतावास अवुधाबीले उच्च सतर्कता अपनाउन व्यक्तिगत सरसफाइमा ध्यान दिन अनुरोध गरेको छ । मार्च १२ मा एक सूचना जारी गरी नेपाली दूतावास अवुधाबीले अनावश्यक रूपमा ठूला जमघट, भेलाको आयोजना नगर्न र भीडभाडबाट टाढा रहन विशेष अनुरोध गरेको छ । उसले नआत्तिन र विशेष सतर्कता अपनाउन अनुरोध गर्दै आफूलाई कोरोना भाइरस लागेको शंका लागेमा यूएई सरकारका विभिन्न निकाय र नेपाली दूतावासलाई जानकारी गराउन समेत भनेको छ ।


त्यसैगरी कतार, साउदी अरब, ओमान, बहराइन, कुवेतलगायत खाडीका सबै राष्ट्रमा रहेका नेपाली दूतावासहरूले नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन् । यस्तो अवस्थामा भयभित बन्‍नुभन्दा पनि सतर्कता अपनाउनु नै बुद्धिमानी हुनेछ । सम्बन्धित देशका सरकारले जारी गर्ने सही सूचनाहरूबाट आफूलाई अपडेट गरिरहनु पर्छ । गलत र भ्रमपूर्ण सूचनाहरूको पछि लागेर दुःखी बन्नुभन्दा सरसफाइका उपायअवलम्बन गर्न जरूरी छ । थर्मोमिटर किनेर आफूले आफैंलाई बारम्बार जाँच गरिरहने र शंका लागे तुरून्त नजिकको अस्पताल जानु पर्छ । आफूसँग बस्‍ने कोही साथीलाई संक्रमण भएको शंका लागेमा आफूले पनि होसियारी अपनाउने र साथीलाई पनि उपचारको लागि सहयोग गर्न जरूरी हुन्छ । विश्वमा नै महामारी भइरहेको बेला आफू बसेको राष्ट्रलाई आफूले पनि सकेको सहयोग गर्ने र यसको नियन्त्रण गर्न सहयोग पुर्‍याउने हामी सबैको कर्तव्य हो ।


दूतावासले सूचना जारी गरेपछि हरेक शुक्रबार हुने नेपाली समुदायले गर्ने कार्यक्रमहरू हुन छाडेका छन् । दुबई क्षेत्रमा क्लबहरूमा हुने कार्यक्रमहरू भने यथावत जारी रहेका छन् । शुक्रबार बेलुकीमात्र दुबईमा गायकद्वय नरेन्द्र प्यासी र सुगम पोखरेलका पूर्व निर्धारित सांगीतिक कार्यक्रमहरू यथावत रूपमा भए । सधैँजस्तो भीड रहने दुबईको नेपाली पार्कमा शुक्रबार केही कम नेपालीहरू भेला भए । सपिङ मलहरूमा पनि अन्य दिनहरूभन्दा कम नेपाली जान थालेका छन् ।


परिस्थिति अझ बिग्रदै गए खाडी राष्ट्रहरूको अर्थतन्त्र पनि जोखिममा पर्नेछ । यहाँका कम्पनीहरूको भविष्य र ती कम्पनीमा कार्यरत नेपालीहरूको कामबारे अहिले नै भविष्यवाणी गर्नु हतारो हुनेछ । तर, के अनुमान गर्न सकिन्छ भने यस्तै अवस्था बढ्दै गए निश्चय नै ती कम्पनीहरूले धेरै कामदार कटौती गर्नेछन् । अवस्था नियन्त्रणमा नआए केही कम्पनीले आˆना कामदारहरूलाई एक/दुई महिना बेतलबी विदा दिन सक्ने स्थिति पनि देखिन्छ ।


यस्तो अवस्थामा नेपाल जान पनि नसकिने र आˆनै खर्चमा कोठामा बस्नुपर्ने भएमा आर्थिक भार पर्नेछ । त्यसैले विदेशमा बस्ने विशेष गरी खाडी मुलुकहरूमा रहेका नेपाली कामदारहरूले अहिलेदेखि नै फजुल खर्चमा कटौती गर्न जरूरी छ । प्रकाशित : चैत्र २, २०७६ १४:४९

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दार्जिलिङमा पनि ‘हमजाएगा’

मनोज बोगटी

दार्जिलिङ — नेपालमा सुरेन्द्र पुनले जुन नाममा चलचित्र निर्देशन गरेका थिए, त्यही नाममा दार्जिलिङमा पनि आदित्य रायाले चलचित्र निर्देशन गरेका छन्। चलचित्र हो -हमजाएगा। दुवै चलचित्रको मिल्ने कुरा के हो भने दुवै चलचित्र हमजाएगाको वायोपिक होइन। 

हमजाएगा कथा भन्‍न प्रयोग गरिएको चरित्र मात्र हुन् । आजका चलचित्र निर्माताहरूलाई चलचित्र बनाउन प्रेरित गर्ने हमजाएगा आफैंले पनि चलचित्रमा अभिनय गरिसकेका छन् । दार्जिलिङकै चलचित्र निर्देशक तुलसी घिमिरेले ७० वर्षीय हमजाएगालाई चलचित्र कुसुमे रुमाल-मा अभिनय गराएका थिए । अघिबाटै चलचित्र पुनर्जन्म बनाइसकेका आदित्य रायाको हमजाएगा दोस्रो चलचित्र हो ।
वैष्णवी प्रोडक्सनद्वारा निर्मित हमजाएगाको सुटिङ सन्दकपूर, टाइगरहिल र टंगलुमा गरिएको छ। अप्रिलमा दार्जिलिङमा यसको प्रिमियर सो हुने भएको छ। चलचित्रमा दार्जिलिङका नाट्य कलाकारहरू ललित गोले, हेमन्त गिरी, जीवन गुरूङ, देवराज शेर्पा अनि अरुण प्रकाश राईले अभिनय गरेका छन् ।

अन्य २५ कलाकारहरूसितै प्रमुख चरित्रमा आदर्श थामी, अञ्जली सुब्बा अनि आर्यन विशुंके पनि छन्। ‘दर्शकलाई हँसाउनैको निम्ति भनेर हामीले यो चलचित्र बनाएका होइनौं,’ निर्देशक आदित्य रायाले कान्तिपुरलाई भने, ‘सामान्य मानिसका संघर्षबारे बोल्ने पात्रकोरुपमा हमजाएगालाई चलचित्रमा उतारेका छौं।’

२०१८ को अक्टोबरदेखि हमजाएगाको सुटिङ भएको हो । सुटिङकै क्रममा कलाकार जीवन गुरुङ अनि क्यामेराम्यान विनय शंकर दुर्घटनामा परेपछि सुटिङ सक्न ढिलो भएको रायाले जनाएका छन् ।

हमजाएगा जोक्सको क्षेत्रमा अत्याधिक चर्चित नाम हुन् । हमजाएगाको वास्तविक नाम दलबहादुर गुरुङ हो । दार्जिलिङको चुङथुङमा जन्मिएका गुरुङ अमेरिकी सेना पनि थिए । सेनामा नै वाहन चलाउन सिकेका गुरुङले अवकासपछि दार्जिलिङमा नै पर्यटक घुमाउने काम गर्थे ।
हमजाएगा सुरुमा हाँस्य कलाकारको नाम थिएन । उनको नामसित जोडिएको एउटा रोचक किस्सा छ । टाइगर हिल घुम्‍न पर्यटक आएका थिए । उनले सोधे, ‘हु वान्ट्स टु गो ? ’ चालकहरूको भीडभाडबाट एउटा चहकिलो आवाज आयो, ‘हम जाएगा।’ त्यो आवाज तिनै दलबहादुर गुरुङको थियो । त्यसपछि सबैले उडाउँदै गुरुङलाई हमजाएका भन्न थालेको रायाले बताए।

त्यसपछि दलबहादुर गुरुङको नाम नै हमजाएगा बस्यो । वाहन चलाउँदै उनी यात्रीहरूलाई जोक्स सुनाउँथे । ती नै जोक्स विस्तारै लोकप्रिय बनेका हुन् । पछि हरेक कुनै जोक्समा पनि उनको नाम जोडिन थालेको हो ।

विजयकुमार राईले हमजाएगाका जोक्सहरूको किताब दार्जिलिङबाट नै प्रकाशित गरिसकेका छन् । ‘ती नै हमजाएकाका किस्साहरू जोडेर अब चलचित्र पनि बनाएका हौं,’ रायाले भने, ‘चलचित्रबाट फरक ढङ्गले सपना देख्ने साधरण मानिसको कथा भनेका छौं ।’

प्रकाशित : चैत्र २, २०७६ १४:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×