१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

जय मोबाइल !

सुलोचना गौतम

केही  समय अगाडि मैले कुनै पत्रिकामा एउटा लेख पढेको थिएँ । मोबाइल र यसले बच्चाहरुमा पारेको असरको सम्बन्धमा । शीर्षक थियो 'डिजिटल दुनियाँ' । शीर्षक देख्दै पढौं पढौं लाग्यो, पढ्दै गाएँ । रमाइलो लाग्यो ।

जय मोबाइल !

तर यो त्यो समयको कुरा हो जब म अविवाहित थिए । मैले सोचें ठिकै त हो नि, यदि केटाकेटीलाई मोबाइलबाट मनोरञ्जन दिन सकिन्छ भने अविभावकको समय पनि बच्ने, केटाकेटीले पिराउने समस्याबाट मुक्त पनि होइने ।


यस्तो व्यस्त जीवनमा समयको कत्रो महत्व छ । मोबाइलले समस्या समाधान गरिदियो, सजिलो भयो । तर आज मेरो विवाह भएको दुई वर्ष बित्न लाग्यो । सानो छोरो पनि छ । मलाई अच्चम लाग्छ कि, मेरो ७ महिनाको छोरा मोबाइल बिना लिटो खाँदैन, दूध पिउँदैन । बल्ल मैले महसुस गरे कि अविभावकको लागि यो त बडो दुःखको विषय पो रहेछ ।

हरेक आमाको इच्छा हुन्छ कि आफ्नो बच्चालाई खेलाइ/खेलाइ, हँसाइ/हँसाइ, कोखाइ/कोखाइ भनि खुवाउने । आजकालका केटाकेटीलाई आमाको कोखाइ/कोखाइ भन्ने शैली भन्दा ’बाबा ब्ल्याक सिप...’, ’व्हिल्स अन द बस...’ को संगीत प्रिय लाग्छ ।


केही समय अगाडि प्रसुती गृहसँगै रहेको चमेना गृहमा चिया खान पसेँ । म भन्दा पछाडि दुईजना महिला एउटा सानो बच्चा बोकेर खाजा खाँदै थिए । झलक्क हेर्दा त्यो सानो बच्चा करिव दुई/तीन महिनाको जस्तो देखिन्थ्यो । बच्चा बेस्सरी रुन थाल्यो, दुवैले चुप लगाउन प्रयास गरे, तर केही सीप लागेन । त्यत्तिकैमा कसैको मोबाइलमा रिंगटोन बज्यो, बच्चो चुप लाग्यो । मलाई अजिब लाग्यो, मनमनै भने आम्मै ! उम्रिँदैको तीन पात !


हुन त स-साना केटाकेटीमा मात्र हैन, ठूला मानिसहरुमा पनि यो लागू हुन्छ । मेरो गर्भ ६/७ महिनाको हुँदा, जब पेटमा बच्चा चल्थ्यो तब मलाई कता कता दुखे जस्तो हुन्थ्यो अनि म श्रीमानलाई सुनाउँथे । उहाँले अब उसले सुत्छु भनेको हो के, उसलाई सुताउ भन्दै मोबाइल मा सिम्फोनी संगीत बजाएर मेरो पेट माथि राखिदिनु हुन्थ्यो । अच्चम को कुरा के छ भने जब बजिरहेको मोबाइल मेरो पेट माथि हुन्थ्यो उ सँगै म पनि आरामले निदाउँथे । ९ महिनासम्मै उहाँले त्यसै गर्नुभयो र म आरामले निदाउन थालें ।


अलिकति हुर्केका र विद्यालय जाने उमेर भएका केटाकेटीको समस्या बेग्लै छ । उनीहरुले जानी सकेका छन् कि मोबाइलमा विविध प्रकारका गेम कसरी डाउनलोड हुन्छ । बिहान उठ्यो बाबाको मोबाइल, बेलुका आयो आमाको मोबाइल । राति सुत्ने समयमा पनि त्यहि गेम खेल्दाखेल्दै निदाउने, अथवा पटक्कै ननिदाउने । मोबाइल नदिए परको चिसो कुनामा गएर लम्पसार परिदिने । टोलाउने, एकोहोरो हुने, झर्किने आदि समस्या त छँदैछ । निद्रामा मोबाइलमै दिउँसो हेरेको कुरा बर्बराउने समेत देखिन थालेको छ । यही र यस्तै क्रम चल्दै जाने हो भने बाल मस्तिष्क घात हुने त छँदैछ, अरु डरलाग्दा समस्या जस्तैः एक्लै हाँस्ने, एक्लै रुने, बिनाकारण दुःखी देखिने, आमाबाबुको बेवास्ता गर्ने जस्ता समस्या पनि देखिने छ भन्नेमा अत्युक्ति नहोला ।


मैले सामाजिक सञ्जालमा भेटेको एउटा सानो प्रसंग उल्लेख गर्न मन लाग्यो । एउटा बच्चाले आफ्नो हजुरबुबालाई सोधेका थिए- हजुरबुबा तपाईंहरुले समय कसरी बिताउनु हुन्थ्यो ? त्यति बेला न मोबाइल थियो न इन्टरनेट न कम्प्युटर न ल्यापटप न च्याट हुन्थ्यो न स्काइप र भाइबरमा कुरा, कसरी बित्थ्यो समय हजुरबुबा ? हजुरबुबाले उत्तर दिनुभयो- जस्तो अहिले तिमीहरुको समय बितेको छ, न पुजा छ न प्रार्थना, न मित्र छ न मित्रता, न सापटी न सहयोग, न आमाबुबालाई सम्मान, न इज्जत न आदर, न बोलीमा मिठास न विनम्रता । कसले त्यो पोष्ट गरेको थियो नाम त याद भएन तर त्यो पोष्टले मलाई धेरै गम्भीर बनायो । यसो सोचेँ हो त नि, के छ र अहिले पहिले जस्तो ? प्रविधिले अन्धभक्त बनाएको दुनियाँमा कसलाई कसको मतलब ! हुँदाहुँदै मलामी जाँदै गरेको र हृवार-हृवार बल्दै गरेको चिताको तस्बिर समेत सामाजिक सञ्जालको भित्तामा देखिन थालेको छ । 'फलानोको मलामी जाँदै..' भन्ने क्याप्सनसहित देखिएका यस्ता तस्बिरमा हजारौं लाइक र कमेन्टका वर्षा हुन्छन् ।


युवा पुस्ताहरुको कुरा बेग्लै छ । उनीहरु त काम होस् या नहोस् हरबखत ब्यस्त नै हुन्छन् . बसमा, बाटोमा, कलेजमा जुनसुकै स्थानमा । बाटोमा हिँड्दा दोस्रो मान्छेसँग ठोक्किँदा अनुहारमा समेत नहेरी ’सरी’ भनेर हिँड्ने युवावर्गलाई के भन्नु खै ? टाढा जानै पर्दैन दुनियाँ यति धेरै डिजिटल भएछ कि घरको सदस्य खुसी भएको, दुःखी भएको वा निराश भएको कुरा समेत फेसबुकले बताउने रे ! लेखेको हुन्छ- फिलिंग स्याड, फिलिंग हृयाप्पी । अब हुँदाहुँदा सम्बन्धका कुरा समेत त्यसरी नै पो थाहा हुन थाले, फलानो इन रिलेसनासीप ।


हुनत सामाजिक सञ्जाल अथाह समुन्द्र हो । यहाँ डुबुल्की मार्न सक्नेले गहिराइमा पुगेर मोती ल्याएका पनि छन् , डुब्न नसक्नेले पौडेको पौड्यै गरेका छन् न त मोती भेट्टाउछन् न त किनारमा फर्किएर बाहिर निस्कन सक्छन् ।


अझ घर बस्ने गृहिणीहरुको व्यथा बेग्लै छ । श्रीमान घर आउने समय हेर्दै बसेका उनीहरुका श्रीमान घर त आउँछन् , तर आफ्नो आँखालाई स्मार्ट फोनमा लिन गराँउदै । अस्ती भर्खरको कुरा हो साँझपख ढोकाको घन्टी बज्यो अनि म दौडिँदै ढोका खोल्न गएँ, ढोका खोलेँ । उहाँ (श्रीमान) आउनुभएको रहेछ । उहाँको आँखा हातको मोबाइलमा थियो । करिब १ मिनेट जति म ढोका खोलेर बसेँ, उहाँको ध्यान अझै मोबाइल मै छ । केही छिन पछि पुलुक्क मतिर हेरेर भन्नुभयो, 'ए ! ढोका खोल्यौ ?' मैले भने, 'अघि नै खोलेर कुरिरहेको छु ।'


ल अब के गर्न सकिएला त ! सम्पूर्ण जगत नै स्मार्ट फोनको दुनियाँमा लिप्त भएपछि । सबैले आफ्नो पनि खल्ती छाम्दै ए ... मसँग पनि छ नि स्मार्ट फोन भन्दै दंग पर्ने बाहेक अर्को कुनै उपाय छैन । जय मोबाइल !

प्रकाशित : माघ १४, २०७६ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?