कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

जसपा महाधिवेशनको अपेक्षा

सुरेशकुमार मण्डल

विभिन्न पार्टीसँगको जुटफुटदेखि यहाँसम्म आइपुग्दा जनता समाजवादी पार्टी नेपालले लामो इतिहास तय गरिसकेको छ । भर्खरैको पार्टी फुटको घटनालाई अन्तःस्करणसम्म पुगेर व्याख्या विश्लेषण गर्न जरुरी छ । आखिर पार्टी किन बारम्बार फुट्छ ? फुटको कारण, प्रकृति र प्रवृत्तिबारे निर्दयी भएर छलफल गर्नुपर्छ र ठोस निष्कर्षका आधारमा आगामी यात्रा तय गरिनुपर्छ । 

जसपा महाधिवेशनको अपेक्षा

जसपा नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशन सोमबारदेखि मधेश प्रदेशको राजधानी जनकपुरधाममा सुरु भएको छ । यही सन्दर्भमा जसपाको आधारक्षेत्र मधेश भएकाले मधेश र समाजवाद दुवैलाई आधार बनाई नयाँ मोर्चाबन्दीको आवश्यकता छ । हिजोका क्रान्तिकारीहरू आज यथास्थितिवादी शासक जाति र वर्गमा परिणत भएका छन् । उनीहरूले नेपाली आन्दोलनलाई जुन बिन्दुमा छाडेका थिए, जसपा नेपालले आन्दोलनलाई त्यही बिन्दुबाट उठान गर्नुपर्छ र नयाँ स्तरमा विकास गर्नुपर्छ । त्यो भनेको पहिचानमा आधारित स्वायत्त शासनसहितको संघीय प्रणाली हो । जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारिणी अधिकार भएको राष्ट्रपतीय शासन प्रणाली, पूर्ण समानुपातिक संसद्, निर्वाचन प्रणालीमा परिवर्तनजस्ता एजेन्डा तय गरिनुपर्छ । अधिकार र पहिचानमा आधारित राज्यको पुनःसीमांकन, बहुभाषिक नीति, सत्ता र शक्तिको केन्द्रमा रहेका एकल जातीय प्रभुत्व र आधिपत्यको अन्त्य, समानुपातिक, समावेशीकरणलाई पनि मूल मुद्दाका रूपमा अघि बढाउन जरुरी छ । साथै, आरक्षणलाई अझै ठोस र मूर्त बनाउने, सीमान्तकृत समुदायको सशक्तीकरण र समावेशीकरण, जातीय एवं लैंगिक विभेदको अन्त्य, सामाजिक न्याय र आर्थिक न्यायको प्रत्याभूति जस्ता एजेन्डा पूरा भएमा संघीय लोकतान्त्रिक गणतन्त्रको अधुरो कार्यभार पूरा हुन सक्छ । त्यसपछि मात्र देश वास्तविक रूपमा समाजवादी युगमा प्रवेश गर्नेछ ।

नेपाली राजनीतिमा जरो गाडेको सामन्तवादी, पुँजीवादी र साम्यवादी शक्तिको विकल्पमा समाजवादी लोकतान्त्रिक धारको सबल र सक्षम क्रान्तिकारी समाजवादी शक्ति निर्माण गर्न जरुरी छ । जसले देशलाई साँचो अर्थमा लोकतन्त्र, संघीयता, गणतन्त्र, सुशासन, समृद्धि, सामाजिक न्याय र समाजवादी लोकतान्त्रिक युगमा प्रवेश गराउने संकल्प गरोस् । यो यात्राका लागि जसपा नेपालले आफूलाई वैचारिक, सैद्धान्तिक र दार्शनिक हिसाबले मजबुत, मुद्दा र एजेन्डाका हिसाबले स्पष्ट र संगठनका हिसाबले चुस्त दुरुस्त र अनुशासित बनाउन जरुरी छ । त्यसकारण यो महाधिवेशनबाट जसपा नेपाललाई यस्तो पार्टीका रूपमा निर्माण गर्न आवश्यक छ, जसको स्पष्ट राजनीतिक एजेन्डा होस्, पार्टीका सदस्यहरू पार्टीले अख्तियार गरेको विचार र सिद्धान्तमा अटाउन सकून् । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक बदलावबारे दर्शनिक प्रस्टता, सुस्पष्ट धारणा बन्न सकोस् । समाज र समाजवादको हरेक पक्षबारे सही राजनीतिक दृष्टिकोण र बुझाइ निर्माण हुन सकोस् । पार्टीका प्रत्येक सदस्यलाई आफ्नो गन्तव्य र बाटोका बारेमा राम्ररी थाहा होस् । प्रत्येक जातजाति, समुदाय, क्षेत्र, लिंग र धर्मले जसपा नेपालमा आफ्नो अपनत्व र प्रतिनिधित्व भएको महसुस गरुन् । आधुनिक युग सुहाउँदो विज्ञानका सबै प्रविधि र सुविधा उपलब्ध होस् । पार्टीको आयव्यय कोष र आर्थिक स्रोत साधन पारदर्शी होस् । अध्ययन र प्रशिक्षणको तन्दुरुस्त व्यवस्था होस् । पार्टी सञ्चालन समावेशी नेतृत्व र सामूहिक निर्णयबाट होस् ।

दर्शन, नीति, सिद्धान्त, सडक, सदन र संगठनमा मधेशलाई आधार बनाई पहिचान, समावेशिता, संघीयता तथा समाजवादका नेतृत्व गरिरहेका जसपा नेपालमा अझै वैचारिक निखार आउन जरुरी छ । मधेशमा रहेका अन्य मधेशी दललाई साथमा लिई अगाडि बढ्न जरुरी छ । शासक वर्ग फेरि मधेशलाई द्वन्द्वमा धकेलेर रमिता हेर्न तम्तयार छ । मधेशलाई आन्तरिक द्वन्द्वमा फसाउन, धार्मिक अन्धभक्तहरूलाई (चाहे हिन्दु होस् या मुस्लिम) प्रयोग गरेर मधेश–मधेशी र समग्र मधेश अधिकारको आन्दोलनलाई कमजोर पार्न भरमग्दुर प्रयास भइरहेको छ । संघीयतामाथि भइरहेको प्रहार र षड्यन्त्र रोक्न संघीयताको जननी समग्र मधेश सशक्त हुनैपर्छ । संघीयताको मर्म र भावनाअनुसार राज्य पुनःसंरचना आयोगको प्रतिवेदनअनुकूल ६ टुक्रामा टुक्रिएको मधेशलाई समेटेर बढीमा दुई प्रदेशमा (नारायणीपूर्व मेचीसम्म र नारायणी पश्चिम महाकालीसम्म) गएर मधेशको शक्ति सञ्चय गर्न सक्छौं । समग्र मधेशलाई समेटी सिद्धान्त र विचार मिल्नेसँग एकता/मोर्चा गरी मधेशलाई एउटा सशक्त राजनीतिक पक्षका रूपमा निर्माण गर्नु जरुरी छ ।

मधेशमा दिन प्रतिदिन विकृति, विसंगति, अशिक्षा र अविकासले प्रश्रय पाइरहेको छ । स्कुल, कलेजहरू नियमित पठनपाठन र अनुशासन अभावका कारण धराशायी भइरहेका छन् । बाटोघाटो, सडक यातायातको अवस्था प्रायः जीर्ण छ । सरकारी कार्यालयहरू अनियमितता र भ्रष्टाचारको अखडा बनेका छन् । दाइजो, बोक्सी, छुवाछूत र अन्धविश्वास जस्ता सामाजिक कुरीति र विकृति उत्कर्षमा छ । यस्ता विकृति र विसंगतिबारे हामी र हाम्रो नेतृत्व बोल्ने कि नबोल्ने ? मलाई लाग्छ, जसपा नेपालले यसको थालनी यही एकताको प्रथम महाधिवेशनबाट गर्न सक्नुपर्छ । मधेशका युवामा व्याप्त विकृति, दुर्व्यसन र अराजकतालाई समयमा रोक्न सकिएन भने भोलिको मधेश डरलाग्दो र सम्हाल्नै नसकिने भेलमा डुब्न सक्छ । गरिबी, अशिक्षा, अन्धविश्वास र अराजकतासँग लड्न सामाजिक चिन्तन र युवामैत्री चेत भएको राजनीतिक दल जरुरी छ । यस महाधिवेशनलाई नीति, विचार, सिद्धान्त र संगठन संरचनाको विषयमा केन्द्रित गराउन सके मात्र जसपा नेपालले राष्ट्रिय राजनीतिमा नयाँ उचाइ प्राप्त गर्न सक्छ ।

संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व र पहिचानको सुनिश्चितता जसपा नेपाल र मधेश आन्दोलनका उपलब्धि हुन् । यी उपलब्धिको रक्षा तथा संस्थागत गर्नु जसपा नेपालको पहिलो दायित्व हो । समावेशी लोकतन्त्रलाई आत्मसात् गर्दै सामाजिक सुरक्षा, सांस्कृतिक अधिकार र सहभागिता जस्ता महत्त्वपूर्ण एजेन्डालाई साथ लिएर अगाडि बढ्नुपर्छ । यसले सामाजिक द्वन्द्व, असमानता, विभेद, अन्याय र अत्याचारको अन्त्य गर्नेछ । यसैको जगमा जसपा नेपालले मधेशका साथै समग्र देशको आर्थिक विकास र समृद्धिको आधारशिला तय गर्नेछ ।

– मण्डल जसपा नेपाल राजनीतिक समितिका सदस्य तथा पूर्वमन्त्री हुन् ।

प्रकाशित : जेष्ठ २९, २०८१ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×