कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

पर्यटनको विविधता र स्थानीयकरण

सोमत घिमिरे

नेपालमा पर्वतारोहणबाट पर्यटन सुरु भयो । पर्वतारोहणबाट वन्यजन्तुमा सर्‍यो र अहिले अलिकति फैलावट भएको छ । तर हाम्रा पर्यटन उद्योगका मान्यता के हुन्, पर्यटन उद्योगले दिनुपर्ने योगदान के हो भन्ने विषयमा गहिरो छलफल छैन । अझ अर्को अप्ठेरो विषय छ, पर्यटनका मूल खम्बा आदिवासी जानजाति समुदायले पर्यटनबाट के लाभ पाए ?

पर्यटनको विविधता र स्थानीयकरण

गरिब र सीमान्तकरणमा परेकाहरू पर्यटनबाट कसरी लाभान्वित भए ? नेपालको गरिबी निवारणमा पर्यटनको योगदान के हो ? हिमाल मात्रै भएर हुँदैन थियो ।

हिमाली वातावरणमा घुलमिल भएका हिमाली पर्यावरणमा अव्यस्त शेर्पा नभएको भए पर्वतारोहण पर्यटनको स्थिति के हुन्थ्यो ? चितवन राष्ट्रिय निकुञ्जलाई वन्यजन्तुकेन्द्रित पर्यटनका रूपमा विश्वभरि चिनाइयो । निकुञ्जभित्र पर्यटकलाई डुंगा तार्ने सीप बोटे, माझी, मुसहरहरूसँग थियो । निकुञ्जमा पर्यटन त बढ्यो तर बोटे, माझी र मुसहरहरू झन् सीमान्तकरणमा परे । पर्यटनबाट लाभ लिन सकेनन् । अहिलेको नामी पर्यटकीय स्थल सौराहा थारूहरूको आदिम भूमि हो । तर, अहिले सौराहाको पर्यटनमा थारू छैनन् । पर्यटन विकास त भएको छ । हिमाली भेगका हिमालको बाटो पर्ने भेगका शेर्पाबाहेक पर्यटनले स्थानीय समुदायको जीवनस्तर उठाउन नसकेको मात्रै होइन, स्थिति झन् जटिल बनाएको छ । कुनै बेलाको घिसिङ राज्य नगरकोटबाट अहिले तामाङहरू विस्थापित छन्, अरू कसैले पर्यटन व्यवसाय गरिरहेका छन् । जिरीमा पर्यटनको विकास त भयो तर रैथाने जिरेल हराए । पोखरा पर्यटनको राजधानी घोषणा त गरियो तर रैथाने गन्धर्वहरू कहाँ छन्, थाहा छैन । आदिवासी जनजाति समुदायको मात्रै कुरा होइन, सीमान्तरकणमा परेका गरिबहरूले पर्यटनबाट लाभ लिन सकेकै छैनन् । यो अहिलेसम्मको हाम्रो अनुभव हो ।

हामीले हाम्रो पर्यटनलाई समृद्धिको आधार मान्नु अनुचित कुरा होइन, तर अहिलेकै मोडलको पर्यटनबाट सामुदायिक समृद्धि सम्भव छ ? अनुभवले सम्भव देखाएन ।

सानो उदाहरण हेरौं । चितवन राष्ट्रिय निकुञ्जमा जाने कुनै विदेशी पर्यटक काठमाडौंको विमानस्थलमा झर्छ । गाडीबाटै ऊ कुनै होटलमा पुग्छ । भोलिपल्ट विमानस्थलबाट चितवन झर्छ । सौराहाका होटलले आफ्नै गाडीमा लगेर स्वागत गर्छन् । पर्यटकले विदेशी रक्सी खान्छन् । ठूला होटलले विदेशबाट कुखुराको मासु ल्याउँछन् । बहुराष्ट्रिय कम्पनीको पेय पदार्थ खान्छन् । होटलकै गाडीमा जंगल सफारी गर्छन् र काठमाडौं फर्कन्छन् । यो प्रक्रियाबाट गरिबहरूमा पैसा कहाँनेरबाट चुहिन्छ ? चितवनको हकमा थारू नाच हेर्‍यो भने थोरै पैसा थारूकहाँ जान्छ । नत्र पैसा चुहिने ठाउँ नै छैन । त्यसो भएर आलोचकहरू अहिलेको पर्यटनलाई सम्भ्रान्तकेन्द्रित पर्यटन.भन्छन्, थोरै घरानाले नाफा पाउने । अहिलेको मूल प्रश्न भनेको पर्यटनलाई सामाजिक न्यायका हिसाबले कसरी बुझ्ने ? लाभको वितरणलाई न्यायमुखी कसरी बनाउने भन्ने हो । एकातिर हाम्रोमा पर्यटकीय सम्भावना धेरै भएर पनि थोरै पर्यटक भित्रिन्छन् । त्यसमाथि पनि सीमान्तकृत समुदायकहाँ पर्यटनको लाभ पुग्दै पुग्दैन । गरिबी निवारणका लागि पर्यटन भन्ने विषय कागजमै सीमित छ । यी सबै अनुभवलाई ख्याल राखेर अब पर्यटनको बाटो पक्रन सकेनौं भने यो उद्योगबाट हामीले लाभ लिन सक्दैनौं । त्यसो हो भने हाम्रो पर्यटनको बाटो के हो ?

अहिले विश्वव्यापी रूपमा पर्यटनका तीन आयामलाई विश्लेषण गरिएको छ– स्थानीय अर्थतन्त्र, उत्पादन र रोजगारी । अघिल्लो खण्डमा स्थानीय अर्थतन्त्रको छोटो विश्लेषण गरियो । पर्यटनले स्थानीय उत्पादन कति बढाएको छ । स्थानीय उत्पादनलाई खाद्यान्नको दृष्टिकोणबाट मात्रै नभएर पेय पदार्थ र हस्तकलाका दृष्टिकोणले पनि विश्लेषण गरिनुपर्‍यो । हस्तकला हाम्रा परम्परागत ज्ञान, सीप र प्रविधिका आधारमा बनाइने अनेक सामग्री हुन्, जसको मौलिकताले पर्यटकलाई आकर्षित गर्छ । हामीले स्थानीय स्तरमा उत्पादन बढाउन के रणनीति अपनायौं ? यो दृष्टिकोणबाट विश्लेषण गर्ने हो भने हामी धेरै सतहमा छौं । मैले आफ्नै नेतृत्वमा चितवनमा गरेको अध्ययनमा हाँसबाहेक केही उत्पादन बढेको छैन । स्थानीय समुदायमा पैसा पुग्ने भनेको स्थानीय उत्पादनमार्फत हो । पर्यटकीय क्षेत्रमा बाहिर उत्पादन भएको खानाले एकैचोटि तीनवटा असर गर्छ । पहिलो त खानाको मौलिकता पर्यटकका लागि उपलब्ध हुँदैन । पर्यटकनलाई हरेक दिन उत्सवजस्तो बनाउनुपर्छ । उत्सवजस्तो बनाउन खानाको ठूलो भूमिका छ । काठमाडौंमा जे खायो सोलुमा वा कर्णालीमा पनि त्यही खाना पर्यटकका लागि आनन्ददायी विषय होइन । निकै नामी पर्यटकीय क्षेत्र घले गाउँमा गरिएको एक अनुसन्धानमा गुन्द्रुकमा मात्रै आत्मनिर्भर देखियो । धेरै बाहिरबाटै जान्छ खाद्यान्न । बाहिरबाट खाद्यान्न जानु भनेको पैसा बाहिर जानु पनि हो ।

यो स्थितिमा हामीले पर्यटकीय क्षेत्रलाई केन्द्र मानेर वरिपरिका बस्तीलाई उत्पादनको केन्द्र बनाउनुपर्छ । यस्ता उत्पादनका केन्द्र पनि पर्यटकीय स्थलकै रूपमा विकास गरिनुपर्छ । पर्यटकले मौलिक खाना, हस्तकला, मौलिक पेय पदार्थ खाऊन् मात्रै होइन, किनेर लैजाऊन् र यस्ता स्थलको अवलोकन गरुन् । जसले गर्दा पर्यटकको बसाइ लम्बिन्छ । पर्यटकहरूको बसाइ लम्बिनु भनेको गाउँमा पैसा पुग्नु हो । पर्यटन व्यवसायमा एउटा भनाइ चर्चित छ, पर्यटनमा धेरै धुमधडका छैन । दुईवटा कुरा गरे हुन्छ । दुई दिनका लागि गएको पर्यटकलाई चार दिन राख्न सके हुन्छ । मौलिक सामानको उपलब्धताले किनौंकिनौं बनाएर भएको पैसा सकेर ऋण खोज्नुपर्ने बनाउनुपर्‍यो । पर्यटक पैसा लिएर फिर्ता नहोस् । अहिले हाम्रो पर्यटन उद्योगले यो दृष्टिकोणबाट काम गर्न सकेकै छैन । यदि स्थानीय उत्पादन बढाइँदैन र त्यसलाई बजारसम्म पुर्‍याइँदैन भने स्थानीय अर्थतन्त्रको सबलीकरण नै हुँदैन । जसले होटल खोल्यो उसैलाई मात्रै हुन्छ । त्यसो भएको हुनाले पर्यटनको प्राथमिक काम उत्पादन बढाउनु हो । जमिनमा आधारित उत्पादन, पानीमा आधारित उत्पादन, जंगलमा आधारित उत्पादन, दलित समुदायसँग भएको वैज्ञानिक सीपलाई प्रयोग गरी गरिने उत्पादन हाम्रा लागि उपयुक्त बाटा हुन् । यो बाटो अवलम्बन गरिएन भने पर्यटक धेरै आउँदा पनि स्थानीय अर्थतन्त्रको सबलीकरण हुँदैन । गरिबी निवारणमा खास टेवा पुग्दैन । तर हाम्रो पर्यटनसँग जोडिएको उत्पादनको छलफल मृतप्रायः छ ।

ज्ञान, सीप र प्रविधि

पर्यटनको अर्को काम रोजगारी सिर्जना गर्ने हो । अहिले नेपालमा मात्रै नभएर विश्वभरि नै रोजगारीको संकट छ । नेपाली सन्दर्भलाई विश्लेषण गर्ने हो भने पर्यटन उद्योगले रोजगारी सिर्जना गर्नुपर्छ । स्वउद्यमसँग जोडिएको रोजगारी । स्थानीय समुदाय संलग्न भएको रोजगारी । चितवनमा गरिएको अध्ययनमा होटलहरूले कम आम्दानी हुने रोजगारी पाएका छन् । आजभन्दा २० वर्षअघिको भन्दा यो सकारात्मक हो । तर यसले पुग्दैन ।

होटलले दिने रोजगारीले मात्रै, उत्पादन र प्रशोधनसँग जोडिएको स्वउद्याम हाम्रो बाटो हुनुपर्छ । स्थानीय समुदायको परम्परागत ज्ञान, सीप र प्रविधिको आधारमा उद्यम विकास गरिनुपर्छ । जसले पर्यटकलाई मौलिकता र विविधतासँग साक्षात्कार गराउँछ । एउटा पर्यटकीय क्षेत्रको वरिपरि धेरै समुदाय बस्छन् । धेरै समुदायले आफ्नो ज्ञान, सीप प्रयोग गर्ने अवसर भयो । उत्पादित वस्तुको बजारीकरणका लागि नयाँ सीप सिक्ने मौका भयो । स्थानीय ज्ञान, सीप र प्रविधि जब जीविकामा जोडिन्छ, त्यसले ज्ञान, सीप र प्रविधि जोगाउनुपर्ने भाषणको जरुरी पर्दैन । अहिलेको हाम्रो विकास प्रक्रियाले स्थानीय ज्ञान, सीप र प्रविधिले जीविकाको सम्बन्ध नदेखाएकाले ज्ञान, सीप र प्रविधि जोगाउन हैरान छ । धेरै त हराइसके । धेरै वर्ष लगाएर हाम्रो पुर्खाले कठोर संघर्ष गरेर व्यवहार र जीवनबाट सिक्दै र परीक्षण गर्दै प्राप्त भएको ज्ञान हराउँदै जानु भनेको सभ्यताकै संकट हो । अब हामीले हाम्रो पर्यटनलाई सभ्यताको मर्मसँग खोज्नुपर्छ । पर्यटकले खोज्ने पनि यही हो ।

पर्यटन र विविधता

हामीले हाम्रो पर्यटनको प्रवर्द्धन गर्न एउटा ठूलो संकट आएको छ । हाम्रो विविधतालाई नष्ट गरिरहेका छौं । कृषिको विविधता, खानपानको विविधता, संस्कृतिको विविधतालाई आधुनिकता र विकासका नाममा एउटा सूत्रमा लगिएको छ । हामीलाई हाम्रा सहर पेरिसजस्ता बनाउन मन छ । जो हामी कहिल्यै बनाउन सक्दैनौं । अर्को पेरिस वा वासिङ्टन डीसी नेपाल घुम्न आउने पर्यटकका लागि लोभलाग्दो विषय होइन । हामीले आफ्नो पहिचान, मौलिकता र सांस्कृतिक विविधतालाई पर्यटनसँग जोडेर विकास गर्‍यौं भने यसले बाह्य र आन्तरिक दुवै पर्यटकलाई आकर्षित गर्छ । सहरको मात्रै कुरा होइन घरमा जुन एकरूपता बढेको छ यो खतरनाक छ । पर्यावरणसँग लड्न, जुध्नका लागि घरमा विविधता थियो । कर्णालीमा एक प्रकार घर बन्थे, ताप्लेजुङमा अर्कै प्रकारका । यस्ता घर वैज्ञानिक दृष्टिकोणबाट पनि उपयुक्त थिए । जाडोमा तातो हुन्थ्यो, गर्मीमा चिसो । यस्तो प्रक्रियाले सीपमा विविधता थियो । ठाउँ विशेषका आफ्नै वास्तुकला थियो । घरमात्रै होइन, बस्ती व्यवस्थापन पनि विविधतामा आधारित थियो । तर आज घर भन्नेबित्तिकै इँटा, रड र सिमेन्टको जोडजाड बुझियो । बजारको परिभाषाले हामीलाई च्याप्पै समायो । उपत्यकाको बस्ती व्यवस्थापन मौलिक थियो । बिस्तारै हराउँदै गयो । एकरूपताको साँचोले सबैतिर गाँज्यो । जहाँ गए पनि उस्तै घर । जहाँ गए पनि उस्तै खाना । जहाँ गए पनि उस्तै संस्कृतिले पर्यटनको विकास हुन सक्दैन । एकरूपता पर्यटन उद्योगका लागि ज्यादै हानिकारक छ ।

एउटा उदाहरण हेरौं । अहिले भरतपुर महानगरपालिकाले आफ्नो पश्चिम क्षेत्र जगतपुर मेघौलीलाई नयाँ पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न खोजेको छ, जुन सकारात्मक छ । के चितवनलाई अर्को सौराहा जरुरी छ ? पश्चिम चितवन बोटे, माझी, थारू, कुमाल, दराईहरूको बसोबास भएको क्षेत्र हो । यी समुदायको संस्कृतिलाई केन्द्रमा राखेर पर्यटनको विकास गर्न सकिँदैन ? तर संकट के छ भने कुमाल गाउँ कुमाल गाउँजस्ता छैनन् । थारू गाउँ थारू गाउँजस्ता छैनन् । तर अझै पनि प्रयास गर्न सकिन्छ । पर्यटकका लागि थारू गाउँमा जाँदा अवलोकनबाटै थारू बुझिनुपर्‍यो । चितवनको मात्रै कुरा होइन, नेपालभरिकै पर्यटन एकरूपताको समस्यामा छ । जहाँ गए पनि त्यही कोक र बियर । न स्थानीयलाई नाफा, न पर्यटकलाई रोमाञ्चकारी अनुभव । अब हामीले हाम्रो पर्यटनलाई बढवा दिने हो भने विविधताको बाटो लिनुपर्छ ।

सांस्कृतिक ग्राम

धेरै वर्ष भयो हामीले आदिवासी जनजाति समुदायको संस्कृति झल्किने गरी संग्रहालय बनाउन थालेको । यस्तो संग्रहालयले स्थानीय समुदायको ज्ञान, सीप र प्रविधिलाई संग्रहालयमा लगेर कैद गरेको छ । विडम्बना, गाउँमा जाने हो भने परम्परागत ज्ञान, सीप र प्रविधिबाट उत्पादित वस्तुहरू देखिँदैनन् । ती हेर्न त संग्रहालय जानुपर्छ । अब हामीले बाटो फेर्नुपर्छ । हरेक गाउँलाई जीवन्त संग्रहालयका रूपमा विकास गर्नुपर्छ । कुनै पर्यटक कर्णालीको एउटा गाउँमा जाँदा नै स्थानीय ज्ञान, सीप र प्रविधिको उपयोगको मौलिकता देख्छ । अवलोकन गर्छ । यदि यो बाटो लियौं भने यस्ता विविधता धेरै छ । राई–लिम्बूसँग एक किसिमको मौलिकता हुन्छ । चेपाङ र गुरुङहरूको आफ्नै मौलिकता छ । अर्थात् विविधताले भरिपूर्ण देशमा धेरै सभ्यताहरू थिए । ती सभ्यताभित्र आफ्नो ज्ञान, सीप र प्रविधि थियो । अब हामीले प्रत्येक गाउँलाई जीवित संग्रहालयका रूपमा विकास गर्‍यौं भने पर्यटनको क्षेत्र फराकिलो हुन्छ । सरकार सातै प्रदेशमा ३०–३२ वटा यस्ता जीवित संग्रहालयको व्यवस्थापन गर्न लाग्नुपर्छ । जसबाट हाम्रो पितापुर्खादेखि जोडिएको ज्ञान र अहिलेको जीविका जोडिन्छ ।

जीवित संग्रहालय भन्ने कि नभन्ने त्यो अर्को प्रश्न हो । संग्रहालय नभने पनि हुन्छ । यस्तो ठाउँलाई सांस्कृतिक ग्राम भन्न पनि सकिन्छ । तर हरेक गाउँको मौलिकता जीवन्ततामा प्रस्तुत हुनुपर्‍यो । घनाबस्ती भएको क्षेत्रलाई सांस्कृतिक ग्राम भनेर पर्यटनको विकास गरियो भने नेपालमा धेरै पर्यटकीय क्षेत्र हुन्छन् । हिमालकेन्द्रित, वन्यजन्तुकेन्द्रित र धार्मिक पर्यटनको दायराबाट माथि उठ्न सांस्कृतिक ग्राम नेपालका लागि उपयुक्त बाटो हो ।

प्रकाशित : जेष्ठ १५, २०८१ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×