११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

रेडियो अझै सान्दर्भिक

पवन आचार्य

नेल्सनले अमेरिकामा गरेको सर्वेक्षणअनुसार, अझै ९२ प्रतिशत अमेरिकी नागरिक साप्ताहिक रूपमा रेडियो सुन्ने गर्छन् । ३५–४९ वर्ष उमेर समूहका ९५ प्रतिशत, १८–३४ वर्ष उमेर समूहका ८७ प्रतिशतले र ५० वर्षभन्दा माथिको उमेर समूहका ९२ प्रतिशतले हरेक महिना रेडियो सुन्ने गरेको तथ्यांक नेल्सनले प्रस्तुत गरेको छ । हुन त अमेरिकामै पनि गत वर्षका तुलनामा रेडियो श्रोताको संख्या घट्दै गइरहेको छ । 

रेडियो अझै सान्दर्भिक


नेपालमा पछिल्लो समय अत्यन्तै लोकप्रिय मानिएको पडकास्ट अमेरिकामा २२ प्रतिशतले साप्ताहिक रूपमा सुन्ने गरेको पाइन्छ । साप्ताहिक रूपमा टेलिभिजन हेर्नेहरू भने ८७ प्रतिशत छन् ।

नेपालमा भने अवस्था फरक छ । इन्टरनेटको सर्वसुलभताले रेडियोको उपादेयता नै खुम्च्याएको हो कि भन्ने पर्न थालेको छ । त्यसो त न्यु मिडियाको हस्तक्षेपकारी आगमन र जबर्जस्त उपस्थितिले पत्रपत्रिका, रेडियो र टेलिभिजनजस्ता परम्परागत मिडियामाथि चुनौती मात्रै थपेको छैन, तिनको भविष्य अन्त्य गर्न लागेको छ भन्नेजस्तो संकथन पनि समाजमा निर्माण हुने क्रममा छ ।

इन्टरनेटको समय मानिएको २१ औं शताब्दीमा रेडियो मर्छ त ? टेलिभिजनको जमाना भनेर ठानिएको यसअघिको समयमा पनि आफ्नो साख जोगाएको रेडियोले भविष्यको चिन्ता गर्नुपर्ने बेला आइसकेको हो ? कि ढिलो भइसकेको हो ? सन् १९४० र ५० को दशकमा टेलिभिजन विस्तार हुने समयमा धेरैले सोच्थे— अब रेडियोको दिन सकियो । दृश्यमा सबै थोक हेर्न पाइने भएपछि सुन्नेहरू को होलान् भन्ने धेरैको मनमा लाग्नु स्वाभाविक थियो । तर, त्यो कालखण्डलाई चिरेर आएको रेडियो अहिले किन खुम्चिने अवस्थामा पुग्ने तरखर गर्दै छ त ? यसको उत्तर खोज्नका लागि रेडियो दिवसजस्तो उपयुक्त दिन सायदै अर्को होला ।

आज फेब्रुअरी १३ । अर्थात्, विश्व रेडियो दिवस । स्पेनको प्रस्तावमा युनेस्कोले २०११ नोभेम्बर ३ मा हरेक वर्ष फेब्रुअरी १३ लाई रेडियो दिवसका रूपमा मनाउने घोषणा गरेको हो । त्यसयता हरेक वर्ष रेडियो दिवस मनाउने गरिएको छ । रेडियोलाई महत्त्वपूर्ण सञ्चारमाध्यमका रूपमा सम्मान गर्न, प्रसारकबीचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र सामुदायिक रेडियोमार्फत सूचनाको पहुँचलाई बढावा दिन प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । अहिले रेडियो आफ्नै भविष्यलाई लिएर चिन्ता गर्नुपर्ने अवस्थामा आइपुग्दा यो उद्देश्य कति पूर्ति भयो भन्ने छर्लङ्ग छ ।

तर, रेडियो श्रव्य माध्यम भएकाले यसको पहुँच कति फराकिलो छ, भनिरहनु पर्दैन । काठमाडौं र मोफसलका सहरमा बिहान छापिने अखबारहरू घरघर पुग्नुअघि नै रेडियोले ती सामग्री कुनाकन्दरासम्म पुर्‍याइसकेका हुन्छन् । इन्टरनेट नेपालीका लागि अझै सहज भइनसकेको र पत्रिका, टेलिभिजनको पहुँच पनि आम नेपालीमाझ विस्तार भइनसकेको र भए पनि महँगो पर्न जाने भएकाले नेपालको भूबनोट र गरिबीको हेक्का राख्दा रेडियो नै वैकल्पिक र सहज माध्यम हो ।

सँगै, इजाजत लिन होडबाजी गर्ने तर सञ्चालनमा उच्चतम व्यावसायिक अभ्यास गर्न नखोजेका कारण इजाजत लिने हजारभन्दा बढी भए पनि सञ्चालनमा ८ सयभन्दा बढी एफएम रेडियो छैनन् । बजारले खोजेकोभन्दा बढी रेडियोको संख्या, उस्तै कन्टेन्ट, दक्ष जनशक्तिको कमी, अनि साधनस्रोतको अभावले पनि रेडियोलाई पछि पारिरहेको छ गरिबको मिडियाका रूपमा परिचित रेडियोलाई समयसापेक्ष माध्यमका रूपमा विकसित गर्न सकिन्छ र पर्छ पनि । किनभने यो सस्तो छ र निःशुल्क सुन्न सकिन्छ । पत्रिका पढ्न, टीभी हेर्न जसरी थपक्क बस्नु पनि पर्दैन । अरू काम गर्दै पनि रेडियो सुन्न सकिन्छ ।

नेपालको हकमा इन्टरनेट र मोबाइल फोनको बढ्दो प्रयोगले परम्परागत सञ्चारमाध्यमको उपयोगमा कमी आउन थालेको विभिन्न सर्वेक्षणले देखाएका छन् । पत्रिका र रेडियो त इन्टरनेटको व्यापक विस्तारपछि खुम्चिनुपर्ने अवस्थामा पुगेको आभास भइसकेको छ । पहिले पाठक र श्रोताले पत्रिका र रेडियो ती सञ्चारमाध्यमको अनुकूलता र उपलब्धताका आधारमा पढ्ने र सुन्ने गर्थे । अहिले अवस्था उल्टिएर पाठक र श्रोताको अनुकूलतामा ती माध्यमको उपयोग हुने क्रम बढेको छ ।

रेडियोको सबैभन्दा सबल पक्ष भनेको विभिन्न भाषाभाषीका कार्यक्रम सञ्चालन गर्नु हो । रेडियोको फैलावट यसरी तीव्र गतिमा नहुँदो हो त मातृभाषामा देशदेशावरका सूचना र मनोरञ्जन प्राप्त गर्ने अवसरबाट भाषाभाषीहरू वञ्चित हुने थिए । यसबाट भाषा मात्र हैन, संस्कृति जगेर्नामा पनि राम्रै टेवा पुगेको छ । पहिले रेडियो नेपालले थालेको भाषाभाषीको कार्यक्रम सञ्चालनको सिको अहिले विभिन्न जिल्लामा सञ्चालित एफएम स्टेसनहरूले पनि गर्न थालिसकेका छन् । यसले गर्दा स्थानीय बासिन्दालाई उनीहरूकै लवजमा सूचना प्राप्त गर्ने अवसर जुरेको छ र त्यसले सूचनामा मिठास पनि थपेको छ । देशभरि खुलेका रेडियो स्टेसनहरूबाट विभिन्न समुदायले आफ्नै मातृभाषामा कार्यक्रम सञ्चालन गर्न पाउनाले बहुजातीय, बहुभाषिक, बहुसांस्कृति, बहुधार्मिक मुलुकको पहिचानले थोरै मात्र भए पनि सार्थकता पाएको छ । यसअघि सञ्चारजगत्मा पनि बहुपहिचानको विषय केवल संविधानको धारासम्म मात्रै सीमित थियो । विभिन्न भाषमा सञ्चालित कार्यक्रममार्फत समुदायहरूले आफ्ना अनुभूति, विचार, दृष्टिकोण आफ्नै मातृभाषामा अभिव्यक्त गर्न पाएका छन् । समाज रूपान्तरणका लागि आफूमा भएका ज्ञान, अनुभव, क्षमता र योजना प्रस्तुत गर्ने भरपर्दो थलो पनि रेडियो नै हुन पुगेको छ । यसले ती समुदायमा आत्मगौरवको विकास पनि गराएको छ ।

लोकतान्त्रिक आन्दोलन, विनाशकारी भूकम्प, बाढी र पहिरोको प्रकोपजस्ता इतिहासका महत्त्वपूर्ण कालखण्डमा नेपाली रेडियोहरूले सूचना सम्प्रेषणमा पुर्‍याएको योगदानकै कारण अहिले पनि यो विश्वासिलो माध्यमका रूपमा श्रोताका मनमा बास पाउन सफल छ । तर, अनलाइन न्युज पोर्टलहरूले छिनछिनमा विश्वभरका ताजा सूचना पाठकका हातहातका मोबाइलमा पुर्‍याउन थालेपछि रेडियोले तीव्र रूपमा सूचना प्रवाहभन्दा पनि विषयवस्तुको गहनतामा पुग्ने कोसिस गर्नुपर्ने अवस्था आएको छ । अझ सामाजिक सञ्जालमा आइसकेका सूचनालाई रेडियोले समाचारका रूपमा प्रस्तुत गर्दा श्रोताको चाहना पूर्ति हुनै सक्दैन । कुनै पनि विषयवस्तुको सांगोपांग प्रस्तुति, फरक मतलाई पनि स्थान, नेताहरूको भाषण र कटाक्षभन्दा विशेषज्ञको अनुभवमा आधारित भएर रेडियोका कार्यक्रम र समाचारहरू सम्प्रेषण हुनुपर्ने बेला आइसकेको छ । तर, त्यसका लागि रेडियो जनशक्तिमा लगानी आवश्यक छ, जुन अहिले रेडियो प्रसारकहरूको प्राथमिकतामा छैन । श्रोता के सुन्न चाहन्छन् भन्दा पनि प्रसारकहरू के सुनाउन चाहन्छन् भन्नेले बढी महत्त्व र स्थान पाउने क्रमको पनि अन्त्य आवश्यक भइसकेको छ ।

सर्वेक्षणले के पनि देखाएको छ भने, श्रोता पहिलेजस्तो रेडियो सुनेर बस्दैनन् । समाचार र विभिन्न सूचना जान्न रेडियो सुन्नेले पनि आफ्नो अनुकूलतामा मात्रै यसको प्रयोग गर्छन् । साँझबिहानबाहेक आफ्नो अनुकूलता वा फुर्सदमा रेडियो सुन्ने जमात बढ्दो छ । त्यसैले जहाँ श्रोता त्यहीँ रेडियोको सामग्री पुर्‍याउनुपर्ने नयाँ चुनौती रेडियोकर्मीहरूमा आइपरेको छ । श्रोताको चाहनाको विविधतालाई एउटै रेडियोबाट समेट्न पनि मुस्किल पर्न थालिसकेको छ । त्यसैले पछिल्ला दिनमा विषय र प्रस्तुतिकेन्द्रित एफएमहरू खुल्ने क्रम बढ्दो छ । किनभने श्रोताको चाहना समयसँगै परिवर्तन हुँदै गइरहेको मात्रै छैन कि विषयविशेषमा उनीहरूको रुचि पनि उत्तिकै बढ्दो छ । पहिलेजस्तो एउटै रेडियोबाट सूचना, मनोरञ्जन, व्यंग्य, शिक्षा, स्वास्थ्यलगायतको जानकारी खोज्ने श्रोता अचेल छैनन् ।

गाउँघरतिर बूढापाकाले नयाँ पुस्तालाई कथा सुनाइसकेपछि ‘सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला’ भन्दै बिट मार्थे । उति बेलादेखि नै श्रोतालाई कति महत्त्व दिइन्थ्यो भन्ने बुझ्न हामी सबै विगततर्फ फर्किए मात्रै पुग्छ । अचेल हाम्रा रेडियोहरू श्रोताकेन्द्रित कम र आत्मकेन्द्रित ज्यादा त भइरहेका छैनन् ? रेडियोको सम्पत्ति त्यहाँ बज्ने गीत–संगीत हुन् कि सूचना या श्रोता ? गहिरिएर सोच्ने बेला भएको छ । रेडियाकर्मीसँगै व्यवस्थापकहरूले पनि यसबारे श्रोतालाई समय घर्किनुअघि नै जानकारी गराउँदा उत्तम हुन्छ । श्रोता भएकाले रेडियो हुने हो । रेडियो भएकै कारण श्रोता हुने अवस्थाको अन्त्य नेपालमा पनि धेरैअघि नै भइसक्यो ।

प्रकाशित : फाल्गुन १, २०८० ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?