२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

मुर्झाएको मध्यपहाडमा एमालेको उपस्थिति

एमालेको झुलाघाट-चिवाभन्ज्याङ यात्राले अभियानले स्थानीय जनता र पार्टी कार्यकर्तासँगको सम्बन्धमात्र नवीकरण गरेको छैन नेपालको विकास र समृद्धिको नेतृत्व एमालेले नै गर्न सक्छ भन्ने भरोसा जगाएको छ ।
निरज आचार्य

मंसिर १४ देखि नेकपा एमालेको सुरू गरेको 'झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा' यतिखेर पाँचथर पुगेको छ । बैतडीको झुलाघाटस्थित महाकाली नदीको किनारमा नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा आरम्भ गरिएको यात्रा १७ दिमा पाँचथर पुगेको छ ।

मुर्झाएको मध्यपहाडमा एमालेको उपस्थिति

'सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय' नारा दिइएको यात्रा पुस १ गते आइतबार पाँचथरको चिवाभन्ज्याङ पुगेर सकिने छ ।

७२ वर्षीय बृद्ध ज्यान, १४ वर्ष लामो जेल जीवन र यातनाका डोबहरु, बिरामले जीर्ण परेको शरिर । तर फरक 'ओली’ अजस्र उर्जा, विराट आत्मबल, लक्ष्यप्रतिको एकलव्य र गतिशील छन् । यति लामो अभियानमा उनि रतिभर थाकेका छैनन् । अध्यक्ष कमरेड तपाईं थाक्नु भयो की भनेर सोध्ने आँट कसैले गर्दैनन्, अध्यक्ष भेट्दा थाकेकाहरुले उर्जाको अनुभूति गर्दछन् । सयौंको संख्यामा महिला, युवा, बालबालिका र बृद्धहरु बाटोभरी लामबद्ध भएर अध्यक्ष ओली र एमाले नेतृत्वको स्वागत गर्दै खादा, माला र पुष्पगुच्छाले स्वागत गरिररहेका छन् । मंसिरको जाडो रातको १० बजे पनि ओली सुन्न प्रतीक्षा गरिहेका हुन्छन् । एमाले र अध्यक्ष ओलीप्रति मध्यपहाडको क्रेज अनौठो छ ।

मध्यपहाडको अवस्था

मध्यपहाडी पुष्पलाल लोकमार्ग आर्थिक वर्ष २०६४/०६५ मा आरम्भ भएको थियो । २०८९/०८० सम्म पुरा गर्ने लक्ष्यसहित अघि बढाइएको १ हजार ८ सय ७९ किलोमिटर लामो सडकको परिकल्पनाकार पनि नेकपा एमाले नै हो । आर्थिक वर्ष २०६९/०७० को बजेटमा यसलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको थियो । यस आयोजनामा हालसम्म ६४ अर्ब ७६ करोड रकम खर्च भईसकेको छ । तरपनि यो आयोजना पुरा हुन सकेको छैन । सडक निर्देशनालयकाअनुसार करिब ४ सय ७७ किलोमिटर सडक अझै कालोपत्रे गर्न बाँकी छ । १३७ मध्ये १०२ वटा पुलहरु बनेका छन् भने अझै ३५ वटा पुल बन्न बाँकी छन् । निकै लामा घुम्ती, कतै ट्रयाक खोल्न बाँकी त कतै पुल बन्न बाँकी, कतै कालोपत्रे, कतै ग्राभेल त कतै खाल्डाखुल्डी स्थानीय सडकसँग जोडिएर यो मार्ग आवश्यकताभन्दा लामो बनेको छ ।

कतिपय स्थानमा एलाइमेन्ट चेन्ज गर्नुपर्ने छ त विभिन्न स्थानमा सुरुङ मार्ग र डबललेन बनाउन सकियो भने यसको प्रयोग गुणात्मक रुपमा बढ्ने कुरामा दुईमत छैन । मध्यपहाडी लोकमार्ग गेमचेन्जर आयोजना अर्थात् मध्यपहाडी जनजीवनको लाईफलाईन बन्नेकुरामा कुनै सन्देह छैन ।

विकास गाउँ छिर्‍यो, मान्छे सहर

मध्यपहाड विकासको पर्याप्त सम्भावना भएको क्षेत्र हुँदाहुँदै पनि पछिल्लो समय तीब्र बसाई सराई, अवसरको खोजीका कारण विदेश जाने र सहर पस्ने संख्या बढिरहेको छ । जसका कारण मध्यपहाडका बस्ती पातलिँदै गईरहेका छन् । दिनानुदिन विदेशिनेहरुको संख्या बढ्दै गएको छ । यसको कारण खोजेर समाधानको उपायहरु पत्ता लगाउन यो अभियानले सहयोग पुग्नेछ । तीब्र बसाई सराईको चापलाई घटाउन, मध्यपहाडको विकास, अवसर र सुगमतालाई राज्यले ध्यान दिन त खोजेको छ तर पर्याप्त छैन । पाँचथरको चिवाभन्ज्याङदेखि दार्चुलाको झुलाघाटसम्म एक हजार आठ सय ८९ किमी लम्बाई रहेको यस लोकमार्गले २६ वटा जिल्ला र करिब १२५ भन्दा बढी बस्तीहरु छिचोल्छ ।

नेपालको युगान्तकारी परिवर्तनमा भूमिका खेल्ने विभिन्न १० स्थानमा मध्यपहाडी नमूना सहर, दर्जनौं हाइड्रोपावरका आयोजनाहरू, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, पेट्रोलियम पदार्थको उत्खनन्, फलामखानी, सुनकोशी मरिन डाइभर्सन, लुम्ले र पाख्रीबासको कृषि अनुसन्धान केन्द्र लगायत मध्यपहाडका महत्त्वपूर्ण आयोजनाहरु केही सञ्चालनमा छन् त केही निर्माणको चरणमा छन् । अस्पताल, स्कुल, क्याम्पस र शैक्षिक संस्थाहरूको पनि उल्लेख्य विकास नभएको हैन । यद्यपी स्वास्थ र शैक्षिक संस्थाहरुको सेवा र गुणस्तर बढाउनुपर्ने अवस्था बर्करार छ । विगतको तुलनामा रफ्तारका साथ विकास गाउँ पसिरहेको छ । तर विकासको उपयोग गर्नै जनशक्ति गाउँ छोडिरहेको छ । तीब्र बसाई सराई, युवाहरुको विदेश पलायन, अवसर र रोजगारीका लागी गाउँ छोडेर सहर पस्नेहरुको लर्को मध्य पहाडका चुनौति हुन् ।

सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय

सामाजिक सद्भाव र समाजको सहिष्णुता र एकता खलबल पार्न कतिपय तत्व उद्यत छन् । नेकपा एमालेले सञ्चालन गरेको यो यात्राले लाखौं मानिसको मन जोडेकोे छ । मंसिर १४ गते महाकालीको तटबाट आरम्भ भएको यो यात्रा अध्यक्ष ओलीको जन्मस्थान तेह्रथुमको आठराई पुग्दासम्म ३१ वटा ठूला सभा र १५० भन्दा धेरै भेलाहरु गरेको छ । १२५ भन्दा धेरै बस्तीसँग साक्षात्कार गरेको छ लाखौं मानिसहरुसँग प्रत्यक्ष भेटेको छ ।

मध्यपहाडको विकास, संस्कृति, रितिरिवाज , खानपिन संस्कारहरुसँग एमाले नेतृत्वपंक्ति अन्तरघुलन भएको छ । मध्यपहाडका सम्स्या, मध्यपहाडी जनजिवनले भोग्नु गरेका अफ्ट्यारा र मध्यपहाडका चुनौतिका मुद्दाहरु यस अभियानले उजागर गरेको छ । गत कार्तिक १७ गते मध्यराति गएको भूकम्पले क्षतविक्षत जाजरकोट रुकुमकाबस्तीहरु र पीडितका अफ्ठ्याराकाबारेमा जानकारी लियो । पार्टीका तर्फबाट परिचालन गरेका स्वयंसेवकको कामको अनुगमन र निर्देशन गर्‍यो । पीडितको राहत, पुनर्स्थापना र पुनर्निमार्णका लागी राज्यको ध्यानाकर्षण गर्‍यो । यस अभियानले पार्टी अध्यक्षसहित नेतृत्वको स्थानीय जनता र पार्टी कार्यकर्तासँगको सम्बन्ध नवीकरण गर्‍यो र राष्टिय रुपमा सन्देश प्रवाह गर्न सफल भयो । नेपालको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ भन्ने भारोसा सबैमा जगाएको छ ।

नेता कार्यकर्तामा देखिएको राजनीतिक संस्कार

यात्राका क्रममा विभिन्न परिदृश्यहरू देखिएका छन् । त्यस मध्येको महत्त्वपूर्ण पक्ष भनेको मध्य पहाडका नेताहरुमा देखिएको उच्च राजनीतिक संस्कार हो । हुन त असल राजनीतिक संस्कारको सुरुवात झुलाघाटबाट बास बस्न कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा पुगेर अध्यक्ष ओलीले देउवालाई टेलिफोेन गरेर आफू देउवाको गृहजिल्ला पुगेको जानकारी गराउँदै सन्चो बिसन्चोको कुरा गरेर सुरुवात गर्नु भएको थियो । अछामको कार्यक्रमा आईपुग्दा पूर्व सांसद एवं नेपाली कांग्रेसका नेता अक्कलबहादुर विष्ट, पूर्वमन्त्री गोविन्दबहादुर शाहले अध्यक्ष ओलीलाई स्वागत गर्नु भयो र यात्रा सफताको शुभकामना दिनुभयो ।

दैलेखको जम्मुकाँधमा लामो समय लाईनमा बसेर प्रतीक्षाकासाथ नेपाली कांग्रेसका नेता तथा दैलेख क्षेत्र नं २ वाट निर्वाचित साँसद दिकपाल शाहीले स्वागत गर्नु, दैलेख बजारमा मञ्चमै पुगेर दैलेख क्षेत्र नं एकबाट निर्वाचित सांसद एवं एमालेबाट विभिजित भएर बनेको एकीकृत समाजवादीका नेता अमरबहादुर थापाले स्वागत गर्नु, जाजरकोटको प्रवेशद्वारमा एमाले कार्यकर्तासँगै लाईन बसेर शिवालय गाउँपालिका अध्यक्ष कांग्रेस नेता शेरबहादुर शाही, पालिकाका उपाध्यक्ष माओवादी नेतृ गीता शाहीले अध्यक्षलाई माला लगाएर स्वागत गर्नु राजनीतिक संस्कारको अर्को उदाहरण हो ।

त्यस्तै जाजरकोटको रिम्नामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशसभा सदस्य राजीव बिक्रम शाह, बाग्लुङमा माओवादी केन्द्रका नेताहरु देवेन्द्र पौडेल, बलावती शर्मा, गोविन्द पौडेल लगायतले अध्यक्ष केपी शर्मा ओली र नेतृत्वको टिमलाई स्वागत गर्नु असल राजनीकि संस्कार हो ।

दैलेख, सुर्खेत, रुकुम पूर्व, नुवाकोट लगायत थुप्रै जिल्लामा सर्वदलीय सर्वपक्षीय बैठकहरु आयोजना भएका छन् । जिल्लाका नागरिक समाज, उद्योग वाणिज्य संघहरू र विभिन्न पालिकाहरुले विकास र सरोकारका विषयमा ज्ञापन पत्र दिने र अभियानलाई स्वागत र शुभकामना दिने जस्ता गतिविधिले मध्य पहाडमा असल राजनीतिक संस्कार छ भन्ने कुरालाई पुष्टि गर्दछ । यस्तो संस्कार सामाजिक एकता र सद्भावलाई मजबुत बनाउँछ ।

एमाले नेतृत्वको एउटै बोली, एउटै चाल

मध्यपहाडका समस्या पहिचान गर्न, विकासका संभावना खोज्न, सामाजिक सद्भाव जोड्न, निराशालाई आशामा बदल्न यो अभियान केन्द्रित गरिएपनि यसको अर्कोपनि अर्थ थियो नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्ष पुग्यो । नेपालको कम्युनिस्ट आन्दोलनको हिरक महोत्सव हो । ७५ वर्षको अवधिमा नेपालमा कम्युनिस्ट पार्टी कसरी अगाडी बढ्यो ? मुलुको विकास र समृद्धिका लागी अब कसरी काम गर्छ भन्ने सन्देश प्रवाह गर्नुथियो । पार्टी प्रतिका गुनासा र सुझावहरु लिनुथियो । पार्टी कार्यकर्तापंक्तिलाई सक्रिय, चलायमान र जागरुक बनाउनु थियो ।

नेकपा एमालेमा यतिबेला नीति र नेतृत्वमा कुनै विवाद छैन । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा झुलाघाट— चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अघाडि बढेको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, महासचिव, उपमहासचिव, सचिव, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटीका सदस्यहरु यस अभियानमा हिँडिरहेका छन् । तर वक्ता अध्यक्ष ओली मात्र छन् । अध्यक्षले विचार राख्ने नेतृत्वको टिमले साथ दिने । आज १७ औं दिनसम्म गरी करिब ३१ वटा सभामा अध्यक्षले बोल्नु भयो । नेतृत्वको टिम साथमा रह्यो । अभियानको उद्देश्य, महत्त्व र प्रभावबारे पदाधिकारीहरुले सामाजिक सञ्जाल र मिडियामा दिनु भएका प्रतिकृयाहरुमा एउटै स्वर, एउटै ताल र एउटै चाल देखिनु अभियानको यो अर्को विशेष्ता हो ।

यस अभियानले मध्य पहाडको आर्थिक सामाजिक साँस्कृतिक अवस्थाको भौतिक रुपले नै अनुभव गरेको छ । मध्यपहाडको विकासको मूल आयाम यहाँको कृषि, उर्जा र पर्यटन हो । कृषि, उर्जा र पर्यटन उद्योगले नै मध्य पहाडमा ठूलो रोजगारी सिर्जना गर्नसक्छ । रोजगारी र अवसरले नै तीव्र रुपमा भईरहेको बसाई सराई, विदेश पलायन र गाउँ छोडेर अयन्त्र जाने कुरा रोक्नसक्छ । मध्य पहाडको विकास र युगान्तकारी परिवर्तनमा ठूलो भूमिका खेल्न सक्छ एमाले नेतृत्वले यसतथ्यलाई गहिरो संग अनुभूति गरेको छ । मध्यपहाडी लोकमार्गको एमाले यात्राले मध्य पहाडका मुर्झाएका सपनाहरु पूर्नजीवित गरेको छ । मध्यपहाड जुर्मुराएको सहज अनुभूति गर्न सकिन्छ ।

(लेखक आचार्य एमाले केन्द्रीय सदस्य हुन् )

प्रकाशित : मंसिर ३०, २०८० १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३२.२४ प्रतिशत मात्र विकास खर्च हुनुको अर्थ के हो ?