कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

संसद्को अभिभावक

ओनसरी घर्ती

सुवास नेम्वाङजीलाई सबैभन्दा पहिले सरल नेताका रूपमा चिनेको हुँ । उहाँको आफ्नैखाले आदर्श थियो । उहाँले जहिले पनि राष्ट्रिय एकतामा जोड दिनुहुन्थ्यो । आफ्नो पदीय दायित्वमा निकै ख्याल गर्नुहुन्थ्यो । आफ्नो पदको मर्यादालाई बलियो बनाउनुपर्नेमा सधैं प्रतिबद्ध हुनुहुन्थ्यो । सभामुख कुनै पार्टीको जगबाट आएको हुन्छ तर उहाँले पदीय दायित्व निष्पक्ष ढंगले निर्वाह गर्नुपर्छ भन्नुहुन्थ्यो ।

संसद्को अभिभावक

हिजोसम्म पनि मुलुकका लागि उहाँको भूमिका सशक्त थियो । उहाँको निधनले मुलुकलाई ठूलो क्षति भएको छ । मुलुकको हितका लागि सहजकर्ताको भूमिका खेल्न, सबैलाई समन्वय गर्न सक्ने, सहज पहुँच, सरल व्यक्तित्व भएको नेता हो उहाँ । संविधानसभाको अध्यक्ष र सभामुख हुँदा संसद्मा हुन सक्ने ठूला दुर्घटना टर्थे । संसद्मा सभामुखका रूपमा उहाँजति लामो भूमिका भएको अरू व्यक्ति छैनन् । उहाँले जुन उचाइबाट सभामुखको भूमिका निर्वाह गर्नुभयो, त्यो निकै नै उच्च छ । एकप्रकारले उहाँ संसद्को अभिभावक हुनुहुन्थ्यो ।

व्यक्तिगत रूपमा संसद्मा मेरो उहाँसँग महत्त्वपूर्ण सहकार्य भयो । उहाँ दोस्रो संविधानसभामा अध्यक्ष हुँदा म उपाध्यक्ष थिएँ । हामीले दुई संविधानसभा र प्रतिनिधिसभा गरी झन्डै तेह्र वर्ष सहकार्य गरेका छौं । म उपसभामुख हुँदा र पछि सभामुख हुँदा अभिभावक भएर मार्गनिर्देशन दिनुस् भन्ने आग्रह गरेको थिएँ ।

संसद्मा निष्पक्ष ढंगले जान के गर्नुपर्छ भनेर उहाँले मलाई धेरै सुझाव दिनुभएको छ । उहाँले मलाई पार्टीभन्दा माथि उठेर संसद् सञ्चालन गर्नेबारे सही सुझाव दिनुहुन्थ्यो । संसद् प्रभावकारी बनाउन आफूले जानेको सहयोग गर्नुपर्छ भन्ने उहाँमा थियो । संविधानसभाको अध्यक्ष उहाँ र म उपाध्यक्ष हुँदा दलहरूबीच निकै तिक्तता थियो । मेरो दल र उहाँको दलबीच ठूलो मतभिन्नता थियो । त्यसबेला हामीले पदीय दायित्वलाई भुलेर दायाँबायाँ गरेनौं । संसदीय मूल्यमान्यताअनुसार संविधानसभा चलाएर संविधान निर्माणमा काम गरौं भन्ने समझदारी भएको थियो ।

संविधान निर्माणमा माओवादी, मधेशकेन्द्रित दल र पुराना पार्टी कांग्रेस, एमालेबीच ठूलो मतभिन्नता थियो । उहाँले सुझबुझ तरिकाले समन्वय नगरेको भए संविधान निर्माण अर्के मोडमा पनि पुग्न सक्थ्यो । सहमति र सहकार्यबाट मात्र संविधान निर्माण हुन सक्छ भन्ने उहाँको बुझाइ थियो । सभामुखले सहमतिका लागि भूमिका खेल्नुपर्छ भन्नुहुन्थ्यो । उहाँले पार्टीको दबाब हुँदा आफ्नै ढंगले व्यवस्थापन गर्नुहुन्थ्यो तर सभामुखको पदीय दायित्व भुल्नु हुँदैनथ्यो । संसद्मा ठूलो द्वन्द्व हुने अवस्थामा संसद् रोकेर वार्ताको वातावरण बनाउनुहुन्थ्यो ।

म माओवादीबाट उपसभामुख र उहाँ एमालेबाट सभामुख हुँदा हामीले दलबीच सहमति जुटाउन के गर्न सकिन्छ भनेर धेरै पटक छलफल गरेका थियौं । दलहरू नमिले संविधान निर्माण गाह्रो हुने भएकाले सहमतिका लागि वातावरण बनाउन उहाँ सधैं प्रतिबद्ध भएको पाएँ । हामीले संसद्भित्रका कतिपय अप्ठ्यारा सहज ढंगले व्यवस्थापन गरेका छौं । म सभामुख भइसकेपछि उहाँ सांसद हुनुहुन्थ्यो । उहाँबाट मैले कानुनअनुसार संसद्लाई कसरी प्रभावकारी ढंगले सञ्चालन गर्ने भन्ने राम्ररी सिकाउनुभएको थियो ।

सभामुखले दलको दबाबलाई कसरी व्यवस्थापन गर्ने तौरतरिका उहाँबाट मैले धेरै सिकेको हुँ । उहाँले संसदीय प्रक्रिया अघि बढाउन लचकता अपनाएर भए पनि समाधान निकाल्न सघाउनुहुन्थ्यो । त्यो उहाँको विशिष्ट गुण थियो । संविधानसभामा लचकता नअपनाउँदा धेरै जटिलता आउने अवस्था थियो । कतिपय अवस्थामा सभामुखका रूपमा मैले पनि लचकता अपनाएर निकासको वातावरण बनाएको थिएँ । जटिल परिस्थितिमा संवाद गराउने तरिका मैले नेम्वाङजीबाट सिकेको हुँ, जुन सभामुख हुँदा निकै फलदायी भएको थियो । संसद् सञ्चालन गर्दा कानुनभन्दा कत्ति पनि दायाँबायाँ गर्नुहुँदैन भन्ने उहाँको शिक्षा सधैं सम्झिरहनेछु ।

म सभामुख भएका बेला उहाँलाई अनौपचारिक रूपमा सल्लाहकार समितिको अध्यक्षजस्तै बनाएको थिएँ । संसद्मा कहिलेकाहीं कानुनमा नभएको स्थिति आइपर्छ, त्यसबेला नेम्वाङ सबभन्दा बढी अनुभव भएको सभामुख हुनुहुन्थ्यो । उहाँले दलको स्वार्थभन्दा माथि उठेर विगतका अभ्यासअनुसार समाधान गर्न सुझाव दिनुहुन्थ्यो । अहिले पनि संसद्को अभिभावक नै हुनुहुन्थ्यो । अफसोस, हामीले यस्ता अभिभावक र मुलुकले असल नेता गुमाएको छ ।

प्रकाशित : भाद्र २७, २०८० ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १६ वर्ष पुरा भएको छ । गणतन्त्रको गति कस्तो लागिरहेको छ ?