१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

भारतसँगै बंगलादेशमा पनि सिमेन्टको बजार खोजौं

शोभाकान्त पौडेल

काठमाडौँ — चालु आर्थिक वर्षमा ७ अर्ब रुपैयाँको बिटुमिन आएको छ । नेपालमा करिब १ अर्ब ९५ करोडको सिमेन्ट आयात भयो । अरुण जस्ता आयोजनालाई चाहिने गुणस्तरको उत्पादन गर्न सके करिब २ अर्ब रुपैयाँको बजार यहीं छ । तर ०७६/७७ मा त्यस बेलाको मूल्यअनुसार क्लिंकर मात्रै १२ अर्ब रुपैयाँको आयात भएको थियो । अझै पनि १ अर्ब ९५ करोडको आएको देखिन्छ । 

भारतसँगै बंगलादेशमा पनि सिमेन्टको बजार खोजौं

सिमेन्ट निर्यात २ अर्ब ८१ करोडको देखिन्छ । चालु आर्थिक वर्षमा साढे ३ अर्ब रुपैयाँको निर्यात हुने अनुमान छ । तर हाम्रो मुख्य बजार भारत हो । त्यहाँ १३ देखि १५ प्रतिशत निर्यात बढ्ने अनुमान छ । भारतमा पूर्वाधार र हाउजिङ क्षेत्र निर्माणको लहर नै छ ।

संसारमा चीन, अमेरिका, फिलिपिन्स, नेदरल्यान्ड्स र फ्रान्सले मात्रै ४० प्रतिशत सिमेन्ट खपत गरिरहेका छन् । पाकिस्तानले अमेरिकामा सिमेन्ट निर्यात सुरु गरेको छ । निर्यातमा ४२ दिन लागेछ । चीन आफैंले २.५ बिलियन टन सिमेन्ट उत्पादन पनि गर्छ, १ बिलियनको सिमेन्ट भियतनामबाट आयात पनि गर्छ । अहिले सिमेन्टमा संसारको सबैभन्दा ठूलो निर्यातकर्ता भियतनाम भएको छ । यसले बजार कता छ भन्ने देखाउँछ । हाम्रो बजार दुई अर्बको हो । त्यसैले अब हामी भारतमा निर्यात बढाउनेतिर लाग्नुपर्छ । अन्य देशमा पनि बजार खोज्नुपर्छ ।

निर्यातमा नगद प्रोत्साहनको विषय बजेटमै आएको छ । सिमेन्ट उद्योगमा पाकिस्तान र भियतनामले किन सफलता पाए ? सोझो उत्तर छ— सिमेन्ट उद्योग मर्जरमा गएर हो । नेपालमा पनि लुम्बिनी करिडोरमा मात्र ससाना १०/१२ वटा सिमेन्ट उद्योग छन् । त्यसैले मर्जरमा जानुपर्ने देखिन्छ ।

भारतमा निर्यात बढाउन कुनै समस्या छैन । एउटै कुरा गुणस्तर हो । यस विषयमा गुणस्तर तथा नापतौल विभागसँग कुरा गरौंला । सरकारबाट सहजीकरण गर्नुपरे हामी तयार छौं । वैदेशिक स्रोतबाट सञ्चालन हुने आयोजनाको हकमा उनीहरूकै गाइडलाइन कार्यान्वयन हुन्छ । अन्तर्राष्ट्रिय सन्धि, सम्झौताको गाइडलाइन कार्यान्वयन हुन्छ । किनभने हामी विदेशी अनुदान लिएर चल्नुपर्ने मुलुक हौं ।

आगामी आर्थिक वर्षमा ५ अर्ब रुपैयाँको मात्रै बिटुमिन आयात घटाउन सके धेरै राम्रो हुन्छ । भारतका अतिरिक्त बंगलादेशमा पनि सिमेन्टको बजार खोज्न सकिन्छ । बंगलादेशले ९.६८ मिलियनको सिमेन्ट आयात गरेको छ । बिजुलीसँगै सिमेन्ट पनि पठाउन सकिन्छ । स्वदेशी उद्योगको कच्चापदार्थ खपत होस्, उद्योग चलोस् भन्ने नै हाम्रा चाहना हो । उत्पादनमूलक उद्योग भएकाले केही गाह्रो पनि छ । अन्य मुलुकमा जसरी वातावरण र जग्गाको विषयमा समस्या छैन ।

व्यवसायीहरूले सिमेन्टको आन्तरिक बजार पाएका छन् । विद्युत् खपतका हिसाबमा प्रतिबोरा करिब २०/२२ रुपैयाँ लागत होला । तर सरकारी उद्योग हेटौंडा र उदयपुर सिमेन्टको लागत ५२ देखि ५५ रुपैयाँ पर्छ ।

सिमेन्ट निर्यातका क्रममा हुने समस्या भन्सार विभागका तर्फबाट समाधान गर्न हामी तयार छौं । भारतसँग द्विपक्षीय व्यापारका विषयमा पनि संवाद गरौंला । अहिले नेपालमा मात्रै नभई संसारभर सिमेन्ट उत्पादन बढी छ । मागभन्दा बढी उत्पादन भएको अवस्था छ । सिमेन्ट उद्योगमा भारतीय लगानी बढाउन सके निर्यात बढाउन सकिन्छ । हाम्रोतर्फ विदेशी लगानी पनि भित्रिन्छ । यसका लागि भारतीय लगानीकर्ताले मार्जिन पनि पाउँछन् । यस विषयमा ध्यान दिनुपर्ने भएको छ ।

भारतीय लगानी आए उनीहरूको पनि स्वामित्व हुन्छ । निर्यात हुने क्रमका समस्या उनीहरूले नै सल्टाउँछन् । अहिले पाकिस्तानको सिमेन्ट उद्योगमा सबैभन्दा बढी अमेरिकाको लगानी छ ।

पूर्वाधार क्षेत्रमा नेपाली सिमेन्ट प्रयोग गर्ने कुरा पनि गर्नुपर्छ । अहिले पैसाको खाँचो परेर पनि उद्योगी समस्या परेका हुन् । नेपाली सिमेन्ट प्रयोग गर्ने भनिए पनि तरलताको अभावका कारण सरकारी ढुकुटी नै दुब्लाएको छ । त्यस हिसाबले तरलताको समस्या भएकाले पनि समग्रमा अप्ठ्यारो देखिएको हो । सम्भवतः दुई महिनामा यस्तो समस्या समाधान हुने अनुमान छ ।

(कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘आत्मनिर्भर सिमेन्ट : निर्यातको पाटो र ढलानको बाटो’ विषयक राउन्ड टेबलमा भन्सार विभागका महानिर्देशक पौडेलले व्यक्त गरेको विचारको संपादित अंश)


प्रकाशित : जेष्ठ २४, २०८० १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?