१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘पुँजी बजारले सिमेन्ट उद्योगलाई रुचाएको छ’

निखिल अग्रवाल

काठमाडौँ — १० वर्षअघि सिमेन्टको जुन माग थियो, त्यो बर्सेनि बढ्दै जान्छ भन्ठानेर उद्योगीहरूले लगानी थप्दै गए । त्यो बेला सडक पुनर्निर्माण, घर निर्माणलगायतले सिमेन्टको माग बढेको बढ्यै थियो । तर भूकम्पअघिको सिमेन्ट उद्योग र पछिको अवस्था फरक रह्यो । भूकम्पपछि सिमेन्टको माग बढ्नुको साटो खस्किँदै गयो ।

‘पुँजी बजारले सिमेन्ट उद्योगलाई रुचाएको छ’

भूकम्पअगाडि वार्षिक औसत १२ देखि १३ सय करोड टन उत्पादन थियो । माग पनि उति नै थियो । हाल १८/१९ करोड टन उत्पादन क्षमता भए पनि माग खुम्चिएर ८ करोड टनमा झरेको छ । यस वर्ष त्यति पनि नपुग्ला ।

जुन क्रममा ठूला उद्योग बढ्दै गए, साना उद्योग भने बन्द हुन थाले । निर्माण क्षेत्रलाई हेर्दा सिमेन्ट उद्योगलाई मात्र हेर्नु हुँदैन । सिमेन्ट, डन्डी, गिट्टी–बालुवा, इन्जिनियर र ठेकेदारले आफ्नो सीप प्रयोग गरिरहेका हुन्छन् । समग्रमा नेपालको ३५ देखि ४० प्रतिशत जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा निर्माण क्षेत्रमा संलग्न छन् । एस्काभेटर चालक, डन्डी बान्ने कालिगडदेखि सिमेन्ट बेच्नेसम्म निर्माण क्षेत्रमा संलग्न छन् । यस क्षेत्रमा काम गर्ने मान्छेको तलबको करदेखि उद्योगले आयात गर्ने कच्चा पदार्थको भन्सार शुल्क, अन्तःशुल्क सबै जोड्यो भने सबैभन्दा ठूलो हिस्साको कर यही क्षेत्रले सरकारलाई बुझाएको छ । त्यसैले सिमेन्ट मात्र नभएर निर्माण उद्योगलाई नै कसरी लैजाने भनेर सरकारले नीति–नियम बनाउनुपर्छ ।

हाम्रो मालवाहक सामान ओसारपसारको काम ट्रकमा सीमित छ । तर धेरैजसो ठाउँमा भारवहन क्षमता कम भएको कालोपक्र सडक बनाइएको छ । कंत्रिट सडक निर्माण गर्दा ट्रकले बोक्ने क्षमता बढाउन सकिन्छ । अहिले २१ टन सामान ल्याउने सडकले भोलि ३५ टन भार थेग्न सक्छ । यसले यातायातको भाडासँगै बिक्री मूल्य र उत्पादन मूल्य पनि कम हुन्छ ।

पुँजी बजारमा आउने पहिलो नेपाली सिमेन्ट कारखाना हो, शिवम् सिमेन्ट । हामी यता आएको धेरैले रुचाए । लिडिङ ब्रान्ड भएर उपस्थित हुन सक्यौं । अहिलेसम्म पनि हाम्रो उपस्थिति राम्रो छ । लगानीकर्तालाई बर्सेनि लाभांश बाँड्ने हाम्रो कोसिस हुनेछ । बजार जटिल अवस्थामा हुँदा पनि हामीले गत वर्ष केही न केही लाभांश वितरण गर्‍यौं ।

कम्पनी आर्थिक रूपमा सशक्त हुन बजारमा त्यसको राम्रो माग हुनैपर्छ । आजको अवस्थामा माग बढाउन सरकारले विकास निर्माणका नयाँ आयोजना अघि सार्नुपर्छ । गौरवका प्रोजेक्टका काम अघि बढाउनुपर्छ । यसले समग्र सिमेन्ट उद्योगको व्यापार बढ्छ ।

हाल सिमेन्ट उद्योगको भविष्यमा केही अन्योल देखिएको छ । हिजो उद्योग स्थापना गर्दा हामीले भोलि भविष्य छ भनेर नै हात हालेका थियौं । संरचनाका नाममा हामीसँग भवन मात्रै छन् । हाइड्रोपावर, फ्लाईओभर, एक्सप्रेस वे बन्नै बाँकी छ । नेपालको पहिलो एक्सप्रेस वे फास्ट ट्र्याक बन्दै छ । विमानस्थल बन्दै छन् । यस्ता आयोजना बन्न सिमेन्ट नै चाहिन्छ । आज सिमेन्ट उद्योग आत्तिएको अवस्थामा सरकारले राम्रो नीति ल्यायो भने आर्थिक रूपमा बलियो हुन्छ । उपस्थिति पनि बढ्दै जानेछ । त्यसपछि पुँजी बजारमा आउनु नै पर्छ । सन् २०१९ को कोरोना महामारीपछि सिमेन्ट, पूर्वाधारलगायत निर्माण क्षेत्रलाई गाह्रो भइरहेको छ । हामीले समयमा भुक्तानी गर्न पाएनौं, समयमा काम गर्न पाएनौं । हरेक निकायले समयमै सेवा दिन नसक्दा यस्तो समस्या आएको हो ।

उद्योगी व्यवसायीले तिर्दिनँ भनेर ऋण लिएका होइनन् । सबैले यसबाट व्यापार गर्छु, १ रुपैयाँ भए पनि नाफा कमाउँछु, उद्योग चलाएर कर र ऋण तिर्छु भनेका हुन्छन् । अहिले बजारको माग घटेको छ, मूल्यमा प्रतिस्पर्धा बढेको छ । यसले गर्दा मूल्य घटेको छ । अहिले उद्योगले सस्तो मूल्यमा सिमेन्ट बेचिरहेका छन् । भूकम्पअगाडिको मूल्यमा अहिले सिमेन्ट बेचिरहेको अवस्था छ । भूकम्पछि जुनसुकै कम्पनीको खर्च १२ प्रतिशतसम्म बढेकै छ । आज हामीले ७ वर्षअगाडिको मूल्यमा सिमेन्ट बेच्दा कति घाटा बेहोरिरहेका होउँला ? रुस–युक्रेन युद्धका कारण अप्रत्यक्ष रूपमा सिमेन्टमा लाग्ने कच्चा पदार्थको मूल्य बढ्यो । बढेको मूल्यमा कच्चा पदार्थ ल्याएर घट्दो मूल्यमा सिमेन्ट बेच्नुपरेको छ ।

हामीले ७ अर्बको अलकत्रा आयात गरेर सडक बनाउनुको साटो सिमेन्टको सडक बनाएको भए आन्तरिक उत्पादन खपत हुन्थ्यो, रोजगारी सिर्जना हुन्थ्यो । सिमेन्ट स्वदेशमै बिक्री हुन्थ्यो । अलकत्रालाई प्रतिस्थापन गर्दा पैसा बाहिर जान रोकिनुका साथै स्वदेशी सिमेन्ट उद्योगलाई टेवा पुग्थ्यो । सिमेन्ट उद्योगको विकास हुनु भनेको सिमेन्ट उद्योगबाहेक ३ गुणा उद्योगको विकास हुनु हो । त्यसैले कालोपक्र सडकलाई कंत्रिटवाला बनाउनुपर्‍यो । राजमार्ग, फ्लाइओभर सबै कंक्रिटको बनाउनुपर्‍यो । पूर्वाधार बलियो हुनु भनेको देशप्रतिको महसुस बलियो हुनु, पैसा बजारमा पुग्नु र उद्योगले कमाउनु हो ।

(कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘आत्मनिर्भर सिमेन्ट : निर्यातको पाटो र ढलानको बाटो’ विषयक राउन्ड टेबलमा शिवम् सिमेन्टका उपाध्यक्ष अग्रवालले व्यक्त गरेको विचारको संपादित अंश)


प्रकाशित : जेष्ठ २४, २०८० १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?