१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मापदण्ड बनाइए ढलान सडक बनाउन समस्या छैन

गीता शाही

काठमाडौँ — अहिलेसम्म अलकत्रा प्रयोग गरेरै सडक बनाउने गरिएको छ । सिमेन्ट प्रयोग गरेर पक्की सडक बनाइए पनि त्यो नगण्य छ । थोरै र आवश्यक परेको ठाउँमा मात्र बनाउने गरिएको छ । पर्खाल र नाली बनाउन सिमेन्टको धेरै प्रयोग हुने गरेको छ । यसमा बाहिरी मुलुकबाट सिमेन्ट ल्याएर काम गरिएको छैन । नेपालमै उत्पादित सिमेन्ट प्रयोग गर्दै आएका छौं । 

मापदण्ड बनाइए ढलान सडक बनाउन समस्या छैन

केही ठूला निर्माण कम्पनीले बाहिरबाट सिमेन्ट आयात गरेर निर्माणको काम गरेका हुन सक्छन् । अहिले पक्कीभन्दा कालोपत्रे सडक निर्माण धेरै हुने गरेको छ । सिमेन्ट प्रयोग गरेर सडक बनाउन थालेको धेरै भएको छैन । तर यस्तो पक्की सडक निर्माण गर्ने काम बिस्तारै बढ्दै गएको छ । यसमा पनि नयाँ प्रविधि र मेसिन ल्याउन सके पक्की सडक बनाउन सजिलो हुन्थ्यो । जहाँ पानी रसाइरहेको हुन्छ, पहिरो खसिरहन्छ, त्यस्तो ठाउँमा कालोपत्र गरेर सडक बनाउँदा नटिक्ने भएकाले विकल्पमा पक्की सडक बनाउने गरिएको छ ।

अहिले नेपाली सिमेन्ट उद्योग आत्मनिर्भर भएकाले यसको प्रयोग सडक पूर्वाधारमा सहजै बढाउन सकिने अवस्था छ । यसलाई सरकारले नै प्राथमिकतामा राख्नुपर्छ । कसरी प्रयोग गर्ने भन्नेबारे मापदण्ड बनाएर यसलाई कार्यान्वयनमा ल्याउन सके राम्रो हुन्थ्यो । त्यसपछि कालोपत्रको विकल्पका रूपमा पक्की सडक बनाउन सकिन्छ । अहिले अलकत्रा (बिटुमिन) बाहिरबाट ल्याउनुपर्छ । त्यसको गुणस्तर थाहा हुँदैन । ल्याउने प्रक्रिया झन्झटिला छन् । ल्याउन समय पनि लाग्छ । तर नेपालमै उत्पादित सिमेन्ट प्रयोग गर्न सके त्यसको खपत बढाउन सकिने र सडक पनि बलियो बन्ने थियो । अहिले ठेक्का सम्झौतामा कसरी सडक बनाउने भनिएको हुन्छ, त्यहीअनुसार नै निर्माणको काम गर्ने गरिएको छ ।

निर्माणमा पनि धेरै समस्या झेल्नुपर्ने बाध्यता छ । ठेक्का लागिसकेको हुन्छ । तर कहाँ सडक ढलान गर्ने, कहाँ कालोपत्र गर्ने टुंगो हुँदैन । पूर्वतयारीको काम भएको हुँदैन । कलोपत्र सडक निर्माणमा अर्को समस्या छ— कहिले विद्युत् प्राधिकरणले खन्छ, कहिले ढलको काम गर्न भन्दै सडक भत्काइन्छ । पक्की सडक कसरी बनाउने भन्ने विषयमा मापदण्ड बनेर लागू नहुँदा समस्या भएको हो ।

(कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘आत्मनिर्भर सिमेन्ट : निर्यातको पाटो र ढलानको बाटो’ विषयक राउन्ड टेबलमा नेपाल निर्माण व्यवसायी महासंघ केन्द्रीय सदस्य शाहीले व्यक्त गरेको विचारको संपादित अंश)


प्रकाशित : जेष्ठ २३, २०८० १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?