कांग्रेस रुपान्तरणको मार्गचित्र

१ सय ६५ संघीय र ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाई जनताको घरदैलोमा पुग्नुपर्छ । नेता/कार्यकर्ता गाउँ–गाउँ, टोल–टोल पुगेर ‘जनजनमा कांग्रेस, मनमनमा कांग्रेस’ अभियान चलाउनुपर्छ
भूपेन्द्रजंग शाही

काठमाडौँ — सात दशकभन्दा लामो इतिहास बोकेको नेपाली कांग्रेस लोकतन्त्रको संवाहक र स्थापित पार्टी हो । कांग्रेस नेतृत्वमा महत्त्वपूर्ण राजनीतिक परिवर्तनहरू भएका छन् । यसले आफ्नो स्थापनाकालदेखि नै विभिन्न आरोह–अवरोह बेहोर्दै आएको र विभिन्न कालखण्डका कठिन मोड पार गर्दै आएको छ । 

कांग्रेस रुपान्तरणको मार्गचित्र

गौरवपूर्ण इतिहास भएको यस दलले आफ्नो त्यो विरासत बचाउन आफैंभित्र धेरै परिवर्तन गर्न आवश्यक छ । कांग्रेसले आफू, समाज अनि देश बदल्ने अभिभारा लिएर अगाडि बढ्न ढिलो भइसकेको छ । गत निर्वाचनमा कांग्रेस संसदको सबैभन्दा ठूलो दल बन्न सफल भए पनि सत्ताको साक्षीको भूमिकामा मात्रै बस्नुपर्ने अवस्था आएको छ ।

निर्वाचनमा अपवित्र गठबन्धन, सरकार निर्माणको फोहोरी खेल, उपनिर्वाचनको नमिठो झस्का, पार्टी परिचालनमा सशक्त भूमिकाको अभाव र सरकार सञ्चालनमा जनताका अपेक्षा पूरा गर्न कहाँनिर चुक्यो भन्नेबारे गम्भीर समीक्षा जरुरी छ । अहिले देखिएका चुनौतीहरुको चिरफार गर्दै पार्टी अब रुपान्तरित भएर अगाडि बढ्न सकेन भने अवश्य क्षति बेहोर्नुपर्ने छ । यी सबै विषयलाई गम्भीर रुपमा लिएर जनतामाझ पुग्नुपर्नेमा पार्टी गतिविधि शून्य छ ।

केन्द्रीय समितिले अझै पूर्णता पाएको छैन । महाधिवेशन भएको वर्षदिन बितिसक्दा पनि ४८ वटै विभाग रिक्त छन् । हरेक विभागमा रहने ५१ सदस्यका दरले पूरै विभाग गठन हुनसके झन्डै २ हजार ५ सय नेताले जिम्मेवारी पाउँछन् तर पार्टीभित्र हजारौँ कार्यकर्तालाई जिम्मेवारीविहीन बनाइएको छ । पार्टीको मेरुदण्डको रुपमा रहेका भ्रातृ संस्थाहरू निष्प्रभावी छन् । हामीलाई लाखौँ युवाको मत चाहिएको छ तर नेतृत्वले तरुण दल र नेविसंघलाई अध्यक्षमा मात्रै सीमित राख्दा संगठनमा पसिना बगाएका ऊर्जाशील उमेर खर्च गरेका युवाहरू अपमान महसुस गरिरहेका छन् । यतिबेला पार्टीभित्र शून्यता, रिक्तता र सन्नाटा छ ।

यस्तो कमजोर अवस्थाबाट कसरी अगाडि बढ्न सकिन्छ ? यसलाई मध्यनजर गर्दै गुरुराज घिमिरे, मधु आचार्य, रञ्जित कर्ण, गोविन्द पोख्रेल, जगदीश्वरनरसिंह केसी, भरत खड्का, देवराज चालिसे, विष्णुदेवी पाण्डेलगायतले पार्टीमा आत्मजागरण र पुनर्जागरणको अभियान सुरु गरेका छन् ।

पार्टीभित्र समीक्षा, बहस र सुधार गर्नुपर्ने धेरै विषयहरू छन् । कांग्रेसलाई प्रभावकारी र बलियो बनाउने हामी सबैको कर्तव्य र दायित्व हो । यही विषयलाई मनन गर्दै ‘नेपाली कांग्रेस रुपान्तरण अभियान’ सातै प्रदेशमा सञ्चालन गरिँदै छ । यो अभियान गुट निरपेक्ष अभियान हो । यो कसैलाई कमजोर बनाउने र कसैको जयजयकार गर्ने तथा निश्चित समूहको स्वार्थ र हितमा काम गर्ने अभियान नभई पार्टीलाई बलियो बनाउने अभियान हो ।

कांग्रेसलाई वैचारिक रूपमा तिखार्ने, सांगठनिक समस्याहरु हल गर्दै चुस्त संगठन निर्माण गर्ने र भावीपुस्ता आकर्षित हुने कांग्रेस बनाउने ध्येयले थालिएको अभियान हो । नेपाली क्रन्तिको नेतृत्व गरेको कांग्रेस आफूले गरेको कामको जस लिन भने चुकिरहेको छ ।

आर्थिक रूपान्तरण होस् या सामाजिक, सांस्कृतिक परिवर्तन थोरै भए पनि कांग्रेसकै कारण सम्भव भएको इतिहास साक्षी छ । राणा, पञ्चायत र राजा फ्याँकेको, पटक–पटक क्रान्तिको नेतृत्व गरेको सुनौलो विरासत छ । तर, अहिले नेतृत्वले पार्टीलाई सत्ताकेन्द्रित, सिद्धान्तमा सम्झौता र विचारविहीन गठबन्धनको भासमा जाकेको छ । जनताका आधारभूत आवश्यकतासँग बेखबर, लोकतान्त्रिक मूल्यको उपहास, भ्रष्टाचार नियन्त्रण र सुशासनको सवालमा सुस्त, नैतिक राजनीतिको खडेरीजस्ता अलोकतान्त्रिक सोच र शैलीले पार्टी ध्वस्त हुन पुगेको छ । पार्टीलाई केवल सत्ता, शक्ति र स्वार्थ प्राप्ति गर्ने भर्‍याङमात्रै ठान्ने हो भने कांग्रेसको भविष्य कहाँ पुग्ला ? सामुहिकताको भावनाविपरीत व्यक्तिवाद, नातावाद, कृपावाद, परिवारवादको आधारमा चलाउन खोज्ने हो भने पार्टी अझै योभन्दा पनि संकटमा नपर्ला भन्न सकिन्न । त्यसैले अब पार्टीका आमकार्यकर्ता र शुभचिन्तकहरुसँग प्रत्यक्ष भेटघाट र संवाद गरेर भावी मार्गचित्र कोर्न जरूरी छ । त्यसैले यी बुँदा कांग्रेस रुपान्तरणको मार्गचित्र बन्न सक्छन् ।

रुपान्तरणको मार्गचित्र

१. गुटबन्दी अन्त्य गर्दै पार्टीलाई एकढिक्का बनाउनु पर्छ । पार्टीमा योगदान, समर्पण, सक्रियता, निरन्तरता, र क्षमताको आधारमा जिम्मेवारी प्रदान गर्ने परिपाटीको विकास गर्नु पर्छ । सत्ताको भोगचलन र पदीय भागबन्डाको किचलोमा सधै रुमल्लिइरहनुहुँदैन । सामुहिक हित, साझा भावना र जनताको सेवामा समर्पित पार्टी बनाउनुपर्छ ।

२. पार्टी शुद्धीकरण र सुदृढीकरण गर्न केन्द्र, प्रदेश, जिल्ला र गाउँ तहसम्म सिद्धान्त र एजेन्डामा वैचारिक जागरण अभियान सुरु गर्न जरुरी छ । चाँडै १ सय ६५ संघीय र ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाई जनताको घरदैलो अभियान सञ्चालन गर्नुपर्छ । नेता/कार्यकर्ता सहरकेन्द्रित नभई गाउँकेन्द्रित हुन जरुरी छ । गाउँ–गाउँ, टोल–टोल पुगेर ‘जनजनमा कांग्रेस, मनमनमा कांग्रेस’ अभियान चलाउनुपर्छ ।

३. सिद्धान्तहीन, विचारहीन, गठबन्धन गर्नु हुन्न भन्ने आमकार्यकर्ताको आवाज हुँदाहुँदै पनि सत्तालाई मात्रै ध्यान दिएर बनेको बृहत् गठबन्धनले सोचेजस्तो परिणाम आउन सकेन । त्यसैले निर्वाचन समीक्षाका लागि टालटुले पारामा होइन, गहिराइमा पुगेर छलफल गर्नु जरुरी छ । अब आइन्दा अरुको बैसाखी नटेकी आफ्नै बलमा निर्वाचन जित्ने तयारीमा लाग्नुपर्छ ।

४. सहिद परिवार तथा द्वन्द्वपीडित परिवारलाई उच्च सम्मान, पार्टीमा अवसर र उचित स्थानको सुनिश्चितता गरिनुपर्छ ।

५. समानुपातिकबाट एकपटक सांसद बनेकालाई कुनै पनि हालतमा दोहोर्‍याउनुहुँदैन । पार्टीको आन्तरिक निर्वाचनमा पनि समावेशीबाट प्रतिनिधित्व गर्ने पदमा एकपटकभन्दा बढी अवसर नपाउने व्यवस्था कडाइका साथ लागू गर्नुपर्छ । साथै एउटै व्यक्ति बारम्बार एउटै पदमा दोहोरिने, तेहरिने अवस्थाको अन्त्य गर्नुपर्छ । एउटै व्यक्तिलाई भएभरको जिम्मेवारी दिएर हुँदैन, कामको बाँडफाँट हुनुपर्छ । अब पार्टीमा ‘एक व्यक्ति एक जिम्मावारी’ हुनुपर्छ ।

६. आम कार्यकर्तालाई व्यवस्थित, प्रशिक्षित र संगठित गरेर गाउँ/नगर तहसम्म हरेक महिनाको पहिलो दिन समसामयिक विषयमा प्रशिक्षण अभियानमार्फत् सशक्त पार्टी बनाउन आवश्यक छ ।

७. युवाहरूको ऊर्जा, चेतना र क्षमतालाई सदुपयोग गर्न पार्टीका हरेक तहमा कम्तीमा ५० प्रतिशत युवा प्रतिनिधित्वको सुनिश्चितता गरिनुपर्छ । नेपाली कांग्रेसलाई युवामैत्री पार्टी बनाउनुपर्छ ।

८. नेता र कार्यकर्ताबीच देखिएको अन्तर र बढेको दूरी घटाएर पार्टीभित्र ‘सानो र ठूलो’ भन्ने मान्यता हटाई हामी एउटै परिवारका सदस्य हौं भन्ने भावनाको विकास गर्नु आवश्यक छ । व्यक्तिवादी चरित्र र अनुशासनहीनताको अन्त्य हुन जरुरी छ । लोकतन्त्रमा नेता शासक होइन सेवक हो । गणतन्त्रमा नेता राजा हुने होइन । नेता बलियो होइन जनता बलियो हुने हो । जनतालाई नोकर सम्झिने नेता र पार्टीको भविष्य सुरक्षित हुँदैन । जनताको सुख–दुःखमा साथ नदिने र जनतालाई सम्मानको दृष्टिले नहेर्ने कुनै पनि राजनीतिक दलको आयु लामो हुँदैन । पार्टी सरकारमा गएका बेला जनजीविकाको सवालमा बढी नै सचेत हुनुपर्छ ।

९. सरकारी काममा जतासुकै ढिलासुस्ती, सेवा प्रवाहमा असमानता र भनसुनको प्रभाव देखिन्छ । महँगी र सरकारी व्यथितिले आमनागरिक आत्तिएका छन् । त्यसैले पार्टीले सरकारलाई यसको निराकरण गर्न दबाब दिनु पर्छ । नागरिकता बनाउन जाँदा झन्झट, राहदानीमा रातभर जागाराम, यातायात र ट्राफिकलाई घुस, प्रहरीकोमा जाँदा अपमान, न्यायालयमा अन्याय हुन थालेपछि जनता जाने कहाँ ?

१०. महाधिवेशनको मुखमा मात्रै क्रियाशील सदस्यता वितरण गर्ने परम्परालाई अन्त्य गरी हरेक वर्ष पारदर्शी रुपमा क्रियाशील सदस्यता वितरण गर्नु पर्छ । महाधिवेशन हुने वर्ष भने क्रियाशील सदस्यता वितरण गर्न नपाउने नियम बनाउनु पर्छ । पार्टी महाधिवेशनका लागि मात्रै गाउँ अधिवेशन गर्ने परम्परालाई अन्त्य गरेर वडा तहको अधिवेशन हरेक २ वर्षमा गर्ने व्यवस्था गर्नुपर्छ । केन्द्रीय महाधिवेशन पनि आमनिर्वाचनको कम्तीमा २ वर्षअघि गरी आन्तरिक झमेला सुल्झाएर निर्वाचनको तयारीमा जुट्नुपर्छ । केन्द्रीय सभापतिको निर्वाचन सम्पूर्ण क्रियाशील सदस्यहरुको प्रत्यक्ष मतबाट हुने व्यवस्था गरिनुपर्छ ।

११. रोजगारी अभावमा हजारौं युवा विदेश पलायन हुन बाध्य छन् । तसर्थ युवाका लागि पार्टीले ‘उद्यमशील युवा सिर्जनशील युवा’ अभियान चलाउन जरुरी छ । नेपालमै रोजगारी सिर्जनाका लागि कृषि, पर्यटन, उद्योग व्यवसायको स्थापनामा विशेष जोड दिनुपर्छ ।

१२. जातीय, वर्गीय, लिंगीय र क्षेत्रीय विभेद अन्त्यका लागि नेपाली कांग्रेसले विशेष अभियान सुरु गर्नु पर्छ । समावेशी सिद्धान्तलाई व्यवहारमा उतार्नु पर्छ । दलित समुदायबाट केन्द्रीय महामन्त्री निर्वाचित हुने विशेष व्यवस्था हुनु पर्छ । दया र हेयको भावले हेरिएको, सधै उपेक्षामा परेको कर्णाली क्षेत्रको केन्द्रमा प्रभावकारी प्रतिनिधित्व हुन अनिवार्य छ ।

१३. प्रजातान्त्रिक समाजवादको व्यख्या गरी सामाजिक न्याय र समानताका लागि सुलभ सुस्वास्थ्य र जीवनोपयोगी शिक्षाको राज्यले सम्पूर्ण जिम्मेवारी लिनुपर्छ ।

१४. देशमा आपत्‌विपद्, संकट र महामारी परेका बेला जनताको दुःख र पीडामा साथ दिन ‘विपद्‌मा राहत कोष’ र युवा स्वयंसेवक खडा गरी सामाजिक सेवाको नेतृत्व कांग्रेसले गर्नुपर्छ ।

१५. विश्वको जुनसुकै कुनामा पुगेका नेपालीहरुको सुरक्षा, संरक्षण र उनीहरुको सफल भविष्यका लागि विशेष संयन्त्र खडा गरी राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नु पर्छ । विदेशमा गएर नेपालीले आर्जन गरेको पुँजी, ज्ञान र सीप नेपालमा भित्र्याएर समृद्ध राष्ट्र बनाउन कांग्रेसले विशेष पहल गर्नुपर्छ ।

१६. कोरोना महामारी र अहिलेको आर्थिक संकटको कारण रोजगारी गुमाएका मजदुर र अप्ठ्यारोमा परेका तथा मिटरब्याजपीडित, साना व्यापारी, उद्योगी र व्यवसायीहरुका लागि तत्काल राहत प्याकेज घोषणाको लागि सरकारलाई दबाब सिर्जना गर्नुपर्छ ।

१७. व्यक्ति होइन; विचार, पद होइन पद्धति, सत्ता होइन समाज र नेता होइन; नीतिको मूल मर्म र आदर्शमा आधारित नैतिक मूल्य मान्यतासहितको राजनीतिको सुरुवात गर्न नेपाली कांग्रेसले ढिलो गर्नुहुन्न । पार्टीमा विकृति, विसङ्गतिको अन्त्य गरी विधि, नियम, प्रक्रिया र सामूहिकताको आधारमा चल्नुपर्छ ।

१८. निर्वाचनमा टिकट वितरण गर्दा अनैतिक चलखेल नगरी केन्द्रको हस्तक्षेप पूर्णतः बन्द गर्नुपर्छ । स्थानीय तहको टिकट जिल्ला समितिले, प्रदेश सांसदको प्रदेश समितिले र संघीय सांसदको टिकट केन्द्रले दिने व्यवस्था गर्नुपर्छ ।

१९. कांग्रेसको नेतृत्वमा जारी भएको संविधान, लोकतन्त्र र समावेशीताको रक्षा गर्दै तिनको पूर्ण कार्यान्वयनको सुनिश्चितताका लागि पार्टीले संशोधन गरेको नयाँ विधानको प्रभावकारी कार्यान्वयन गर्नसक्ने सक्षम, सबल र युवामैत्री पार्टी बनाउन नेतृत्वमा व्यापक सुधार, परिवर्तन र रुपान्तरण आवश्यक छ ।

२०. अर्थतन्त्र मजबुत बनाउने विशेष कार्यक्रमहरू सञ्चालन गर्न सरकारलाई दबाब दिनुपर्छ । कांग्रेसले नै आर्थिक समृद्धिको नेतृत्व लिन सक्नेगरी अगाडि बढ्नुपर्छ । यसका लागि पार्टी पंक्ति अब परम्परावाद र यथास्थितिमा रुमल्लिने कि, रुपान्तरणको यात्रा तय गर्ने ? टालटुलका लागि नीति महाधिवेशनमात्रै कि साँच्चै परिवर्तनका लागि विशेष महाधिवेशन ?

प्रकाशित : जेष्ठ ११, २०८० १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?