१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

उत्पादनको माग घट्दा उद्योग व्यवसाय संकटोन्मुख

विष्णु अग्रवाल

काठमाडौँ — अर्थतन्त्रमा आएको समस्याले हरेक व्यवसायी समस्यामा परेका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) ले हरेक तीन महिनामा नेपालको अर्थतन्त्रको बारेमा सर्भे गरिरहेको छ । हरेक व्यवसायीको उत्पादन र बिक्री मागमा ४० देखि ८० प्रतिशतसम्म गिरावट आएको छ ।  

उत्पादनको माग घट्दा उद्योग व्यवसाय संकटोन्मुख

उदाहरणका रुपमा, व्यवसायीले १ सय रुपैयाँको व्यापार वा उत्पादन हुँदा सम्पूर्ण प्रशासनिक खर्च, बैंकको ब्याज, कर्मचारीको तलब लगायतका खर्च चलाइरहेको हुन्छ । १ सय रुपैयाँबाट ९० रुपैयाँमा व्यापार वा उत्पादन झरेमा पनि त्यति समस्या हुँदैन । तर माग नभएपछि जब व्यापार वा उत्पादन ६० मा झर्छ, त्यसपछि धान्न अप्ठ्यारो हुन्छ । अझ बैंकको ब्याज बढेको अवस्थामा प्रशासन, कर्मचारी तलब लगायतको खर्च कसरी धान्न सक्छ ? हाल व्यवसायीले भोगेको पीडा यहीं हो ।

व्यवसायीले 'ग्रस प्रोफिट' नै नपाइरहेको अवस्थामा कर्मचारीको तलब, प्रशासनिक खर्च र बैंकको ऋण तिर्न सक्ने क्षमता भएन । यस्तो अवस्थामा कसरी व्यवसायीले नयाँ ऋण लिनेबारे सोच्न सक्छन् ? धेरै व्यवसायीले कर्जाको ब्याज समेत पहिले गरेको कमाइबाटै तिरिरहेको अवस्था छ । व्यवसायीको हालको ब्यालेन्स सिट हेर्दा पनि उनीहरुको अवस्था थाहा हुन्छ । कतिपय व्यवसायीको पैसा जग्गा र सेयर बजारमा पनि फसेको छ । जग्गाको बिक्री छैन भने सेयर बजार घटेको घट्यै छ । यो जटिल अवस्थामा पनि केही व्यवसायीले आफ्नो व्यक्तिगत पुँजीमार्फत कर्जाको ब्याज भुक्तानी तथा प्रशासन खर्च चलाएको अवस्था छ ।

अर्कोतर्फ बैंकहरुको ‘नन पर्फमिङ एसेट’ (एनपीए) बढेको छ । १.३ प्रतिशत रहेको एनपीए हाल ३ प्रतिशत नाघिसकेको छ । यो समस्याबाहेक बैंकिङ क्षेत्र बलियो अवस्थामा छ । सीडी रेसियो ८५ प्रतिशतको हाराहारीमा छ । केही समयअघि यो ९३ प्रतिशतमा पुगेको थियो । हाल कर्जामा मागको कमी भएका कारण पनि बैंकहरुले कर्जा दिन पाएका छैनन् ।

निजी क्षेत्र मात्रै नभई सरकार पनि समस्यामा छ । सरकारको राजश्व घटिरहेको छ । सरकारले कर्मचारीलाई तलब खुवाउन पैसा खोजिरहेको छ । राजश्व घट्नु र भ्याट घट्नुले पनि मागमा कमी आएको पुष्टि गर्छ । यो अवस्थाको अर्थतन्त्रलाई कसरी ‘रिबुट’ गर्न सकिन्छ । कुन तरिकारले लगानी बढाउन सकिन्छ त्यसमा सबैले ध्यान दिन जरुरी छ । सरकारी मन्त्रालयहरुले लाखौंको लगानी थाँती राखेका छन् । निजी क्षेत्रले लगानी गर्न नसकेको अवस्थामा सरकारले पनि लगानी गरेन भने अर्थतन्त्रमा ठूलो समस्या निम्त्याउँछ ।

राष्ट्र बैंकको ट्रेजरी बिल ९ प्रतिशतमा बिक्री भएको छ । राष्ट्र बैंकले नै बैंकहरुलाई १०.५ प्रतिशत ब्याज दिइरहेको अवस्था छ । बैंकहरुले सजिलै कमाइरहेको अवस्थामा किन निजी क्षेत्रलाई ऋण दिन चाहन्छन् ? जब सरकारी तहबाट लगानी थपिन्छ त्यसपछि मात्रै समस्याबाट बाहिर निस्कन सक्छौं । व्यवसाय आशा र सकारात्मक मनोभावनाबाट चल्छ । सरकार र नेतृत्वले त्यो आशा सञ्चार गराउनुपर्छ ।

व्यवसायीद्वारा उत्पादित वस्तुको मागमा निकै ह्रास आएको छ । बैंकहरुको ब्याज तिर्न सबैलाई समस्या भइरहेको छ । हाम्रो व्यवसाय संकटोन्मुख छ । मेरो ३० वर्षे व्यावसायिक यात्रामा यो आर्थिक वर्ष राजस्व संकलन गत वर्षभन्दा कम उठेको छ । तर राष्ट्र बैंक तथा सरकारमा बस्नेहरुले मन्दी छैन भनेको अवस्था छ । निजी क्षेत्रका कमजोरी पनि नभएका होइनन् । व्यवसायका लागि भनेर लिएको पैसा जग्गा र सेयरमा पनि गएको हुन सक्छ । एक, दुई जनाले मात्र होइन् । धेरैले धेरै ठाउँमा कर्जालाई ‘डाइभर्जन’ गरेका छन् । राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जा निर्देशिकाको नयाँ प्रावधानले निकास पनि दिएको छ । व्यवसायीको कर्जा डाइभर्जनलाई रोक्न यो ठीक विधि हो ।

यसअघि विदेशी मुद्रा सञ्चितिले जम्मा ६ महिना मात्रै थेग्ने अवस्था पुगेको थियो । त्यसबेला सबै त्रसित हुनु स्वभाविक हो । तर, हाल अवस्था परिवर्तन आएको छ । अब राष्ट्र बैंकले ‘क्रेडिट फ्लो’ गरेर पनि अर्थतन्त्र चलायमान बनाउनुपर्छ । सरकार तथा राष्ट्र बैंकजस्ता निकायले ऋणीलाई कस्नेगरी लिएको नीतिलाई अब परिवर्तन गर्न जरुरी छ । हाम्रा नीति सामान्य अवस्थामा पुर्‍याए व्यवसाय बाँच्ने अवस्था आउँछ ।सबैको समस्या राष्ट्र बैंकमा ठोकिन्छ । राष्ट्र बैंकले अब व्यवसायलाई उकास्न सहयोग गर्नुपर्ने अवस्था छ । यसका लागि भार जोखिमलाई कम गरेर हुन्छ वा अन्य कुनै तरिकाले हुन्छ, सम्बोधन गर्न जरुरी छ । व्यवसायीले पनि आफ्ना क्षेत्रबाट आशाको सञ्चार गर्नु जरुरी छ ।

(नेपाल उद्योग परिसंघका अध्यक्ष अग्रवालले कान्तिपुर इकोनोमिक समिटमा राखेका मन्तव्यको सम्पादित अंश)

प्रकाशित : वैशाख १७, २०८० १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?