कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कृषि क्षेत्रमा प्रविधि बढाउन जरुरत 

लतिका गोल्यान

काठमाडौँ — चेन्नई मेरो जन्मभूमि हो । नेपाल आएको झण्डै २० वर्ष भयो । कृषि, उत्पादनमूलक, आतिथ्य, निर्माण लगायतका व्यवसायमा आवद्ध छु । ५ वर्षअघि कृषिमा आवद्ध हुँदा नेपालमा सम्भावना भएका धेरै क्षेत्र देखेँ । अझै पनि नेपाली वस्तुहरु निर्यात पर्याप्त हुन सकेको छैन । हाम्रा कृषक, साना उद्यमीलाई बजारको अभाव छ । ज्ञान, सूचनाको अभाव छ । त्यसैले हामीले मेड इन नेपालको सुरुवात गर्‍यौं । जिल्लामा रहेका किसान, साना उद्यमीसँग सहकार्य गर्न थाल्यौं । बजारसम्म किसानको पहुँच पुर्‍याउन उनीहरुसँग हातेमालो गर्‍यौं ।

कृषि क्षेत्रमा प्रविधि बढाउन जरुरत 

विश्वव्यापी रुपमा नेपाली उत्पादनको उपस्थिति न्यून रहेको महसुस गर्दै हामीले ब्राण्ड बनाउन थाल्यौं । मुलुकभरका किसान, साना उद्यमसँग सहकार्य गरी ब्राण्डमार्फत नै कृषि तथा अन्य उत्पादनलाई विश्वमा चिनाउने काम गरेका छौं । यसले नेपाली किसान र नव उद्यमीहरुलाई बजारको अभाव हुन दिनेछैन ।

चीनमा पनि अलिबाबाको एउटा पोर्टल बन्यो । जहाँ तपाईंहामीले विश्वस्त भएर खरिद गर्न सक्छौं । चिनियाँ आपूर्तिकर्तालाई विश्वास गरेर सामान खरिद गर्न सक्छौं । जसरी चीनमा अलिबाबाले विश्वको विश्वास पाउन सफल भएको छ । त्यसैगरी नेपाली ब्राण्ड मेड इन नेपाललाई पनि हामी सोही अनुसार विश्वमा चिनाउन लागि परेका छौं । यसका लागि अनलाइन पोर्टल समेत निर्माण गरेका छौं । मेड इन नेपालका सामान पोर्टलबाट खरिद गर्न सकिन्छ । नेपाली कला चिनाउने कलात्मक सामग्रीहरुको लागि छुट्टै पोर्टल समेत निर्माण गरेका छौं ।

विश्व बजारमा नेपाली छुर्पीको माग अत्याधिक छ । छुर्पी उत्पादन बढाउन नेपालका डेरीहरुसँग पनि काम थालेका छौं । विदेशमा मान्यता दिनकै लागि नयाँ प्रविधि जडान गरी छुर्पी निर्यात गर्दै आएका छौं । हामीले नै नेपालबाट गुणस्तरीय उत्पादन निर्यात गर्न सक्छौं । किसान र उद्योगीको सम्बन्ध मजबुत बनाउन चाहिरहेका छौं । कुनै पनि देशको अर्थतन्त्रमा मुख्यतः तीन वटा महत्त्वपूर्ण पाटाहरु छन् । ती सेवा, उत्पादन र कृषि हुन् । यी तीनै क्षेत्रलाई सन्तुलित विकास गर्न सकेमा अर्थतन्त्रमा योगदान पुग्छ । अहिले देशको अर्थतन्त्रमा रेमिट्यान्सको योगदान छ । पर्यटन र हाइड्रोपावरको सम्भावना प्रचुर छ । कृषिको कुरा गर्दा नेपालमा ६६ प्रतिशत संख्या कृषिमा निर्भर छ । धेरैजसो किसान परम्परागत कृषि कार्यमा संलग्न छन्, शिक्षित छैनन् ।

किसानलाई आधुनिक तरिकाले कृषि गर्ने वातावरण बनाउनुपर्छ । किसानले नै नयाँ प्रविधिको प्रयोग गरेर उत्पादन गर्न सक्ने, सामग्री बजारमा बेच्ने वातावरण बनाउनुपर्छ । युवाहरुमा कृषिप्रति आकर्षित देखिँदैन, बरु विदेश जान तयार छन् । हामीले कृषिमा भविष्य देखाउन सके विदेश पलायनबाट पनि रोक्न सकिन्छ । कृषि मात्रै नभई उत्पादनको प्रशोधन र तयारी वस्तुमा पनि ध्यान दिनुपर्छ । हामीले निर्यात गरेका कतिपय कृषि उत्पादन अर्को मुलुकले प्रशोधन गरेर निर्यात गर्छ । कतिपय कृषि उत्पादन हामी नै उत्पादन गर्छौं, तर प्रशोधित उत्पादन आयात गर्छौं । उदाहरणको रुपमा हामीले आलु उत्पादन गर्छौं, तर आलु चिप्स आयात गर्छौं । हामी गोलभेडा उत्पादन गर्छौं, तर केचप आयात गर्छौं । त्यसैले स्वदेशमै प्रशोधनमा पनि ध्यान दिनुपर्छ ।

स्वदेशमा उत्पादित वस्तुको निर्यात गरेर वा आयात भइरहेका वस्तुको प्रतिस्थापनबाट पनि अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ । हाम्रो उपभोग बढिरहेको छ तर उत्पादन बढाउन सकेका छैनौं । हामीले उत्पादन क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याएर उत्पादन बढाउन सक्छौं ।

नेपालका लागि अहिले प्रविधिको प्रयोग पनि एकदमै महत्त्वपूर्ण छ । कृषिको आधुनिकीकरणको कुरा गर्दा प्रविधिको विषय आउँछ । कतिपय किसानलाई यी प्रविधिबारे नै जानकारी छैन । नेपालमा अन्य धेरै क्षेत्रमा प्रविधि प्रयोग बढेको छ, तर कृषिको क्षेत्रमा निकै कम रहेको पाइन्छ । विश्वमा ड्रोनबाट मल, बिउ छर्ने गरिएको छ भने स्याटलाइटको माध्यमबाट ट्रयाक गर्ने गरिएको छ । केही किसानले आफ्ना उत्पादनको प्रचार प्रसारमा सामाजिक सञ्जालको प्रयोग त गर्न थालेका छन् । तर प्रत्यक्ष उत्पादन क्षेत्रमा प्रविधिको प्रयोग कम छ । सेवा क्षेत्रमा पनि प्रविधिको परिचालन बढाउन अत्यन्त जरुरी छ । विश्वस्तरीय उत्पादनका लागि प्रविधिको प्रयोग अपरिहार्य छ ।

विदेश गएका युवालाई पनि स्वदेशमा उद्योग/व्यवसाय सञ्चालन गर्न प्रेरित गर्नुपर्छ । कृषिका लागि घोषित अनुदानका कार्यक्रम धेरै छन, तर ती व्यवहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन । कतिपय काम व्यक्तिको एकल प्रयासले सम्भव छैन, त्यसैले सरकारबाटै सहयोग आवश्यक छ । कतिपय उत्पादनमा उद्योगहरुबीच एकअर्कासँग अस्वस्थ प्रतिस्पर्धा छ । त्यसले कसैलाई फाइदा पुग्दैन । मूल्य कम गराएर, गुणस्तर नै घटाएर सामान बिक्री हुने गरेको छ, यसले कसैलाई फाइदा गर्दैन । तसर्थ सरकारी निकाय र व्यवसायिक संगठनहरुले पनि गुणस्तर, लागत लगायत विषय पनि हेर्नुपर्छ ।

(मेड इन नेपालकी अध्यक्ष तथा प्रवन्ध निर्देशक गोल्यानले कान्तिपुर इकोनोमिक समिटमा राखेको मन्तव्यको सम्पादित अंश)


प्रकाशित : वैशाख १५, २०८० १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?