साइबर सुरक्षाका कानुनी मस्यौदाबारे विज्ञसँग परामर्श जरूरी- विविधा - कान्तिपुर समाचार

साइबर सुरक्षाका कानुनी मस्यौदाबारे विज्ञसँग परामर्श जरूरी

सुमना श्रेष्ठ

काठमाडौँ — साइबर सेक्यरिटी सम्बन्धी नीति निर्माणका सवालमा संसदको प्राथमिकता नै देखिँदैन । मैले संसदको गतिबारे पहिलेदेखि प्रश्न उठाइरहेको छु । संसदीय क्यालेन्डर भयो भने साइबर सेक्यरिटीका महत्त्वपूर्ण विषयलाई प्राथमिकताका आधारमा कार्यतालिका बनाउन सकिन्छ । एक तहका सांसदहरुलाई डिजिटाइजेसनबारे न जानकारी छ, न तालिम । डिजिटाइजेसनको विषयलाई संसदमा लिएर जाने सांसदहरु नै यसबारे बेखबर छन् भने कसरी सही नीति निर्माण होला । संसदमा सांसदहरुले डिजिटाइजेसनबारे महत्त्व बुझाएर विषयवस्तु उठाउनु पर्ने हो, तर हुन सकिरहेको छैन । 

यदि मेरो ल्यापटप चोरी भयो भने त्यसमा भएका डाटा सुरक्षाका लागि हामीसँग ‘इनक्रिप्सन’ सिस्टम नै छैन । सरकारी तहमा काम गर्ने मान्छेहरुसँग डाटा हुन्छ, त्यसलाई सुरक्षा गर्ने पाटो पनि छुटिरहेको छ । सरकारी अधिकारीहरुले सरकारले दिएको इमेल प्रयोग गर्नुपर्छ भन्ने ऐन पनि रहेछ । तर, त्यसमा मनिटरिङ गर्ने पाटो छुटेको छ । साइबर सुरक्षाको कुरा गर्दा हामी पूर्वाधारमा कहाँ र कुन तहमा छौं भनेर बुझ्नु जरुरी छ । साइबर सुरक्षाको पूर्वाधारका लागि कुन–कुन पाइला चाल्ने, कहाँदेखि सुरु गर्ने भन्ने बहस नै भएको छैन । साइबर सुरक्षाको बारेमा निजी क्षेत्रमा काम गर्ने एक जना साथीले मसँग व्याख्या गर्नुभएको थियो । अहिले आईटी र साइबर सुरक्षासँग सम्बन्धित कानुन ड्राफ्ट हुँदै छ भन्ने थाहा पाएकी छु । ऐन, कानुनहरु ड्राफ्ट गर्दा नै सम्बन्धित समितिका विज्ञलाई पनि सँगै राख्न सक्यौं भने पछि संशोधनतिर धेरै समय लाग्दैन र धेरै विषय समेटिन पनि सक्छ ।

संसदमा ऐन कानुनका ड्राफ्ट लैजाने विषयमा ज्ञान हासिल गर्न थप छलफल गर्ने वातावरण बनाउनुपर्छ । म आफैले नेपाललाई चाहिने कानुनी विषयका सम्बन्धमा विज्ञहरुसँग 'हृयाकाथन' गर्ने भनेर एउटा अवधारणा सुरु गरेकी छु । अहिले आईटी मस्यौदाको लागि तालिका तय भएको छ । विज्ञहरुसँग साइबर सुरक्षाको मस्यौदाका सम्बन्धमा पनि 'हृयाकाथन' गरेर टुंगोमा पुग्ने हो भने आवश्यक विषय थपिन सक्छन् । साइबर सुरक्षाको ड्राफ्ट अहिलेसम्म संसदमा आएको छैन । मेरो अनुरोध छ कि ड्राफ्ट स्टेजमा नै साइबर सुरक्षाको मस्यौदा विज्ञहरुसँग हृयाकाथन गरेर मात्रै अगाडि बढाऔं ।

नेपालको डिजिटल अर्थतन्त्र १० वर्षपछि कस्तो गराउने हो त ? मेरो व्यक्तिगत अवधारण भनेको टेक क्षेत्रलाई बीचमा राखेर त्यसलाई चाहिने पूर्वाधारमा अहिले नै प्राथमिकता दिएर विकास मोडल अगाडि लैजाने जरुरी छ । टेक क्षेत्रको विकासका लागि आवश्यक कर छुट दिएर हुन्छ कि तालिम वा शिक्षा दिएर अघि बढाउने हो भने संरचनागत रुपमा गर्नुपर्ने काम धेरै नै छ । कि त्यसमा नीति निर्माणकर्ताको रुपमा हेर्दा डिजिटलका सम्बन्धमा अव्यवस्थित र आंशिक उपायको रुपमा काम भइरहेको महसुस हुन्छ । अहिलेबाटै यसलाई पूर्वाधारको रुपमा लैजाने योजना बनाएर अघि बढ्यौं भने १० वर्षपछि नेपालको टेक सेक्टर भाइब्रेन्ट छ भनेर महसुस गर्न सकिन्छ ।

हामी धेरै जनाको सामान्य पहिचान अहिले विकिपिडियामा समेत भेटिन्छ । त्यो मेरो एउटा डिजिटल पहिचान हो । साइबर सुरक्षाको विषयलाई व्यक्तिगत रुपमा मात्रै अघि बढाएर हामी कतै पुग्न सक्दैनौं । यसलाई राज्यको संरचनागत रुपमै विकास गर्नुपर्छ । नत्र यो आंशिक कामचलाउ रुपमा मात्रै अघि बढ्छ, यसले हामीलाई कहिलै पनि प्रगतिमा पुर्‍याउँदैन । एउटा होटलभित्र मात्रै नभई डिजिटलका विषयमा सबै क्षेत्रमा छलफल हुन जरुरी छ । टेक सेक्टरबारे कानुन बनाउनेलाई पनि जागरण गराउनुपर्ने छ । पाठ्यक्रममै समेटेर शैक्षिक रुपमा पनि जागरण गराउनुपर्ने छ ।

(कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित 'साइबर सुरक्षा संवाद'मा प्रतिनिधिसभा सांसद श्रेष्ठले राखेको मन्तव्यका सम्पादित अंश)

प्रकाशित : फाल्गुन १४, २०७९ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्

कृषि कार्यक्रम प्रभावकारी बनाउन सल्यानमा तथ्यांक एकीकृत सफ्टवेयर संचालन 

विप्लव महर्जन

सल्यान — सल्यानमा आइतबारदेखि कृषि तथ्यांक एकीकृत सफ्टवेयर संचालनमा ल्याइएको छ । जिल्लाको कृषि तथा पशुसम्बन्धी तथ्यांकमा छाएको अन्योलता अन्त्य गर्न र योजना बनाएर कार्यक्रम संचालन गर्न सहज होस् भन्ने उद्देश्यले कृषि तथ्यांक सफ्टवेयर सञ्चालनमा ल्याइएको हो । 

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले कृषि विकास कार्यालय सल्यानमा संचालित एक गमलामा रहेको फूलमा पानी हालेर र ल्यापटप अन गरेर सफ्टवेयरको उद्घाटन गरे । कर्णाली प्रदेशका १० वटै जिल्लामा कार्यक्रम संचालन गर्ने लक्ष्यअनुसार सल्यानबाट सुरु गरिएको मन्त्री शर्माले बताए । देशमा संघीयतासँगै तथ्यांक संकलन लथालिंग भएकाले कृषि तथा पशुसम्बन्धी वास्तविक तथ्यांक नहुँदा कार्यक्रम गर्न कठिनाइ भएपछि सफ्टवेयर सञ्चालनमा ल्याइएको मन्त्री शर्माको भनाइ छ । फिल्डमै खटिएर त्यहाँको अवस्था, तथ्यांक उपलब्ध गराउन मन्त्री शर्माले कृषि विकास कार्यालय, पशु कार्यालय, पालिकाका कृषि तथा पशु शाखा अधिकृत, प्राविधिकलाई आग्रह गरे । सल्यान हुँदै कर्णाली प्रदेशका १० जिल्लामा अभिमुखीकरण कार्यक्रम गरेर सफ्टवेयर संचालनमा ल्याइने उनको भनाइ छ ।

कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुर्खेतका योजना महाशाखा प्रमुख राजु भोषले तथ्यांक विना कार्यक्रम संचालन गर्न नसकिने भएकै कारण कृषि तथा पशु कार्यक्रम प्रभावकारी बनाउन सफ्टवेयर संचालन गरिएको बताए । कृषि र पशु सम्बन्धी तथ्यांक पालिका र जिल्लाबाट आएपछि संघमा पठाइने उनले जानकारी गराए । उनका अनुसार सफ्टवेयरमा कृषि र पशु सम्बन्धी सबै खाले तथ्यांक राखिने छ । आउँदा दिनमा सफ्टवेयर मार्फत कसैले तथ्यांक हेर्न चाहेमा र माग गरेमा सहज रुपले उपलब्ध गराउन सकिने उनको भनाइ छ ।

संघीयता पश्चात पालिका र जिल्लाको आधिकारिक तथ्यांक नभएकाले कृषि तथा पशु कार्यक्रम प्रभावकारी नभएको उनले बताए । ‘वास्तविक तथ्यांक भएमा कार्यक्रम गर्न, योजना बनाउन, कुन ठाउँमा के कार्यक्रमको लागि बजेट विनियोजन गर्ने, विगतमा किसानलाई उपलब्ध गराएका सामग्री के कस्तो अवस्थामा छन् भन्ने बारेमा प्रष्ट हुन सकिन्छ’ उनले भने । जिल्ला कृषि विकास कार्यालय सल्यानका प्रमुख भरत कुमार बस्नेतले वास्तविक तथ्यांक नभएका कारण काम गर्न कठिनाइ भएको र अहिलेसम्म आँकलनको भरमा काम भएकाले आउँदा दिनमा तथ्यांक आदान प्रदानमा सहज हुने र कसैले तथ्यांक माग गरेमा तुरुन्तै दिन सकिने उनले जानकारी गराए ।


प्रकाशित : फाल्गुन १४, २०७९ १७:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×