३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बैंकहरूमा केन्द्रीकृत डिजिटल सिस्टम आवश्यक

रश्मी पन्त

काठमाडौँ — बैंकिङ क्षेत्र साइबर सुरक्षाको दृष्टिले एकदमै संवेदनशील हो । बैंकमा ग्राहकका व्यक्तिगत डाटा हुन्छन् । यसमा आक्रमण भयो भने व्यक्तिगत तथ्यांक 'लिक' हुने मात्रै होइन, आर्थिक नोक्सानी समेत हुन जान्छ । हाल प्रत्येक दिनजसो बैंकमा कुनै न प्रविधिसम्बन्धी गुनासो आइरहेका हुन्छन् । सोसल मिडियाबाट आउने गुनासा पनि त्यत्तिकै हुने गरेका छन् । उदाहरणको रुपमा केही समयअघि नेपालमा एटिएम हृयाकिङको ठूलो समस्या थियो । झट्ट हेर्दा बैंककै सिस्टम कमजोरीजस्तो देखिएता पनि आवद्ध अन्य थर्ड पार्टीको कमजोरी भेटियो । 

बैंकहरूमा केन्द्रीकृत डिजिटल सिस्टम आवश्यक

बैंकले साइबर सुरक्षामा ध्यान दिए पनि हृयाक भयो । अहिलेको ट्रेन्ड हेर्ने हो भने प्राविधिकभन्दा बढी ‘ब्रिज इग्नोरेन्स’ले भइरहेको छ । नेपालमा २०१६ देखि २०२० सम्म आइपुग्दा करिब ५५ सय साइबर क्राइमसँग सम्बन्धित घटना भएको पाइयो । यसमा पनि करिब ७७ प्रतिशत बैंकसँग सम्बन्धित छ । यी त दर्ता भएका घटनामात्रै हुन् । दर्ता नभएका दैनिक आउने गुनासा त धेरै नै छन् ।

डिजिटल सचेतना धेरैलाई छैन । बैंकको फ्रन्टलाइनमा बसेर सेवा दिने कर्मचारी पनि साइबर साक्षर नहुन सक्छन् । डिजिटल सचेतना बैंकमा आवद्ध हुनेलाई अझै बढी चाहिन्छ । जनतामा पनि साइबर सुरक्षाबारे सामान्य जानकारी हुनुपर्छ । अहिलेको अवस्थामा घटना भइसकेछि सामना गर्नका लागि सामान्य तयारी गरेको पाइन्छ । घटना हुन नदिनका लागि नै पूर्वाधार मजबुत बनाएर बसेको पाइँदैन । पहिले नै पूर्वाधार बलियो बनाएर, प्राविधिक रुपमा दक्षता बढाएर बस्ने हो भने साइबर आक्रमणको घटना पनि निकै कम हुन जान्छ ।

अहिले मालवेयर एट्याक दैनिक हजारमा आउने गरेका छन् । यसलाई रोक्न हामीले राखेका सिस्टमले सपोर्ट गरिरहेको छ । तर भोलिका दिनमा हुन सक्ने अन्य ठूला अट्याकका लागि त हाम्रा पूर्वाधार पर्याप्त छैनन् जस्तो महसुस हुन्छ । हुन त परम्परागत सिस्टमहरुलाई बैंकले प्रतिस्थापन गर्दै गएका छन् । बैंकिङ क्षेत्रमा प्रयोग हुने हार्डवेर, सफ्टवेयरको मूल्य उच्च छ । अन्य क्षेत्रको तुलनामा बैंकका साइबर सुरक्षा प्रणाली केही बलिया नै छन् । बैंकहरुमा अहिले बलियो केन्द्रीकृत डिजिटल सिस्टम राख्नेबारे पनि छलफल भइरहेको छ, यो जरुरत पनि छ । राष्ट्र बैंक वा बैंकर्स संघमार्फत यस्तो सिस्टम राख्न सकेमा सबैलाई फाइदा हुने हो ।

बैंकहरुले डिजिटल सचेतनाका लागि विभिन्न प्लाटर्फमबाट सन्देश प्रवाह गरिरहेका छन् । प्रभु बैंकले पनि सचेतना बढाउनका लागि सोसल मिडिया लगायत माध्यमबाट सन्देश प्रवाह गरिरहेको छ । ग्रामीण क्षेत्रसम्म पुगेर म्यासेज तथा साना भिडियो क्लिपहरुबाट सन्देश दिइरहेका छौं । कसैले पनि कार्डको पिन, पासवर्ड, लगायत गोप्य विवरण अरुलाई नदिउन् भन्ने उद्देश्य हो । राष्ट्र बैंकले पनि डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । डिजिटल साक्षरतालाई बढाउन मौखिक चर्चा हुन जरुरी छ । मिडियाले पनि यस विषयलाई उठान गर्दा धेरै प्रभाव पारेको हुन्छ ।

अहिले त मोबाइल नै घर परिवार वा एकदमै मिल्ने व्यक्तिलाई दिँदा पनि सचेत हुनुपर्छ । धेरैले आफ्नो पासवर्ड, पिन जस्ता गोप्य विषय मोबाइलमा सेभ गरेर राख्ने गरेको पाइन्छ । सेभ गरेर राख्दा सजिलो होला तर उत्तिकै जोखिम पनि हुन्छ । यसमा सचेत हुन जरुरी छ । कतिपयलाई ठूलो रकमको चिठ्ठा परेको छ भनी प्रलोभनमा पारी केही रकम पठाउन भन्दै ठगी हुने गरेका पनि छन् । ग्राहकलाई कारोबारमा शंका लाग्नेवित्तिकै बैंकमा जानकारी गराउने हो भने कतिपय अवस्थामा रकम होल्ड पनि गरिदिन्छौं । तर ग्राहकले पैसा पठाइसकेको अवस्थामा भने प्रहरीको साइबर ब्यूरोमा जानकारी गराएर छानविनको प्रक्रिया अघि बढ्ने गरेको छ ।

(प्रभु बैंककी चिफ अपरेटिङ अफिसर पन्तले कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित साइबर सुरक्षा संवाद मा राखेको मन्तव्यका संपादित अंश)

प्रकाशित : फाल्गुन १४, २०७९ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?