साइबर सुरक्षामा लगानीकै अभाव- विविधा - कान्तिपुर समाचार

साइबर सुरक्षामा लगानीकै अभाव

सञ्जय गोल्छा

काठमाडौँ — साइबर सुरक्षाको कुरा गर्दा यो धेरै ठूलो क्षेत्र हो । पछिल्लो समय विश्वमा भएका प्रविधिको विकाससँगै यस क्षेत्रमा चुनौतीहरू पनि थपिएका छन् ।  साइबर सुरक्षामा सरकारी र निजी क्षेत्रले आ–आफ्ना तर्फबाट कार्य गरिरहेका छन् । सरकारी स्तरबाट नीति निर्माण भएका छन् भने निजी क्षेत्रबाट साइबर सुरक्षाका लागि पनि विभिन्न प्रयास भइहेको हामी पाउँछौं । 

हामीले विभिन्न चरणमा, अनेक प्रकारका साइबर क्राइमका घटनाहरु हुने गरेका पाउँछौं । सेवा प्रदायक र व्यापारको कुरा गर्ने हो भने हाल मुख्यतः डाटा नै सबैको लागि अब पैसा भएको छ । जोसँग डाटा छ, उसले आर्थिक लाभ लिन सक्ने भए । सूचना प्रविधिको क्षेत्रमा सबै जना डाटाको पछि लागेका छन् । नेपालको सन्दर्भमा हेर्ने हो भने यति धेरै इकमर्स सुरु भएको छ । खाना डेलिभरी गर्ने, बाइक राइड सेयरिङ, इन्टरनेट सेवा प्रदायक लगायत सबैले हाम्रो व्यक्तिगत डाटा संकलन गरिरहेका छन् । यसमा हामी सबै सचेत हुन जरुरी छ । हामीले हाम्रो डाटा कसलाई र किन दिइरहेका छौं भन्ने कुराले धेरै हदसम्म साइबर क्राइम घटाउनमा मद्दत गर्छ ।

साइबर आक्रमण भनेको बाहिरबाट आउने कुरा मात्र पनि होइन । यो कम्पनीको कल्चर, अनुशासनमा भर पर्ने कुरा हो । जस्तो उदाहरणका रुपमा सूचना प्रविधिमा काम गर्ने सेवा प्रदायक कम्पनीका कर्मचारीले कुनै ग्राहकको नागरिकताको कपी लिएर ईसेवामा खाता खोलेर आर्थिक हिनामिना गर्‍यो भने जिम्मेवारी कसले लिने ? सेवा प्रदायक कम्पनीका लागि अनुशासन तथा रेगुलेसनका व्यवस्था ल्याउनु पर्छ । केही ठूला कम्पनीहरुको कुरा गर्दा निजी क्षेत्रका कम्पनीहरुमा ‘र्‍यान्समवेयर’को अट्याक धेरै छ । यसको कारण सामान्य छ कि यस्ता आक्रमणको लागि पठाएको इमेलमा क्लिक गर्न हुँदैन । तर पनि सर्वसाधारणले क्लिक गरिरहेका हुन्छन् । विश्वास लाग्नेगरी इमेलहरु पठाइएका हुन्छन् जसले गर्दा जान्ने मान्छे पनि झुक्किन सक्छ । त्यसकारण विचार गरेर मात्रै खोल्नुपर्छ ।

साइबर सुरक्षामा पहिलेभन्दा केही सचेतना त देखिएको छ । नेपालको साइबर सुरक्षामा सरकारको कानुन, सिस्टमहरु पर्याप्त छैनन् । साइबर सुरक्षाको लागि लगानी हुनुपर्‍यो, साइबर सचेतना बढाउनुपर्‍यो । सरकारी सेवामा साइबर विज्ञहरु राख्ने, सम्बद्ध कर्मचारीलाई तालिम दिने गर्नुपर्छ । ‘डिडस अट्याक’ रोक्नको लागि माथिल्लो तहबाटै ठूलो लगानी गरेको हुनुपर्छ । कतिपयमा आफ्नो गल्ती लुकाउनको लागि ‘डिडस अट्याक’ भएको छ भनेर पनि भन्ने गरिन्छ । 'डिडस' आक्रमण रोक्नका लागि आवश्यक लगानी भएको छ कि छैन ? यसमा सबैले ध्यान दिनुपर्‍यो ।

साइबर क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरबाट अट्याक भइरहेका हुन्छन् । त्यसको सामना गर्नका लागि अहिले हाम्रो दक्षता, लगानी कम छ । साइबर सुरक्षाका लागि तालिम, सर्टिफिकेसन, रेगुलेसन सबैतिर सुरुवात हुन जरुरी छ । हामीले हाम्रो संयन्त्र बलियो बनाउनु पर्‍यो । हाल मोबाइलमा तपाईंलाई यति पैसा पर्‍यो भनेर पनि म्यासेजहरु आइरहेका हुन्छन् । यसमा व्यक्तिगत सचेतना पनि जरुरी छ । हाल इकमर्सको व्यापार प्रत्येक दिन बढिरहेको छ । सबै काम मोबाइलबाटै हुने हुँदा डिजिटल साक्षरता र सचेतना पहिले नै जरुरत पर्छ । र्स्टाटअप र ठूला कम्पनी सबैले यसमा ध्यान दिनु पर्‍यो । ग्राहकहरुको डाटा र विवरण लिएर कारोबार गर्ने ठूला कम्पनीहरुलाई पनि सचेत गराउन तथा नियमन गर्न जरुरी रहेको छ । यसमा केही प्रगति भइरहेको पनि छ ।

पछिल्लो समय आएका कतिपय स्मार्ट डिभाइसहरुले प्रयोगकर्ताहरुलाई सावधानी दिइरहेका छन् । माइक्रोफोन बन्द गर्ने, प्राइभेसी, डाटा सम्बन्धमा स्मार्टफोनले नै सावधानी गराइरहेका छन् । सूचना प्रविधिका हरेक क्षेत्रले आफ्नो क्षेत्रबाट प्रयोगकर्तालाई केही हदसम्म सचेत गर्दै आइरहेका छन् । साइबर सुरक्षाका लागि एउटा मात्र होइन सबै इकोसिस्टमलाई नै हेर्नुपर्छ । पाठ्यक्रममा पनि साइबर सुरक्षाबारे समेट्न सकेमा डिजिटल साक्षरता बढ्न जान्छ । यस्तै सेवा प्रदायकले पनि आफ्नो सिस्टम प्रयोगकर्तामैत्री बनाउनु पर्छ । डाटालाई कन्ट्रोल गर्ने विषयमा ध्यान दिनुपर्छ । डाटा सुरक्षाका लागि नीति बनाउने, बलियो प्रविधियूक्त नियामकलाई प्रभावकारी बनाउने, सेवा प्रदायकहरुलाई तालिम दिने गर्दा पनि साइबर सुरक्षामा योगदान पुग्छ ।

(नियोटेरिक नेपालका प्रबन्ध निर्देशक गोल्छाले कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित 'साइबर सुरक्षा संवाद'मा राखेको मन्तव्यको सम्पादित अंश)


प्रकाशित : फाल्गुन १४, २०७९ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्

धरान रनमा भारतीय सेनाका लिम्बू र नेपाल पुलिसकी पछाई विजयी

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानमा १० किलोमिटरको ११ औं नेवा च्यारिटी रनमा खुला पुरुषतर्फ भारतीय सेनामा कार्यरत पाँचथरका दिपक सुहाङ लिम्बू प्रथम र महिलातर्फ नेपाल पुलिसकी राजपुरा पछाई प्रथम भएकी छन् ।

शनिबार सम्पन्न दौडमा लिम्बूले निर्धारित १० किलोमिटरको दुरी ३२ मिनेट ५ सेकेन्डमा पूरा गर्दै विजेता बन्दै नगद ६० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र हात पारे । पुरुषतर्फ दोस्रो भएका त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले ३२ मिनेट २४ सेकेण्डमा दौड पूरा गरेर दोस्रो पुरस्कार नगद ४० हजार रुपैयाँ हात पारे भने केन्याली धावक सिमेन किप्लागतले ३३ मिनेट १३ सेकेन्डमा दौड पूरा गरेर तेस्रो हुँदै नगद ३० हजार पाए ।

महिलातर्फ विजेता पछाईले निर्धारित १० किलोमिटरको दुरी ३७ मिनेट ३६ सेकेन्डमा दौड पूरा गरेकी थिइन् । त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले ४० मिनेट २८ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भइन् भने एपीएफकी आशा राउतले ४२ मिनेट २७ सेकेन्डमा दौड पार गर्दै तेस्रो भइन् । उनीहरुले क्रमशः मेडल र प्रमाणपत्रसँगै नगद ६० हजार, ४० हजार र ३० हजार पुरस्कार हात पारे ।

१६ वर्षमुनिको दौडमा पुरुषतर्फ कविन राई प्रथम, करण लिम्बू दोस्रो र अनिष लिम्बु तेस्रो भए । महिलातर्फ नानी तामाङ प्रथम, कुसुम राई दोस्रो र सुना सिद्धिकी तेस्रो भए । उनीहरुले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार पुरस्कार पाए । भेट्रानतर्फ पुरुषमा धर्म महर्जन प्रथम, निमेश क्षेत्री दोस्रो र पाण्डव महतो तेस्रो भए । भेट्रान महिलातर्फ जमुना लिम्बू प्रथम, श्रीलामा भुटिया दोस्रो र शर्मिला राई तेस्रो भए । उनीहरुले पनि नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ क्रमश: हात पारे ।

दौडका विजेताहरुलाई आयोजक धरान रनका संस्थापक सन्तोष राई, अध्यक्ष रमु राई, प्रमुख अतिथि धरानका मेयर हर्कराज साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, अभिनेता दयाहाङ राई, बीबीसी मास्टर सेफ विजेता सन्तोष साहलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा स्वदेश र विदेशका ३ हजारभन्दा बढीले धावक सहभागी भएका थिए । धरान रन च्यारिटीबाट संकलित रकम बालबालिकाको शिक्षामा खर्च गरिने बताइएको छ । अध्यक्ष रोमु राईले भने, ‘नेवा च्यारिटी कोषमा १२ लाख रुपैयाँ छ । त्यही कोषले १२ जना बालबालिकालाई पढाइरहेका छौं । यसपटकको रकम पनि कोषमै जम्मा गर्ने छौं ।’

प्रकाशित : फाल्गुन १४, २०७९ ११:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×