२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

लुम्बिनीको पर्यटन विकासमा संयुक्त प्याकेजको खाँचो

लुम्बिनीलाई चिनाउँदा बर्दिया छुट्न भएन र बर्दियालाई चिनाउँदा लुम्बिनी छुट्न भएन । लुम्बिनी घुम्न आउने पर्यटकलाई बर्दियाका बाघका बारेमा पनि बताउनुपर्‍यो ।
मोहन चौधरी

राज्यले लुम्बिनी प्रदेशलाई हेर्न दृष्टिकोण परिवर्तन गर्न जरुरी छ । लुम्बिनीको केही हदसम्म प्रचारप्रसार भए पनि सोही प्रदेशमा रहेको बर्दियाको प्रचारप्रसारमा राज्यको कुनै पनि निकायले हेरेको  देखिँदैन । संघीय सरकारले त कुनै चासो दिएको जस्तो लाग्दैन । अन्तर्राष्ट्रिय क्षेत्रले बरु आफ्ना जर्नलहरूमा बर्दियाको बारेमा चर्चा गरको छ । 

लुम्बिनीको पर्यटन विकासमा संयुक्त प्याकेजको खाँचो

लुम्बिनी प्रदेशको पर्यटन मन्त्रालय होस् वा ग्रामीण तथा सहरी विकास मन्त्रायल नै किन नहोस् बर्दियामा रहेका वन्यजन्तु वा बाघका बारेमा कुनै प्रचारप्रसार वा फोटोसम्म रहेको पाइँदैन । प्रदेशमा मात्र होइन देशको पर्यटन क्षेत्रका लागि प्रचारप्रसार गर्ने निकाय नेपाल पर्यटन बोर्डको वेबसाइटमासम्म बर्दियामा रहेका बाघका प्रकारका बारेमा कुनै प्रचार गरिएको छैन ।

पर्यटक लोभ्याउन प्रदेशका सबै निकाय र संघ संस्थाहरुले प्रचार गर्नुपर्नेमा सबै आ–आफ्ना क्षेत्रको प्रचारमा लागेको छन् । राज्यले पनि लुम्बिनीको प्रचार गर्दा जोडिएको बर्दियालाई छुटाएको छ ।

पर्यटकहरु पश्चिम आउँदा मुस्किलले लुम्बिनीसम्मको केही प्रचार पाउँछन् । पाल्पासम्मको केही प्रचार देखिन्छ । तर, त्यस्ता ठाँउमा बर्दियाको बाघको फोटो देख्न सकिन्न । बर्दियाको थारुको संस्किृति केही देख्न सकिन्न । लुम्बिनी आफैंमा यति विविध छ यो प्रदेश, यो प्रदेशको विविधताको विषयमा सरोकारवाला निकायले केही देख्दैनन्। त्यसकारण हामीले भन्ने गरेका छौं कि अन्तर्राष्ट्रिय क्षेत्रले चिनेको र देशले बिर्सिएको ठाउँ बर्दिया हो । म बर्दियाको परिचय यसरी दिन चाहान्छु । बाघ हेर्नलाई संसारको उच्चतम गन्तव्य हो भनेर संसारका राम्रा टुरिजम जर्नलहरुले सम्मान दिइरहेका छन् । बाघको संख्या बढाएकोमा अन्तर्राष्ट्रिय सम्मान छ ।

पर्यटन गन्तव्य बन्यो भनेर अन्तर्राष्ट्रिय सम्मान छ । तर राज्यको कुनै पनि अंगमा यस्ता सम्मानको केही नामोनिसान भेटिँदैन । यसले गर्दा बर्दियामा पर्यटकहरूको संख्यामा कुनै बढोत्तरी भएको छैन । अझै यसमा दिन प्रतिदिन घट्दो देखिन्छ । कोभिडको असर विस्तारै कम भएको अवस्थामा हाल अर्थतन्त्र नाजुक अवस्थामा पुगेको समय छ । यसमा पनि बर्दियामा रहेका पर्यटकजन्य क्षेत्रले जेनतेन थेग्ने कोसिस गरिरहेका छ । कोभिडपछाडि जेनतेन आन्तरिक पर्यटकले बर्दिया रिभाइब हुन खोजेको थियो । त्यसमा नेपाल राष्ट्र बैकले पनि केही राहत दिएको थियो । तर हालको अर्थतन्त्रको अवस्थाले झन् असर पुर्‍यायो । यसले बर्दियाका अधिकांश होटेलहरू तालचाबी कसैलाई बुझाउनु पर्छ कि भन्ने अवस्थामा पुगेका छन् । केही अघिसम्म विदेशी पर्यटक नआए पनि आन्तरिक पर्यटकहरुको एक किसिमको घुइँचो लाग्ने गरेको थियो बर्दियामा । तर अहिले निकुञ्जको गेटमा एउटा गाडी भित्र आउँदैन । चलायमान हुनुपर्ने क्षेत्र शान्त छ । यो अवस्थाबाट बर्दिया गुज्रिरहेको छ ।

बर्दियामा देशको लामो नदी बगिरहेको छ। प्राकृतिक विविधता छ । ऐतिहासिकता छ । यी सबैको खानी हुँदाहुँदै पनि बर्दिया पछि परेको छ ।

सम्भावनाबीच हाम्रा लगानी र प्रयास भइरहँदा पनि हामीले केही नीतिगत समस्या भोगिरहेका छौं । त्यो विषयमा पहिला पनि धेरै जिम्मेवार निकायसँग कुरा उठाइसकेका छौं । तर हालसम्म पनि समाधानको प्रयास भएको देखिँदैन ।

यसमा पहिलो समस्या भनेको बर्दिया राष्ट्रिय निकुञ्जको प्रवेश शुल्क नै हो । केही समयअघिसम्म एक पटक शुल्क लिएपछि ३ दिनसम्म त्यसले काम गर्थ्यो । यसले गर्दा पर्यटकको बसाइ लम्बाउँथ्यो । यसले गर्दा होटेलको पनि आम्दानी बढाउँथ्यो । यसलाई घटाएर प्रत्येक दिन टिकट लिनुपर्ने व्यवस्था गरियो । यसले पर्यटकको संख्या हृवात्तै घटायो । यसले पर्यटकको बसाई घटायो । बर्दिया यस्तो ठाउँ हो । जहाँ वन्यजन्तुप्रेमीले एकै दिनमा हात्ती, गैंडा र बाघ देख्न सक्छन् ।

सरकारलाई मेरो अनुरोध छ, शुल्क बढाउनुस् । राजस्व चाहिन्छ तर त्यसको भ्यालिडिटी पनि बढाउनुस् । एकै दिन ३५ सय लिनुहोस् तर त्यसको भ्यालिडिटी ३ दिन गर्नुहोस् । यसले पर्यटकको बसाइ लम्बाउन मद्दत गर्छ । स्थानीय उत्पादनले पनि बजार पाउँछ । त्यहाँको उद्यमीहरूले पनि आम्दानी गर्छन् । यस्तै बर्दियामा पूर्वाधार समस्या छ । यहाँका पूर्वाधारका लागि सरकारले छिटोभन्दा छिटो काम गनुपर्यो । यसको लागि नीतिगत समस्या छन् । बफर जोन भनेर घोषणा गरेको छ । मध्यवर्ती व्यवस्थापन समिति २०५२ छ । यो राष्ट्रिय निकुञ्ज संघअन्तर्गत पर्दछ । प्रदेश सरकारले बजेट दिन्छ, पूर्वाधार बनाऊ भनेर त्यसलाई संघ सरकारले रोकिदिन्छ । रुख काट्न पाइँदैन भनिदिन्छ अनि पूर्वाधार कसरी बन्छ ? यस्ता समस्या छन् । यसलाई तीनै तहका सरकार मिलेर सम्बोधन गर्न जरुरी छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज घोषणा हुँदा यसको क्षेत्रफल ९६८ वर्ग किमी र यसमा पश्चिमी सिमाना भनेर गेरुवा नदीको पश्चिमी किनारा भनेर तोकिएको थियो । अहिले नदीले आफ्नो सिमाना काट्दै गएको छ । नदीले सिमाना काट्दै गर्दा त्यस क्षेत्रका बासिन्दाको उठिबास भएको छ ।

हालसम्म त्यहाँका स्थानीय जनताको सयौं बिघा जग्गा कटिसक्यो । व्यवहारमा निकुञ्जले भन्छ त्यो सिमाना त्यो किनारासम्म हो । लिखितमा ९६८ वर्ग किमि हो तर नदीको कटानले क्षेत्रफल निक्रै फैलिसक्यो । त्यसकारण नदीले काटेको जग्गा अधिग्रहण गनुपर्यो अन्यथा आफ्नो क्षेत्र पुनःसीमांकन गर्नुपर्‍यो ।

यस्तै बफर जोनभित्र जानका लागि अर्को शुल्क तिनुपर्ने अवस्था रहेको छ । यसलाई पनि सम्बोधन गर्न जरुरी छ । हामी पर्यटन र कृषिलाई देशको उद्यम भनिरहेका छौं । तर, पर्यटनको पढाइ कुन विद्यालयमा भइरहेको छ ? कृषिको पढाइ कुन विद्यालयमा भइरहेको छ ? सानैदेखि यस्ता कुरा सिक्नु पर्दैन ? त्यसैले यी नीतिगत सुधार हुनु जरुरी छ । हामी समग्र लुम्बिनी प्रदेशको विकास पर्यटनलाई बनाउने हो भने केही समस्याहरु समाधान हुन जरुरी छ ।

पर्यटनलाई कुनै एक इभेन्टका रूपमा बुझिएको छ । पर्यटनलाई इभेन्टका रूपमा बुझ्न भएन, सोच परिवर्तनको आवश्यकता छ । पर्यटनलाई संस्किृतिको रूपमा विकास गर्नुपर्छ । अतिथि देवो: भवः भन्ने अनि होटेलमा गएपछि मात्रै अतिथि देवोः भवः भन्ने नारा लाएर हुँदैन । होटेल पुग्नुअगाडिसम्म ऊ पुग्ने सबै ठाउँमा सत्कार गर्नु जरुरी छ ।

सबै संयुक्त प्रवर्द्धनमा जानुपर्छ । लुम्बिनीले बर्दियाको बाघको कुरा छुट्न भएन । बर्दियामा बाघ हेर्न आउनेले लुम्बिनीको बारेमा पनि जानकारी पाउनुपर्छ । यसरी मात्रै पर्यटनको विकास हुन सक्छ । लुम्बिनीलाई चिनाउँदा बर्दिया छुट्न भएन र बर्दियालाई चिनाउँदा लुम्बिनी छुट्न भएन । राज्यका सबै तहले देशमा रहेको पर्यटन क्षेत्रलाई चिनाउने संयुक्त प्याकेज बनाएर देशका आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन सकिन्छ ।

(होटेल संघ बर्दियाका अध्यक्ष मोहन चौधरीले कान्तिपुर मिडिया ग्रुपद्वारा माघ २१ गते भैरहवामा आयोजित 'कान्तिपुर: लुम्बिनीको सामर्थ्य'मा दिएको मन्तव्यको सम्पादित अंश)

प्रकाशित : माघ २५, २०७९ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?