लुम्बिनीको पर्यटन विकासमा संयुक्त प्याकेजको खाँचो


राज्यले लुम्बिनी प्रदेशलाई हेर्न दृष्टिकोण परिवर्तन गर्न जरुरी छ । लुम्बिनीको केही हदसम्म प्रचारप्रसार भए पनि सोही प्रदेशमा रहेको बर्दियाको प्रचारप्रसारमा राज्यको कुनै पनि निकायले हेरेको देखिँदैन । संघीय सरकारले त कुनै चासो दिएको जस्तो लाग्दैन । अन्तर्राष्ट्रिय क्षेत्रले बरु आफ्ना जर्नलहरूमा बर्दियाको बारेमा चर्चा गरको छ ।

लुम्बिनी प्रदेशको पर्यटन मन्त्रालय होस् वा ग्रामीण तथा सहरी विकास मन्त्रायल नै किन नहोस् बर्दियामा रहेका वन्यजन्तु वा बाघका बारेमा कुनै प्रचारप्रसार वा फोटोसम्म रहेको पाइँदैन । प्रदेशमा मात्र होइन देशको पर्यटन क्षेत्रका लागि प्रचारप्रसार गर्ने निकाय नेपाल पर्यटन बोर्डको वेबसाइटमासम्म बर्दियामा रहेका बाघका प्रकारका बारेमा कुनै प्रचार गरिएको छैन ।
पर्यटक लोभ्याउन प्रदेशका सबै निकाय र संघ संस्थाहरुले प्रचार गर्नुपर्नेमा सबै आ–आफ्ना क्षेत्रको प्रचारमा लागेको छन् । राज्यले पनि लुम्बिनीको प्रचार गर्दा जोडिएको बर्दियालाई छुटाएको छ ।
पर्यटकहरु पश्चिम आउँदा मुस्किलले लुम्बिनीसम्मको केही प्रचार पाउँछन् । पाल्पासम्मको केही प्रचार देखिन्छ । तर, त्यस्ता ठाँउमा बर्दियाको बाघको फोटो देख्न सकिन्न । बर्दियाको थारुको संस्किृति केही देख्न सकिन्न । लुम्बिनी आफैंमा यति विविध छ यो प्रदेश, यो प्रदेशको विविधताको विषयमा सरोकारवाला निकायले केही देख्दैनन्। त्यसकारण हामीले भन्ने गरेका छौं कि अन्तर्राष्ट्रिय क्षेत्रले चिनेको र देशले बिर्सिएको ठाउँ बर्दिया हो । म बर्दियाको परिचय यसरी दिन चाहान्छु । बाघ हेर्नलाई संसारको उच्चतम गन्तव्य हो भनेर संसारका राम्रा टुरिजम जर्नलहरुले सम्मान दिइरहेका छन् । बाघको संख्या बढाएकोमा अन्तर्राष्ट्रिय सम्मान छ ।
पर्यटन गन्तव्य बन्यो भनेर अन्तर्राष्ट्रिय सम्मान छ । तर राज्यको कुनै पनि अंगमा यस्ता सम्मानको केही नामोनिसान भेटिँदैन । यसले गर्दा बर्दियामा पर्यटकहरूको संख्यामा कुनै बढोत्तरी भएको छैन । अझै यसमा दिन प्रतिदिन घट्दो देखिन्छ । कोभिडको असर विस्तारै कम भएको अवस्थामा हाल अर्थतन्त्र नाजुक अवस्थामा पुगेको समय छ । यसमा पनि बर्दियामा रहेका पर्यटकजन्य क्षेत्रले जेनतेन थेग्ने कोसिस गरिरहेका छ । कोभिडपछाडि जेनतेन आन्तरिक पर्यटकले बर्दिया रिभाइब हुन खोजेको थियो । त्यसमा नेपाल राष्ट्र बैकले पनि केही राहत दिएको थियो । तर हालको अर्थतन्त्रको अवस्थाले झन् असर पुर्यायो । यसले बर्दियाका अधिकांश होटेलहरू तालचाबी कसैलाई बुझाउनु पर्छ कि भन्ने अवस्थामा पुगेका छन् । केही अघिसम्म विदेशी पर्यटक नआए पनि आन्तरिक पर्यटकहरुको एक किसिमको घुइँचो लाग्ने गरेको थियो बर्दियामा । तर अहिले निकुञ्जको गेटमा एउटा गाडी भित्र आउँदैन । चलायमान हुनुपर्ने क्षेत्र शान्त छ । यो अवस्थाबाट बर्दिया गुज्रिरहेको छ ।
बर्दियामा देशको लामो नदी बगिरहेको छ। प्राकृतिक विविधता छ । ऐतिहासिकता छ । यी सबैको खानी हुँदाहुँदै पनि बर्दिया पछि परेको छ ।
सम्भावनाबीच हाम्रा लगानी र प्रयास भइरहँदा पनि हामीले केही नीतिगत समस्या भोगिरहेका छौं । त्यो विषयमा पहिला पनि धेरै जिम्मेवार निकायसँग कुरा उठाइसकेका छौं । तर हालसम्म पनि समाधानको प्रयास भएको देखिँदैन ।
यसमा पहिलो समस्या भनेको बर्दिया राष्ट्रिय निकुञ्जको प्रवेश शुल्क नै हो । केही समयअघिसम्म एक पटक शुल्क लिएपछि ३ दिनसम्म त्यसले काम गर्थ्यो । यसले गर्दा पर्यटकको बसाइ लम्बाउँथ्यो । यसले गर्दा होटेलको पनि आम्दानी बढाउँथ्यो । यसलाई घटाएर प्रत्येक दिन टिकट लिनुपर्ने व्यवस्था गरियो । यसले पर्यटकको संख्या हृवात्तै घटायो । यसले पर्यटकको बसाई घटायो । बर्दिया यस्तो ठाउँ हो । जहाँ वन्यजन्तुप्रेमीले एकै दिनमा हात्ती, गैंडा र बाघ देख्न सक्छन् ।
सरकारलाई मेरो अनुरोध छ, शुल्क बढाउनुस् । राजस्व चाहिन्छ तर त्यसको भ्यालिडिटी पनि बढाउनुस् । एकै दिन ३५ सय लिनुहोस् तर त्यसको भ्यालिडिटी ३ दिन गर्नुहोस् । यसले पर्यटकको बसाइ लम्बाउन मद्दत गर्छ । स्थानीय उत्पादनले पनि बजार पाउँछ । त्यहाँको उद्यमीहरूले पनि आम्दानी गर्छन् । यस्तै बर्दियामा पूर्वाधार समस्या छ । यहाँका पूर्वाधारका लागि सरकारले छिटोभन्दा छिटो काम गनुपर्यो । यसको लागि नीतिगत समस्या छन् । बफर जोन भनेर घोषणा गरेको छ । मध्यवर्ती व्यवस्थापन समिति २०५२ छ । यो राष्ट्रिय निकुञ्ज संघअन्तर्गत पर्दछ । प्रदेश सरकारले बजेट दिन्छ, पूर्वाधार बनाऊ भनेर त्यसलाई संघ सरकारले रोकिदिन्छ । रुख काट्न पाइँदैन भनिदिन्छ अनि पूर्वाधार कसरी बन्छ ? यस्ता समस्या छन् । यसलाई तीनै तहका सरकार मिलेर सम्बोधन गर्न जरुरी छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज घोषणा हुँदा यसको क्षेत्रफल ९६८ वर्ग किमी र यसमा पश्चिमी सिमाना भनेर गेरुवा नदीको पश्चिमी किनारा भनेर तोकिएको थियो । अहिले नदीले आफ्नो सिमाना काट्दै गएको छ । नदीले सिमाना काट्दै गर्दा त्यस क्षेत्रका बासिन्दाको उठिबास भएको छ ।
हालसम्म त्यहाँका स्थानीय जनताको सयौं बिघा जग्गा कटिसक्यो । व्यवहारमा निकुञ्जले भन्छ त्यो सिमाना त्यो किनारासम्म हो । लिखितमा ९६८ वर्ग किमि हो तर नदीको कटानले क्षेत्रफल निक्रै फैलिसक्यो । त्यसकारण नदीले काटेको जग्गा अधिग्रहण गनुपर्यो अन्यथा आफ्नो क्षेत्र पुनःसीमांकन गर्नुपर्यो ।
यस्तै बफर जोनभित्र जानका लागि अर्को शुल्क तिनुपर्ने अवस्था रहेको छ । यसलाई पनि सम्बोधन गर्न जरुरी छ । हामी पर्यटन र कृषिलाई देशको उद्यम भनिरहेका छौं । तर, पर्यटनको पढाइ कुन विद्यालयमा भइरहेको छ ? कृषिको पढाइ कुन विद्यालयमा भइरहेको छ ? सानैदेखि यस्ता कुरा सिक्नु पर्दैन ? त्यसैले यी नीतिगत सुधार हुनु जरुरी छ । हामी समग्र लुम्बिनी प्रदेशको विकास पर्यटनलाई बनाउने हो भने केही समस्याहरु समाधान हुन जरुरी छ ।
पर्यटनलाई कुनै एक इभेन्टका रूपमा बुझिएको छ । पर्यटनलाई इभेन्टका रूपमा बुझ्न भएन, सोच परिवर्तनको आवश्यकता छ । पर्यटनलाई संस्किृतिको रूपमा विकास गर्नुपर्छ । अतिथि देवो: भवः भन्ने अनि होटेलमा गएपछि मात्रै अतिथि देवोः भवः भन्ने नारा लाएर हुँदैन । होटेल पुग्नुअगाडिसम्म ऊ पुग्ने सबै ठाउँमा सत्कार गर्नु जरुरी छ ।
सबै संयुक्त प्रवर्द्धनमा जानुपर्छ । लुम्बिनीले बर्दियाको बाघको कुरा छुट्न भएन । बर्दियामा बाघ हेर्न आउनेले लुम्बिनीको बारेमा पनि जानकारी पाउनुपर्छ । यसरी मात्रै पर्यटनको विकास हुन सक्छ । लुम्बिनीलाई चिनाउँदा बर्दिया छुट्न भएन र बर्दियालाई चिनाउँदा लुम्बिनी छुट्न भएन । राज्यका सबै तहले देशमा रहेको पर्यटन क्षेत्रलाई चिनाउने संयुक्त प्याकेज बनाएर देशका आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन सकिन्छ ।
(होटेल संघ बर्दियाका अध्यक्ष मोहन चौधरीले कान्तिपुर मिडिया ग्रुपद्वारा माघ २१ गते भैरहवामा आयोजित 'कान्तिपुर: लुम्बिनीको सामर्थ्य'मा दिएको मन्तव्यको सम्पादित अंश)
प्रकाशित : माघ २५, २०७९ २१:३७