महिला उद्यमीको संख्या बढे मात्र अर्थतन्त्र सबल- विविधा - कान्तिपुर समाचार

महिला उद्यमीको संख्या बढे मात्र अर्थतन्त्र सबल

सोनाली गुरुङ

काठमाडौँ — हाम्रो आइटी स्टिल स्टक्चर सोलुसन कम्पनी एक युरोपियन टेक्नोलोजी हो । यो टेक्नोलोजी विदेशमा यसअघि नै विश्वसनीय भइसके पनि नेपालमा नयाँ कन्सेप्ट रहेको छ । २०७२ को भूकम्पमा भएको क्षतिपछि ३ वर्षको गहन अनुसन्धान गरी हामीले यो टेक्नोलोजी लिएर आएका हौं ।

२०१५ पछि भार नहुने घरहरुको विकास हुन थालेको छ । यो टेक्नोलोजीद्वारा ठूला – ठूला घर पनि बनाउन सक्छौं, भवनहरु निर्माण गर्न सक्छौं । हाम्रो टेक्नोलोजीमा एमएस स्टिल राखेर ठूला भवन पनि बनाउन सकिन्छ । यस्ता घरमा भार कम पर्ने भएकाले भूकम्पमा मानवीय र भाैतिक संरचनाहरुको क्षति निकै कम हुन जान्छ । अहिले हाम्रो मुख्य चुनौती भनेको बैंकको उच्च ब्याजदर हो । कुनै पनि बिजनेसको संभाव्यता अध्ययन गरी लागत, तिर्ने क्षमता मूल्यांकन गरेर मात्रै ऋण लिन्छौं । सुरुमा ऋण लिँदा ब्याजदर ७– ८ प्रतिशत थियो । तर हाल यो १६–१७ प्रतिशतसम्म तिर्नु परेको छ । यसले गर्दा हाम्रो प्रोजेक्ट नै अब फेल हुने अवस्थामा पुगेको छ । विशेषत सुरुवाती इमर्जिङ व्यवसायीलाई 'सर्भाइव' गर्न निकै गाह्रो छ ।

अर्को भनेको भन्सार महसुल पनि चुनौतीकै विषय छ । हामीले धेरै रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई चलायमान गर्नको लागि योगदान पुर्‍याउन खोज्छौं । त्यसकारण सरकारले भन्सार महसुलको दर पनि हेरिदिनुपर्छ । मेसिनमा ३३ प्रतिशत भन्सार महसुल लगाइरहेको अवस्था छ । कच्चा पदार्थको पनि समस्या छ । कच्चा पदार्थ हामीले चीन वा भारतबाट ल्याउनुपर्ने बाध्यता छ । हाम्रो इन्डस्ट्रिजले खपत गर्ने कच्चा पदार्थ जिङ्ककोटिङ पातालाई तयारी वस्तुको रुपमा हेरिएको छ, जसले गर्दा हामीलाई कच्चा पदार्थमा पनि भन्सार महसुल २० प्रतिशत छ । अर्को भनेको म्यानुफ्याक्चरिङ र फ्रेब्रिकेसन इन्डस्ट्रिज वर्गीकरण गर्नमा समस्या छ । सरकारले वर्गीकरण गरी फ्रेब्रिकेसन इन्डस्ट्रिजलाई छुट्याइदिनुपर्छ । हामीले दर्ता गर्दा फ्रेब्रिकेसन भन्ने कुनै शब्द नै नभएकाले म्यनुफ्याक्चरिङ कम्पनीका रुपमा दर्ता गराउनु परेको छ । बैंकले हरेक महिना वा त्रैमासिक बिक्री रिपोर्ट माग्छ । तर हामी प्रोजेक्टमा आधारित काम गर्छौं, सेल्स गर्देनौं । तसर्थ बैंकले प्रोजेक्टमा आधारित व्यवसायलाई छुट्टाएर हेरिदिनु पर्‍यो ।

नेपालमा टेक्निकल फिल्डमा महिलाको संख्या निकै कम छ । पछिल्लो समय पुरुषले पनि आफ्ना श्रीमतीहरुलाई टेक्निकल फिल्डमा अगाडि बढाइरहनु भएको छ । बुबाहरुले छोरीहरुलाई आवद्ध गराउनुभएको छ । जबसम्म छोरीहरुलाई हरेक किसिमका बिजनेसमा आवद्ध गर्दनौं तवसम्म अर्थतन्त्रलाई अघि बढाउन गाह्रो हुन्छ ।

कम्पनी दर्ता गर्ने क्रममा भएको एउटा रमाइलो घटना म भन्छु । बुवाले प्रेरणा दिएकाले हामी ३ छोरीहरु कम्पनी दर्ता गर्नका लागि प्रपोजल बुझाउन गयौं । हामी आफैंले प्रपोजल लेखेर जाँदा त्यहाँका हाकिमले हाम्रो ब्युटीपार्लरको लागि वा आचार उद्योगका लागि आएको ठान्नुभएछ । उहाँले नै महिलाहरुले टेक्निकल फिल्डमा पनि उद्योग खोल्न सक्छन् भनेर सोच्नै सक्नुभएको रैनछ । त्यसैले अब सोचलाई परिवर्तन गर्नुपर्छ । महिलाहरु दक्ष भइसकेका छन् । अब छोरी, बुहारीहरु पनि सक्षम भइसकेका छन् । यदि हामीले बराबरी गर्न सकेनौं महिलाहरु जहाँको त्यहीं हुन्छौं । दर्तामा प्रपोजल दिएपछि १० वटा त्रुटि निकालियो । किनभने हामीले दर्ताको लागि कसैलाई घुस खुवाएनौं । उद्योग दर्ता गर्न छ महिना लाग्यो । कत्ति पनि रकम नबुझाइकन कम्पनी दर्ता गर्न सफल भयौं ।

महिलाहरुलाई आर्थिक रुपले समृद्ध बनाउन महिलाहरुमार्फत नै अझै उद्योगमा लगानी बढाउनुपर्छ । यसले हाम्रो अर्थतन्त्र पनि सबल हुन्छ । महिलाहरुलाई उद्योगमा सहभागी गराउनका लागि ‘सफ्ट लोनको सिलिङ’ अझै बढाउनुपर्छ । २५ लाख मात्रै नभएर १ देखि २ करोडसम्मको सीमा राखेर सफ्ट लोनको व्यवस्था गर्नुपर्छ । ब्याजदर थोरै राखेर प्रोत्साहन गरियो भने महिलाहरुलाई अगाडि बढ्न सजिलो हुन्छ । महिलाहरुलाई प्राविधिक क्षेत्रमा प्रोत्साहन गराउनु पर्छ । सरकारले नै छात्रवृत्ति दिएर महिलालाई प्राविधिक सीप सिकाउने, व्यवसायका लागि सस्तो ब्याजदरमा उचित ऋण रकम बैंकमार्फत लगानी गराउन सक्यौं भने यसले अर्थतन्त्रलाई नै अघि बढाउँछ ।

(आइटी स्टिल स्टक्चर सोलुसनकी प्रवन्ध निर्देशक गुरुङले कान्तिपुर मिडिया ग्रुपद्वारा माघ २१ गते भैरहवामा आयोजित 'कान्तिपुर: लुम्बिनीको सामर्थ्य'मा दिएको मन्तव्यको सम्पादित अंश)

प्रकाशित : माघ २५, २०७९ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्

उद्योगीलाई उच्च ब्याजदर र अस्थिर व्यवस्था नै बाधक 

कृष्णप्रसाद शर्मा

काठमाडौँ — अर्थतन्त्र निजी क्षेत्रबिना चलायमान हुँदैन भन्नेबारे व्याख्या हुन्छ । तर अहिले निजी क्षेत्र शून्य अवस्थामा छ । लुम्बिनी प्रदेशमा सानादेखि ठूलासम्मका उद्योगहरुको उत्पादन नै घटेको छ । यहाँका उद्योगहरुको उत्पादन अहिले क्षमताको २० प्रतिशत पनि छैन । ठूला– ठूला सिमेन्ट, डण्डी उद्योगहर यस प्रदेशमा छन्, ती सबैको उत्पादन २० प्रतिशत पनि छैन ।

दैनिक ५०–५५ हजार बोरा सिमेन्ट उत्पादन गर्ने उद्योगले हाल ३ हजार मात्रै उत्पादन गरिरहेको अवस्था छ । ठूला लगानीका यी उद्योग अब कसरी टिक्न सक्छ ? यी उद्योगहरु पनि एक वर्षमै तंग्रिन्छ भन्ने छैन । ऋणको ब्याजदर अहिले करिब दोब्बर भइसक्यो । ठूला मात्रै होइन, साना व्यावसायी जसले २०–३० लाख रुपैयाँ ऋण लिँदा ७–८ प्रतिशत ब्याज थियो । अहिले १६ प्रतिशत पुग्यो, तिर्न सक्ने अवस्था भएन । आखिर हिजो बैंकले नै हामीलाई ऋण लिन उकासेको हो । बैंकमा तरलता बढी हुँदा उनीहरुले नै ऋण लैजान बारम्बार दवाव नै दिएका हुन् । हामीले पनि बैंकको साँवा, ब्याज तिर्दैनौं भनेका छैनौं । तर व्यावसायीलाई कालोसूचीबाट बाहिर निकाल्न एउटा विधि, व्यवस्था हुनुपर्छ । अप्ठेरो अवस्थामा बैंकले पनि सहजीकरण गरिदिनुपर्छ ।

अहिले बैंकले जुन प्रकारले ऋणीबाट साँवा, ब्याज उठाउन कडाइ गरेका छन् । एकैपटक कडाइ गर्दा मारमा परेका साना व्यावसायी कसरी उठ्ने ? ब्याज र साँवा नै तिर्न नसक्ने अवस्थामा बैंकले ऋणीको सम्पत्ति लिलामी नगरिदिनुस् । ठूला उद्योगीलाई त बैंकले ऋणको पुनर्तालिकीकरण गर्दै आएका छन् । १०– १५ लाख ऋण लिएका व्यवसायीलाई त अनुदान दिएर पनि टिकाउनुपर्ने हुन्छ । वा ३–४ वर्षको समय थपिदिएर पनि व्यवस्थापन गर्न सकिन्छ । बैंकहरुमा पनि अनियमितता छ । उदाहरणका रुपमा मेरो सात कठ्ठा जग्गाको भ्यालुएसनपछि एक बैंकले ५० लाख ऋण दियो । त्यहीं क्षेत्रको त्यति नै जग्गामा मेरो दाइले ३ करोड रुपैयाँ ऋण लियो । बैंकले टाउकोअनुसार व्यवहार गरेको त देखियो नि । यस्तो अवस्थामा नव उद्यमशील व्यक्ति आएर कसरी व्यवसाय गर्न सक्छ ?

एक महिना क्रसर उद्योगहरु बन्द भए । उद्योग मन्त्रालयमा दर्ता भएका ती उद्योग गृह मन्त्रालयले बन्द गरिदियो । किन बन्द गरिए, अहिले किन खुले, बन्द गरिँदाको पीडा कसैले बुझेन । यसले व्यवसयामा अभिप्रेरित हुन चाहने पनि स्वभाविक रुपले पछि हट्ने वातावरण छ ।

मैले उद्योग खोल्दा एउटा विधि, व्यवस्था, बजार, लागत कच्चा पदार्थ, भन्सार ट्याक्स लगायतका सम्पूर्ण कुरा हेर्छु । म उद्योग स्थापना गर्छु । अर्का वर्ष बजेटबाट सरकारले कच्चा पदार्थमा भन्सार महशुल वृद्धि गर्छ । हो, भन्सार शुल्क नभई राज्य चल्न सक्दैन । तर त्यो भन्सार शुल्क स्थिर हुनुपर्‍यो । त्यस्तै बैंकले पनि उद्योग खोलेको एक वर्षमै ब्याज बढाइदिन्छ, अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य पनि बढ्छ । १०० करोड लागत लागेका उद्योग उत्पादन बेच्न नपाउँदै धरासयी हुन्छन् । यस्तो अस्थिर अवस्थामा उद्योग किन खोल्ने ?

उद्योग खोल्दा उद्योगलाई नै ऋण प्रवाह गनुपर्नेमा व्यक्तिलाई ऋण प्रवाह भइरहेको छ । धितोका लागि बैंकलाई व्यक्तिगत सम्पत्ति दिनुपर्छ । सम्भाव्यता अध्ययन गरेर उद्योग वा प्रोजेक्टको प्रपोजल दिएको छ, फिजिबल छ, दीगो छ भने मात्रै मलाई लगानी गरिदिनुहोस् न । यावत् समस्याका कारण उद्यमबाट अहिले धेरै व्यावसायी ब्यापारतिर लागिरहेका छन् । पूर्वाधारमा पनि उस्तै समस्या छन् । म भैरहवा बसेको मान्छे, नेपालगञ्ज वा भरतपुर छिटो जानुपरेमा विमानबाट उड्न सक्दिनँ । सबैतिर अन्तरउडान हुनुपर्‍यो नि । अनि पो विमानस्थलदेखि व्यवसायहरु पनि चलायमान हुन्छन् । निजी क्षेत्रले खास वातावरण खोजेको हो । अर्थतन्त्र चलायमान गर्नका लागि हामी र राज्यले के–के अभ्यास गर्ने त ? राज्य संवेदनशील हुनुपर्‍यो ।

(लुम्बिनी प्रदेशका उद्योग वाणिज्य महासंघ अध्यक्ष शर्माले कान्तिपुर मिडिया ग्रुपद्वारा माघ २१ गते भैरहवामा आयोजित 'कान्तिपुर: लुम्बिनीको सामर्थ्य'मा दिएको मन्तव्यको सम्पादित अंश)

प्रकाशित : माघ २५, २०७९ १४:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×