२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बुटवललाई महानगर घोषणा गर्न मात्र बाँकी

खेलराज पाण्डेय

काठमाडौँ — बुटवल झन्डै एक करोड १० लाख वर्षअघि रामपिथेकसको मानव बस्ती अस्थिपञ्जर प्राप्त भएको क्षेत्र हो । यो पुरानो पहिचान भएको क्षेत्र हो । यसलाई हामीले गम्भीरतापूर्वक लिएका छैनौं । रामापिथेकस र एक करोड १० लाख वर्षअघिको परिस्थिति आज हामीले बुद्धकालीन समयको २६ सय वर्षअघिको कुरालाई जोडिरहेका छौं । 

बुटवललाई महानगर घोषणा गर्न मात्र बाँकी

१ करोड १० लाख वर्षअघि बुटवलको सेरोफेरोमा बस्ती थियो भन्ने विषय हाम्रा लागि अध्ययनको कुरा हो । खोजीको कुरा हो । संसारभरले यस कुरालाई हेरेको छ । तर हामीले यसलाई गम्भीरतापूर्वक लिएका छौं कि छैनौं ? यस विषयमा सबै तहबाट खोजी हुन सकोस् । यसमा हामीले चासो दिनुपर्छ । बुटवल यस्तो सहर हो, पहाडबाट बाबुबाजे घिउ बेच्न आउँथे । हामीले नुन, कपडा र तेल लिएर जान्थ्यौं । यो उत्तर–दक्षिणको व्यापारिक नाका पनि हो, पूर्वपश्चिमको संगमस्थल पनि हो । त्यसैले बुटवलको महत्त्वलाई फरक ढंगले हेर्नुपर्छ । संघीयताको स्थापना भइसकेपछि ७ प्रदेशका अस्थायी राजधानीमध्ये ६ ठाउँमा स्थायी भए । तर बुटवलले राजधानी नपाउनु अभिशाप हो । राजधानी यहाँबाट खोसिएको छ, चुँडिएको छ । बुटवललाई अहिलेको, हिजोको र पुरातन बुटवलबाट हेर्नुपर्छ ।

विकास निर्माणमा हेर्दा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा एउटा मोडल हो, बुटवल । अहिले पनि धेरै जस्तो निर्माणमा ६०–४० मा छौं । निर्माणमा जनताको सहभागिता ६० र स्थानीय तहको ४० प्रतिशत छ । बजेटको सिलिङ र बुटवलको निर्माण हेर्दा बजेटको सिलिङभन्दा तीन दोब्बर बढी यहाँ विकास निर्माण भइरहेको छ । यो बुटवलले गौरव गर्ने कुरा हो । नेपालमा पीपीपी मोडलको स्थापना नहुँदै ०५० सालकै सेरोफेरोमा बुटवलबाट यसको सुरु भएको हो ।

बुटवल उपमहानगरपालिकाको तथ्यांकका आधारमा महानगरपालिका बनिसक्नुपर्ने हो । राजस्वको जुन उठती छ, महानगरपालिकाको आँकडाभन्दा कम छैन । जनसंख्याको आँकडा पनि त्योभन्दा कम छैन । जनसंख्या जति तथ्यांकमा लिइएको छ, त्योभन्दा दोब्बर हिसाबको बसोबास छ । एउटा वडामा मात्र बसोबास अनुमानित सवा लाख जति छ । छाडा चौपायका लागि गौशालाको राम्रो व्यवस्था गरिएको छ । सरकारीमा प्रादेशिक अस्पताललगायत १२ वटा सहरी स्वास्थ्य केन्द्र, बर्थिङ सेन्टर स्थापना भएका छन् । सरकारी विद्यालयमा भर्ना गर्न प्रतिस्पर्धा चल्छ । धेरै बजेट सरकारी विद्यालय सुधारका लागि छुट्याएका छौं । मानवीय सूचकांकको विकासलाई महत्त्व दिएका छौं । एउटा भौतिक विकासको कुरा हुन्छ, त्योभन्दा महत्त्वपूर्ण विकास मानवीय संसाधनको विकास हुन्छ । शिक्षाको क्षेत्रमा बुटवल देशकै अग्रणी स्थानमा छ । उद्योगी व्यवसायीलाई पनि आकर्षित गरेर बुटवलाई लगानीमैत्री बनाउन खोजेका छौं । बुटवल उद्योगमैत्री, व्यापारमैत्री क्षेत्र हो भनेर सम्मेलन राख्ने तयारीमा छौं ।

भाग्यले प्रदेशको राजधानी खोसेर लगे पनि यसमा विशेष बहस होला । तर आर्थिक क्षेत्रमा बुटवललाई देशभरमै समृद्ध सहर बनाउन राजनैतिक दल, संघसंस्था सबै समुदायसँग लागिपर्नेछौं । बुटवललाई देशको सबल आर्थिक केन्द्रका रूपमा स्थापित गर्न चाहन्छौं । त्यसैले सबै पूर्वाधार तयार छ, महानगर घोषणा गर्न माक्र बाँकी छ । यसमा इच्छाशत्तिको कुरा हो । यसमा संघीय सरकारले हेर्नुपर्छ । अरु क्षेत्र जोड्दा पनि यो महानगर बन्न सक्ने सम्भावना छ । नजोडीकन पनि घोषणा गर्दा पनि यसका आधारस्तम्भ कहाँनिर कमी छन्, यो पूरा गर्न तयार छौं । ६ वडालाई सहरी हरियाली क्षेत्रका रूपमा अघि बढाउँदै छौं ।

०५० सालको सेरोफेरो हेर्दा चुरे क्षेत्र जति खाली देखिन्थ्यो । अहिले बुटवलबाट चुरे क्षेत्र हेर्दा सबै हरियाली देखिन्छ । सामुदायिक वनहरूले ऊत्कृष्ट काम गरेका छन् । क्रंत्रिटको मात्र सहर बुटवल छैन । अहिले जनताबाट पनि बाटो बनाइदिनुस् । पुल बनाइदिनुस् भनेर आऊँदैन । महिला दक्षता, रोजगार, लक्षित वर्गका कार्यक्रमलगायत जोडिएर आएका छन् । घरमा बसेका महिला दिदी–बहिनीहरूलाई गृहिणी रोजगार कार्यत्रम ल्याएर सीप, आर्थिक र रजानीतिसँग जोड्ने काम अघि बढाउन खोजेका छौं । तर संघ र प्रदेशको कानुनका कारण अघि बढ्न सकेका छैनौं । सुकुमबासी र अव्यस्थित क्षेत्रको लालपुर्जा संघको भूमि आयोगले टुंगो लगाइदिनुपर्‍यो, कि हामीलाई काम गर्न दिनुपर्‍यो । यसमा अलमल भइरहेको छ ।

जनताले ०१६ सालदेखि सहज रूपमा आफ्नो घरसम्पत्ति उपयोग गरेकामा अहिले व्यक्तिगत खरिद गरे जस्तो राज्यलाई कर बुझाउनुपरेको छ । यसमा राज्यले सोच्नुपर्छ । स्थानीय सरकारले आवश्यकताअनुसार उपयोग गर्ने ऐन जबसम्म बन्दैनन्, तबसम्म संघ, प्रदेश सरकारसँग लडिरहनुपर्ने बाध्यता हुनेछ । आर्थिक क्षेत्रमा पनि संघ र प्रदेश सरकार उदार हुन जरुरी छ ।

यता कतिपय निर्माणका कुरामा ढिलाइ भइरहेको छ । सुनौली–चिडियाखोला सडक ६ लेनको बनाउने भनेर काम सुरु भए पनि निर्माण व्यवसायीका कारण ढिलासुस्ती भएको छ । बुटवल–नारायणढ सडक अझै सकिएको छैन । अहिलेसम्म अधुरो छ । बुटवलमा दुई ओटा महत्त्वपूर्ण केबलकार समयमै बनिरहेका छन् । यसले भारतका धेरै क्षेत्रका पर्यटकलाई चुरे पहाडसँग जोड्नेछ । ८१३ बिघा जग्गाभित्र मोतीपुर औद्योगिक क्षेत्र बन्ने भनिएको थियो । स्थानीयको २५० बिघा जग्गा परेका कारण त्यसको बुटवल उपमहानगरपालिका र बालाजु औद्योगिक क्षेत्र मिलेर पुनः नापी गरिएको छ । यो टुंगिने क्रममा छ । पाँच सय बिघाको सेरोफेरोमा नयाँ औद्योगिक क्षेत्र बानउने काम हुँदै छ ।

बुटवलबाट हिन्दु धार्मिक पर्यटन याक्रा मुत्तिनाथसम्म र बुद्ध धार्मिक पर्यटन कोरला नाकादेखि लुम्बिनीसम्म गर्न सकिनेछ । सुनौलीदेखि कोरला नाकासम्म एउटै सडकबाट दुई वटा हिन्दु र बुद्धिस्टका धार्मिक यात्रा गर्न सकिनेछ । भारत र चीन जोड्ने व्यापारिक नाकालाई समृद्ध बुटवलसँग जोडेका छौं । अन्तर्राष्ट्रिय विमानस्थल र ६ लेन सडक यसका आधार हुन् ।

(बुटवल उपमहानगरपालिकाका मेयर पाण्डेले कान्तिपुर मिडिया ग्रुपद्वारा माघ २१ गते भैरहवामा आयोजित 'कान्तिपुर: लुम्बिनीको सामर्थ्य'मा दिएको मन्तव्यको सम्पादित अंश)


प्रकाशित : माघ २४, २०७९ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?