पहिचानको पर्खाइ- विविधा - कान्तिपुर समाचार
लुम्बिनीको सामर्थ्य

पहिचानको पर्खाइ

नेपालमा पहिलो संविधानसभा निर्वाचनपछि राज्य पुनःसंरचनाका क्रममा सबैभन्दा बढी जातीय पहिचानको मुद्दा उठ्यो
ठाकुरसिंह थारू

जातीय पहिचानबारे एउटा सान्दर्भिक प्रसंग छ । एक जना प्रजाले बादशाह अकबरलाई चुनौती दिए, ‘सरकार मेरो पहिचान खुलाइदिनुपर्‍यो ।’ बादशाहले उनको पहिचान खुलाउन मन्त्रीहरूलाई निर्देशन दिए । मन्त्रीहरूले ती प्रजाको पहिचानबारे खोतल्न अनेक भाषामा प्रश्न गरे । ती प्रजा भारतमा बोलिने सबै भाषा बोल्न सक्थे ।

भाषाले उनको पहिचान

खुल्न सकेन । मन्त्रीहरूले अनेक समुदायले खाने परिकार खुवाए । यसले पनि उनीहरूको प्रयास सफल हुन सकेन ।

अन्ततः दरबारका सबैभन्दा चलाख मन्त्री वीरबललाई उक्त जिम्मेवारी दिइयो । वीरबललाई उनको पहिचान पहिल्याउन कम्ती सकस भएन । वीरबलले एउटा जुक्ति निकाले । प्रजा मस्त निदाएको मौका छोपेर उनले एक बाल्टी पानी खन्याइदिए । प्रजाको निद्रा भंग भयो । रिसले चुर भएका प्रजाले आफ्नो मातृभाषामा गाली गर्न थाले । र, त्यही भाषाबाट उनको जातीय पहिचान खुल्यो ।

नेपालमा पहिलो संविधानसभा निर्वाचनपछि राज्य पुनःसंरचनाका क्रममा सबैभन्दा बढी जातीय पहिचानको मुद्दा उठ्यो । संविधानसभाको राज्य पुनःसंरचना समितिले ‘कुनै व्यक्ति वा समुदायको पहिचान जातिका आधारमा गरिनु नै जातीय पहिचान हो’ भन्यो । उसले ‘कुनै प्रदेश वा संघीय एकाइको नामकरण उत्पीडित जाति (राष्ट्र) को ऐतिहासिक सभ्यता, भाषिक, सांस्कृतिक, ऐतिहासिक पृष्ठभूमि, पुर्ख्यौली थातथलोको पहिचानका आधारमा प्रदेशको नामकरण गर्न’ पनि सुझायो । उदाहरणका लागि लिम्बुवान, किरात, शेर्पा, तामसालिङ, खसान, नेवाः, तमुवान, मगरात, थरुहट र कोचिला प्रदेश विभिन्न जातिको पहिचान, भाषा र ऐतिहासिक सभ्यतासँग जोडिएका थातथलोका नाम हुन् ।

संविधानसभा निर्वाचनअघि जातीय पहिचानको मुद्दा सुषुप्त थियो । माओवादीले सुरु गरेको सशस्त्र विद्रोह शान्ति प्रक्रियामा आइरहँदा राज्य पुनःसंरचनाको मुद्दा अघि बढेको हो । माओवादीले नेवाः, मधेस, मगरात, कोचिला, थारुवान, किरात प्रदेशको सपना बाँडेपछि पहिचानसम्बन्धी मुद्दाको बहसले उग्रता लियो । जातीय पहिचानको पक्ष र विपक्षमा खुला बहस हुन थाल्यो ।

कतिपय विद्वान्को तर्क छ, जातीय पहिचानको मुद्दाले विखण्डनकारीलाई बल पुग्छ । कतिपयले पहिचानको मुद्दालाई दबाउन खोजे देशमा विद्रोहले स्थान पाउने संकेत गर्छन् । श्रीमान्ले श्रीमतीको अस्तित्व नस्विकारे के हुन्छ ? बाबुले छोरालाई अधिकार दिएन भने के हुन्छ ? सहजै अनुमान गर्न सकिन्छ । त्यसो त पहिचानको मुद्दा श्रीमान्–श्रीमतीको अधिकारको झगडाजस्तो सहज भने होइन । तर, यी उदाहरणले पनि केही संकेत जरुर गर्छन् ।

नेकपा एमालेलगायत ठूला दलले वर्गसंघर्षको मुद्दालाई बलियो गरी उठान गर्दै आएका छन् । उनीहरूको तर्क छ, जातीय पहिचानको मुद्दाले मुलुकलाई कमजोर बनाउँछ, जातीय मुद्दाले जातजातिबीच फाटो ल्याउँछ, देश गृहयुद्धमा जान्छ । एमालेले आदर्श मान्दै आएको लेनिनले भने जातीय मुद्दालाई यसरी परिभाषा गरेका छन्– ‘जातीय पहिचान र वर्गर्संघर्षको मुद्दा एक रथका दुई पांग्रा हुन् । कुनै जातिको पहिचानसहित उनीहरूको उत्थान र विकासबिना वर्गसंघर्षको मुद्दा अधुरो रहन्छ । कुनै एक जातिको विकास भएर मात्रै मुलुक समृद्ध बन्न सक्दैन । देश बन्न सबै समुदायको पहिचान र विकास हुन आवश्यक छ र हुन्छ ।’

पहिचानकै मुद्दा उठाउने क्रममा २०७२ भदौ ७ र ८ मा टीकापुर घटना भयो । अखण्ड सुदूरपश्चिम र थरुहट प्रदेश पक्षधरले पहिचानको मुद्दा उठाए । थरुहट पक्षधरले कञ्चनपुरदेखि चितवनसम्म थरुहट प्रदेश हुनुपर्ने माग उठाए । उनीहरूको मागको वैज्ञानिक आधार यस्तो छ–

१. कञ्चनपुरदेखि चितवनसम्म थारूहरूको बाक्लो बासोबास छ ।

२. भाषा, रहनसहन, भेषभूषा, खानपान मिल्छ । बिहेबारी चल्छ ।

३. चितवनदेखि कञ्चनपुरसम्म रहेका गाउँको, घरको नाम मिल्छ । जस्तो ः कपिलवस्तुमा गुलरिया गाउँ छ । बर्दियामा पनि त्यही नामका गाउँ छन् । ठाकुरद्वारा, बनकटवा, मैनापोखर, पिपरी सबै गाउँको नाम मिल्छ । यसले के पुष्टि गर्छ भने यी गाउँबाट विस्थापित भएर अन्य जिल्लामा बसोबास गर्दा त्यही गाउँको पहिचानका आधारमा नाम राखे ।

४. कञ्चनपुरदेखि चितवनसम्मका थारू कुलदेउताको नाम पनि मिल्छ । पर्वहरू पनि समान छन् ।

५. थारूहरू आदिवासी धर्तीपुत्र हुन् । उनीहरूले तराईको घनघोर जंगललाई गुल्जार बनाए । बस्नयोग्य बनाए । मलेरिया, हैजाजस्ता रोगसँग लडे । बाघ, भालुसँग लडे ।

६. यो वर्ष थारू समुदायले माघमा थारू संवत् २६४६ मनाए । यो संवत्ले गौतम बुद्धको जन्ममितिसँग सम्बन्ध राख्छ । अर्थात् थारूहरूले यो भूमिमा ३ हजार वर्षदेखि बसोबास रहँदै आएको यसले पुष्टि गर्छ ।

७. थारूहरूका आफ्नै परम्परागत कानुन र प्रथा छन् ।

३ हजार वर्षदेखि एकै ठाउँमा बसोबास गरिरहेका थारू समुदायलाई शासकहरूले जातीय पहिचान दिएनन्, थरुहट प्रदेश नाम दिएनन् र उनीहरूको बसोबासको क्षेत्रलाई नै टुक्र्याउने नीति लिए । लुम्बिनी प्रदेशको संरचना यसकै पछिल्लो उदाहरण हो । कञ्चनपुर, कैलालीको थारू बहुल तराईलाई सुदूरपश्चिम प्रदेशमा गाभे । थारूहरूको बहुल प्रदेश हुन नदिन लुम्बिनी प्रदेशमा गैरथारू जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, रुकुम पूर्वलाई गाभियो । नवलपरासीका आधा थारू जनसंख्यालाई गण्डकी प्रदेशमा गाभियो । राज्यको यस्तो प्रदेश पुनःसंरचनाप्रति थारू समुदायको ठूलो चित्तदुखाइ छ । शासकहरूले पहिचान दिएर धर्तीपुत्र समुदायलाई गौरवबोध गराउनुको साटो वितृष्णा फैलाएको थारू अगुवाहरूको बुझाइ छ ।

सबै समुदायले आफ्नो पहिचानको मुद्दा उठाउन पाउनु संवैधानिक अधिकार हो । कर्णालीको आफ्नै पहिचान छ । मधेसको पहिचान छुट्टै छ । थरुहट (लुम्बिनी) को आफ्नै पहिचान छ । कर्णालीले आफ्नो पहिचानको मुद्दा उठाइरहँदा तराई र मधेसको टाउको दुखाइ कहिल्यै हुनुहुँदैन । कुनै समुदायले वैज्ञानिक कारणसहित पहिचानको मुद्दा उठाउँदा अर्को समुदायको टाउको दुखाइ हुनुहुँदैन । एकअर्काको पहिचानको सम्मान गर्न सक्दा नै मुलुक समृद्ध बन्नेछ ।

छिमेकी देश भारतकै प्रदेश संरचना हाम्रा लागि नजिर बनेका छन् । हालको उत्तराखण्ड र उत्तर प्रदेश पहिले एउटै प्रदेश थियो । बहराइच क्षेत्रमा अवधि र हिन्दी बोलिन्छ भने उत्तराखण्डमा गढवाली । भेषभूषा मिल्दैनथ्यो । सरकारले उक्त प्रदेशलाई भाषाका आधारमा दुई प्रदेश बनायो । असम, बिहार, गुजरात प्रदेश पहिचानका उदाहरण हुन् । पहिचानका आधारमा प्रदेशको नामकरण गर्नु भनेको इतिहासलाई जीवित राख्नु हो, देशबाट छुट्टिन पाउने अधिकार दिनु होइन । कुनै जातिको योगदानका आधारमा पहिचानसहितको प्रदेशको नामकरण गर्दैमा विखण्डनकारी कार्य हुन सक्दैन । नेपालको सन्दर्भमा मधेस प्रदेश त्यसको नमुना होइन र ? मधेस प्रदेशमा गैरमधेसीको उपस्थिति छैन र ? थारूबहुल क्षेत्रलाई थरुहट प्रदेशको पहिचान दिँदैमा मुलुक विखण्डनतर्फ जाने हो र ? धर्तीपुत्र भन्ने अनि पहिचान दिन डराउने शासकहरूको मनोवृत्ति कदापि उचित मान्न सकिँदैन ।

पहिचानको संकट (आइडेन्टिटी क्राइसिस) पदावली विकास मनोविज्ञ एरिक एरिक्सनले पहिलो पटक प्रयोगमा ल्याएका हुन् । जातीय पहिचानको सवालमा विश्व उदाहरण हेर्ने हो भने भेनेजुएलामा २ प्रतिशत (झन्डै ३ लाख) आदिवासीको जनसंख्या छ तर राष्ट्रिय, प्रादेशिक र स्थानीय तह सबैमा उनीहरूको प्रतिनिधित्वको सुनिश्चितता संविधानबाटै गरिदिएको छ । छुट्टै मन्त्रालय छ ।

प्रकाशित : माघ २१, २०७९ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्

पहाडको गाथा

गगनशिला खड्का

हजारौं मान्छेको भीडमा एक हातमा चमचम चम्कने खुँडा, खुकुरी वा तरबार, अर्को हातमा ढाल वा रुमाल । नयाँ पहिरन, घाँटीमा जमराको माला । सुरुमा ढाल र तरबारसहितको लडाइँको अभिनय, त्यसपछि भट्याउँदै ‘वाख्खै’, ‘वाख्खै’ भन्दै बाजाको तालमा नाचगान । पाल्पा, गुल्मी, अर्घाखाँची र प्यूठान क्षेत्रमा बडादसैंको पूर्णिमामा कोतका पटाङ्गिनीमा हुने यो रमाइलो संस्कृति सराय नाच हो ।

सामान्य बुझाइमा बडादसैंमा नाच्ने नाच भए पनि यसमा युद्धको झल्को दिने अभिनय र प्रदर्शनी रहेकाले यो विजयोत्सव पनि भएको कतिपयको तर्क छ । कतिपयले सराय भुरेटाकुरे राज्यको पालामा हुने युद्ध भन्छन् त कतिले दैत्य र नवदुर्गाको लडाइँ र विजयको गाथाका रूपमा अर्थ्याउँछन् । सराय शब्द मगर भाषाको ‘सरङ्या स्याई’ बाट अपभ्रंश भएको लेखक मीन श्रीश मगरको भनाइ छ । ‘सरङ नक्कल गर्नॅ, ‘सरङ्या’ नक्कल गर्ने व्यक्ति र ‘स्याई’को अर्थ नाच हुन्छ,’ उनले आफ्नो ‘भार्से–अर्कुल राज्यको इतिहास’ बाट उद्धृत गर्दै भने, ‘युद्धको नक्कल वा अभिनय गरेर नाचिने नाचको अर्थमा सराय नाच जनजिब्रोमा प्रचलित भएको बुझिन्छ ।’

वास्तविकता जे भए पनि सराय नाच युद्ध र विजयोत्सव हो भन्ने नाचको प्रकृतिमै झल्कन्छ । किनभने, त्यसमा युद्धको अभिनय नाचका रूपमा प्रस्तुत गरिन्छ । ऐतिहासिक १२ मगराँत तथा चौबीसे राज्यको राजधानी धुर्कोट कोटमा सराय नाचको परम्परा धान्दै आएका केरमान गन्धर्वका अनुसार सराय नाचको क्रममा सुरुमा ‘छिमेली’ नाच हुन्छ, दोस्रोमा ‘हु–हु’, तेस्रोमा ‘तुरी’, चौथोमा ‘पट्टा’, पाँचौंमा ‘सराय नाच’ र छैटौंमा ‘देवता भित्र्याउने’ चलन छ ।

उनका अनुसार छिमेलीमा ५/५ जनाको लाइन लगाएर हातमा ढाल, तरबार, खुँडा, कुखुरी र रुमाल लिएर नाच्ने गरिन्छ । यो हेर्दा सैनिकहरू पंक्तिबद्ध भएर परेड खेलेको जस्तै देखिन्छ । ‘हु–हु’ मा हतियार समाएका दुई समूह आमने/सामने भई एकअर्कालाई झम्टन गएजस्तै गरी नाच्छन् । यो एक समूह अर्कोमाथि आक्रमण गर्न गएजस्तो देखिन्छ । ‘तुरी’ खेल्दा सराय नाच खेलाउने मुख्य नाइकेमध्ये दुई जनाले एकअर्कामा सवाल–जवाफ गर्दै नाच्छन्, जुन युद्धमा कमान्डरहरूले अन्तिम लडाइँपूर्व वार्ता गरेजस्तो देखिन्छ । त्यसपछि खेलिने पट्टामा दुई जना मात्र हातमा ढाल लिएर लडाइँ गरेजस्तै अभिनयमा नाच्छन् । जुन कमान्डरहरूको अन्तिम लडाइँजस्तो देखिन्छ । यो क्रम सकिएपछि कोटको प्रांगणमा गोलो घेरामा एक जनाले विभिन्न कथा भन्दै भट्याउने र अरूहरूले ‘वाक्खै’ वा ‘हो’ भनेर दिनभर नाच्ने चलन छ । यी सबैमा फरक–फरक तालमा बाजा बजाइन्छ र त्यही तालमा अभिनय गर्ने तथा नाच्ने गरिन्छ । नाच सकिएपछि सराय बक्साउने चलन छ । जसमा सबै हतियार एक ठाउँमा जम्मा पारी कोटभित्रबाट फूल–अक्षता चढाएर पूरा गरिन्छ । पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, स्याङ्जा र प्यूठानका विभिन्न शक्तिपीठहरूमा सराय नाचको ठूलो महत्त्व छ ।

सराय नाच कसरी पहाडमा भित्रियो भन्नेबारे फरक–फरक धारणा रहेको पाइन्छ । यो पर्व सेनराजाहरूसँगै भारतको राजस्थानबाट आएको पाल्पाका लेखक तथा विश्लेषक अनिल श्रेष्ठले बताए । ‘राजस्थानबाट सेनहरू आउँदा सराय नाच पनि ल्याएका हुन् भन्ने विश्वास छ,’ उनले भने, ‘त्यसअघि खस साम्राज्यको पालामा यस्तो प्रचलन रहेको पाइँदैन ।’ अर्घाखाँचीमा अर्घा भगवती मन्दिर र कोटमुनि पाथ्रावाङको शिलामा रक्तार्ध दिने गुरुङ राजालाई हराएर ठकुरी राज्य स्थापना गरेका जिल्ला राईले विजयोत्सवका रूपमा सराय खेलाउन र खेलाडीलाई दही केरा खुवाउन सुरु गरेका थिए भन्ने मान्यता छ ।

प्यूठानका केवी मसाल ५ सय ६३ वर्ष पहिले दानवीय स्वभावका जाँट राजालाई मारेको सम्झनामा सराय नाच्ने परम्परा थालिएको किंवदन्ती रहेको जनाउँछन् । ‘जाँट वंशीय राक्षसी स्वभावका ती राजाले चाहेका बेला स्थानीयले बालबालिका (बलि) चढाउनुपर्ने कारण आक्रान्त बनेर उनकै भारदार र श्रीमतीकै योजनामा राजालाई लखेटेर डल्ले भन्ने ठाउँमा मारेको किंवदन्ती छ,’ उनले भने, ‘त्यसैले यतातिर डल्ले सराय भनिन्छ ।’

गुल्मीको धुर्कोटमा हुने सराय नाच अन्यत्रभन्दा फरक रहेको धुर्कोटका केरमान गन्धर्वले बताए । ‘हाम्रा बाजेबराजुदेखि बुबा र बुबाको शेषपछि हामी छोराहरूले सरायका सबै तरिका सिकाउँदै आएका छौं,’ उनले भने, ‘हामीले सबैभन्दा पहिला धुर्कोट कोटबाटै सराय नाच सुरु भएको भन्ने सुन्दै आएका हौं ।’

धुर्कोट राज्य साढे ४ सय वर्ष पहिला १२ मगराँतअन्तर्गतको भुरेटाकुरे राज्यसमेत रहेकाले अन्य चौबीसे राज्यभन्दा पुरानो राज्य पनि हो । त्यसैले भुरेटाकुरे राजाका पालामा सुरु भएको भनिएको र नाचको क्रममा युद्धका सबै प्रक्रिया पूरा गरेको देखिने भएकाले धुर्कोटको सराय अन्यत्रभन्दा कथानक छ । अध्येता दीन पन्थीका अनुसार सराय नाच पहिला मुख्य कोटहरूमा खेलिने भए पनि अहिले नयाँ बनेका मन्दिरहरूमा पनि खेल्न थालिएको छ । पाल्पाको छहरामा दमिनी सराय नाच चर्चित छ ।

अहिले सराय पहाडी जिल्लाबाट विस्तार भएर तराई र गाउँबाट सहरसम्म पुगेको त्रिभुवन विश्वविद्यालयका विद्यावारिधि शोधार्थी गणेश श्रीपालीको भनाइ छ ।

प्रकाशित : माघ २१, २०७९ ०८:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×