३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७
लुम्बिनीको सामर्थ्य

महिलाका मुद्दा

नेपालको महिला आन्दोलन पाँचौं पुस्ताको हो । चन्द्रशमशेरको शासनमा योगमायाले गरेको विद्रोहको एक शताब्दी पूरा भएको छ । लुम्बिनी क्षेत्रमा पनि प्रत्येक चरणमा कुनै न कुनै योगदान महिलाको थियो । समग्र लुम्बिनी प्रदेश राजनीतिक र संस्कृति मोर्चामा अगाडि रहँदै आएको छ ।

महिलाका मुद्दा

प्रजातान्त्रिक र कम्युनिस्ट आन्दोलन, शिक्षाका लागि ऐतिहासिक ठाउँ पनि हो यो । तर राजनीति परिवर्तन र सामाजिक सुधारका लागि महिलाको योगदान के कस्तो थियो भन्ने विषयमा अझै खोजी हुन बाँकी नै छ ।

पञ्चायतकालमै ईश्वरादेवी राष्ट्रिय पञ्चायतमा चुनाव लडेकी थिइन् । कान्छी थकाल्नीले चुनाव जितेकी थिइन् । गुल्मीको जिल्ला पञ्चायत उपसभापति पनि भइन् उनी । महिलाको प्रतिनिधित्व भने बहुदलीय प्रजातन्त्रपछि मात्रै बढेको हो । पञ्चायतविरुद्ध कम्युनिस्ट र कांग्रेसका महिला नेत्रीहरूले सक्रियतापूर्वक आन्दोलन गरेका हुन् ।

लुम्बिनामा पहिलेदेखि नै अध्ययन/अध्यापन सुरु भए पनि महिलाको त्यसमा सहभागिता कम थियो । त्यसमा म आफ्नो परिवारको पनि उदाहरण दिन सक्छु । सायद ४० को दशकका प्रारम्भिक वर्षबाट शिक्षा क्षेत्रमा जुन लहर र जागरण आयो, त्यो नभएको भए मैले पनि पढ्न पाउने थिइनँ होला । हामी ४ दिदीबिहीनीमध्ये २ दिदीले विद्यालयको आँगनै टेक्न पाएनन् । तर पछि छोराछोरी दुवैलाई पढाउनुपर्छ भन्ने भएपछि म र बहिनीले पढ्ने अवसर पायौं । दिदीहरूको पुस्तामा पनि बालिकाहरू स्कुल नगएका होइनन्, तर फाट्टफुट्ट मात्रै थियो ।

मैले पठाइ सुरु गर्दा स्कुलमा महिला शिक्षक थिएनन् । शिक्षक महिला हुन्छन् र भन्ने जस्तो अवस्था थियो । हाइस्कुलको पढाइ सुरु भएपछि बल्ल एक जना शिक्षिका प्राइमरीमा पढाउन आइन् । त्यो अवस्था हेर्दा अहिले धेरै सुधार भएको छ । पहाडमा महिला शिक्षाको विषयमा त्यति धेरै समस्या नभए पनि मधेसमा अझै धेरै गर्न बाँकी देखिन्छ । मधेसमा भने अहिले पनि महिला शिक्षामा खासै राम्रो हुन सकेको छैन । पढाइभन्दा पनि सानै उमेरमा विवाह गर्ने विषयलाई प्राथमिकतामा राख्ने गरेको देखिन्छ ।

मधेसमा बालविवाह निकै चर्को छ । अभिभावक र बालिकामा विद्यालय भर्ना हुने र केही कक्षा पढेपछि विवाह गर्ने गरेको देखिन्छ । पढ्ने किन भन्दा विवाह गर्न भन्ने मात्रै रहेछ । शिक्षाले मात्रै होइन, रोजगारीका कारण महिलाले पनि आफ्नो परिवारलाई अघि बढाउने अवसर पाएका छन् । त्यसमा वैदेशिक रोजगारीको भूमिका ठूलो छ ।

लुम्बिनीका गुल्मीसहितका पहाडी जिल्लाबाट लोक सेवा पास गर्ने बढी छन् । पढेलेखेका महिलामा पनि सरकारी नोकरीप्रति उत्तिकै आकर्षण देखिन्छ । चुनावको समयमा गुल्मीमा एक महिलालाई भेटेकी थिएँ । उनी भारतमा काम गर्दी रहिछन् । छोराछोरी पढाउन भारतमा काम गर्न गएकी रहिछन् । पति भने कहिले गुल्मी र कहिले भारत गर्ने रहेछन् । भारतमा रोजगारी जाने चलन त्यस क्षेत्रमा पहिलेदेखिकै हो । त्यस समयमा पुरुष जान्थे, महिला घर बस्थे । पतिसँगै गएका पनि कोठमा बस्थे, काममा जाँदैनथे ।

अहिले स्थानीय तहमा महिला–पुरुषको लिंग पहिचान नगरी चुनाव लड्ने हो भने महिला बढी क्षमतावान् देखिन्छन् । हाम्रो उमेरसमूहका केटा कि भारत, खाडी, मलेसिया वा युरोप, अमेरिका वा अस्ट्रेलियामा छन् । महिला गाउँमा छन् । उनीहरूले परिवारको नेतृत्व गर्ने अवसर पाएका छन्, जसले महिलालाई सशक्त बनाउँदै लगेको छ ।

सामाजिक अभियानमा पनि महिला सक्रिय छन् । कुलो वा पानी, सामुदायिक वन वा स्कुल व्यवस्थापनका विषयमा पनि महिलाको हस्तक्षेप बढ्दै गएको छ । महिला समूह, आमा समूह वा ऋण बचत कार्यक्रममा ठूलो संख्यामा महिलाको सहभागिता छ । पछिल्लो समय पुरुष खाडी वा अन्यत्र वैदेशिक रोजगारीमा गएपछि उनीहरूका श्रीमती छोराछोरी पढाउन बजारतर्फ झर्न थालेका छन् ।

महिलामा पढ्नुपर्छ, स्वावलम्बी र स्वतन्त्र हुनुपर्छ भन्ने धारणा छ । आआफ्नो काम गर्नॅपर्छ, आफ्ना विषयमा सोच्नुपर्छ, त्यो पनि हामीले नै सोच्नुपर्छ भन्ने दृष्टिकोण विकास भएको पाइन्छ । यति हुँदाहुँदै पनि लैंगिक असमानता सबै समाप्त भयो भन्ने होइन । अझै धेरै बाँकी नै छ । तर त्यसलाई ठाउँअनुसार फरकपनलाई आधार बनाएर समाधान खोजिनुपर्छ ।

अघिल्लो पुस्ता बसाइँ सरेर त्यहीं जन्मे–हुर्केको वा भर्खरै बसाइँ सरेको वा त्यहींका रैथानेहरू तराई क्षेत्रमा छन् । रैथानेभन्दा बसाइँ सरेर आएकाहरू नै ‘मोर्डरेट’ हुन्छन् । समाजशास्त्रले पनि त्यही भन्छ । टाठाबाठा पनि हुन्छन् । तिनले फरकफरक ठाउँमा फरकफरक संस्कृति लिएर आफूलाई अघि बढाएका छन् ।

म सहरी विकासमन्त्री भएपछि दक्षिणतर्फ सीमा क्षेत्रमा रहेका सहर अवलोकन गर्ने काम गरें । समुदाय समुदायमा गएँ । मधेस घुम्दा देखें– बालविवाह अहिले पनि निकै रहेछ । पढ्ने, बिहे गर्ने, बच्चा जन्माउने र परिवारको काम गर्ने नै उनीहरूको संसार रहेछ । त्यो एउटा साँघुरो घेराबाट केटाकेटीलाई बाहिर निकालिएको छैन । यसमा केही सार्थक पहल आवश्यक छ । अनि मात्र समाज रूपान्तरणमा हामी अघि बढ्न सक्छौं ।

प्रकाशित : माघ २१, २०७९ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?