२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३
लुम्बिनीको सामर्थ्य

सहर सबैको रहर

सहर चुम्बक जस्तो हुन्छ, यसले मान्छेलाई सपना देखाउँछ, त्यही सपनाको खोजीमा मान्छेहरू गाउँबाट सहर आउँछन्, बुटवल पनि यस्तै रहरै रहरको सहर हो

‘सात दिनको बाटो ढाक्रेले आयो बटौली नुन लिन
किन महँगो भयो नुन, सुब्बा साहेब ! किन महँगो भयो नुन ।’

सहर सबैको रहर

पाल्पा, तानसेनका मखनटोल निवासी कवि त्रिरत्न बज्राचार्यले रचेको गीतको अंश हो यो । ००४/०५ सालतिर उनले यो गीत रचना गरेका हुन् । गीतले बटौलीको पुरानो स्वरूपलाई इंगित गरेको छ । पहाडबाट ढाक्रेहरू नुन, मट्टीतेल, कपडाजस्ता उत्पादन खरिद गर्न आउने बजार थियो– बुटवल । गाउँले रित्तै आउँदैनथे । घिउ, अदुवा, स्थानीय जडीबुटी आदि बोकेर ओर्लन्थे र नुन, तेल, कपडा आदि बोकेर उकालो लाग्थे । यहाँ हिमाली भेग मुस्ताङदेखि पहाडी भेग जाजरकोट, गुल्मी, अर्घाखाँची, प्यूठानका व्यापारी, ढाक्रेहरू ओइरो लाग्थे । त्यस्तै उत्तर भारतका साहू–महाजनहरू आइपुग्थे । यसरी पहाडका विभिन्न भूभाग र समथर जमिनका मान्छे बटुलिँदा बटुलिँदै बटौली हुँदै बुटवल बन्न पुग्यो ।

जब इतिहासको प्रसंग आउँछ, बुटवल आफ्नो गौरवगाथा सुनाउन थाल्छ । बुटवल सुनाउँछ– १८७२ सालमा अंग्रेजलाई हराएको कथा । कर्णेल उजिरसिंहको नेतृत्वमा बुटवलको जितगढी किल्लामा जनरल उडको नेतृत्वमा आएको अंग्रेज फौजलाई परास्त गरेकोवीर गाथा । उसो त बुटवलको पहाडी भित्तामा रामापिथेकसको बंगारा भेटिएको थियो । रामापिथेकस मान्छेकै पुर्खा त थिएन । तर, जीव विकासको क्रममा मान्छे र आदिम बानरको साझा पुर्खा भएको मानवशास्त्रले पुष्टि गरेको छ । यही रामापिथेकसको बंगारा औंल्याउँदै बुटवल आफ्नो साइनो प्राग्इतिहाससँग जोड्छ ।

बुटवलसँग सुनाउन अनेक कथा छन् । गर्मी मौसममा सिद्धबाबाको गल्छेडोबाट आउने शीतल बतासले हम्किँदै बुटवल तिनाउको कथा भन्न तयार छ । तिनाउ साक्षी हो– यो सहरको । यसका अनेक उतारचढावको । बस्ती बसाल्न मान्छेले गरेको संघर्षको । बाढीको विनाश र ज्योतिनगरको पहिरोको । ००४ सालमा राणाशासनको अँध्यारोमा महावीर पुस्तकालयमार्फत बाल्न खोजिएको ज्ञानको दीपको । ०४६ सालको आन्दोलन र नवराज–दिलीपकोसहादतको । ०५९ मा प्रतिगमनविरोधी आन्दोलनका क्रममा देवीलालको सहादतको ।

बुटवलका मुख्य धाँजा

इतिहासका पानामा अंकित हुने महत्त्वपूर्ण घटना त जगजाहेर भइहाल्छन् । ती पढिन्छन् गौरवका वा विस्मयका साथ । खासमा इतिहास त मान्छेले नै निर्माण गर्छ । सहर भौतिक भूगोल मात्र होइन । भौतिक भूगोलले मान्छेलाई स्थान उपलब्ध गराउँछ । उक्त स्थानलाई गुलजार गराउने मानवीय प्रयत्नले हो । मान्छे–मान्छेबीचको अन्तर्क्रिया, वस्तु र सेवाको विनिमय र साझा अभ्यास गरिने सांस्कृतिक कर्महरूले बस्तीको निर्माण गर्छ । मान्छेको यिनै प्रयत्नले भौतिक भूगोल मानवीय भूगोलमा परिणत हुन्छ । यस प्रक्रियालाई सामाजिक शास्त्रको भाषामा मानवीय भूगोल निर्माण (प्लेस मेकिङ) भनिन्छ ।

मानवीय भूगोल निर्माणका क्रममा बुटवल अनेक चरणबाट गुज्रिएको छ । ती चरणलाई मसिनो गरेर केलाउने हो भने समयको यात्रामा अनेक धाँजा देखापर्छन् । ती धाँजाका अनेक पृष्ठभूमि र सन्दर्भलाई केलाउने हो भने अनेकौं पाठ सिक्न सकिन्छ ।

आज बुटवल भन्नासाथ हाम्रो मस्तिष्कमा बन्ने चित्र निकै फराकिलो छ । बुटवल अहिले तीन महत्त्वपूर्ण भूगोलमा समेटिएको छ । एउटा, मुख्य बुटवल । मुख्य बजार र बस्ती समेटेको गोलपार्कदेखि योगीकुटीसम्म, रामनगरदेखि नेपालगन्ज रोडसम्मको क्षेत्रलाई मुख्य बुटवल मान्न सकिन्छ । यो मुख्य बजारको वरिपरि रहेको भागलाई परिधिको बुटवल हो । रानीगन्ज, बुद्धनगर, नयाँगाउँलगायतलाई परिधिमा गणना गर्न सकिन्छ । परिधिसँग जोडिएका र मुख्य बुटवलबाट अलि दूरीमा रहेका तर बुटवल उपमहानगरपालिकामा पर्ने भागलाई सीमान्त बुटवल भनी वर्गीकरण गर्न सकिन्छ । मोतीपुर, सेमलार, हीरापुर आदि सीमान्त बुटवल हुन् ।

हाम्रो वर्तमान मानसिकतामा बुटवल भन्नासाथ आउने चित्र यही हो । तर, बुटवल सधैं यस्तो थिएन । बुटवल त खासमा बटौली थियो । बटौली तिनाउको पश्चिमी किनारमा नुवाकोट डाँडाको फेदमा गुजुप्प परेको थियो । गणेश मन्दिरदेखि गढीटोलसम्म फैलिएको थियो । अहिले सानो लाग्ने त्यो आयतन कुनै बेला साह्रै गुलजार र विशाल लाग्थ्यो । त्यसैले त होला, १९९७ सालमा जेल तोडेर भागेका गणेशमान सिंह यही बाटो भारत जाँदा गुलजार बुटवल देखेर छक्क परेका थिए । काठमाडौंमा हुर्केका र कोलकाता पढेका गणेशमानलाई पनि बुटवलको घनत्वले विस्मित पारेको थियो । यो यस्तो ठाउँ थियो,जहाँ तराईले आफ्नो पहिचान गुमाउँथ्यो र पहाड बन्थ्यो । पहाडले पहिचान गुमाउँथ्यो र तराई बन्थ्यो । त्यसैले गणेशमानले आफ्नो संस्मरण ‘मेरो कथाका पानाहरू’माबऽटवललाई ‘प्रतीकात्मक’सहर सम्बोधन गरेका छन् ।

गणेशमानको प्रतीकात्मक सहरको पहिलो मोड भनेकै स्थायी बसोबासको सुरुवात हो । सेनकालीन ग्रीष्म बजारकारूपमा स्थापित बुटवल स्थायी बजार भने थिएन । मंसिरदेखि फागुन/चैतसम्म गुलजार हुने बुटवल गर्मी सुरु हुनासाथ औलोको भयले आ–आफ्नो भूगोलमा लाखापाखा लागिहाल्थ्यो । बुटवललाई स्थायी बनाउने यात्रा भन्सारको विस्तारसँग जोडिएको छ । पाल्पाका तत्कालीन बडाहाकिम खड्कशमशेरले आम्दानी बढाउने उद्देश्यले सेठ नारायणप्रसाद प्रधानलाई कार्य सुम्पेको रवीन्द्रप्रसाद प्रधानले ‘द यात्रा’ पुस्तकमा उल्लेख गरेका छन् । उक्त पुस्तकमा सामेल गरिएको दस्ताबेजका आधारमा १९५०सालबाट बटौलीले स्थायित्व पाएको पुष्टि हुन्छ । बुटवललाई स्थायित्व प्रदान गर्न यहाँ पहाडका मान्छे ओर्लिए । उत्तर भारतका व्यापारी आइपुगे । अवधीभाषी र मारवाडीको साथमा मुस्लिम पनि आइपुगे । त्यसैले त पुरानो बुटवलको सानो क्षेत्रफलमा गणेशमन्दिर पनि देख्न सक्छौं, पद्म चैत्य विहार र रजा–ए–मुस्तफा मस्जिदसम्म घुम्न सक्छौं ।

बुटवलको बस्ती विस्तार इतिहासमा अर्को मोड खस्यौलीको विकास हुनु हो । तिनाउ नदीपूर्वको खस्यौली परित्यक्त थियो । त्यहाँ केही भट्टीहरूमात्र थिए । त्यो परित्यक्त भूगोलमा २०२० सालबाट चहलपहल हुन थाल्यो । २०२० सालमा यहाँ बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई) स्थापना भयो । दक्ष कामदारको उत्पादनका लागि बीटीआई स्थापना भएको थियो । यसको मुख्य श्रेय नर्वेका अड्हफ्टनलाई जान्छ ।२०२७ सालमा तिनाउ परियोजनाबाट विद्युत् उत्पादन सुरु भयो । सुरुवातदेखि विद्युत् घरायसी खपतका लागि मात्र नभई उद्योगका लागि पनि प्रयोग गरिएको थियो । एकातर्फ विद्युत् र अर्कोतर्फ दक्ष जनशक्तिको उत्पादनले उद्योग स्थापनाको सम्भावना बढायो । त्यसलाई साथ दियो, राजमार्ग निर्माणले ।

नौ वर्षको अथक प्रयत्नले निर्मित बेलहियादेखि पोखरासम्मको सिद्धार्थ राजमार्ग २०२९ सालमा उद्घाटन भएको थियो । बुटवल प्लाइउड, गोबर ग्यास प्रालि, बुटवल उड इन्डस्ट्रिज, नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक प्रालि, घिउ प्रशोधन उद्योगलगायत राइस मिल, साबुन फ्याक्ट्री, कपडा उद्योग आदि स्थापना हुन थाले । सडक, ऊर्जा र दक्ष जनशक्तिको उपलब्धताले उद्योगहरूको स्थापनालाई जोड दियो । त्यस्तैऔद्योगिक क्षेत्र स्थापना भयो । स्थायित्वको प्रयासपछि यो बुटवलको अर्को महत्त्वपूर्ण मोड थियो । बुटवल व्यापारको केन्द्रबाट औद्योगिक नगरको यात्रामा लम्कियो ।

ती कैयौं उद्योग अहिले बन्द भइसकेका छन् । आयात प्रतिस्थापन उद्योगको भूमिका खेलेका बुटवल उड इन्डस्ट्रिज, बुटवल प्याइउड फ्याक्ट्री, घिउ प्रशोधन उद्योगदेखि चर्चित बुटवल धागो कारखाना बन्द भइसकेका छन् । उद्योगतर्फ बुटवलले दरिलो पाइला चालेको थियो तर किन बन्द भए यी उद्योगहरू? यी उद्योग बन्द हुनुका कारणहरू खोतल्नाले नेपाली आर्थिक इतिहासको एउटा महत्त्वपूर्ण पाठको पट्टाक्षेप हुने सम्भावना देखिन्छ ।

सहर चुम्बकजस्तो हुन्छ । यसले मान्छेलाई सपना देखाउँछ । त्यही सपनाको खोजीमा मान्छेहरू गाउँबाट सहर आउँछन् । बुटवल पनि यस्तै रहरैरहरको सहर हो । एकपटक भलाकुसारीमा बुटवलका इतिहास अध्येता विमलबहादुर शाक्यले भनेका थिए, ‘बुटवलमा बाँच्न गाह्रो छैन । जे काम गरे पनि मान्छे बाँचिहाल्छ ।’

आन्तर्यमा जीवन ऊर्जा संरक्षण गरेको बुटवलमा डोकोमा फलफूल र तरकारी बेच्न हिँडेका महिलाहरू देखिन्छन् । हिउँदमा मुस्ताङदेखि जुम्लासम्मका घुमन्ते व्यापारी देखिन्छन् । भारतका विभिन्न ठाउँका मान्छेहरू चिया बेच्दै, रिक्सा चलाउँदै हिँडेका भेटिन्छन् ।

२०७६को पुसको चिसोमा पंक्तिकारले केही रिक्सा हाँक्ने मजदुरसँग कुराकानी गरेको थियो । कुराकानीको खास विषय इलेक्ट्रिक अटो रिक्साको प्रचलन प्रचऽर भएको बेलामा पनि उनीहरू किन पाइडल मारीमारी रिक्सा चलाइरहेका छन् भन्ने थियो । कुराकानीका सिलसिलामा एक मजदुरले बुटवल रोज्नुको कारण सुनाएका थिए । उनी भारतका विभिन्न सहर पुगेका रहेछन् । अनेकौं काम गरेका रहेछन् । उनकोअनुभवमा भारतकासहरमा अनुभव गर्न नसकेको अपनत्व उनले बुटवलमा पाएका थिए । उनलाई बुटवल सुरक्षित लाग्यो । बुटवलसँग यस्ता अनेकौं कथा छन् । बुटवलले धेरैलाई सहरिया बनाएको छ ।

पछिल्लो समय बुटवलमा होटल, क्याफेदेखि निजी अस्पतालहरूको थुप्रो लागेको छ । धरातलीय यथार्थबाट हेर्दा बुटवलले परनिर्भरताको खेती गरेजस्तो देखिन्छ । बुटवल झिलिमिली देखिन्छ । उन्मुक्त र स्वतन्त्र देखिन्छ । तर, सारमा बुटवल परनिर्भरताको चक्र चलाउने दलाल अर्थतन्त्रको केन्द्र बनेको छ । होटल, रेस्टुराँ, पब, बार आदिमा भएको लगानीले पुँजीलाई लगानी र पुनः लगानीको चक्रमा प्रयोग गरेको छैन । यसले केवल केहीछिनबजारलाई चलायमान गराएको छ । पुँजी यो सहरमा नाचेको छ र दोब्बर–तेब्बर भएर सीमा नाघेको छ । यसरी सहरले दलाल अर्थतन्त्रको पुनःउत्पादन गरिरहेको छ ।

उद्योगको जग बसाल्दै गरेको बुटवल औद्योगिक प्रगतितर्फ लम्कँदै गएको थियो । उद्योगले सेवा क्षेत्रलाई थप विस्तार गराउँदै जाँदा रोजगारीका अवसरहरू पनि सिर्जना हुने सम्भावना बढ्दो थियो । तर, यी सम्भावना खुम्चिँदै गएका छन् । सम्भावना खुम्चिँदै जाँदा सहरको आश्रय दिने क्षमता पनि कमजोर हुँदै जान्छ । बुटवलको यो क्षमता बढाउन हाम्रा राजनीतिक प्रयास पनि उत्तिकै आवश्यक छ । ऐतिहासिक विरासत बोकेको बुटवलको पहिचान के हो ? यो व्यापारिक थलो मात्र हो वा औद्योगिक नगरी पनि ? यो शिक्षाको केन्द्र बन्दै छ कि पर्यटन र होटल व्यवसायको ? बुटवलको दीर्घजीवनका लागि यसको पहिचान निर्दिष्ट हुन जरुरी छ ।

प्रदेश राजधानीको अवसर गुमेपछि बुटवल प्रशासनिक केन्द्र पनि बन्ने अवसरबाट वञ्चित भएको छ । त्यस्तै,वैकल्पिक सडक सञ्जालको विस्तारसँगै बुटवलको पहाड र मधेसका विभिन्न ग्रामीण भेगसँगको सम्बन्ध पनि खुकुलो बन्दै छ । अब दलाल अर्थतन्त्र पुनःउत्पादन गर्ने बजारमात्र बन्ने कि आत्मनिर्भरताको सम्भावना पनि बोक्ने भन्ने बुटवलको ज्वलन्त प्रश्न बन्न पुगेको छ ।

प्रकाशित : माघ २१, २०७९ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?