कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०
सुदूरको सान

मान्छे राम्डो मनमिल्याको...

महेशविक्रम शाह

काठमाडौँ — सुदूरपश्चिम प्राकृतिक, भौगोलिक, सांस्कृतिक विविधताले भरिपूर्ण भूस्वर्ग हो । खस भाषाको उद्गमस्थल यो भूमि खप्तडबाबाले प्राज्ञिक साधना गरेको देवभूमि पनि हो । नेपालका पहिलो सहिद बाँकावीर, सहिद दशरथचन्द, राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह, प्रथम मौलिक नाटकका सर्जक पहलमानसिंह स्वाँर र राष्ट्रवादका महानायक डा. केआई सिंहको जन्मभूमि पनि यही हो । 

मान्छे राम्डो मनमिल्याको...

यी महामानवको पवित्र जन्मभूमि सुदूरपश्चिमको साहित्यिक इतिहास पनि विशेष छ । सुदूरपश्चिममा सर्वप्रथम खस भाषामा गीतका थुँगा उनेर माला उन्ने आदिकवि रत्नाकर पण्डित हुन् । सोह्रौं शताब्दीको अन्त्यतिर बाजुराको जुगाडामा जन्मिएका रत्नाकर आँसुकविसमेत हुन् । उनी डोटेल राज सुर्तान मल्ल तथा रिपुमर्दन मल्लका समयमा डोटी राजदरबारका सम्मानित कवि थिए । सबैको जिब्रोमा झुन्डिएको लोकगीत ‘डोटी राम्डो डँडेलधुडा अछाम राम्डो साँप्या, मान्छे राम्डो मनमिल्याको, पन्छी राम्डो डाँफ्या’– यिनै आँसुकवि रत्नाकरले रचना गरेका हुन् । सुदूरपश्चिममा रहेर नेपाली भाषा र साहित्यको उन्नयनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने दुई राष्ट्रिय व्यक्तित्व हुन्– राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह र साहित्यकार पहलमानसिंह । जयपृथ्वीलाई नेपाली व्याकरण विधाका प्रथम प्रणेता मानिन्छ । उनले पुस्तक र पाठ्यक्रम नभएका बेला बालबालिकालाई नेपाली भाषा सिकाउन१९५८ सालमा ‘अक्षरांक’ पुस्तक लेखे । अन्य दर्जनौं पुस्तक लेखेर उनले नेपाली भाषा र साहित्यलाई प्राण भर्ने काम गरे । पहलमानसिंह स्वाँरले संवत् १९६२ मा प्रथम मौलिक नाटक ‘अटलबहादुर’सिर्जना गरे । संवत् १९५६ मा ‘अंकेन्दुशेखर’ काव्यकृति र ‘अछामका चाडपर्व’ लेखे । ठेट अछामी भाषामा ‘लालुभागा’ नाटकको पनि रचना गरे ।स्वाँरले विशेषगरी आफ्ना सिर्जनामार्फत सुदूरपश्चिमेली भाषिका र तत्कालीन समाजको इतिहास एवं परिवेशको ऐतिहासिक अभिलेखन गरेका छन् ।

सुदूरपश्चिमका स्रष्टाका रचनामा विशेषगरी काव्यको अत्यधिक प्रभाव देखिन्छ । लोकगीतको रचनाबाट प्रारम्भ भएको साहित्यले महाकाव्यको स्वरूप लिएको छ । ००७ सालको क्रान्तिअघि स्थापित कविमध्ये कवि रामचन्द्र जोशीले संवत् १९५२ मा संस्कृत भाषामा ‘स्वस्थानिकास्तोत्रम्’ को रचना गरे । संवत् १९८५ मा कालिदासको ‘अभिज्ञानशाकुन्तलम्’लाई नेपाली भाषामा अनुवाद गर्ने काम पहलमानसिंह स्वाँरले गरे । यही अवधिमा कवि बहिदार मणिराज जोशीले काव्यात्मक यात्रावर्णन लेखे । कवि डमरुबल्लभ उप्रेतीले पहिलोपटक शोक काव्य रचना गरे । वासुदेव भट्ट ‘भाइसाप’ ले पहिलो लोककाव्य लेखे ।

यस कालखण्डमा महाकाव्य सिर्जना गर्ने अन्य कविमा नरमदा देवी, रामचन्द्र जोशी र पुष्करनाथ उप्रेतीको नाम अगाडि आउँछ । ००७ सालको क्रान्तिपछि आरडी प्रभास चटौत, खेमराज ओझा, मनिराज जोशी, भक्तबहादुर बलायर, पूर्णानन्द भट्ट, चूडामणि शास्त्री ढकाल, महादेव भट्ट, देवकान्त पन्तलगायत एकदर्जन कविले महाकाव्य रचना गरे ।

खण्डकाव्य रचना गर्ने सुदूरपश्चिमका स्रष्टा आनन्ददेव भट्ट, आत्माराम ओझा, ईश्वरीदत्त भण्डारी, निर्मलकुमार भण्डारी, यज्ञराज जोशी ‘यात्री’, नन्दराम पाण्डेय ‘शास्त्री’, नरेन्द्रप्रसाद भट्ट ‘अन्जान’, रामनाथ अधिकारी ‘सँगी’, भालचन्द्र भण्डारी आदि हुन् । ००७ सालको क्रान्तिपछि उदाएका प्रमुख काव्य साधकमा कवि एनडी प्रकाश चटौत र देवकान्त पन्त हुन् । कवि पन्तले ०२६ सालमा ‘सीतास्वयंवर’ खण्डकाव्य प्रकाशन गरे । सशक्त कवि एनडी प्रकाशले कवितामा आधुनिक शिल्प र शैलीको प्रयोग गरे । यिनले नेपाली, हिन्दी, अंग्रेजी र डोटेली भाषामा सयौं कविता रचेका छन् । ०१५ सालमा कवि जब्बरे धामीले ‘जालपा देवीको इतिहास’ काव्य रचना गरे । ०१९ सालमा प्रकाशित ‘सुर्मा देवीको इतिहास’, ‘विरहमञ्जरी’ र ‘नञा जीवन’ लोकपद्यमा आधारित काव्यरचना गरेर कवि देवीचन्द्र जैसीले लोककविको उपमा गुँथे । कवि मानबहादुर सिंह ‘पहाडी’ अर्का लोककवि हुन् । उनले गीति लयमा आधारित ‘थली’ नामक काव्यकृति रचना गरे ।

००७ सालको क्रान्तिपछि आएका काव्यमा मानवअधिकार, समाजका विसंगति, आम मान्छेका दुःख, पीडा र नारी विभेदसम्बन्धी विषयउठान गरेको पाइन्छ । तर तिनमा समग्र सुदूरपश्चिमको माटोको सुवास, आम नागरिकका मनोभावना र जीवन गाथा समेटिएको त्यति पाइन्न । ००७ सालको क्रान्तिअघि काव्यले एकछत्र प्रभाव जमाएको सुदूरपश्चिममा क्रान्तिपछि सशक्त गद्य लेखकको उदय भयो । यस क्षेत्रको पहिलो उपन्यासकारका रूपमा ०११ सालमा खड्गबहादुर सिंह झुल्किए । उनी टीकापुर नगरका परिकल्पनाकार पनि हुन् । उनले त्यसबेलाको समाज झल्काउने औपन्यासिक कृति ‘विद्रोह, भाग–१’, ‘विद्रोह, भाग–२’ र ‘हुरीको चरा’ रचना गरे ।

०२५ सालमा कञ्चनपुरका लेखक भाउपन्थीले उपन्यास ‘पलाँस’ लेखे । ‘नदी पनि सुत्छ, ईश्वर पनि निदाउँछ’ उनको चर्चित कथासंग्रह हो । कथासंग्रह ‘विसर्जन’ का लागि ०५४ सालको मदन पुरस्कार प्राप्त गरेका लेखक लोकेन्द्रबहादुर चन्दले ‘बाह्रौं खेलाडी’, ‘नेताको साथी’, ‘हिउँको तन्ना’ र ‘अपरिचित’ जस्ता चर्चित कृति लेखे । अछामका तेजबहादुर शाहले ०३० सालमा आञ्चलिक उपन्यास ‘बादल’ लेखेर दरिलो प्रस्तुति दिए । कैलाली कटाँसेका गगनसिंह थापा र कर्णबहादुर थापाको संयुक्त लेखनमा ०३५ सालमा ‘सोह्र सौगात’ कथासंग्रह आयो । लेखक गगनसिंह थापाले पनि ‘कर्णालीको छेउछाउ’, ‘महाप्रलय’ र ‘अस्ताचलको ढोका’ लगायत ७ उपन्यासको खुट्किलो उक्लिए । सुदूरपश्चिमका स्रष्टाको मोहनीलाग्दो सक्रियता र गतिशीलता भने चालीसको दशकबाट सुरु भएको देखिन्छ । यस कालमा साहित्यका सबै विधामा सुदूरपश्चिमका सर्जकले कलम चलाए । मेरो आफ्नै कथाकृति ‘छापामारको छोरो’ ले ०६३ सालको मदन पुरस्कार प्राप्त गर्‍यो । हालसम्म मेरा सातकथाकृतिप्रकाशनमा आएका छन्् ।

सुदूरपश्चिममै बसेर साधनारत साहित्यकार श्रेष्ठ प्रिया पत्थरले ६ उपन्यास प्रकाशन गरिन् । उपन्यासकार आत्माराम ओझाले ‘राजा नागमल्ल’ र ‘जावेश्वर पृथ्वी’ उपन्यास लेखे । यही अवधिमा कृष्णदत्त चटौत ‘कान्त’ को ‘मल्लो बाटो’, नृपबहादुर स्वाँरको ‘चिनु’, पदमराज जोशी ‘प्रभात’ को ‘पहाडकी सौंराई’, दीर्घराज ओझाको ‘सुदूरपश्चिमकी वसन्ती’, शेर साउदको ‘मञ्जरी’, हर्क खडायतको ‘देशले हारेको युद्ध’, जनक रसिकको ‘दोरी’, शर्मिला सृष्टिको ‘दुःखके हल्कोरा’ प्रकाशन भए । विजयकुमारले गैरआख्यान कृति ‘खुसी’का लागि ०७१ सालको मदन पुरस्कार नै प्राप्त गरे । पहिलो उपन्यास ‘ऐलानी’ लिएर विवेक ओझा र ‘सखी’ सँगै साहित्यकार रामलाल जोशी झुल्किए ।

कञ्चनपुरबाट राज सरगमले ‘छाउघर’ को ढोका खोले । लोकराज भट्टले उपन्यास ‘छायल’ को छहारी रोजे । यही चरणमा आख्यानकै अर्को विधा कथामा पनि नयाँ कथाकारहरूको गर्विलो पदार्पण भयो । मदन पुरस्कारप्राप्त कृति ‘ऐना’ बाट रामलाल जोशीले बिग्रे/भत्केको सुदूरपश्चिम समाजको अनुहार देखाए । टीकापुर, कैलालीका ललित विष्टले कथासंग्रह ‘मोहपथ’ बाट आफ्नो साहित्यिक पथको थालनी गरे । हेमन्ती जोशीले ‘प्रतिबिम्ब’ कथासंग्रहमा आम नागरिकका प्रतिबिम्ब देखाउने चेष्टा गरिन् । कथाकार ताराप्रसाद जोशी, तेजप्रकाश श्रेष्ठ, जनकराज जोशी मुडभरी, पुष्करराज भट्ट र जनक शब्दितले कथाका बोट गोडमेल गर्दैरहे ।

०४६ सालपछि सुदूरपश्चिमबाट उदाएका सशक्त कविको सूची झन् लामो छ । यस कालखण्डमा नेपाली साहित्यले सुदूरपश्चिमकी एक विशिष्ट प्रतिभाका रूपमा कवि निभा शाहलाई पाएको छ । ‘इन्कलाव जिन्दावाद’, ‘कालापानीकी द्रौपदी’ र ‘मनसरा’ कवितासंग्रहको मसाल हातमा लिएर खबरदारी गर्दै उनी उभिइन् । पछिल्लो समय कवि धनन्जय तिमिल्सिनाले छन्दोबद्ध काव्यसंग्रह ‘आभास’ को टेकोमा आफूलाई उभ्याए । कवि हर्षप्रसाद भट्टले ‘अछाम रुँदैछ’ काव्यबाट अछामीका चीत्कार सुनाए । सुदूरपश्चिमले वर्तमान पुस्ताका चर्चित कवि हेमन्त विवश, सोझो गाउँले, केवल विनावी, बिपी अस्तु, जनक रसिक, कल्पना जोशी, राजेन्द्र तारकिणी, गरिमा शाहलगायतका शक्तिशाली कवितामार्फत समयको आवाज घन्काउन थालेको छ ।

नेपाली गजल विधामा आफ्नो विशिष्ट स्थान हासिल गर्ने स्रष्टा हुन्, ललिजन रावल । उनले दुई सयभन्दा बढी गजल लेखे । टीएन जोशी, कृष्ण रावल, श्रेष्ठ प्रिया पत्थर, खगेन्द्र गिरि कोपिला, लक्की चौधरी आदि पनि गजल लेखनमा अघि छन् । सुदूरपश्चिममा भाषा, निबन्ध, नियात्रा, समालोचना, लोक संस्कृतिर संस्मरणमा कलम चलाउने स्रष्टाको सूची पातलो भएपनि सम्मानजनक छ । लेखक हरिप्रसाद जोशीले ०२२ सालमा ‘हाम्रो बाटो’ को रचना गरे । डीपी भण्डारीले ‘मृगस्थली’, ‘नीरो बाँसुरी बजाइरहेछ’ लगायत निबन्धसंग्रह लेखे । भाउपन्थी, डा. देवीप्रसाद ओझा, धनन्जय तिमिल्सिना, यज्ञराज ‘यात्री’ले पनि विविध निबन्ध लेखे देवकान्त पन्तले ‘डोटेली लोक साहित्य’ र डा. जयराज पन्तले ‘अँजुलीभरि सगुन पोल्टाभरि फाग’ जस्ता चर्चित कृतिको रचना गरे ।

लेखक सुरतबहादुर शाहले ‘झारखण्ड बौद्धनाथ क्षेत्र’, ‘अछामका चाडपर्व’ आदि पुस्तक लेखे । आरडी प्रभास चटौतले ‘डोट्याली बृहत् शब्दकोश’ नै लेखे । डोटेली संस्कृतिमा विद्यावारिधि गरेका स्रष्टा टीएन जोशी, डा. बद्री शर्मा बिनाडी, गोविन्दराज पनेरु ‘शास्त्री’, गणेशराज जोशी, आचार्य घनश्याम लेखक, तुलसीप्रसाद पण्डित, वासुदेव पाण्डेय, दिव्यश्वरी जोशी, कृष्ण बोहरा ‘यात्री’ र विष्णुप्रसाद खत्री आदिले निबन्ध, लोकसंस्कृति र लोकसाहित्यमा कलम चलाए ।

नेपाली साहित्यमा सुदूरपश्चिमको भौगोलिक विकटता, त्यहाँको जनजीवन, नागरिकका दुःख, कष्ट र जटिल भोगाइलाई आवाज दिने व्यक्ति साहित्यकार एवं भाषाविद् तारानाथ शर्मा हुन् । ‘घनघस्याको उकालो काट्ता’ उनको ५५ वर्षअघि छापिएको चर्चित नियात्रा हो । साहित्यमा सर्वप्रथम सुदूरपश्चिमलाई चिनाउने यही निबन्ध हो । धेरै नेपालीले यही नियात्रामार्फत सुदूरपश्चिमको भ्रमण गरे, त्यहाँका नागरिकको अनुहार देखे र तिनका पीडाको उकालो चढ्ने अवसर पाए । शर्माका अन्य दुई नियात्रा ‘बैकिनीहरूको आँसुमा बग्छ बयलपाटा’ र ‘साँपेको साँघु तर्नुअघि’ ले पनि अछामी महिलाको मर्म, पीडा र त्यहाँका नागरिकको मार्मिक भोगाइलाई प्रस्तुत गरेको छ । साहित्यमा सुदूरपश्चिमलाई भित्र्याउने साहित्यकार तथा अन्वेषक पूर्णप्रकाश नेपाल ‘यात्री’ पनि हुन् । ‘स्वदेश दर्शन’ अभियानअन्तर्गत सेती–महाकालीका जिल्ला भ्रमण गरेर उनले ‘सेतीको नालीबेली’, ‘सेतीअञ्चल– दिग्दर्शन’, ‘सेतीका तारा र महाकालीअञ्चल– दिग्दर्शन’ लगायत पुस्तक लेखे । यी चारै पुस्तक सुदूरपश्चिम चिनाउने महत्त्वपूर्ण निधि हुन् ।साहित्यकार शारदा शर्माले ‘भुइँफूलको देश’ निबन्धात्मक कृतिमा खप्तडको प्राकृतिक सौन्दर्यको बखान गरेकी छन् । उपन्यासकार बुद्धिसागरले उपन्यास ‘कर्नाली ब्लुज’ मा कैलाली, कटाँसेको सेरोफेरोलाई विषयवस्तु बनाएका छन् ।

चालीसको दशकबाट हतारिएर अघि बढेको सुदूरपश्चिमको आख्यानले अझै साहित्यको मूलधारमा आफ्नो प्रभाव जमाइसकेको छैन । काव्यका कलरव गुन्जिरहेको त्यो भेगमा ढिलो गरी बासेको आख्यानको डाँको मधुरो भए पनि यसले बिहानीको संकेत गरेको छ ।

केही प्रतिभाशाली स्रष्टाले सुदूरपश्चिमको इज्जत धानेका छन् । तर यतिले मात्र सन्तोष मान्नुपर्ने बेला यो होइन । कागजका पानालाई मसीले भिजाउँदैमा न त्यो साहित्य हुन्छ, न कागजका खात लगाउँदैमा त्यो साहित्यकार बन्छ । समाज र किताबको गहन अध्ययनको कसीमा नघोटेसम्म सिर्जनामा पाइन चढ्दैन ।

पहलमानसिंह स्वाँरले नेपाली साहित्यलाई पहिलो मौलिक नाटक दिएको सवा शताब्दी नाघ्दासम्म पनि सुदूरपश्चिमले उनले चढेको उकालो चढ्न सकेको छैन ।सुदूरपश्चिमले त नाटक लेख्नै बिर्सिएको छ । सुदूरपश्चिमका स्रष्टाको लेखनमा आदिवासी थारूका गाथा, सीमान्तकृत समुदायका पीडा, दलितका गुनासा, नारीहरूमाथि भएका विभेद, श्रमको खोजीमा घर छोडी भारत पस्नुपर्ने युवाका बाध्यता र विवशता, राज्यबाट ठगिएका नागरिकका चीत्कार गहिरो गरी आएका छैनन् । तर सुदूरपश्चिम साहित्यमा बिस्तारै बौरिँदै छ । सुदूर नामको कोखाभित्र सीमित सुदूरपश्चिमको लोकसंस्कृति, साहित्य, कला, प्राकृतिक सौन्दर्य र आम नागरिकका सुस्केरा र उछ्वास कुहिरोको बाक्लो घेरा तोड्दै सुदूरपूर्वको उज्यालो क्षितिज छुने प्रयत्न गर्दै छन् ।

प्रकाशित : माघ ९, २०७९ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?